Comments Add Comment

एक लाखभन्दा बढीको पुरस्कार घोषणा

२२ चैत, काठमाडौँ । झापामा रहेको ‘रुद्र–गौरी, श्री अम्बिका ओली प्रतिष्ठान’ ले विभिन्न चार विधामा यस वर्षका लागि पुरस्कार पाउने प्रतिभा र व्यक्तित्वको नाम घोषणा गरेकोे छ ।

प्रतिष्ठानले आइतबार पत्रकार सम्मेलन गरी रु एक लाख एक हजार ११ राशिको ‘रुद्रप्रसाद ओली स्मृति कृषि पुरस्कार’ धानबाली विशेषज्ञ काठमाडौँका भोलामानसिंह बस्नेतलाई, सोही राशिका ‘गौरादेवी ओली स्मृति आदर्श आमा पुरस्कार’ एचआइभी/एड्स सङ्क्रमित महिला सशक्तीकरणमा योगदान गर्ने अछामकी मथुरादेवी कुँवरलाई र ‘अम्बिकादेवी ओली स्मृति साहित्य पुरस्कार’ कीर्तिपुरका समालोचक प्रा मोहनराज शर्मालाई प्रदान गर्ने निर्णय भएको जानकारी गराएको हो ।

यस्तै रु ५१ हजार १११ राशिको ‘देवी ओली स्मृति बाल पुरस्कार बाग्लुङका बाल आविष्कारक रिवाज श्रेष्ठलाई प्रदान गरिने बताइयो ।

ती पुरस्कारका लागि क्रमशः कृषि विशेषज्ञ जनार्दन घिमिरे, अधिकारकर्मी शान्तालक्ष्मी श्रेष्ठ, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र बाल अधिकारकर्मी कुमार भट्टराईको संयोजकत्वमा अलग–अलग सिफारिस समिति गठन गरिएको थियो ।

प्रतिष्ठानका अध्यक्ष गङ्गाप्रसाद ओलीले ती पुरस्कार आगामी वैशाख २५ गते झापाको बिर्तामोडमा प्रदान गरिने बताउनुभयो । विगत दुई वर्षदेखि ती पुरस्कार प्रदान गरिदै आएको छ ।

विसं २०६७ मा स्थापित सो प्रतिष्ठानका लागि संस्थापक श्रीप्रसाद ओलीबाट एक करोड रूपैयाँको अक्षय कोष स्थापना भई पुरस्कार प्रदान गरिएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment