+
+

माओवादी नेता भट्टराई प्राविधिकसहित उत्तरी गोरखा लागे

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ ६ गते ९:३९

६ जेठ, काठमाडौ । पूर्वप्रधानमन्त्री तथा एमाओवादी बरिष्ठ नेता डा. बाबुराम भट्टराई प्राविधिकहरुसहित भूकम्पले अतिप्रभावित गोरखाको उत्तरी क्षेत्रमा लागेका छन् ।

फाइल फोटो भूकम्पपछि प्रारम्भिक राहत वितरण तथा विपद् व्यवस्थापनको अवस्था बुझ्न र अस्थायी बसोबास तथा नयाँ बस्ती प्रणाली विकासको सम्भावनालगायतको अध्ययनका लागि प्राविधिक टोलीसहित उत्तरी गोरखातिर लागेको उनको निजी सहयोगी विश्वदीप पाण्डेले बताए ।

भट्टराईसँगै एमाओवादी स्थायी समिति सदस्य जनार्दन शर्मा प्रभाकर पनि गोर्खा गएका छन् । एमाओवादी नेताहरुले आश्रय नेपालको टोलीलाई पनि आफूहरुसँगै गोरखा लगेर गएका छन् ।

‘तत्काललाई एक सय अस्थायी घर बनाउने सामान र प्राविधिक टोलीसहित हामीहरु गोर्खा हिँडेका छौं,’ प्रभाकरले भने, ‘पछि सामाग्रीहरु थपेर अरु घर पनि बनाइन्छ ।’

नवनिर्माणको लागि एकीकृत बस्ती विकासको सम्भावना लगायतका विषयमा अध्ययनका लागि भन्दै त्यसतर्फ लागेका भट्टराईको साथमा इञ्जिनियर, भूगर्भविद लगायतको प्राविधिक टोली छन् । टोलीले पूर्णरुपमा क्षति पुगेका बस्तीको पुनःस्थापनाका लागि प्राविधिक अध्ययन गर्नेछ ।

नेता भट्टराई बैशाख १२ को महाभूकम्पको केन्द्रविन्दू बारपाक, गुम्दा, लाप्राक लगायतका ठाउँमा पुग्नेछन् । उनले ती प्रभावित क्षेत्रहरुमा राहत वितरण तथा ब्यवस्थापनका बारेमा समेत छलफल गर्नेछन् ।

ती स्थानहरुमा राहत पुगे/नपुगेको बारेमा जानकारी लिने तथा अपुग भएको भए जिल्लास्थित सरकारी संयन्त्रसँग समन्वय गरी तत्काल प्रारम्भिक राहत पुर्याउन पहल गर्ने बताइएको छ ।

विगत एक हप्तादेखि भट्टराईपुत्री मानुषी यमी पनि गोरखाको भूकम्प प्रभावित गाउँहरुमा अस्थायी टहरा निर्माणमा सक्रिय ढंगले लागेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?