Comments Add Comment

प्रधानमन्त्रीले भने-नेतृत्व छाड्ने दिन धेरै टाढा छैन

१७ जेठ, काठमाडौं । राष्ट्रिय सरकार गठनको गृहकार्य भैरहेकाबेला प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माण भएपछि आफूले सरकारको नेतृत्व छोडिदिने बताएका छन् । उनले नेतृत्व छाड्ने दिन धेरै टाढा नरहेको समेत बताए ।

फाइल तस्वीर
फाइल तस्वीर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम प्रदान गर्न आइतबार बालुवाटार पुगेका सेतो गुम्बाका चोक्यी ङिमा रिन्पोछेको टोलीसँग कुरा गर्दै प्रधानमन्त्री कोइरालाले आफूले छिट्टै सरकारको नेतृत्व छाड्ने बताए । टोलीमा सहभागी वरिष्ठ पत्रकार विजय पाण्डेले ‘त्यो दिन कति टाढा छ ?’ भन्ने प्रश्न गर्दा प्रधानमन्त्रीले जवाफ दिए, ‘धेरै टाढा छैन ।’

‘राहत कोषलाई विवादमा ल्याउन खोजियो’

सो अवसरमा प्रधानमन्त्री सुशील कोइरालाले प्रधानमन्त्री राहत कोषलाई केही स्वार्थी समूहहरुले विवादमा ल्याउन खोजेको गुनासो समेत गरे । कोष प्रधानमन्त्रीको नाममा राखिए पनि यसको सञ्चालनमा प्रधानमन्त्रीको कुनै भूमिका नहुने स्पष्ट पारे ।

उनले विवादमा ल्याउन खोज्ने स्वार्थी समूहहरुबारे भने केही खुलाएनन् । तर, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको रकम कसैले पनि दुरुपयोग गर्न नसक्ने कोइरालाले दाबी गरे ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा रहने यो कोषमा ८ वटा मन्त्रालयका सचिवहरु सदस्य रहन्छन् । रकम गृहमन्त्रीको अध्यक्षतामा रहने केन्द्रीय दैवी प्रकोप उद्धार समितिबाट माग हुन्छ । त्यसका आधारमा  कोषले रकम गृहको समितिलाई निकासा गर्दछ । त्यो रकम संबन्धित जिल्लाको दैवी प्रकोप उद्धार कोषमा पुग्ने भएकाले बीचमा कसैले गोलमाल गर्न नसक्ने प्रधानमन्त्रीको भनाइ छ ।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले दुःखमा परेका नेपालीलाई सहयोगको निमित्त दिएको रकममा पनि अनियमितता गरेमा त्यस्ता व्यक्तिलाई कानुन बमोजिम अन्तरगत कारबाही गरिने दोहोर्‍याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment