-भरतमोहन अधिकारी, बरिष्ठ राजनीतिज्ञ
आज वैशाख ८ गते भन्ने पत्तै थिएन । पत्रकारले सम्झाएपछि म ९ वर्षअघिको विस्मृतिमा पुगेँ । देशमा जनआन्दोलनको आँधीहुरी चलिरहेको थियो । प्रत्येक दिन ४०/५० हजार जनता सडकमा निस्किएका थिए । ०६२ चैत २४ बाट शुरु भएको ऐतिहासिक जनआन्दोलन ०६३ वैशाख ८ गतेसम्म आइपुग्दा नारायणहिटी राजदरवार कब्जा गर्ने चरणमा पुगिसकेको थियो ।

राजा ज्ञानेन्द्र छटपटाइसकेका छन् भन्ने सूचना हामीले विदेशी कुटनीतिज्ञ र सुरक्षा निकायका प्रमुखहरुबाट पाइरहेका थियौं ।
त्यसबेला म प्रायः गिरिजाप्रसाद कोइराला र माधवकुमार नेपालसँगै हुन्थेँ । गिरिजाबाबुसँग पारिवारिक नाता र पाको राजनीतिज्ञ हुनुको नाताले म एमालेको भए पनि उहाँसँग नजिक थिएँ । धेरै महत्वपूर्ण विषयमा निर्णय गर्नुपर्दा गिरिजाबाबुले भरतमोहनले के भन्छ ? भन्नुहुन्थ्यो ।
माधवकुमार नेपाल त्योबेला एमालेको महासचिव भएकाल उहाँलाई राजनीतिकरुपमा सघाउनु मेरो दायित्व थियो ।
कहानेको दौडधूप
गोपालप्रसाद रिमालले भनेजस्तै वैशाख ८ गतेसम्म आइपुग्दा रात पनि बोल्छ, रुख पनि हिँड्छ जस्तै भान हुन्थ्यो । जनताको अपार शक्ति नारायणहिटीतर्फ अघि बढिसकेको थियो । वैशाख ८ गते दिउँसो आजकै समयमा तत्कालीन राष्ट्रसंघीय प्रतिनिधि म्याथ्यू कहाने माधव नेपाललाई भेट्न आए । माधव नेपालसँग म र अमृत बोहोरा पनि थियौं ।
राजाले जनताको नासो जनतालाई फिर्ता गर्न तयार छु भनेका छन्, तपाई आन्दोलनकारीले प्रधानमन्त्रीको नाम दिनुस् राजा आन्दोलनकारी पार्टीलाई कार्यकारी अधिकार बुझाउन तयार छन् भन्ने कुरा कहानेले राखे ।
लैनचौर डिनरमा दबाव
हामीले कहानेको कुरा सुन्यौं तर सहमति जनाएनौं । त्यसभन्दा अघिल्लो राति भारतीय दूतावासमा तत्कालीन भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहले पठाएका विशेष दूत करण सिंह र भारतीय विदेश सचिव श्यामशरण सहितको रात्रीभोज थियो ।
भारतीय राजदूतले आयोजना गरेको रात्रिभोजमा एमालेबाट म थिएँ, कांग्रेसबाट अर्जुन नरसिंह केसी थिए ।
डिनरको मौनता तोड्दै श्यामशरणले भने- अधिकारीजी, किङ ने आप लोगों को प्रधानमन्त्री बनाने का वादा कर चूका है, आप लोगों से कोई प्रधानमन्त्री बनिए, और संसद पुनस्थापना किजिए ।’
उनको कुरा मैले अस्वीकार गरें । हामीले राजाको मुखबाट जनतासमक्ष माफी मगाउन खोजेको हो, संसद पुनस्र्थापना गराएर घुँडा टेकाउन खोजेको हो, जनताको शक्तिका अगाडि राजालाई परास्त गर्न खोजेको हो भन्दै उनीहरुको भनाइलाई अस्वीकार गरेँ ।

वैशाख ८ को वक्तव्य अस्वीकृत
वैशाख ७ गते राति राजा ज्ञानेन्द्रबाट वक्तव्य आयो । जनताको नासो जनतालाई बुझाउने, जनआन्दोलनकारी शक्तिलाई कार्यकारी अधिकार फिर्ता दिने लगायतको रकमी भाषा प्रयोग गरिएको थियो ।
हामी गिरिजाबाबु र माधव नेपालसँगै थियौं । त्यो वक्तव्यलाई त्यहीँबाट खारेज गरेर आन्दोलन जारी राख्ने निर्णय हामीले गरिसकेका थियौं । तर ,विदेशीहरुबाट चाहिँ राजाको वैशाख ८ गते रातिको घोषणा मान्न तिब्र दबाव थियो ।
करण सिंहदेखि श्यामशरणसम्म, अमेरिकी राजदूतदेखि राष्ट्रसंघ प्रतिनिधिसम्मले वैशाख ८ को शाही घोषणा मान्न दबाव दिएका थिए । तर, जनताले त्यो घोषणा मध्यरातमा जलाएर आन्दोलन जारी राखे ।
यसरी वैशाख ८गते जनतालाई ढाँट्ने राजाको प्रयास असफल भयो । जनआन्दोलन तुहाउने योजना पनि असफल बनायौं हामीले ।
ज्ञानेन्द्रले दिउसै रात पार्न खोजे
गिरिजाबाबुले मध्यराति भइसक्यो, राजा सुते होलान्, भोलि गरौं भन्नुभयो । तर, महर्जनले मौसूफ त तपाईहरुको सन्देश पर्खेर बसिबक्सेको छ भनेपछि राजा कुन हालतमा रहेछन् भन्ने हामीले बुझ्यौं
पूर्वराजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते वक्तव्यमार्फत आफूसँगको सम्झौता पालना नभएको भनेर दलहरुलाई प्रश्न उठाएका छन् । तर, त्यो जनआन्दोलनका सन्दर्भमा भएका सबै औपचारिक अनौपचारिक छलफल र सहमतिको एउटा जीवित साक्षी म पनि हुँ । त्यसबेला राजासँग कुनै सम्झौता भएको थिएन ।
त्यसबेला सम्झौता गर्ने हैसियत बोकेका गिरिजाबाबु र माधव नेपालनै हुन् । म हरदम उनीहरुसँग थिएँ । कुनै पनि लिखित, अलिखित सम्झौता भएका छैनन् । ज्ञानेन्द्रले दिउँसै रात पार्न खोजेका मात्र हुन् ।
गिरिजाबाबुको निवासमा बेबी किङ
ज्ञानेन्द्रले कस्तो सम्झौताको कुरा गरेका हुन् अझै प्रष्ट पारेका छैनन् । बरु गिरिजाबाबु प्रधानमन्त्रीको सपथग्रहण गरेर फर्किएपछि एक रात अमेरिकी विदेश सहायकमन्त्री पनि नेपाल आएको संयोगमा सशांक निवासमा डिनर थियो । त्यहाँ रामशरण महत पनि थिए ।
अमेरिकी विदेश सहायकमन्त्री र राजदूत मोरियार्टी आएका थिए । मलाई पनि गिरिजाबाबुले बोलाएकाले गएको थिएँ । गफगाफमै अमेरिकी मन्त्रीले भने-मिस्टर अधिकारी, राजा ज्ञानेन्द्र अलोकप्रिय छन्, युवराज पनि लफङ्गो छ रे । बरु नातिलाई राजा किन नबनाउने ? उनको यो कुरा मैले सुनेँ तर कुनै प्रतिक्रिया दिइँन ।
त्यसको केही समयपछि गिरिजाबाबुले बिराटनगरमा पुगेर बेबी किङको कुरा गर्नुभयो । कतै यो कुरा अमेरिकीले गिरिजाबाबुलाई पनि भनेका रहेछन् । सायद ज्ञानेन्द्रलाई पनि भनेका थिए होलान् । यसैलाई ज्ञानेन्द्रले भन्न खोजेका हुन् भने, कुनै अर्थ छैन । बेबी किङको कुरा त दरवारबाटै अस्वीकृत भएको कुरा पनि सुनिएकै हो ।
भारतले दबाव दिएकै होे
वास्तवमा भारतले राजतन्त्र र लोकतन्त्रबीच सम्झौता गराउन खोजेको हो । मनमोहन सिंहले करण सिंहको स्तरको महत्वपूर्ण नेतालाई नेपालमा पठाउनुको आशय पनि त्यही नै हो । तर, जनता जागेपछि विदेशीको पनि केही लाग्दैन । जतिसुकै शक्तिशाली भए पनि नेपाली जनताको चाहना भन्दा ठूलो केही होइन ।
मैले नै जनआन्दोलन चर्किदै जाँदा करण सिंहलाई भनेको थिएँ-तपाईको त पारिवारिक नाता पनि हुन्, ज्ञानेन्द्रलाई सम्झाउनुस्, उनी जनतासँग हार्दैछन् । तर, करण सिंहले वीरेन्द्रसँग मेरो अनौपचारिक सम्बन्ध पनि थियो, तर यो ज्ञानेन्द्रसँग औपचारिक मात्र छ भने ।
गफगाफमै अमेरिकी मन्त्रीले भने-मिस्टर अधिकारी, राजा ज्ञानेन्द्र अलोकप्रिय छन्, युवराज पनि लफङ्गो छ रे । बरु नातिलाई राजा किन नबनाउने ?
त्यसबेला दिल्लीको दुत बनेर नेपाल आएका करन सिंहले कुनै न कुनै प्रकारको राजतन्त्र रहोस् भन्ने चाहेका थिए । तर, ढिला भइसकेको थियो । करण सिंह र श्यामशरणले त वैशाख ८ गतेको शाही घोषणा मान भनेर दबाब दिएकै हुन् । श्यामशरणले दिल्लीमा पत्रकार सम्मेललन गरेरै वैशाख ८ को शाही सम्बोधनको स्वागत गरेका थिए ।
राजाका सचिवको दौडधूप
वैशाख ८ को शाही घोषणा ठाडै अस्वीकार गरेको मैले नै हो । गिरिजाबाबु र माधव नेपाललाई मैले तपाईहरु यसमा नभुल्नुस भनेकै हो । त्यसपछि ९ र १० गते आन्दोलन अझ उत्कर्षमा पुग्यो । वैशाख ११ गते साँझ माधव नेपाल मेरो घरमा बस्ने गरी आउनुभयो ।
राति राजाका प्रमुख स्वकीय सचिव पशुपतिभक्त महर्जनले मलाई फोन गरेर माधव नेपालसँग कुरा गर्न खोजे । माधव नेपालसँग कुरा गराएपछि अहिलेनै भेट्नुपर्यो भन्न थाले । माधव नेपाल र म गाडी मगाएर गिरिजाबाबुको निवासमा पुग्यौं । पशुपतिभक्त महर्जन राजाको वक्तव्य बोकेर आइपुगे ।
गिरिजाबाबु र माधव नेपालले त्यो वक्तव्य पढेपछि महेश आचार्यले केही केरमेट गरे । त्यसपछि गिरजाबाबुले भरतमोहन हेर भनेर मलाई दिनुभयो ।
मैले प्रतिनिधिसभा पुनस्थापना गरिबक्सेका छौं भन्ने पहिलो हरफ ठीक छ, अरु सबै सच्याउनुपर्छ भनेँ । किनकि तल्लो हरफमा संसदको अधिवेशन सभामुखले सल्लाह गरेर डाक्ने भन्ने थियो ।
मैले अधिवेशनको मिति यही वक्तव्यमा तोकिनुपर्छ भनेपछि पशुपतिभक्त महर्जन झोक्किए । संसद अधिवेशनको मिति क्याबिनेटको सिफारिसमा तोक्ने कुरा तपाई मन्त्री भइसकेको मान्छेलाई थाहा छैन ? भने । मैले यो असामान्य अवस्था हो, संसद पुनस्थापना जनआन्दोलनबाट भएकाले यसको अधिवेशनको मिति पनि अहिले नै तोकिनुपर्छ भनेपछि फेरि राजाबाट सच्याएर ल्याउन भन्दै हिँडे ।
गिरिजाबाबुले मध्यराति भइसक्यो, राजा सुते होलान्, भोलि गरौं भन्नुभयो । तर, महर्जनले मौसूफ त तपाईहरुको सन्देश पर्खेर बसिबक्सेको छ भनेपछि राजा कुन हालतमा रहेछन् भन्ने हामीले बुझ्यौं ।
यसरी वैशाख ८ गतेको शाही वक्तव्य खारेज गरेर वैशाख ११ गते राजालाई झुकाउन हामी सफल भएका थियौं । वैशाख ८ गते आजको दिन म ती वीर शहीद र जनआन्दोलनका योद्धाप्रति हार्दिक सम्मान प्रकट गर्छु ।
(एमालेका वयोबृद्ध नेता भरतमोहन अधिकारीसँग अनलाइनखबरकर्मी मात्रिका पौडेलले गरेको कुराकानीमा आधारित । अधिकारी जनआन्दोलन ०६२/६३ को बेला एमालेको तर्फबाट आन्दोलन, वार्ता र सहमतिको निर्णायक भूमिकामा थिए)
प्रतिक्रिया 4