Comments Add Comment

कमल थापाले भने-ओली प्रधानमन्त्री बन्दैमा २० को १९ हुँदैन

Kamal Thapa (2)

२२ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले भूकम्पपछिको पुनर्निर्माणमा लाग्नुपर्नेमा प्रमुख दलहरु सत्ताको भागबण्डामा लागेको आरोप लगाएका छन् । सुशील कोइराला नेतृत्वको सरकार असफल भैसकेको दाबी गर्दै उनले अब केपी शर्मा ओली प्रधानमन्त्री हुँदैमा समस्याको समाधान नहुने बताए ।

रिपोर्टर्स क्लबमा शुक्रबार आयोजित साक्षात्कारमा उनले भने, ‘सुशील कोइरालाको ठाउँमा केपी शर्मा ओली ल्याउँदैमा २० को १९ हुँदैन, पद्धतिमै सुधार गर्नुपर्छ ।’

दुई तिहाई बहुमत भएको बर्तमान सरकारलाई आफूहरुले राष्ट्रिय सरकारको रुपमा बुझेको भन्दै अध्यक्ष थापाले दलहरुले अहिले भनेको राष्ट्रिय सरकारको कुरा बुझ्न नसकेको बताए ।

राप्रपा नेपाल सरकारमा नजाने

राप्रपा नेपाललाई सरकारमा जान जनताले म्याण्डेड नदिएकाले आफूहरु सरकारमा सहभागि नहुने उनले स्पष्ट पारे । अध्यक्ष थापाले भने, ‘हाम्रो पार्टी सत्ता केन्दि्रत फोहोरी खेलमा लाग्दैन तर राष्ट्रिय सरकारको योजना, सोच आईसकेपछि त्यस विषयमा निर्णय लिन्छ । सरकार परिवर्तन गर्न हाम्रो २५ सिट प्रयाप्त छैन ।’

चार दलका असफल, असक्षम र भ्रष्ट नेताहरुका कारण मुलुकले संविधान पाउन नसकेको आरोप लगाएका छन् । चार दलका नेताहरुले संविधानसभालाई बन्धक बनाएको भन्दै उनले उनीहरुबाट संविधानसभालाई एक साताकोलागि स्वतन्त्र छाडिदिने हो भने मुलुकले संविधान पाउने दाबी गरे ।

 संविधान बनाउन जालसाजी 

संविधानका अन्तर्बस्तुमा संविधानसभामा छलफल नगरी बाहिर छलफल गरेर संविधानसभामा लाद्नु असंवैधानिक, जनविरोधी र प्रजातान्त्रिक मूल्य मान्यता विरुद्धको गतिविधी भएको उनले दावी गरे ।

‘यही हो संविधानसभाबाट संविधान जारी गर्ने विधी र प्रक्रिया ? यो काम तत्काल रोक्नुस् । संविधानसभा कठपुतली खेलौना हो र ?’ थापाले भने, ‘यस्तो अप्रजातान्त्रिक कार्य तत्काल रोकिनु पर्छ । संविधान बनाउने हो भने जे छलफल गर्ने हो संविधानसभामै छलफल गर्नु पर्छ । यस्तो जालसाजीले बन्ने संविधानको भविष्य हुँदैन ।’

उनले राप्रपा नेपाल संबैधानिक राजतन्त्र, सनातन हिन्दु राष्ट्र र स्थानीय स्वशासनको पक्षमा भए पनि आफ्नो भाषा शैली अनुसारको संविधान लेखिने अवस्था नरहेकोले संविधानसभामा फरक मत राखेर अघि बढ्ने स्पष्ट पारे ।

सहमति जुटन नसकेका संविधानका विवादित अन्तर्बस्तुलाई थप छलफलकालागि ७ दिन संबैधानिक राजनीतिक संबाद तथा सहमति समितिमा पठाएर त्यसपछि संविधान निर्माणको प्रक्रिया सुरु गर्नुपर्ने सुझाव उनले दिए । विगतमा पनि चार दलले संविधानसभालाई छलेको र अहिले पनि त्यो क्रम सुरु भएको भन्दै उनले आपत्ति प्रकट गरे ।

थापाले भने, ‘विगतमा पनि संविधानसभालाई यस्तै गरेर लाचार छायाँ बनाउने काम भयो अहिले पनि बाहिर निर्णय गरेर संविधानसभामा लाद्ने षडयन्त्र भईरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment