Comments Add Comment

बाँकेका ४ गुरुकुल र १ झोले विद्यालय खारेज

deoBanke

आरपी सुवेदी
२० असार, नेपालगन्ज । सरकारी सुविधा हत्याउन कागजी प्रकृया पूरा गरी स्वीकृती लिइएको एक विद्यालय र चार गुरुकुल जिल्ला शिक्षा समिति बाँकेले खारेज गरिदिएको छ ।

जिल्ला शिक्षा समिति बाँकेका अध्यक्ष तथा स्थानीय विकास अधिकारी जीवलाल भुसालको अध्यक्षतामा बसेको बैठकले सरकारी ढुकुटीको दुरुपयोग गर्ने उद्देश्यले खोलिएका यस्ता झोले विद्यालय र गुरुकुललाई खारेज गर्ने निर्णय गरेको हो ।

खारेजीमा पर्ने विद्यालयहरुमा पुष्पाञ्जली प्रावि आलानगर छ । यस्तै महाभारत गुरुकुल संस्कृत पाठशाला आलानगर, महाभारत गुरुकुल संस्कृत पाठशाला मुन्निपुर, महाभारत गुरुकुल संस्कृत पाठशाला साईगाउँ-२ बरैया, महाभारत गुरुकुल संस्कृत विद्यापिठ सितापुर-२ शान्तिटोल पनि खारेज भएका छन् ।

विद्यार्थी संख्या अत्यन्तै न्यून रहेको रामजानकी नेराप्रावि मनिकापुर-६ लाई नजिकको विद्यालयमा गाभ्ने समेत निर्णय भएको बाँकेका जिल्ला शिक्षा अधिकारी भिमबहादुर साउदले जानकारी दिए ।

उनले सोही बैठकले फर्जी कागज प्रयोग गरी सरकारी ढुकुटी दुरुपयोग गरेको पाइएकोले खारेजमा परेको विद्यालय र गुरुकुलका सञ्चालक बाँके बसुदेवपुर-१ हालको नेपालगन्ज उप-महानगरपालिका-२५ का बिरेन्द्र गुप्तालाई आवश्यक कारवाहीको लागि सम्बन्धित निकायलाई सिफारिस गर्ने निर्णय भएको बताए । गुप्ताले नै खारेजीमा परेका चार गुरुकुल, एक विद्यालय र मर्जरको लागि सिफारिस भएका विद्यालय खोलेका थिए ।

मदरसा पनि निगरानीमा

बाँकेमा मात्र राज्यको सेवा सुविधा लिनको लागि झोलामा मात्रै सिमित रहेका दर्जनौं मदरसा गरुकुल भएको समाचार बेलाबेलामा प्रकाशनमा आएको थियो । समाचार प्रकाशन भएपछि जिल्ला शिक्षा कार्यालय बाँकेले जिल्लाका मदरसा र गुरुकुलको अनुगमन गरी १० मदरसा र ६ गुरुकुलको खाता रोक्का गर्नको लागि सिफारिस गरेको थियो ।

जिल्ला शिक्षा अधिकारी साउदले भने, ‘अहिले विद्यालय र गुरुकुलको मात्र उजुरी आएकोले एक विद्यालय सहित चार गुरुकुल खारेज गरियो । अब हाम्रो निगरानी केही मदरसाहरुमा छ । जो सहज रुपमा सञ्चालनमा छन् तिनिहरुलाई भौतिक पूर्वाधार तथा अन्य पाटो थप गर्ने कुरा हेरिने छ भने विद्यार्थी नै नभएको तर नाम मात्रको मदरसा र विद्यालयहरुलाई कडाइ गरिने छ ।’

खाता रोक्का

०६८ जेठ २२ गते जिल्लाका विभिन्न ठाउँमा सञ्चालन अनुमति लिएको भए पनि अनुगमनका बखत मदरसा सञ्चालन मै नदेखिएकाले कार्यालयले निकासा रोक्का गर्ने र खाता समेत रोक्ने गर्ने गरी दिएको सुझावको आधारमा खाता रोक्का भएको थियो ।

बाँकेमा मदरसा अल्फा नेपालगन्ज-१६, दारुल उलुम गुल्शने नैका बेतहनी-५, मदरसा सहदतुल उलुम बनकट्टी-१ छोटी हलवलडाली, मदरसा अगदेया उसमानिया जियाउल उलुम टेक्निकल स्कुल नरैनापुर-६ पण्डितपुर, मदरसा ईस्लामिया गुल्शने रजा ईन्द्रपुर-३ कर्मोना, मदरसा रजनिया तालेमुल कुरान कालाफाँटा-५ कालाफाँटाको खाता झोले मदरसा भएकै कारण रोक्का भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

यी मदरसासँगै खाता रोक्कामा परेका मदरसा ईस्लामिया अदले सुन्नत गुल्सने गाजि, खजुराखुर्द, मदरसा कलसुनिया लक्ष्मणपुर-९ नुरपुर, मदरसा वरसिया नसिरुल उलुम बेतहनी-४ बाबागाउँ र मदरसा जामिया अरविया मिसबाहुल उलुम उढारापुर-५ मर्दनापुरको खाता भने प्राविधिक रुपले प्रकृया पुर्‍याइ पुनः सञ्चालनमा ल्याइएको छ ।

झोले गुरुकुल र बिद्यालय सञ्चालन गरेका गुप्ताले केही महिना काराबासमा विताएका थिए । तर, उनले जत्तिकै अपराध गरेका झोले मदरसाका मौलाना तथा सञ्चालक र झोले मदरसाको कागजी प्रकृया मिलाउने जिल्ला शिक्षाका कर्मचारीहरुमाथि कुनै कारवाही हुन सकेको छैन ।

मदरसा शिक्षालाई व्यवस्थित गर्न गठित मदरसा व्यवस्थापन बोर्डका उपाध्यक्ष तथा मदरसा ईस्लामिया संघका अध्यक्ष मौलाना मन्सुर आरफीले मदरसामा भएका त्रुटी पहिचान गरी कुनै पनि हालतमा सञ्चालनमा आउन नसक्नेलाई मर्ज गर्नसक्ने नियमावली बनाएकाले त्यस्ता मदरसाहरु नजिकैको विद्यालयमा मर्ज गर्नसकिने बताउँछन् ।

उनै गुप्ताले पेश गरेको ‘झुटा’ विवरणलाई प्रमाणित नगर्ने बाँकेका विद्यालय स्रोत केन्द्रका स्रोतव्यक्ति माथि लगातार ८ मुद्दा दिइएको छ । झोले विद्यालय, गुरुकुल र मदरसाविरुद्ध लामो समयदेखि जिल्लामा एक्लै लडिरहेका बाँकेको राँझा स्रोतकेन्द्रका विद्यालय स्रोतव्यक्ति सुनिल शाहले आठौं मुद्दा खेप्दै आएका छन् । उनीमाथि झण्डै चार वर्षको अन्तरमा यी आठ मुद्दा परेका हुन् ।

शाह माथि झोले विद्यालय र गुरुकुलविरुद्ध अडान लिएकै कारण झोले विद्यालय र गुरुकुल सञ्चालक भएको आरोप लागेका बाँके बसुदेवपुर-१ आलानगरका गुप्ताले विभिन्न मिति र शिर्षकमा मुद्दा दायर गरेका थिए ।

७ मुद्दा शाहले जिते भने एक मुद्दा गुप्ताको पक्षमा गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment