Comments Add Comment

दैनिक ८ सय मेट्रिक टन जस्तापात उत्पादन

Jasta pata

७ जेठ, काठमाडौं । विनाशकारी भूकम्पले ठूलो संख्यामा घर, विद्यालय तथा स्वास्थ्य चौकी ध्वस्त भएपछि जस्तापाताको माग हृवात्तै बढेको छ । जस्तापाताको माग पुर्‍याउन उद्योगीहरु दिनरात नभनी उत्पादनमा जुटेका छन् ।

सरकारको पछिल्लो तथ्यांकअनुसार भूकम्पबाट अहिलेसम्म ४ लाख ७९ हजार बढी घरहरु पूर्ण रुपमा ध्वस्त भएका छन् । त्यस्तै, २ लाख ६३ हजार बढी घरमा आंशिक क्षति पुगेको छ । ठूलो संख्यामा विद्यालय तथा स्वास्थ्य चौकीहरु समेत भूकम्पबाट ध्वस्त भएका छन् ।

यी संरचनाको पुनर्निर्माणका लागि सबैभन्दा बढी आवश्यक जस्तापाता देखिन्छ । सिमित मात्रामा जस्तापाता उत्पादन गर्दै आएका उद्योगहरुलाई एक्कासी बढेको माग धान्न समस्या भइरहेको छ । उद्योगीहरुले दैनिक १०/१२ घण्टाको लोडसेडिङ र मजदूर अभावका कारण जस्तापाताको उत्पादन बढाउन धौ-धौ परिरहेको बताउँछन् ।

अहिले नेपालमा हुलास स्टिल्स इन्डस्टि्रज प्रालि, आरती स्टि्रप्स प्रालि, राजेश मेटल क्राफ्ट र भगवती स्टिल्स प्रालि गरी चार उद्योगले जस्तापाता उत्पादन गर्दै आएका छन् । सरकारले चौबीसै घण्टा विद्युत उपलब्ध गराएमा अहिलको माग धान्न आफुहरु सक्षम रहेको उद्योगीहरुको दाबी छ ।

अहिले आरती स्टीलले ३ सय मेट्रिक टन, हुलास स्टीलले २५० मेटि्रक टन, राजेश मेटल क्राफ्ट (आरएमसी)ले सय मेटि्रक टन र भगवती स्टीलले ५० मेट्रिक टन जस्तापता उत्पादन गर्दै आएका छन् । अहिले दुई सिफ्ट गरेर जस्तापाता उत्पादन गरिरहेको आरती स्टीलका सहजकर्ता दिब्य सापकोटाले जानकारी दिए ।

‘सरकारले २४ घण्टा विद्युत उपलब्ध गराएमा उत्पादन बढाउन सक्छौं, उत्पादन बढाउएमा अहिलेको आवश्यकता पुरा गर्न स्वदेशी कम्पनी नै सक्षम हुन्छन्’ सापकोटाले भने- ‘यसका लागि निर्यातमा रोक लगाउनु पर्छ ।’

आरती स्टीलले कुल उत्पादनको ६० प्रतिशत जस्तापाता भारतीय बजारमा निकासी गर्दै आएको छ । अहिले स्वदेशी बजारमै उच्च माग रहेकाले निर्यातमा पूर्णतया रोक लगाएको सापकोटाको भनाई छ ।

सरकारले शून्य दशमलब ३० मिलिमिटर देखि शुन्य दशमलब ४२ मिलिमिटर मोटाइको जस्तापाता खरिद गर्ने इच्छा देेखाएको व्यवसायीले बताएका छन् । यस्तो खालको  जस्तापाता प्रतिबन्डल ५० केजी तौलको हुन्छ ।

ग्रामीण भेगमा बनाइने घर छाउन कम्तीमा तीन बन्डल जस्तापाता चाहिने बताइन्छ । अहिले नेपालमा २.५ फिट चौडाई र ६.१२ फिटसम्म लम्बाई भएका जस्तापाता उत्पादन हुँदै आएका छन् । व्यवसायीका अनुसार एक बन्डलमा ६ देखि १२ थानसम्म जस्तापाता हुन्छन् । सरकारले इच्छाएको एक बन्डल जस्तापाताको मूल्य ६ हजारभन्दा बढी पर्ने हुलास स्टिल्सका बिक्री प्रबन्धक सुनील अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment