१८ असार, काठमाडौं । राजधानीलाई पूर्वी तराइसँग जोड्ने विपी राजमार्ग जापानले नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । शुक्रबार काभ्रेको धुलिखेलमा एक कार्यक्रमबीच जापानले उक्त राजमार्ग नेपाललाई हस्तान्तरण गरेको हो ।
विपी राजमार्ग जापान सरकारको अनुदानमा निर्माण भएको हो । राजधानीबाट बनेपा, सिन्धुली, बर्दिबास जोड्ने विपी राजमार्ग २०५२ सालमा निर्माण सुरु गरिएको थियो । यसलाई काठमाडौं-पूर्वी तराई जोड्ने वैकल्पिक राजमार्गका रुपमा लिइएको छ ।
एक सय ६० किलोमिटर लम्बाई रहेको यो राजमार्गमा दैनिक गाडीहरु सञ्चालन भइरहेका छन् । करिव २० वर्षको अवधिमा निर्माण सम्पन्न भएको यो राजमार्गमा २६ अर्ब जापानी येन लगानी भएको छ ।
राजमार्ग हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री कोइरालाले मुलुकमा सुशासन, पारदर्शिता, जवाफदेहिता र भष्ट्राचारशून्य अवस्था आएमा अबको १० वर्षमा मुलुक कायापलट हुने बताए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधीले बिपी राजमार्गमा कस्तो सवारी साधन सञ्चालन गर्ने भन्ने विषयमा प्राविधिक परिक्षण हुने बताए । यो राजमार्गलाई व्यवसायीक बनाएर ठूला सवारीसाधन सञ्चालन गर्न दिएमा छिट्टै ध्वस्त हुने उनको भनाई छ ।
नेपालका लागि जापानी राजदूत मासासी ओगावाले सडक निर्माण कार्य सम्पन्न गर्न एक जापानी इञ्जिनियरसमेत परिचालन भएको जानकारी दिए । आगामी दिनमा पनि जापान सरकार अन्य सडक निर्माणमा पनि लगानी गर्न इच्छुक रहको उनले बताए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले थानकोट-नागढुंगा सडक खण्डको सम्भाव्यता अध्ययन पूरा भएको उल्लेख गर्दै भक्तपुरदेखि धुलिखेलसम्म ६ लेनको सडक नापजाँच भइरहेको जानकारी दिए ।
प्रतिक्रिया 4