नयाँ संबिधानको चरित्रबारे काँग्रेस र एमाओवादी नेतावीच गजवको मतान्तर भएछ । शुशिल कोइराला नयाँ संबिधानमा ‘बहुलवाद’ नघुसाई नछोड्ने । उनका लागि बहुलवाद भएन भने लोकतन्त्रको आदर्श नै स्वाहा हुन्छ रे । यता प्रचण्ड कुनै हालतमा ‘बहुलवाद’ स्वीकार गर्न नसक्ने । यदि स्वीकार गरियो भने उनको सर्वहारावर्गको आदर्श धुलिसात हुन्छ रे । एउटै शब्दमा यत्रो लफडा ।
त्यसो त प्रचण्ड बिज्ञानको हवाला दिँदैछन् । उनी भन्दैछन् ‘बहुलवाद’ स्वीकार गरियो भने बिज्ञानको बिरुद्ध हुन्छ । उनको लागि ‘बहुदल’ चाही स्वीकार्य छ रे । अनि शुशिल लोकतान्त्रिक आदर्शको हवाला दिँदैछन् । उनी भन्दैछन् नयाँ संबिधानमा ‘बहुलवाद’ नपर्ने बित्तिकै संबिधानै बिटुलो हुन्छ । त्यसैले उनका लागि नयाँ संबिधानमा जसरी भए पनि ‘बहुलवाद’ लेखिनै पर्यो रे । तर, आजको युगमा यी दुई बुझक्कडका दुईखाले ढिपी रुढीग्रस्त मूर्खता शिवाय केही होइन ।
पछिल्ला बैज्ञानिक आविस्कारले ‘बहुलवाद’ वा ‘एकत्ववाद’ दुवै दार्शनिक मान्यतालाई असान्दर्भिक बनाएको छ । यी दुवैथरी नेताहरु यो तथ्यबाट बेखबर छन् । फलतः उनीहरुका बहस ‘दृष्टिबिहीनहरुले हात्तिबारे गरेको बहस’ जस्तो भइरहेको छ । तर, रोचक र रमाइलो के हो भने उनीहरु नै फेरि बिज्ञान र लोकतान्त्रिक आदर्शको हवाला दिएर कुरा गर्दैछन् । त्यसैले यी नेताहरुका तर्क र बहसलाई बिज्ञान र लोकतान्त्रिक आदर्शकै कसीमा हेर्नुपर्ने भएको छ ।
बहुदल, बहुलता र बहुलवाद
सर्वप्रथम केही पदावलीबारे चर्चा गरौं । सामान्यतया ‘बहुदल’ पदावलीले दलीय स्वतन्त्रता भएको समाज व्यवस्थालाई बुझाउँछ । यसले निश्चित संबैधानिक तथा कानुनी प्रावधान अनुसार दलीय गतिविधि गर्न छुट दिएको अवस्थालाई बुझाउँछ । ‘बहुलता’ शव्दले समाजको बिभिन्न वर्ग तथा समुदायहरुका फरक फरक समुहलाई बुझाउँछ ।
समाजमा बहुलताका बिभिन्न रुप हुन सक्छन् । उदाहरणका लागि पुँजिपति, मध्यम वर्ग, सर्वहारावर्ग आदि बिचको फरकलाई वर्गीय बहुलता, लिम्बू, मगर, किरात आदिबीचको फरकलाई जातीय बहुलता, हिमाली, पहाडी ,मधेशी बिचको फरकलाई भौगोलिक बहुलता भन्न सकिन्छ ।
‘बहुदल’ र ‘बहुलवाद’ एउटै होइन । त्यसैगरी ‘बहुलता’ र ‘बहुलवाद’ पनि एउटै कुरा होइन । बहुलवाद निश्चित मान्यता वा धारणा हो । बहुलवादका पक्षधर भनिनेहरुले यसलाई सिद्धान्त पनि भन्न सक्छन् वा भनिरहेका छन् । कसैले कुनै देशको सबिधानमा बहुदलीय संबैधानिक प्रावधान छ भने त्यसैलाई बहुलवाद भनेको पनि पाइएको छ । तर, बहुदलीय संबैधानिक प्रावधान र बहुलवादी मान्यता फरक कुरा हो । बहुलवादले समाजमा फरक फरक बिचार तथा समुहहरु हुन्छन्, समाजको बिषेशता नै बिभाजनमा रहनु हो भन्ने मान्यता राख्दछ । यसरी बहुदल, बहुलता र बहुलवाद पदावलीले अलग अर्थ र मान्यता बोकेका छन् ।
के हो बहुलवाद ?
बहु वा बहुलसँग वाद पदावली मिलेर बहुलवाद बनेको हो । बहु, बहुल र वाद पदावलीको छुटाछुटै अर्थ छ । शाब्दिक आधारमा बहुको अर्थ एक भन्दा धेरै हो । बहुलको अर्थ एक भन्दा धेरै समुह हुन्छ । कतिपय अवस्थामा बिषय बिषेशको वकालत गर्नुपर्दा वा समर्थन जाहेर गर्नुपर्दा वाद पदावलीको प्रयोग हुने गरेको छ । उदाहरणका लागि व्यक्तिवाद, मधेसवाद, जातिवाद आदि । तर, वास्तविक अर्थमा बैज्ञानिकताको पुष्टि भएको तथा सार्वभौम चरित्रको सिद्धान्तलाई वाद भन्ने गरिएको छ । यी सबै शब्द जोडिएर बनेको बहुलवाद पदावली भने आफैंमा विवादास्पद छ ।
बहुलवाद के हो भन्नेबारेे दार्शनिक एवं राजनीतिक व्यक्तित्वहरुले बिभिन्न कोणबाट परिभाषा गर्ने प्रयास गरेका छन् । तर, कुन देशको कुन मोडेलको शासन प्रणाली वा राज्य सत्ता चाँही खाट्टी बहुलवादी हो भन्ने आजसम्म कुनै सर्वमान्य परिभाषा तथा मतेक्यता नभएकाले बहुलवाद के हो भन्ने बिषय नै स्वयंमा विवादास्पद भएको हो ।
एकत्ववाद र बहुलवादको अर्थ :
संसार सञ्चालनको निर्णायक वा परम तत्व एउटा छ कि एक भन्दा धेरै छ ? एकत्ववाद र बहुलवादको मूल प्रश्न वा बहस यही हो । एकत्ववादीहरु संसारको परम तत्व एउटा छ भन्ने मान्दछन् । बहुलवादीहरु एकभन्दा धेरै छ भन्ने मान्दछन् । यी दुबैखाले मान्यताहरु फेरि भौतिकवादी र आदर्शवादी (अध्यात्मवादी) मा विभाजित हुन्छन् । अर्थात भौतिकवादीहरु संसारको परमतत्व पदार्थ हो भन्दछन् भने आदर्शवादीहरु त्यस्तो परमतत्व ईश्वर हो भन्ने मान्दछन् । नेपालका कांग्रेस र कम्युनिष्ट दुबै भौतिकवादी मानिन्छन् । तर, कम्युनिष्टहरु एकत्ववादी भौतिकवाद मान्दछन् भने कांग्रेस बहुलवादी भौतिकवाद मान्दछ ।

बहुलवादको बैचारिक आधार बहुतत्ववाद हो । बिश्वको उत्पति एक तत्वबाट नभएर धेरै खालेतत्वबाट भएको हो भन्ने मान्यता नै बहुतत्ववाद हो । यही बिचार राजनीतिक-सामाजिक क्षेत्रमा बहुलवादको मान्यतामा देखा पर्दछ । यसको सरल अर्थ समाजमा पनि बहुलको शासन हुनु पर्दछ भन्ने हो ।
यो मान्यता युरोपको सामन्तवाद बिरोधी आन्दोलनबाट उजागर भयो । सामन्तवादले ईश्वरीय एकत्ववादको वकालत गथ्र्यो । अर्थात संसारको परमतत्व ईश्वर हो । त्यसको सामाजिक अभिव्यक्ति राजा हो । त्यसैले सबैले राजाको (एक व्यक्तिको) शासन मान्नुपर्छ ।
सामन्तवादी एकत्ववादले यस्तै कुरा गथ्र्यो । यो मान्यताका बिरुद्ध युरोपको पुँजिवादी आन्दोलनले प्रकृतिमा बहुतत्व भएजस्तै समाजमा पनि बहुलको शासन हुनुपर्दछ, व्यक्तिको होइन भन्ने मान्यता अघि सारेको थियो ।
यही बिचारलाई पछि बहुलवाद भन्न थालियो । युरोपमा जतिबेलासम्म पुँजिवादी समूह सत्तामा पुगेको थिएन, त्यो बेलासम्म यो बिचारले सत्ता बिरोधी अर्थात जनपक्षीय बिचारकै मान्यता पाएको थियो । तर, जब पुँजिवादीहरु सत्तामा पुगेर मजदुरमाथि चरम शोषण गर्न थाले तब पुँजिवादी बिचार स्वयं नै जनबिरोधी बिचारमा फेरियो । त्योबेला भने पुँजिवादीहरुले यो पदावलीको पनि अपव्याख्या गर्न शुरु गरे । बहुलवादलाई अब भने सत्ताधारी पुँजिपति वर्गबाट पुँजिवादी शासन प्रणाली नै निर्विकल्प हो भन्ने अर्थमा व्याख्या गर्न थालियो ।
त्यसैको प्रतिकृयामा युरोपमा कम्युनिष्ट एकत्ववाद देखा परेको थियो । कम्युनिष्ट एकत्ववादले ईश्वरीय एकत्ववाद र पुँजिवादी बहुलवाद दुबैको बिरोध गर्यो । यसको बिकल्पमा उसले भौतिकवादी-द्न्द्ववादी- एकत्ववादी मान्यता अघि सार्यो । जसअनुसार संसारको परमतत्व दुईवटा छैन, एउटै छ । त्यो भनेको भौतिक पदार्थ नै हो । तर, पदार्थको चरित्र द्न्द्ववादी छ । यो स्थिर नभएर गतिमा छ । पदार्थको एउटै इकाइमा पनि बिपरित तत्व छ । बिपरीत तत्वबीच एकता र संघर्ष दुवै हुन्छ । फलस्वरुप बिपरीतहरु अलग थलग होइन, अन्तरसम्बन्धित छन् ।
यो अन्तरसम्बन्धको परिणाम प्रकृतिमा वाद- प्रतिवाद ( संवाद-एकत्व) भइरहन्छ । प्रकृति सुनिश्चित गतिमा अगाडि बढिरहन्छ । यसको सामाजिक अभिव्यक्तिलाई यसरी व्याख्या गरियोः समाजमा वर्गहरु बिपरित तत्व हुन् । यिनीहरु बीचमा संघर्ष हुन्छ । शासक वर्ग र शासित वर्ग वाद र प्रतिवादका अभिव्यक्ति हुन् । यी दुईको संघर्षबाट आउने परिणाम संवाद हो । यो नियमको आधारमा भनियोः पुँजिवाद निर्विकल्प व्यवस्था होइन । यसमा भएको बिपरीत तत्वको संघर्षबाट समाजमा अर्को नयाँ संवाद (एकत्व) देखा पर्दछ । त्यो भनेको समाजवाद हो ।
यसरी समाजमा क्रमशः भौतिकवादमा आधारित बहुलवादी र एकत्ववादी दार्शनिक मान्यताहरु देखा परे । तर, आज बहुलवाद शब्दलाई पुँजिवादी व्यवस्थाको निर्विकल्पताको अर्थमा प्रयोग गरिन्छ भने एकत्ववाद शव्दलाई कम्युनिष्ट दर्शनको पर्यायवाचीको रुपमा प्रयोग गरिन्छ ।
क्वान्टम बिज्ञानको कसीमाः
बिज्ञानका बिभिन्न शाखाहरु मिलेर दर्शनशास्त्र बन्दछ । तत्वशास्त्र, समाजशास्त्र, ज्ञानशास्त्र, अर्थशास्त्र मनोबनोटशास्त्र आदिको कुल योग नै दर्शनशास्त्र हो । भौतिकवादी दार्शनिकहरु सबै चिन्तनको आधार तत्वशास्त्रलाई मान्दछन् । तर, आजसम्म बैज्ञानिक र दार्शनिकहरु बीच फरक के देखियो भने बैज्ञानिकहरु ‘साधारण यन्त्रको युग’ बाट ‘सफ्टवेयर युग’ सम्म आइसके । दार्शनिकहरु भने उहिलेको साधारण यन्त्रको युगकै तत्वशास्त्रको कुरा गरिरहेका छन् ।
बिज्ञानको बिकासका निश्चित चरण छन् । यसलाई मूलतः चार चरणहरुमा विभक्त गर्न सकिन्छ । पहिलो प्राचीन युग, दोस्रो न्युटन युग, तेस्रो आइन्स्टाइन युग र चौथो, क्वान्टम युग । माथि बहुलवाद र एकत्ववादबारे जे चर्चा गरियो, त्यो न्युटन युगको तत्वशास्त्र हो । न्युटन युगको तत्व शास्त्रलाई आइन्स्टाइन युगले खण्डित गरिसक्यो । आइन्स्टाइन युगको तत्वशास्त्रलाई क्वान्टम युगले खण्डित गरिसक्यो । तर, हाम्रा नेताहरु भने लाजमर्दो पाराले पुरानै कुरामा झगडा गरिरहेका छन् ।
क्वान्टम बिज्ञानको तत्वशास्त्रका अनुसार प्रकृतिको चरित्र बहुलवादी पनि छैन । एकत्ववादी पनि छैन । यो भन्दा फरक प्रकृति व्यतीकरण (Interference) ढाँचामा सञ्चालित छ । आइन्स्टाइनसम्मको भौतिक बिज्ञान पदार्थ वा ब्रम्हाण्डको एकल इतिहास र सुनिश्चित भविश्य छ भन्ने निश्कर्षमा आधारित थियो । तर, क्वान्टम खोजका आधारमा हेर्दा पदार्थ वा ब्रम्हाण्डको एकल इतिहास र सुनिश्चित भविश्य छैन भन्ने देखियो । यसको सट्टा प्रकृतिको र पदार्थको बिकास बहुइतिहास हुँदै भएको र यसको अगाडिको गति पनि एकल रेखीय नभएर बहुरेखीय छ भन्ने देखियो । एकल ब्रम्हाण्ड होइन बहुब्रम्हाण्ड छ भन्ने देखियो । हामी मानिसका लागि संसार स्थूल र सुक्ष्म (देख्न सकिने र देख्न नसकिने) दुवै खालको छ भन्ने देखियो । यसरी क्वान्टम बिज्ञानले न्युटन र आइन्स्टाइन युगका मान्यताहरुलाई नै खण्डित गरिसक्यो ।
माथिको चित्र क्वान्टम बिज्ञानको प्रशिद्ध दुई छिद्रको प्रयोगको चित्र हो । माथिको प्रयोगमा एउटा पदार्थ कणलाई दुई छिद्र भएको पर्दामा प्रहार गर्दा त्यो एकै समयमा दुबै छिद्रबाट पार भएको देखिन्छ । तेस्रो पर्दामा पुग्दा एउटै पदार्थ कणको व्यतिकरण रुप देखिन्छ ।
बहुलवादीहरुले भने जस्तै माथिको चित्रले प्रकृतिका इकाईहरु अलग थलग र समानान्तर छन् भन्ने देखाउँदैन । बरु अन्तरसम्बन्धीत छ भन्ने देखाउँछ । तर एकत्ववादीहरुले भनेजस्तै यसको एकल दिशा र सुनिश्चित भविश्य (वाद- प्रतिवाद- संवाद) छ भन्ने पनि देखाउँदैन ।
जव एकत्ववाद र बहुलवाद दुवैका तत्वशास्त्रीय आधारहरु असान्दर्भीक भए, तब स्वतः यिनीहरुका समाजशास्त्रीय आधारहरु पनि असान्दर्भिक भएका छन् । अर्थात अब एकत्ववाद कि बहुलवादको बहसको कुनै अर्थ छैन । त्यसैले बहुलवादको बिरुद्ध प्रचण्डको बिज्ञानको हवाला आफैंमा अर्थहीन छ ।
लोकतान्त्रिक आदर्शको कसीमाः
बहुलवादलाई अब लोकतान्त्रिक आदर्शको कसीमा हेरौं । आफूलाई लोकतन्त्रवादी/बहुलवादी भन्न चाहने शुशिल कोइरालाहरु कस्तो समाजलाई बहुलवादी बताइरहेका छन् ? यो पक्ष ध्यान दिन योग्य छ । उनीहरुको परिभाषामा राजनीतिक वा बिचार स्वतन्त्रता र सम्पति स्वतन्त्रता भएको समाज नै बहुलवादी समाज हो । अर्कोतिर उनीहरुले जोड दिने बिषय भनेको राजनीतिक प्रतिस्पर्धा हो । सुन्दा यी बिषयहरु राम्रै लाग्छन् । तर, यहाँभित्रको वास्तविकता भने अर्कै छ ।
बहुलवाद नभई हुन्न भन्ने कांग्रेस र एमालेले हिजोको संसदीय व्यवस्थालाई नै बहुलवादी बताएका थिए । तर त्यो व्यवस्था बहुलवादी कदापी थिएन । कुनै देशको संबिधानमा बिचार स्वतन्त्रता वा राजनीतिक प्रतिस्पर्धा सम्बन्धी प्रावधान उल्लेख हुँदैमा त्यो राज्यसत्ता बहुलवादी भइहाल्दैन भन्ने कुरालाई बुझ्न हामीलाई हाम्रै देशको उदाहरण काफी छ । अर्थात नेपालको ०४७ सालको संबिधानले स्थापना गरेको संसदीय बहुदलीय व्यवस्थालाई नै हेरे पुग्छ ।
गत ०४७ को संबिधानले नागरिकहरुका स्वतन्त्रता तथा राजनीतिक प्रतिस्पर्धाको अधिकारबारे पर्याप्त शव्दहरु खर्चेको थियो । तर, सत्ता सुबिधाको वरिपरि रहेको वर्ग समुदाय र त्यसबाट बिमुख पारिएकाहरुको बीचको गहिरो खाडल बिद्यमान रहेकोले नागरिक स्वतन्त्रता वा राजनीतिक प्रतिस्पर्धाका कुरा सीमान्तीकृत वर्ग समुदायका लागि आकासको फल सावित भयो ।
संबैधानिक राजतन्त्र र बहुदलीय व्यवस्थामा संशोधन नै गर्न नपाइने संबैधानिक प्रावधान, राजतन्त्र उपर मुद्दा नचल्ने प्रावधान, सामन्ती सम्पन्ती सम्बन्धको निरन्तरता जस्ता संबैधानिक व्यवस्थाले नै बताउँछ । ०४७ को संबिधान र त्यसले स्थापित गरेको संसदीय व्यवस्थामा समाजका सम्भ्रान्त तथा ठालुहरुकै, अर्थात बहुलको होइन, बलियाको शासन थियो । तर, नेपालका कांग्रेश एमाले जस्ता दलहरुले उक्त संबिधान र व्यवस्थालाई आदर्श बहुलवादी व्यवस्था मानेका थिए । यसबाट वर्तमान सन्दर्भमा उनीहरुले स्थापित गर्न खोजेको बहुलवादी समाज कस्तो हो भन्ने तथ्य स्पष्ट हुन्छ ।
आज नयाँ संबिधान निर्माणका सन्दर्भमा बहुलवादका नाममा उनीहरुले गरिरहेको ढिपी समाजमा साँच्चै बहुलले शासन गर्ने राज्य सत्ता निर्माण होस भन्ने उद्देश्यद्वारा आएको भन्ने देखिँदैन । यसका पछाडि दुईवटा अभिष्टले काम गरेका छन् । पहिलोः हिजोदेखि सत्तामा हालिमुहाली गर्दै आएको वर्ग समुहबाट सीमान्तिकृत वर्ग समुदायको हातमा सत्ताको हिस्सेदारी भाग लाग्न नपाओस् भन्ने नै हो । दोस्रो कम्युनिष्ट एकत्ववादले कुनै हालतमा स्थान नपाओस् भन्ने पनि हो ।
संघीयताको मुद्दामा उनीहरुको सोच बहुलवादी होइन, बहुलता पक्षधरसम्म पनि देखिँदैन । यदि उनीहरु बहुलताको पक्षधरसम्म हुन्थे भने भौगोलिक संघीयताकै मान्यतामा सीमित हुने थिएनन् । नेपाल बहुजातीय समाज हो भन्ने कुरालाई स्वीकार गर्दथे । बहुजातिका पहिचान एवं जनजातीय थालथलोलाई स्वीकार गर्दथे । पहिचानमा आधारित संघीयतामा यत्रो बिवाद हुने थिएन । त्यसैले बहुलवादको पक्षमा शुशील कोइरालाको लोकतान्त्रिक आर्दशको हवालाको पनि कुनै अर्थ छैन ।
प्रकृति र समाजको वास्तविक चरित्रः
क्वान्टम बिज्ञानको तत्वशास्त्रका आधारमा हामी भन्न सक्छौंः प्रकृति र समाज न त एकत्ववादी छ, न त बहुलवादी । बरु यसको सट्टा यो द्वन्द्व सन्तुलनकारी रहेछ । यही कुरा बुझ्न नसक्दा पुँजिवादी र कम्युनिष्ट मान्यताहरु लगातार संकटमा परिरहेका छन् । कम्युनिष्टहरुले समाजमा आदिम साम्यवाद- दाश युग -सामन्ती युग- पुँजिवादी युग- समाजवादी युग र साम्यवादीय युगको बिकासको एकल रेखाको परिकल्पना गरे । तर, समाजले यो बाटो पछ्याएन । पुँजिवादीहरुले पुँजिवादलाई नै निर्विकल्प व्यवस्थाको रुपमा बुझे र यसलाई टिकाउन हर हत्कण्डा लगाउने प्रयास गरे । तर, यो पनि लगातार संकट र बिरोधमा फस्दै आयो । यो अझै जारी छ ।
मानव समाज पुँजिवादी र कम्युनिष्टहरुले बुझे भन्दा फरक रहेछ । मानव समाजमा वर्ग (आर्थिक- सामाजिक), निजत्व -प्राकृतिक) पहिचान(जैविक) र संस्कार(मनोबैज्ञानिक) कारकहरुले काम गर्दा रहेछन् । यी चार तत्वको व्यतिकरणले समाजमा गति पैदा गर्दो रहेछ । जसको परिणाम समाज स्थिर पनि नहुने र गतिको एकल रेखामा पनि नहिँड्ने रहेछ । बरु समाजको गति निकै बाँगोटिगो र बहुपरिणाम सहितको हुने रहेछ । यी तथ्यहरुका आधारमा हेर्दा प्रचण्ड शुशिल बिवाद बिल्कुल रुढीग्रस्त मूर्खता शिवाय केही होइन ।
विकल्पः
बहुलवादको यो बिवाद दुवैपक्षका रुढीगत अहमको परिणाम हो । प्रचण्डको कोणबाट हेर्दा उनको रुढीग्रस्त दार्शनिक मान्यताले काम गरेको छ । शुशिल कोइरालाको कोणबाट हेर्दा जसरी भए पनि आफ्ना ढीपी थोपर्ने मनसुवाले काम गरेको छ । परम्परागत दर्शनशास्त्रका बहसहरु असान्दर्भिक भएका छन् भन्ने बुझ्न नसक्नु हाम्रा यी नेताहरुको ठूलो कमजोरी हो ।
तर, शुशील र प्रचण्ड सामु कहिल्यै अन्त्य नहुने यो बिवादबाट उम्कने ठाउँ चाँही छ । मानव समाज बहुलतायुक्त छ भन्ने स्वीकार गर्दा ‘प्रचण्डको बिज्ञान’ पनि संकटमा पर्दैन । शुशीलको ‘लोकतन्त्रको आदर्श’ पनि संकटमा पर्दैन ।
बहुलतायुक्त समाज भन्नु र बहुलवाद भन्नु फरक कुरा हो । ‘बहुलतायुक्त समाज’ एक यथार्थ हो । बहुलवाद पदावलीले दिने भावको मात्र कुरा गर्ने हो भने बहुलवाद पदावलीलेे बिभाजन नै बिभाजनको अर्थ दिन्छ । पदार्थ वा सामाजिक प्रणालीहरु समानान्तर सम्बन्धमा रहेको अर्थ दिन्छ । यो पदावलीले एकता वा सन्तुलनको भावलाई ओझेलमा पार्दछ । समाजको सार्वभौम गुणको असली अभिव्यक्ति यो पदावलीमा पाउन सकिँदैन । त्यसैले नयाँ संबिधानमा बहुलवाद पदावली राख्न जरुरी छैन ।
तर, शुशील कोइरालाजस्ता मानिसको चित्त बुझाउन यसको ठाउँमा ‘संबिधानले सामाजिक बहुलताको संरक्षण गर्नेछ’ जस्ता वाक्य राख्न सकिन्छ । यसो गर्दा प्रचण्डको पनि इज्जत जाँदैन । किनकि कम्युनिष्ट दर्शन बहुलता बिरोधी छैन । अहिले प्रचण्डहरुले उठाएको पहिचानको मुद्दा पनि सामाजिक बहुलताको संरक्षण गर्ने उद्देश्यबाटै आएको हो । जसरी भए पनि देशले ‘दृष्टिबिहीनहरुको हात्ती बहस’ बाट छुटकारा पाओस् । अमूक मानिसका रुढीग्रस्त अहमका कारण सिंगो देश अनिर्णयको बन्दी नबनोस् । छिटोभन्दा छिटो तुलनात्मक रुपमा प्रगतिशील संबिधान बनोस् ।
प्रतिक्रिया 4