+
+
यात्रा :

सुन्दर पेन्टिङ जस्तो तिलिचो ताल

कुनै चित्रकारले पोतेको सुन्दर पेन्टिङ झैं लाग्ने वरिपरि हिमालले घेरिएको तिलिचो तालमा पुग्दा संसार जितेको अनुभूति भयो, मेरो सारा थकान मेटियो, म त थकान बिर्सेर खुसीले कुद्न पो थालिछु । मेरो पहिलो गन्तव्य सकुशल चुम्न सफल भएकोमा खुसी हुँदै एक घण्टा त्यहाँ बिताएर बेसक्याम्प फर्कियौं ।

सुधा शर्मा सुधा शर्मा
२०८० कात्तिक ३० गते १८:३९

मेरो जन्म धौलागिरि हिमालको काख, बाग्लुङ जिल्ला ओडारचौरमा भएको हो । खोला, नदी, हिमाल, पहाड, फाँट सबै समेटिएको मेरो गाउँ प्राकृतिक सुन्दरताले भरिपूर्ण छ ।

‘पन्ध्रौं चुली’ पुस्तकमा खिमलाल गौतमले माछापुच्छ्रेसँगको प्रेम जसरी वर्णन गर्नुभएको छ त्यसरी नै म धौलागिरिसँग गहिरो प्रेममा परेकी थिएँ ।

छिपछिपे मूलको पानी खाँदा होस् या पालेया वनबाट घाँसको भारी बोकेर चौतारीमा बिसाउँदा होस्, वनपाखामा स्याउला सोहोर्न जाँदा होस् या गाईभैंसी हेर्दा, ढोडेनी खोलामा पौडी खेल्न जाँदा होस् या बाग्लुङ कालिका दर्शन गर्दा जाँदा; धौलागिरि कतै न कतैबाट हरदम देखिइरहन्थ्यो, कालीगण्डकी सुसेलिरहन्थ्यो ।

अझ मामाघर ज्यामरुककोट जाँदा बाटोबाट देखिने पूर्ण धौलागिरि हिमशृंखलाले त हरेक पटक मोहनी लगाउँथ्यो । म धौलागिरिलाई हेरेर कहिल्यै थाक्दिनथें ।

उकाली–ओराली, घाँस–दाउरा गर्दागर्दै डाँडा, पाखा, हिमालसँग कहिले साइनो बस्यो पत्तै पाइनँ ।

प्राकृतिक सुन्दरतामा रमाउन कसलाई पो मन लाग्दैन होला र ? त्यसैले मौका मिलेसम्म घुम्न छुटाउँदिनथें । घुम्ने हुटहुटी मनमा छँदै थियो ।

श्रीमान्सँग ‘यो दशैंको बिदामा हामी तिलिचो ताल घुम्न जाउँ है’ भन्ने प्रस्ताव राखें । ‘तिलिचो मात्र जाने भए त जान्नँ थोरोङ ला पास नि गर्ने भए जाम न त, मेरो थोरोङ ला पास ह्याट्रिक नि हुन्छ’ हाँस्दै स्वीकृति दिनुभयो ।

त्यसपछि मैले तिलिचो र थोरोङ लाको बारेमा इन्टरनेटमा भेटिने सबै सामग्रीहरूको अध्ययन गरेर मेरो पहिलो ‘हाई अल्टिच्युड’ पदयात्राको लागि मनोबल उच्च बनाएँ ।

तिलिचो, नीलगिरि, खाङ्सार र मुक्तिनाथ हिमालको काखमा रहेको तिलिचो ताल विश्वकै सबभन्दा बढी उचाइमा रहेका तालहरूमध्ये एक रहेछ । तिलिचोलाई जसरी विश्वको सबैभन्दा उचाइमा रहेको ताल भनेर सामाजिक सञ्जाल, पत्रपत्रिकामा वर्णन गरिन्छ, चिली र अर्जेन्टिनाको सिमानामा रहेको ओजोस देल सालादो विश्वको सबैभन्दा उचाइमा रहेको ताल हो जुन समुद्री सतहबाट ६३९० मि. उचाइमा रहेछ ।

प्रकृतिको अनुपम उपहार तिलिचो ताल, तिलिचो हिमाल र नीलगिरि हिमालको ग्लेसिएरबाट बनेको विश्वास रहेछ । पौराणिक किंवदन्ती अनुसार काक भुसुन्डी पनि भनिने यो ताललाई स्थानीय भाषामा तिरिछो भनिने रहेछ । तिरी भनेको कुनाकाप्चा र छो भनेको ताल ।

विभिन्न अन्तर्राष्ट्रिय सर्वेक्षणले जीवनमा एकपटक पुग्नै पर्ने विश्वका उत्कृष्ट १० गन्तव्यमध्ये एक अन्नपूर्ण पदयात्राभित्र पर्ने समुद्री सतहबाट ५४१६ मि. उचाइमा रहेको सबैभन्दा अग्लो विन्दु चाहिं थोरोङ ला पास रहेछ । हिमालपारिका दुई जिल्लाहरू मनाङ र मुस्ताङको सिमानामा रहेको पुरानो व्यापारिक नाका थोरोङ ला भञ्ज्याङ धेरै साहसिक पदयात्रीको रोजाइमा पर्ने रहेछ ।

पहिलो दिन

बिहान ६ बजे बसपार्कको गेटमा पुग्दा जेब्रा झोला काँधमा राखी हतार–हतार बस छुट्ला झैं गरी एक हातले झोला समाती अर्को हातले केटाकेटी डो¥याएर बसपार्कतिर यात्रुहरू लम्किरहेका थिए । फूलपातीको दिन काठमाडौं छाडेर दशैंमा आफ्नो घर जान सबैलाई हतारो थियो ।

६:०० बजे बसपार्क आएर फोन गर्नु भनेका रामशरण गुरुसँग सम्पर्क हुन सकेन न त अग्रिम बुकिङ गरेको माइक्रो बस नै भेटियो । ७ बजेसम्म कुरियो, अन्त्यमा डिलक्स बसको टिकट सजिलै काटेर बेसीशहरतिर लाग्यौं ।

योभन्दा अगाडि मार्दी, खुमाइ डाँडा ट्रेकिङ गए पनि यो अलि लामो ‘हाई अल्टिच्युड’ पदयात्रा भएर होला म निकै रोमाञ्चित थिएँ । तिलिचोको बारेमा निकै सुनेकी थिएँ, सामाजिक सञ्जालमा धेरै भिडियोहरू हेरेकी थिएँ, चलचित्रका गीतहरूमा देखेकी थिएँ, साँच्चै आज मेरो सपना पूरा हुन लागे झैं भान भइरहेको थियो ।

यो पदयात्रामा मैले लमजुङ र हिमालपारिको जिल्ला मनाङ गरेर दुइटा नयाँ जिल्ला टेक्दैथिएँ, मेरो लागि यो पनि नौलो अनुभव थियो ।

डिलक्स बस तनहुँको डुम्रे बजारबाट उत्तर लमजुङ बेसीशहरतर्फ लाग्यो । लमजुङका फाँटहरू लहलह झुलिरहेका धानले पहेंलपुर थिए । खोंचमा हरियो मस्र्याङ्दी बगिरहेको थियो । मस्र्याङ्दीका बगरहरू काँस फुलेर सेताम्ये थिए । म झ्यालबाट तस्बिर, भिडियोहरू लिनमै व्यस्त थिएँ ।

अपराह्न ३ः३० बजे बेसीशहर पुगियो । मनाङ जाने जीपहरू सबै छुटिसकेको कारणले बेसीशहर बस्नुको विकल्प थिएन । तर पहिलो दिन सीधै माथि मनाङसम्म जानुभन्दा बेसीशहरमै आराम गर्दा राम्रो हुन्छ ।

मनाङ चोक नपुग्दैको मनास्लु होटलमा एउटा कोठा लिएर हामी मस्र्याङ्दीतिर ओराली लाग्यौं । मेरो श्रीमान्ले गँड्यौला खोजेर धागोमा बल्छी तयार गरिसक्नुभएको थियो । बेसीशहरको गर्मीलाई एकैछिनमा मस्र्याङ्दीको शीतलताले बिर्साइदियो ।

‘बुढा, आज साँझ के तिहुन खाने हो, एउटा पनि माछा पार्न सकेनौ, भोकै परिने भइयो !’ मजाक गर्दै हामी ५ बजे बेसीशहर उकालो लाग्यौं ।

मधुर आवाजमा बजेका अंग्रेजी गीतहरू, झिलिमिली बलेका बत्ती, यताउता डुलिरहेका पर्यटकहरूले गर्दा बेसीशहरले कता–कता पोखरा लेकसाइडको छनक दिइरहेको थियो ।

दोस्रो दिन

हामी बिहान ६:३० बजे नै ब्याकप्याक बोकेर होटल अगाडि तयार अवस्थामा बसिसकेका थियौं । ७ बजे छुट्ने भनेको मनाङ जाने जीप ७ः३० बजे मात्र छुट्यो । बेसीशहरबाट धुलो उडाउँदै मस्र्याङ्दीको किनारै–किनार ढलान गरेको बाटो च्याम्चे झरना पुग्न दुई घण्टा लाग्यो । मनमोहक झरनालाई पृष्ठभूमिमा राखेर खाना खाँदा निकै आनन्दित थिएँ । च्याम्चे झरनालाई स्थानीयले बुङ्ग छहरा पनि भन्ने रहेछन् ।

मनग्ये तस्बिरहरू खिचेर पहाडको बाटो जीप फेरि उकालो लाग्यो । चट्टानहरू फोरेर बनाएको बाटो बाँदर लड्ने जस्तो भीर अनि तल मस्र्याङ्दी नदी, झ्यालबाट बाहिर हेर्दा आङै जिरिङ्ग हुन्थ्यो ।

म्यार्दी भीरको घुम्ती सकिनेबित्तिकै मस्र्याङ्दीको बगरमा अवस्थित सुन्दर मनाङको ताल गाउँ देखियो । ताल गाउँलाई तस्बिरमा कैद गरेर जीप अगाडि बढ्यो ।

अन्नपूर्ण  संरक्षण क्षेत्र पदयात्रामा हिंडेका पर्यटकहरूले धारापानीमा दर्ता गर्नुपर्ने रहेछ । धारापानीबाट पूर्वतिर लार्के पास हुँदै मनास्लुको पदयात्रामा जान सकिने रहेछ । श्रीमान्ले सबै सूचनाहरू नसोधे पनि दिइरहनुभएको थियो ।

धारापानीबाट दानाक्यू, बगरछाप, तिमाङ, थानचोक, कोतो हुँदै मनाङ सदरमुकाम चामे पुगियो ।

चामे छाडेर मस्र्याङ्दीको तीरै तीर मोटर अगाडि बढ्यो । ड्राइभर दाइले ऊ त्यो हुम्दे एयरपोर्ट हो भनेर देखाइरहँदा मैले फोटो खिच्न मोबाइल तेस्र्याइसकेकी थिएँ । मैले चामेमा ड्राइभर दाइलाई ‘कतै स्याउको बोटहरू देख्नुभयो भने रोकिदिनु न है’ भनेर आग्रह गरेकी थिएँ । त्यही प्रस्तावलाई शिरोपर गर्दै जीप हुम्दे एयरपोर्टको पश्चिम सब्जे उपत्यकामा अवस्थित ‘सब्जे फार्म’मा रोकिदिनुभयो ।

जीवनमा पहिलोपल्ट स्याउको बोटैबाट स्याउ टिपेर खान पाउँदाको अनुभव बटुल्न पाएँ । हामी सबैले १÷१ किलो स्याउ किनेर टोक्दै फेरि मनाङतिर धुलो बाटो लागियो ।

हामी जीपमा धुलो उडाउँदै अगाडि बढ्दा विदेशी पर्यटकहरू हातले मुख छोप्दै पैदल यात्रा गरेको देख्दा मन चसक्क भयो । पदयात्रा मार्ग र जीप हिंड्ने बाटो किन एउटै होला भनी मनमा कुरा खेलाउँदा खेलाउँदै खाङ्सार पुगियो ।

होटलमा झोला बिसाएर टिम्बुर हालेको गार्लिक सुप खाई हामी एकछिन टहलिन बाहिर निस्कियौं । मनाङ हिमालपारिको जिल्ला भएर होला हिमाल हाम्रो दक्षिणमा थिए । ३७५६ मि. उचाइमा अवस्थित खाङ्सारबाट हामी भ्यु पोइन्ट ३९९० मिसम्म उकालो गयौं तल ओर्लेर फेरि आधा बाटो मनाङ पुग्यौं र फक्र्यौं ।

सन्ध्याकालीन हिंडाइले हामीलाई केही हदसम्म ‘हाई अल्टिच्युड’मा ‘एक्लिमाटाइज’ गर्न सहयोग पुर्या‍यो होला भन्ने लख काटियो ।

हामी बसेको होटल लगायत खाङ्सारका सबै होटलका प्राङ्गण मोटरसाइकलहरूले भरिएका थिए । खाङ्सारसम्म बाटो बनेसँगै धेरै युवा युवती मोटरसाइकलमा खाङ्सारसम्म आउने रहेछन् । यदि तपाईंहरूले पनि तिलिचो जाने सोच बनाउनुभएको छ भने कृपया पहिलो दिन चामे अथवा मनाङमा बसेर मात्र खाङ्सार र त्योभन्दा माथि पदयात्रा गर्नुहोला र सकेसम्म उच्च भूभागमा पुगेपछि चुरोट, गाँजा, रक्सी सेवन नगर्नुहोला । खाङ्सारमा धेरैलाई लेक लागेको सुनें, प्रत्यक्ष देखें पनि । बेसीशहरबाटै गाँजाको धुवाँ उडाइरहेका दुई जना भाइहरूमध्ये एक जनालाई खाङ्सारमा लेक लागेर लडेको प्रत्यक्ष देखें । लेक लागेको बेला खाने एसिटाजोलामाइड औषधि बोक्न नबिर्सनुहोला ।

हामी बसेको होटलमा काठमाडौं बौद्धबाट आउनुभएको टोलीसँग साँझ अबेरसम्म नाचगान गर्दा दिनभरिको थकान सबै हरायो ।

तेस्रो दिन

बिहान रोटी तरकारीको नास्ता खाएर हामीले पदयात्रा सुरु ग¥यौं । चेलपार्क मसी पोखिए जस्तो नीलो आकाशमा हिमाली कागहरू कावा खाँदैथिए । वरिपरि विदेशी पदयात्रीहरूसँगै हिंड्दा मेरो मन निकै उत्साहित थियो ।

तारे गुम्बाहुँदै उकालो बाटो दुई घण्टामा चाँदी झैं टल्किरहेका हिमालहरू पृष्ठभूमिमा रहेको सुन्दर श्रीखर्क पुगियो ।

तिलिचो तालबाट फर्केर थोरोङ ला पास गर्न श्रीखर्कमै बास बस्नुपथ्र्याे । चाहिने मात्र लुगाफाटा एउटा झोलामा राखी अर्को झोला श्रीखर्कमै छाडी हामी लाग्यौं तिलिचो आधारशिविरतर्फ ।

साँघुरो गोरेटो बाटो, तल मस्र्याङ्दी नदी र माथिबाट ढुंगा खस्ने हुन् कि भनेर सजग हुँदै पहिरोको ‘एड्भेञ्चरस’ कहालीलाग्दो बाटो छिचोल्दै ४ घण्टामा हामी समुद्री सतहबाट ४१६० मिटर उचाइमा रहेको तिलिचो आधारशिविर पुग्यौं ।

अपराह्न ४ः०० बजे आधारशिविर पुग्दा चिसो सिरेटो चलिरहेको थियो, हिमालमा बादल मडारिइसकेको थियो, मस्र्याङ्दी सुसाइरहेको थियो । झ्यालबाट हिमाल देखिने कोठामा झोला राखी हतारहतार ‘डाइनिङ’मा गयौं । फलामको ठूलो लाम्चो चुलोबाट आइरहेको ताप र धुवाँले ‘डाइनिङ’ न्यानो थियो । स्वदेशी, विदेशी पर्यटकहरू प्रशस्तै थिए । कोही पुस्तक पढिरहेका थिए कोही साथीभाइसँग इन्टरनेटको सहायताले भिडियो कल गरिरहेका भने कोही तासमा रमाइरहेका थिए ।

अंग्रेजी प्रष्ट बोल्न नआए पनि टुटेफुटे अंग्रेजीमा विदेशीहरूसँग बोल्ने प्रयास गर्थें, उनीहरूको बोलीचाली, रहनसहन सँगै नयाँ अनुभव साटिरहेकी थिएँ ।

तिलिचो आधारशिविरमा भेटिनुभएका ६७ वर्षका जर्मन नागरिक माक्र्स जुसेले उनको देशको सबैभन्दा अग्लो पहाड नै जम्मा २९६२ मि अग्लो छ, ५४१६ मि अग्लो पास गर्न नेपाल आएको बताउनुभएको थियो ।

मलाई जे कुराको डर लागिरहेको थियो अन्त्यमा त्यही भयो, मलाई महिनावारी भयो । महिनावारीको समयमा भोलि तिलिचो जाने, नजाने म आफंै अन्योलमा थिएँ ।

खाना रुचेको थिएन । जस्तो तस्तो रुच्दैन मलाई खाना मीठो चाहिन्छ । श्रीमान् ‘मीठो खान खोज्ने मान्छे किन यात्रा गर्नु, यात्रामा जस्तो भेटिन्छ त्यस्तै खानुपर्छ’ भनेर बेला–बेला कराइरहनुहुन्थ्यो ।

हामीले घरबाट लगेको टिम्बुरको छोपले अलि अलि भएपनि खानाको स्वाद फेर्न सहयोग गर्‍यो ।

भोलि बिहानको अवस्था कस्तो हुन्छ त्यही अनुसार निर्णय गर्नुपर्ला भन्दै सुतियो । मनमनै भोलि तिलिचो पुग्न सकियोस् भन्ने प्रार्थनाका साथ सुतें ।

हाई अल्टिच्युडमा भएर होला रातभर निद्रा परेन । आँखा चिम्ले पनि झिमिक्कै निद्रा परेन । धेरैजसोलाई निद्रा नपर्ने समस्या हुनेरहेछ ।

चौथो दिन

बिहान ३ः३० बजे उठें । ट्वाइलेटको बाल्टीमा पानी जमेको थियो, पाइपमा पानी जमेर धारामा पानी आएको थिएन । तापक्रम सायद माइनस १०÷११ डिग्री सेल्सियस थियो । नङ ठिहि¥याउने चिसो थियो ।

दुई वटा थर्मसको पानीले नुहाएपछि फ्रेश भएँ । तिलिचो जान सक्छु भन्ने आत्मविश्वास पलायो ।

हिजो सुत्नु भन्दा अगाडि नै अर्डर गरेको ब्रेकफास्ट ‘टिबेटेन ब्रेड र तरकारी’ तयार भइसकेको थियो । तरकारी जसोतसो खाए पनि त्यो टिबेटेन ब्रेड भन्ने मैदाको बाक्लो रोटी निल्नै सकिनँ ।

तातोपानी र चकलेट खाएर टाउकोमा हेडलाइट बाली म तिलिचो जानलाई तयार थिएँ । मेरो अवस्था देखेर श्रीमान् निकै खुसी हुनुहुन्थ्यो ।

ढिला हिंड्नेलाई ४ घण्टा लाग्ने हामी पनि ४ घण्टामै ४९१९ मि उचाइमा रहेको तिलिचो पुगियो ।

कुनै चित्रकारले पोतेको सुन्दर पेन्टिङ झैं लाग्ने वरिपरि हिमालले घेरिएको तिलिचो तालमा पुग्दा संसार जितेको अनुभूति भयो, मेरो सारा थकान मेटियो, म त थकान बिर्सेर खुसीले कुद्न पो थालिछु । मेरो पहिलो गन्तव्य सकुशल चुम्न सफल भएकोमा खुसी हुँदै एक घण्टा त्यहाँ बिताएर बेसक्याम्प फर्कियौं ।

ओरालो बाटो दुई घण्टामा आधारशिविर झरेर खाना खाई श्रीखर्क हिंडियो ।

समुद्री सतहबाट ४०८० मिटर उचाइमा रहेको श्रीखर्क पुगेर तातो पानीले नुहाएँ । महिनावारी अनि दिनभरको हिंडाइले ज्यान गले तापनि नुहाएपछि ज्यान चङ्गा भयो । भोलि र पर्सिको लागि मानसिक रूपमा तयार भएँ । पर्सि त ५४१६ मि अग्लो थोरोङ ला पास गर्ने, मनमनै उत्साहित र चिन्तित दुवै थिएँ ।

पाँचौं दिन

योजना अनुसार श्रीखर्कबाट थोरोङ फेदी पुग्नुपर्ने, आजको हाम्रो पदयात्रा लामो थियो । ५ बजे निद्रा खुले पनि उठ्ने जाँगर चलेन ।

तिलिचो बेसक्याम्पमा एक झिमिक नगरेको आज १÷२ घण्टा भए पनि निदाएँ । बिहान ७ बजे श्रीखर्कबाट तातोपानी र सातु खाएर आजको पदयात्रा सुरु गरियो ।

हामी श्रीखर्कबाट खाङ्सार जाने ओरालो बाटो छोडी याकखर्कतिर तेर्सो बाटो लाग्दा झलमल्ल घाम लागिसकेका थिए । हिमालको चिसो सिरेटोले हानिरहेको थियो ।

हामी खाङ्सार माथि पुग्दा श्रीखर्कबाट ८ बजे हिंडेका टोलीले भेट्टाइसकेका थिए ।

मेरो मन आत्तिन थाल्यो कतै आज फेदी नपुग्ने त हैन भन्दै, श्रीमान्ले ‘चिन्ता नगर हिजो सजिलै तिलिचो गएको मान्छे आज फेदी पुग्न सक्छौ, नसके पनि नो ओरिज एट अल, वि विल स्टे एट याकखर्क ओर लेदर’ ! ‘तिमी आफ्नो गतिमा हिंडिराख’ भनेर मनोबल बढाइरहनुहुन्थ्यो ।

बाटोमा आराम गरिरहँदा तिलिचो आधारशिविरमा भेटिनुभएका काठमाडौं बर्न हार्ट क्याम्पसका प्रिन्सिपल अमृतबाबु भट्ट सर र सोही क्याम्पसका कर्मचारी सन्तोष सरले हामीलाई भेट्टाउनुभयो । अमृत सर र मेरो हिंडाइ लगभग उस्तै उस्तै थियो भने सन्तोष सर र मेरो श्रीमान्को गति उस्तै । सन्तोष सरको मोटिभेसन अनि अमृत सरको निरन्तर ‘सकिन्छ नानी सकिन्छ’ ले त्यो दिन सजिलै थोराङ फेदीसम्म पुगियो । श्रीखर्कबाट अमृत सर मेरो लागि र म अमृत सरको लागि सहारा जस्तै भयो । अमृत सरका प्रेरणादायी अनुभवहरू सुन्दै बाटो काट्न सजिलो भयो । सरबाट धेरै कुराहरू सिक्ने मौका पाएँ ।

याकखर्कको धादिङ होटलमा रोकियौं । खाना नरुचेको कारणले मैले एक कचौरा दाल र दुइटा अण्डा मात्र खाएँ । सबै जनाले खानाको तारिफ गरेर खाइरहनुभएको थियो । मेरो श्रीमान्को त कुरै नगरौं, उहाँले त जहाँ जहिले पनि मीठो भनेर खानुहुन्छ ।

याकखर्क र लेदरको बीचमा अमृत सरले किनेका स्थानीय स्याउ टोक्दै अगाडि बढ्यौं । झोलुङ्गे पुल तरेर ठाडो उकालो देउराली पुग्न निकै कठिन भयो । देउरालीमा आगो तापेर बसिरहेका भाइहरूले ‘दिदी अब ३० मिनेट मात्र छ’ भन्दा लामो सास फेरेर एकछिन आराम गरें । नसक्ने भए घोडा छ है भनिरहेका थिए । ३० मिनेट लाग्छ भने पनि मलाई फेदी पुग्न १ घण्टा ज्यादा समय लाग्यो, मेरो श्रीमान् फेदीमा झोला राखेर मलाई लिन आउनुहुँदा म फेदीमै थिएँ ।

फेदीको होटलमा ब्याकप्याक बिसाई थर्मस लिएर ‘डाइनिङ’ मा जाँदा, डाइनिङमा नेपाली र विदेशीको भीड देखेर म त एकछिन चकित् परें । त्यति धेरै पर्यटक एकै ठाउँमा कहिल्यै देखेकी थिइनँ । सबैको अनुहार पूर्णिमाको जून झैं झलमल्ल बलिरहेको थियो ।

फेदीमा सादा खानाको ८५० र एक लिटर तातोपानीको २५० तिरियो । भोलि त थोरोङ ला पास गर्नुपर्छ भन्दै निदाउने कोसिस गरें, तर आँखा चिम्म मात्र गरें निद्रा फिटिक्कै परेन ।

छैटौं दिन

तातोपानी र सातु खाएर टाउकोमा हेडलाइट बाँधी बिहान ४ बजे जूनको उज्यालोमा हामी ४ जना फेदीबाट उकालो लाग्यौं । हामीभन्दा अगाडि पछाडि थुप्रै पदयात्रीहरू थिए । बाटो साँघुरो भएकोले अगाडि जान चाहनेले पनि केही बेर कुर्नुपथ्र्यो अथवा भित्ता भित्ता उक्लनुपथ्र्यो ।

पदयात्रीहरूको भीडमा नेपाली पर्यटक भन्दा विदेशी नै धेरै देखिन्थे । उत्तिकै मात्रामा भरिया दाजुभाइहरू पनि थिए ।

केही मिटर हिंडेर पछाडि फर्केर हेर्दा तिहारको झिलिमिली बत्ती बलिरहे झैं देखिन्थ्यो ।

मलाई मेरा श्रीमान्ले बाहेक लगभग सबैले उछिने, अमृत सर र सन्तोष सरसँग हाईक्याम्पमा भेट भयो । ४५२५ मि को थोराङ फेदीबाट ४८८० मि हाईक्याम्प पुग्न डेढ घण्टा लाग्यो । हिंड्न गाह्रो हुनेहरूको लागि घोडाको पनि व्यवस्था रहेछ । नेपालीको लागि फेदीबाट थोरोङ ला पाससम्मको १५ हजार लाग्ने रहेछ । धेरै विदेशीहरू घोडाको सहारा लिएर मास्तिर लागेको देखें । बरु आराम गर्दै गर्दै विस्तारै जान्छु तर घोडा चढ्दिनँ भन्ने दृढ संकल्पित थिएँ ।

चिसोले हातखुट्टा ठिहि¥याइरहेका थिए, हाईक्याम्प पुगेर हतारहतार होटल भित्र एकछिन न्यानोमा बस्नुप¥यो भनेको खुट्टा टेक्ने ठाउँ थिएन, सबै विदेशी पर्यटकहरू थिए । एक जना महिला विदेशी त ‘आई कान्ट फिल माइ लेग’ भन्दै, रुँदै फेदीतिर ओर्लेको देखेकी थिएँ ।

हाईक्याम्पमा १० मिनेट आराम गर्दा एक कप तातोपानी र स्निकर्सले ऊर्जा दियो । चारैतिर हिमाल थियो, बाटोभरि हिउँ ।

घाम लागेपछि हिमालमा घामको किरण पर्दाको दृश्य निकै मनमोहक थियो । घामसँगै मन चङ्गा भयो, हिंड्न रमाइलो लाग्न थाल्यो ।

हिउँको बाटोमा साइकल डोर्या‍इरहेका एक जना विदेशीसँग ‘कत्तिको गाह्रो भा’छ ?’ सोध्न मन थियो तर बोल्ने जाँगर आएन । हामी ४ घण्टा लगाएर थोरोङ ला पास पुगियो ।

बेजोडले हावा चलिरहेको थियो, निकै चिसो थियो । लगाएका लुगा छेडेर चिसोले भित्रै छोयो । प्रतिकूल स्वास्थ्य अवस्थाका बाबजुद पनि समुद्री सतहबाट ५,४१६ मिटरको उचाइमा रहेको अन्नपूर्ण परिक्रमा पदयात्राको सबैभन्दा कठिन खण्डका रूपमा लिने गरेको थोरोङ ला पास गर्दा आफूलाई गौरवान्वित महसुस गरें । संसार जिते जस्तो भयो ।

केही तल पुगेर घाममा ज्यान सेकाउँदै बाँकी रहेका चकलेट, खानेकुराहरू खाँदै धेरै बेर थकान मारियो, ‘थोरोङ ला पास गरिहालियो, मुस्ताङ त अब जतिबेला पुगे नि भयो’ अमृत सरले हाँस्दै भन्नुभयो ।

मेरो यात्रामा भेटिएका सबैले केही न केही अवश्य सिकाएर जानुभएको छु । काठमाडौं बर्न हार्ट क्याम्पसका प्रिन्सिपल सर अमृतबाबु भट्ट, सोही क्याम्पसका कर्मचारी सन्तोष सर, तिलिचो आधारशिविरमा भेटिनुभएका रोहित भाइ र उनकी साथी, थोराङ फेदीमा भेटिनुभएकी डा. प्रकृति गिरी र डा. रोहित बल्यानलाई हार्दिक नमन जसले मलाई निरन्तर हौसला र साथ–सहयोग दिइरहनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?