सुनिल संगम
देश भित्रका राजनीतिक, आर्थिक, सामाजिक तथा अन्य विभिन्न कारणहरुले बेरोजगार बनेकाहरु र राम्रो अवसरको खोजी गर्नेहरु अन्य विकसित मुलुकहरुतिर परदेशिने बढ्दो क्रमसँगै ९० को दशकपछि पोर्तुगल पनि हामी नेपालीहरुको लागि राम्रो एउटा गन्तब्य बन्दै आइरहेको छ । बिस्तारै नेपालीहरु विभिन्न देश हुदै पोर्तुगल आउने क्रम बाक्लिदै गैरहेकोबेला नेपाली राजनीतिक, सांस्कृतिक अनि सामाजिक गतिविधिहरु पनि बढ्दै गैरहेको छ यहाँ ।
नेपालीहरुको बाक्लो उपस्थितिसँगै विभिन्न राजनीतिक संघ संगठनहरुको भातृ संघ संस्थाहरुदेखि लिएर जातीय, भौगोलिक तथा अन्य गतिविधिको लागि बिभिन्न संघ संस्थाहरु प्रसस्तै खोलिएका छन् । यसरी नेपालीहरुको बाक्लै उपस्थिति भैसक्दा पनि आजसम्म पोर्तुगलमा यति नै नेपाली छ भनेर कुनै निकायले ठोकुवा गरेर फ्याट्ट भन्न सक्ने स्थिति छैन तर पनि पोर्तुगलबासी सर्वसाधारणहरुको अनुमान करिब दश हजारको हाराहारीमा पुगिसकेको छ |
वैधानिक रुपमा कागज बनाउनकै निम्ति पनि दिन-प्रतिदिन विभिन्न मुलुकहरुबाट नेपालीहरु पोर्तुगल भित्रिने क्रम जारी छ । दुखको कुरा यति धेरै नेपालीहरु भैसक्दा पनि पोर्तुगलमा आजसम्म नेपाली दूतावासको स्थापना हुन सकेको छैन । त्यसकारण पनि पोर्तुगलमा रहेका नेपालीहरुको लागि फ्रान्सस्थित नेपाली दूतावास धाउनुपर्ने असहज अवस्था छ भने नेपालमा पनि पोर्तुगल दूतावासको लागि दिल्ली धाउनुपर्ने बाध्यात्मक अवस्था छ तसर्थ पनि पोर्तुगलमा रहेका हामी नेपालीहरुले सधै निकै हैरानी खेप्नु परिरहेको छ । हुन त अघिल्लो वर्ष मात्र लिस्बोनमा खोलिएको कन्सुलरको कार्यालयले केही सहज महसुस गरिएको छ ।
पोर्तुगलमा रहेका नेपालीहरुको अहिलेको बिकराल समस्या भनेको २०१५ नोभेम्बरभित्र एमआरपी बनाउनु नै हो | बैधानिक भएकाहरु र छुट्टी मिलाएर नेपाल जानेहरुले त मौकामा नेपालतिरै एमआरपी बनाएर फर्किए या फर्किनेछन् तर अबैधानिक, नेपाल जान नपाउने र जान नसक्नेहरुको लागि फ्रान्सस्थित नेपाली दूतावास नै धाउनुपर्ने बाध्यता हुन्छ तर एमआरपीको निम्ति एनआरएन पोर्तुगलले फ्रान्सस्थित नेपाली दूतावास र पोर्तुगलस्थित नेपाली समुदायको बीच काम गर्दै आइरहेको एउटा उदारणीय राम्रो पक्ष छ । यति हुँदाहुँदै पनि रामोसँगै अर्को नराम्रो पक्ष भनेको धन देखेपछि महादेवको तीन नेत्र भने झैं बिना हिसाब १० यूरो प्रत्येक ब्यक्तिबाट झ्वाम हुनु हो ।
१० हजार नेपाली रहेको ठाउँमा प्रत्येक एमआरपी बनाउने नेपालीबाट १० यूरो झ्वाम पारिएको रकम अवश्य पनि सानो हुदै होइन यतिबेला देश महामारीमा परेको छ यस्तो बेला जनताको त्यो पसिना जनताकै लागि अर्थात महाभूकम्प पीडितहरुको लागि राहतको रुपमा उपलब्ध गराए उचित हुने हुनाले सम्बन्धित निकायको ध्यान त्यतातिर पक्कै जानेछ ।
एमआरपी बनाएबापत नेपाल सरकारलाई प्रत्येक व्यक्तिबाट १२० यूरो राजश्व जम्मा गर्नु पर्दछ । थप १० यूरो तिर्दा अर्थात् १३० यूरो तिरेपछि प्रत्येक व्यक्तिको ठेगानामा नयाँ एमआरपी पोस्ट गर्ने व्यवस्था फ्रान्सस्थित नेपाली दूताबासले गरेको छ ।
एनआरएन पोर्तुगलले प्रत्येक व्यक्तिबाट राजश्वबापत १२० यूरो, फान्सस्थित नेपाली दूतावासबाट नयाँ एमआरपी पोष्ट गर्न १० यूरो, फारम भरेको ५ यूरो, पुरानो पासपोर्ट र नागरिकता फ्रान्सस्थित नेपाली दूतावास पुर्याउन १० यूरो गरी जम्मा १४५ यूरो उठाउने गरेको छ । फेरि नयाँ एमआरपी आउँदा पुरानो पासपोर्ट रद्द गरेर नयाँ ल्याउदा थप १० यूरो शुल्क लिने गरेको छ । यसरी यो हिसाबमा एनआरएन पोर्तुगलले एमआरपी पोर्तुगल ल्याई पुर्याउँदा फ्रान्सस्थित नेपाली दूताबासले एमआरपी पोस्ट गर्ने १० यूरो बेहिसाब हुन गइ झ्वाम हुन जान्छ ।
१० हजार नेपाली भएको ठाउँमा प्रत्येक ब्यक्तिबाट १० यूरो झ्वाम पार्नु भनेको सानो रकम पक्कै होइन । यसरी बेहिसाब जनताको पसिना झ्वाम पार्ने फ्रान्सस्थित नेपाली दूतावास हो की एनआरएन पोर्तुगल हो ? यसको जवाफ सम्बन्धित निकायले तुरुन्त दिनै पर्दछ । यदि दिन सक्दैन भने एनआरएन पोर्तुगललाई नेपाली जनतासँग राजश्व उठाउने अधिकार कसरी कुन कानून अनुसार कसले दियो ? त्यसको पनि खोजि गर्नुपर्ने दिन आउला ।
अहिलेको समयमा नेतृत्व गर्नेहरु भन्दा नेतृत्व दिनेहरु धेरै बुझेका छन् । अझै यूरोपसम्म आइपुगेका हामी नेपालीहरु पक्कै पनि लाटा होइनौ बरु बाध्यतामा पिल्सिएका छौं । १० हजार नेपाली रहेको ठाउँमा प्रत्येक एमआरपी बनाउने नेपालीबाट १० यूरो झ्वाम पारिएको रकम अवश्य पनि सानो हुदै होइन यतिबेला देश महामारीमा परेको छ यस्तो बेला जनताको त्यो पसिना जनताकै लागि अर्थात महाभूकम्प पीडितहरुको लागि राहतको रुपमा उपलब्ध गराए उचित हुने हुनाले सम्बन्धित निकायको ध्यान त्यतातिर पक्कै जानेछ ।
- लिस्बोन पोर्तुगल
प्रतिक्रिया 4