Comments Add Comment

एक महिनामा २० हजार बढी धक्का

१२ जेठ, काठमाडौं । झण्डै ९ हजारको मृत्यु हुने गरी विनाशकारी भूकम्प गएको मंगलबार एक महिना पुगेको छ ।

वैशाख १२ गते ११ बजेर ५६ मिनेटमा गोरखाको बार्पाकलाई केन्द्र बनाएर ७.८ (राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ७.६) रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो । त्यसपछि लगातार पराकम्पन आइरहेको छ ।

earthquake_info_1

मंगलबार दिउँसो २ बजेर ११ मिनेटमा दोलखालाई केन्द्र बनाएर ४.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

लगातारको पराकम्पनकै क्रममा वैशाख २९ गते ७.४ (राष्ट्रिय भूकम्प मापन केन्द्रले ६.८) रेक्टर स्केलको भूकम्प गएको थियो । जसले दोलखामा ठूलो क्षति पुगेको छ ।

केन्द्रका अनुसार चार रेक्टर स्केलभन्दा माथिका २ सय ५९ भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले ४ भन्दा कम रेक्टर स्केलका भूकम्पहरुको विवरण सार्वजनिक गरेको छैन ।

‘सुरुका दिनमा दैनिक एक हजारदेखि १३ सयसम्म ससाना कम्पन जान्थे । अहिले ३ सयसम्म छ’ केन्द्रका प्रमुख लोकविजय अधिकारीले अनलाइनखबरसँग भने-‘यो रेकर्ड भएपनि हामीले सार्वजनिक गरेका छैनौं । यसको खास अर्थ पनि छैन ।’

विगतमा पनि एक दिनमा ससाना भूकम्प १०/१२ वटासम्म जान्थ्यो । जुन, आममानिसलाई महसुस नै हुँदैनथ्यो । वैशाख १२ को शक्तिशाली भकम्पपछि एक महिनामा साना र ठूला गरी २० हजार भन्दा बढी धक्का गएको छ ।

ठूलो भूकम्प गएपछि लगातार पराकम्पनहरु जानु स्वभाविक भएको विज्ञहरुले बताएका छन् । यस्ता पराकम्पनबाट आत्तिन नहुने तर, सतर्क भने रहनु पर्ने उनीहरुको सुझाव छ ।

नेपाल प्रहरीका अनुसार विनाशकारी भूकम्पमा परी अहिलेसम्म ८ हजार ६ सय ६४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

झण्डै २२ हजार घाइते भएका छन् । ५ लाख ७ हजार १७ घर पूर्ण रुपमा ध्वस्त भएका छन् । २ लाख ६९ हजार १९० घरमा आंशिक क्षति पुगेको छ । भूकम्पले सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोकमा भूकम्पले अधिंकाश घर भत्किएका छन् भने बाँकी घरमा पनि क्षति पुगेको छ ।

भूकम्प प्रभावित क्षेत्रमा सरकार अहिले पुनर्निर्माण अभियानमा जुटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment