Comments Add Comment

राष्ट्रिय गौरवका आयोजना निर्माणमा चरम लापरबाही

Melamchi-21

६ वैशाख, काठमाडौं । सरकारले उच्च प्राथमिकतामा राखेका राष्ट्रिय गौरवका आयोजना निर्माणमा लापरबाही देखाएको छ । काम सुरु भएको वर्षौं वितिसक्दा समेत आयोजना कहिलेबाट सञ्चालनमा आउने अनिश्चितता देखिएको छ ।

महालेखा परीक्षकको कार्यालयले पनि उच्च प्राथमिकतामा राखी कार्यान्वयन गरिएका राष्ट्रिय गौरवका आयोजनाको कामप्रति असन्तुष्टी जनाएको छ । सरकारले राष्ट्रिय गौरवका आयोजनाहरु घोषणा गरेपनि कार्यान्वयन क्षमताको अभाव देखिएको कार्यालयको ठहर छ ।

उच्च प्राथमिकतामा राखि वर्षौं अगाडि घोषणा गरिएका कतिपय परियोजनाको अहिलेसम्म विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नै तयार गर्न सकिएको छैन । काम सुरु भइसकेका आयोजनाको पनि कहिलेसम्म सम्पन्न हुने हो भन्न नसकिने अवस्था रहेको छ ।

महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको वाषिर्क प्रतिवेदनमा राष्ट्रिय गौरवका आयोजनाको कार्यप्रगती लाजमर्दो अवस्थामा देखिएको छ । यतिसम्म की काम सुरु भएको २७ वर्ष पुग्दासमेत बबाई सिंचाइ आयोजनाको काम बल्ल २९.१४ प्रतिशत सम्पन्न भएको छ ।

आर्थिक वर्ष २०६६/०६७ सालमा सुरु भएको काली गण्डकी उत्तर-दक्षिण लोकमार्गको काम एक प्रतिशतमात्र सम्पन्न भएको छ ।

यो परियोजना आर्थिक वर्ष २०७६/७७ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आव २०६४/०६५ मा सुरु भएको कर्णालीको उत्तर दक्षिण लोकमार्गको भौतिक प्रगती जम्मा ८ प्रतिशतमात्र भएको छ । यो मार्ग २०७९/८०मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

महालेखा परीक्षकको कार्यालयले स्थानिय तहमा विवाद, जग्गा प्राप्तीमा कठिनाई, निर्माण सामाग्रीको कमजोर व्यवस्थापन, अन्तर निकाय समन्वयको अभाव, कार्यान्वयन मोडालिटी स्पष्ट नहुनु लगायतका समस्याले राष्ट्रिय गौरवका आयोजनाको काम अपेक्षित गतिमा अगाडि बढ्न नसकेको ठहर गरेको छ ।

बारामा निर्माण गर्ने भनिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजना भएपनि हालसम्म लगानीकर्ता छनौटको मोडालिटी तयार हुन सकेको छैन् ।

यस्तो छ राष्ट्रिय गौरवका आयोजनाको कार्यप्रगती

आयोजनाको नाम सुरु वर्ष सम्पन्न हुने वर्ष कुल लागत (लाखमा) हालसम्म खर्च (लाखमा) भौतिक प्रगती (प्रतिशतमा)
मध्य पहाडी लोकमार्ग २०६४/६५ २०७४/७५ ३३,३७,१८ ७,२७,२० २६.८४
हुलाकी राजमार्ग २०६६/६७ २०७४/७५ ३५,८०,०० ४,६८,६९
सिक्टा सिंचाइ आयोजना २०५९/६० २०७०/७१ २५,०२,०० ९,०३,६७ ७०.५०
रानी-जमरा सिंचाइ २०६६/६७ २०७४/७५ १२,६३,७७ ३,६९,३८ २२.८९
बबई सिंचाइ आयोजना २०४५/४६ २०७४/७५ ७,६७,०१ ३,२३,०८ २९.१४
मेलम्ची खानेपानी २०५५/५६ २०७३/७४ २३,४५,८६ १२,००,१४ ५८.४३
भेरी बबई डाइभर्सन २०६८/६९ २०७५/७६ १६,४३,३० ७,४६ ०.५८
बुढी गण्डकी जलविद्यूत २०६९/७० २०७७/७८ २,०९,००,०० ७२,५२ ०.२३
काठमाडौं तराई फाष्ट ट्रयाक २०६५/६६ नखुलेको २,५९,५४
पूर्व पश्चिम रेलमार्ग २०६६/६७ नखुलेको २,८७,७३
कर्णाली लोकमार्ग २०६४/६५ २०७९/८० ३,४०,७० २७,६९
कोशी लोकमार्ग २०६५/६६ २,०५,९४ ५०,८१ २५
काली गण्डकी लोकमार्ग २०६६/६७ २०७६/७७ २५,४५,५८ १७,७०

स्रोतः महालेखा परीक्षकको कार्यालय

मध्यपहाडी लोकमार्गको काम आव २०६४/०६५ सुरु गरेपनि हालसम्म २६.८४ प्रतिशत सम्पन्न भएको छ । जबकी यो आयोजना आव २०७४/०७५ मा सम्पन्न गर्नुपर्ने हुन्छ ।

त्यस्तै, सिक्टा सिचाईं आयोजनाको गत आर्थिक वर्षमा सम्पन्न हुनुपर्नेमा अहिलेसम्म ७०.५० प्रतिशतमात्र सम्पन्न भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । रानी जमरा सिँचाइ आयोजना २०७४/०७५ मा सम्पन्न गर्नुपर्ने भएपनि अहिलेसम्म जम्मा २२.८९ प्रतिशतमात्र काम सम्पन्न भएको छ ।

ववई सिँचाई आयोजना, मेलम्ची खानेपानी आयोजना, भेरी ववई डाइभर्सन, बुढीगण्डकी जलविद्युत आयोजना, काठमाडौं-तराई फाष्ट ट्रयाक, पूर्व पश्चिम रेलमार्ग लगायतका परियोजनाको काम पनि कछुवा गतिमा अगाडि बढिरहेको छ । यी आयोजना पनि आव २०७४/०७५ हाराहारीमा सम्पन्न हुनेपर्ने लक्ष्य छ ।

मेलम्ची खानेपानी आयोजनाको काम आव २०५५/५६ सालमा सुरु भउको हो । करिव १७ वर्षको अवधिमा यो परियोजनाको काम जम्मा ५८.४३ प्रतिशतमात्र सम्पन्न भएको छ । काठमाडौं तराई फ्रष्ट ट्रयाकको डीपीआर अध्ययनका लागि बल्ल सरकारले कम्पनी छनौट गरेको छ ।

यसरी महालेखा परीक्षकको प्रतिवेदन हेर्दा राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमा सम्पन्न हुन नसक्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment