Comments Add Comment

बाहुनको जनसंख्या घट्यो, देशभरिका बाहुन काठमाडौंमा थुप्रिए

कमल मादेन

जनसंख्याको बदलिँदो अवस्थासँगै नेपालमा जातजातिहरुको अवस्थितिमा उलटपुलट भएको छ । पछिल्लो तथ्यांक अनुसार पहाडे बाहुन र नेवार लगायतका केही जातिहरु घटेका छन् भने क्षेत्री, मधेसी, मुसलमान र कामीको जनसंख्या प्रतिशत घटेको छ । पहाडे जनजातिको पनि प्रतिशत घटेको छ ।

राष्ट्रिय जनगणना २०६८ ले १२५ जाति तथा समुदायहरुको पहिचान गरेको छ । तीमध्ये सबैभन्दा बढी संख्यामा आदिवासी जनजाति अन्तर्गत ६३ समुदाय सुचीकृत छन् । तिनको संख्याको ३५.८० प्रतिशत छ । तीमध्ये पहाड र हिमालका ४९ तथा तराईका १४ समुदाय समावेश छन् । तराईका जनजातिहरु भने देशभरका १ हजार १ सय ९७ गाविसमा शून्यको संख्यामा छन् ।

मधेसी अन्य जातअन्तर्गत ३५ समुदाय समेटिएको छ । दलित अन्तर्गत पहाडे र तराई दलित भनेर क्रमशः  ५ र १० समुदाय उल्लेख छ । ब्राह्मणमा पहाडे ब्राह्मण र मधेसी ब्राह्मण छुट्टाछुट्टै छ । मधेसी ब्राह्मणलाई तराई ब्राह्मण, कायस्त, नुराङ र राजपुत गरी ४ जातमा विभक्त गरिएको छ ।

बढेका जाति घटेका जाति
क्षेत्री पहाडे बाहुन
यादव नेवार
तेली राई
मुसलमान दमाई
कामी मगर
ठकुरी तामाङ
सार्की थारु
चमार लिम्बू
कोइरी गुरुङ

पहाडे क्षेत्री अन्तर्गत क्षेत्री, ठकुरी र सन्यासी (गिरी, पुरी, वन, भारती इन्यादि)गरी ३ समुदाय छन् । त्यसैगरी अन्यमा बंगाली, मारवाडी र पंजाबी गरी ३ अनि मुसलमानमा १ समुदाय सुचीकृत छ ।

थपिएका जाति
मधेसी अन्य जातअन्तर्गत अमत, धान्डी, धान्कार/धारीकार, कथबानियन, कोरी, नथुवा, राजधोब र सर्बरिया ०६८ को जनगणनाामा थपिएका हुन् ।

कमल मादेन
कमल मादेन

आदिवासी जनजाति अन्तर्गत आठपहरिया, बाहिङ, बान्तावा, चाम्लिङ, खालिङ, कुलुङ, लोहरुङ, मेवाहाङ बाला, नाछिरिङ, साम्पाङ, थुलुङ, याम्फू (राईबाट छुट्टिएका) यसैपटक थपिएका हुन् ।

त्यसैगरी आदिवासी जनजातितर्फ डोल्पो, घले (गुरुङबाट छुट्टिएका), खवास, ल्होमी, ल्होपा र तोप्केगोला पनि यसै पटक थपिएका हुन् ।

संख्या बढी भएका जाति
यस लेखमा १ प्रशितभन्दा बढी संख्या भएका जाति तथा समुदायहरु कहाँ के कति संख्यामा छन् भन्ने संक्षिप्तरुपमा विवेचना प्रस्तुत गरिएको छ । लेखमा उल्लेख भएका धेरैजसो तथ्यांकहरु ‘सोसियल इन्क्लुजन एटलस् अफ नेपाल : इथ्निक एण्ड कास्ट ग्रुप्स’ (२०१४) र ‘नेपाल एटलस् अफ इथ्निक एण्ड कास्ट ग्रुप्स’ (२००६)बाट साभार गरिएका हुन् ।

नेपालमा रहेका १२५ जात तथा समुदायमध्ये १८ को संख्या १ प्रतिशतभन्दा बढी छ । तीमध्ये सबैभन्दा बढी संख्या क्षेत्री र घटी संख्या कोइरीको छ ।

क्षेत्रीहरु बढे
नेपालमा क्षेत्रीहरु १६.६४ प्रतिशत अर्थात ४३ लाख ९८ हजार ५३ संख्यामा छन् । क्षेत्रीको संख्या ०५८ देखि ०६८ सम्ममा १.४२ प्रतिशत बृद्धि भएको देखिन्छ  । त्यो बृद्धि दर १ प्रतिशत भन्दा बढी संख्या हुनेमा सबैभन्दा बढी हो । क्षेत्रीहरुको संख्या अहिले पनि बढिरहेको अनमान लगाउन सकिन्छ । क्षेत्रीहरु ८ लाख ४ हजार ५ सय ५७ संख्यामा बढेका हुन् ।

क्षेत्रीहरु दार्चुलामा ७०.६४ प्रतिशत छन् । त्यसैगरी क्षेत्रीको बाहुल्यता रहेको अर्को जिल्ला बाजुरा हो । बाजुरामा क्षेत्री ६५.३८ प्रतिशत छन् ।

क्षेत्रीको संख्या नै बढी भएको जिल्ला भने काठमाडौ हो । तर प्रतिशतमा भने काठमाडाैंमा बाहुन बढी छन् । काठमाडौमा क्षेत्री ३ लाख ७८ हजार ९ सय २४ संख्यामा छन् । क्षेत्रीको संख्या १ लाखभन्दा बढी अछाम, बैतडी, बझाङ, दैलेख, डोटी, झापा, कैलाली, कन्चनपुर, काठमान्डु, मोरङ, रुकुम, सल्यान र सुर्खेतमा छ ।

क्षेत्रीहरु  सबैभन्दा कम मुस्ताङ र रसुवामा क्रमशः २ सय ६३ र १ हजार १ सय ३९ संख्यामा छन् ।

पहाडे बाहुन घटे

पहाडे ब्राह्मण ३२ लाख २६ हजार ९ सय ३ संख्यामा छन् । त्यो कुल जनसंख्याको १२.१८ प्रतिशत हो । पहाडे ब्राह्मण ०५८ भन्दा ०६८ मा ०.५६ प्रतिशत घटेका छन् ।

तर, काठमाडौमा भने ०६८ मा ८४.८६ प्रतिशत वृद्धि भएको छ । पहाडे ब्राह्मण काठमाडौमा ०५८ मा दोस्रो स्थानमा थिए । तर, ०६८ मा कुल जनसंख्याको २३.५१ प्रतिशत पुगी सबैभन्दा बढी हुनेमा दर्ज भएको छ ।

काठमाडौमा पहाडे ब्राह्मण ४ लाख १० हजार १ सय २६ संख्यामा छन् । दश बर्षअघि मात्र २ लाख २१ हजार ८ सय ५५ संख्यामा मात्र थिए ।

उसो त काठमाडौमा देशभरका पहाडे ब्राह्मणमध्ये १२.७० प्रतिशत छन्  । ती ०५८ जनगणनामा १ लाख भन्दा बढी  काठमाडौ, झापा, चितवन, कास्की, मोरङ, रुपन्देही र स्याङजा जिल्लामा थिए । ०६८मा उल्लेखित ६ जिल्ला बाहेक नवलपरासीमा पनि १ लाख कटेको छ ।  तर, स्याङ्जा भने पहाडे ब्राह्मण ०६८ को जनगणनामा १५ हजार ५७ संख्यामा घटेका छन् ।

मगर
नेपालमा मगरहरु ७.२९ प्रतिशत अर्थात १८ लाख ८७ हजार ७ सय ३३ संख्यामा छन् । मगर ०५८ भन्दा ०६८ मा ०.०२ प्रतिशत घटेको छ । मगर देशभरमा सबैभन्दा बढी पाल्पामा ५२.२९ प्रतिशत छ । पाल्पामा मगर १ लाख ३६ हजार ५ सय ८८ संख्यामा छन्  । पाल्पापछि धेरै मगर नवलपरासीमा १ लाख १२ हजार ३ सय ३१ संख्यामा छन् । रोल्पा, रुपन्देही र तनहुँ जिल्लाहरुमा पनि मगर १ लाखकै हाराहारीमा छ ।

माथि उल्लेख भएका ४ जिल्लासँग जोडिएको स्याङ्जामा मगरको संख्या ६२ हजार ६४ छ । मगरहरु स्याङ्जा सहितका ५ जिल्लामा कुल जनसंख्याको २७.७८ प्रतिशत छन । म्याग्दी, रुकुम, पाल्पा लगायतका जिल्लाका १ सय ८७ गाविसमा मगरको संख्या ५० प्रतिशत भन्दा बढी छ ।

थारु
तराई आदिवासी जनजाति अन्तर्गत सुचीकृत थारु ६.५६ प्रतिशत छन् । तिनको संख्या ०५८ भन्दा ०६८ मा २ लाख ३ हजार ५ सय ९१ बृद्धि भए पनि त्यसयता ०.१९ प्रतिशत घटेका छन् । थारुको संख्या १७ लाख ३७ हजार ४ सय ७० छ ।

बर्दियामा थारुहरु ५३ प्रतिशत छन् । उक्त जिल्लामा थारुको संख्या २ लाख २६ हजार ८९ छ । तर, संख्याको हिसाबले सबैभन्दा बढी थारु भएको जिल्ला कैलाली हो, जहाँ थारुको संख्या ३ लाख २२ हजार १ सय २० छ ।

थारुहरु दाङ, बाँके, बर्दिया, कैलाली र कन्चनपुरमा क्रमशः २९.५, १५.६५, ५३, ४१.५८ र २५ प्रतिशत छन् । उल्लेखित ५ जिल्लामा थारुको संख्या ३२.१५ प्रतिशत छ । सुनसरीमा थारु मात्र ११.९८ प्रतिशत छन् । तराईका ९६ गाविसमा थारुको संख्या ५० प्रतिशत भन्दा बढी छ ।

तामाङ
नेपालमा तामाङ ५.८१ प्रतिशत छन् । कुल जनसंख्यामा प्रतिशतको हिसाबले तामाङको जनसंख्या १० वर्षमा घटेको छ । तर, तामाङको संख्या भने ०६८ मा २ लाख ५७ हजार ५ सय २६ बृद्धि भएको छ । तामाङ मकवानपुर, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे र धाधिङमा क्रमशः ४७.८ ४२.८४, ३४.४२, ३४.०१ र २२.०९ प्रतिशत छन् ।  रसुवामा अझ बढी ६८.७८ प्रतिशत छन् । त्यस्तै अर्घाखाँची, बैतडी, जाजरकोट, कालीकोट, रुकुम, रोल्पा र सल्यानमा १ सय भन्दा कम संख्यामा छन् ।

नेवार
नेपालमा नेवारका संख्या ४.९९ प्रतिशत छन् । नेवार ०५८ मा ५.४८ प्रतिशत थिए । नेवार काठमाडौंँ ०५८ सम्म सबैभन्दा बढी संख्यामा थिए । संख्यामा नेवारलाई काठमाडौंमा ०६८ देखि पहाडे ब्राह्मणले उछिनेको छ ।

नेवारहरु काठमाडौमा अहिले मात्र २१.९६ प्रतिशत अर्थात ३ लाख ८३ हजार १ सय ३६ संख्यामा छन् । काठमाडौ जिल्लामा नेवार पहाडे ब्राह्मण भन्दा २६ हजार ९ सय ९० संख्यामा कम छन् । नेवार भक्तपुर र ललितपुरमा क्रमशः ४५.५८ र ३३.२३ प्रतिशत छन् । नेवारको संख्या बाजुरा, दार्चुला, डोल्पा, हुम्ला र कालीकोटमा १ सय भन्दा कम छ ।

हुम्लामा नेवार मात्र २६ को संख्यामा छन । १९ गाविस तथा नगरपालिकामा नेवारको संख्या ५० प्रतिशत भन्दा बढी छ । देशभर १ हजार ३ सय २० गाविसमा नेवार शुन्य संख्यामा छन् ।

कामी
कामी जातिको संख्या नेपालमा ४.७५ प्रतिशत छ । ती ०.८१ प्रतिशत बढेका छन् । क्षेेत्रीपछि बढी बृद्धि प्रतिशत कामीमा भएको छ । तिनको संख्या ७५ जिल्लामा झण्डै समानरुपमा छ । ती सबैभन्दा बढी कैलालीमा ६५ हजार ८७ छन् । त्यसपछि सुर्खेतमा ६४ हजार १ सय ४९ संख्यामा छन् । मनाङमा कामीहरु सबैभन्दा कम २ सय ४६ संख्यामा छन् । काठमाडौमा १८ हजार ४ सय ८ संख्यामा छन् । म्याग्दी र बाग्लुङका ५ गाविसमा कामीको संख्या ५० प्रतिशत भन्दा बढी छ ।

मुसलमान
नेपालमा मुसलमान ४.३९ प्रतिशत छन् । सबैभन्दा बढी बाँके जिल्लामा १८.९८ प्रतिशत छन् । तर, संख्याका आधारमा मुसलमान सबैभन्दा बढी रौतहटमा १ लाख ३५ हजार ५ सय १९ जना छन् ।

कपिलवस्तुमा पनि मुसलमान १ लाख ३ हजार ८ सय ५६ संख्यामा छन । मुसलमान ०५८ भन्दा २०६८ मा ०.१२ प्रतिशत बृद्धि भएको छ । मुसलमानहरु ताप्लेजुङ, मुस्ताङ, मनाङमा क्रमशः २, ३ र ४ जनाको संख्यामा मात्रै छन् ।

यादव
मधेसी अन्य जात समुदाय अन्तर्गत सुचीकृत यादव ३.९८ प्रतिशत छन् ।  ०६८ मा यादवको संख्या १ लाख ५९ हजार २ सय १५ बृद्धि भएको छ । ०५८ मा यादव ८ लाख ९५ हजार ४ सय २३ संख्यामा थिए । यादवको संख्या सप्तरीदेखि रौतहटसम्मका ६ जिल्लामा १६.७९ प्रतिशत छ ।

यादवहरु प्रतिशतका आधारमा सबैभन्दा बढी सिरहा जिल्लामा २४.३८ प्रतिशत छन् । यादवको संख्या १ लाख भन्दा बढी धनुषा, सप्तरी, सर्लाही र सिराहा जिल्लामा छ । यादवहरु मुस्ताङ, मनाङ र जाजरकोटमा मात्र ४/४ जना छन् । यादवको संख्या ३३ गाविसमा ५० प्रतिशत भन्दा बढी छ ।

राई
नेपािलमा राईहरु २.३४ प्रतिशत छन् । राई ०५८ मा २.७९ प्रतिशत थिए । राईको बाहुल्य सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, खोटाङ्ग, भोजपुर जिल्लामा छ । धनकुटा र इलाममा पनि राई मनग्यै छन । सबैभन्दा बढी राई खोटाङ र भोजपुरमा छन् । ती २ जिल्लामा राई कुल जनसंख्याको ३४.२५ प्रतिशत छ । राई ०६८ को जन गणनामा टुकि्रएर आठपहरिया/अठप्रे, बाहिङ, बान्तावा, चाम्लिङ, खालिङ, कुलुङ, लोहरुङ, मेवाहाङ बाला, नाछिरिङ, साम्पाङ, थुलुङ, याम्फुका रुपमा अलग्गै सुचीकृत भएका छन् । ०५८ को जनगणनामा नै उल्लेखित भाषा बोल्नेको संख्या छुट्टै दर्ज भएको थियो ।

गुरुङ
गुरुङको १.९७ प्रतिशत अर्थात ५ लाख २२ हजार ६ सय ४१ छ । गुरुङहरु कास्की, लम्जुङ, गोर्खा, चितवन जिल्लामा बढी छन् । तर प्रतिशतका आधारमा मनाङमा गुरुङ बढी छन् । मनाङमा गुरुङ ५२.४ प्रतिशत छन् । तर, उक्त जिल्लामा गुरुङको संख्या मात्र ३ हजार ४ सय २६ मात्र छ ।

गुरुङ २०६८ को जन गणनामा ०.४२ प्रतिशत घटेका छन् । गुरुङको संख्या ५६ गाविसमा ५० प्रतिशतभन्दा माथि  र ६२ गाविसमा २५ देखि ५० प्रतिशतसम्म छ ।

दमाई
नेपालमा दमाईको संख्या १.७८ प्रतिशत छ । उनीहरु अर्थात ४ लाख ७२ हजार ८ सय ६२ संख्यामा छन् । दमाईलाई पश्चिममा धोली पनि भनिन्छ । दमाईको संख्या ०.०६ प्रतिशतले घटेको छ । दमाई सबैभन्दा बढी कैलाली, सुर्खेत र झापामा क्रमशः १७ हजार १ सय ९२, १५ हजार ७ सय ८१ र १५ हजार २ सय ६ संख्यामा छन् । कामीजस्तै दमाई पनि ७५ जिल्लामा बाहुन बराबरी छन् । देशभर दमाईको संख्या १५ गाविसमा मात्र १५ प्रतिशत भन्दा बढी छ । त्यसैगरी १ हजार ८ सय १४ गाविसमा दमाईको संख्या १ देखि ५ प्रतिशत छ ।

ठकुरी
ठकुरी १.६१ प्रतिशत अर्थात ४ लाख २५ हजार ६ सय २३ संख्यामा छन् । तिनको संख्या ०.१४ प्रतिशत बृद्धि भएको छ । ती दैलेख र कालीकोटमा बढी छन् । ती २ जिल्लामा ठकुरी क्रमशः ३६ हजार ८ सय १६ र ३४ हजार ३ सय ५० संख्यामा छन् । मध्य पश्चिमाञ्चलका १० गाविसमा ठकुरीको संख्या ५० प्रतिशत भन्दा बढी छ । त्यसैगरी कालीकोट र जुम्ला लगायतका जिल्ला अर्न्गतका ५७ गाविसमा ठकुरीको संख्या २५ देखि ५० प्रतिशत छ । ठकुरी मनाङ र सोलुुखुम्बुमा मात्र ११ र १३ संख्यामा छन् ।

लिम्बू
पूर्वी नेपालमा बसोबास गर्ने लिम्बूहरु १.४६ प्रतिशत अर्थात ३ लाख ८७ हजार ३ सय संख्यामा छन् । ०५८ मा लिम्बू १.५८ प्रतिशत थिए । लिम्बूको घनत्व ताप्लेजङ, पाँचथर, तेह्रथुममा छ । अघिल्ला ३ जिल्लामा लिम्बूको जनसंख्या ४० प्रतिशत छ ।

धनकुटा र इलाममा पनि लिम्बूको संख्या उल्लेखनीय छ । ताप्लेजुङ र पाँचथरका ४३ गाविसमा लिम्बूको संख्या ५० प्रतिशत भन्दा बढी छ । त्यसैगरी ८९ गाविसमा लिम्बूको संख्या २६ देखि ५० प्रतिशत छ ।

सार्की
नेपालमा सार्कीहरु १.४१ प्रतिशत छन् । सार्की ०६८ को जन गणनामा ०.०१ प्रतिशत बढेको छ । सार्की गोर्खा, धादिङ र बाग्लुङमा अन्य जिल्लामा भन्दा बढी छन् । ती ३ जिल्लामा सार्की क्रमशः २० हजार ५ सय ५९, १६ हजार २ सय ४२ र १४ हजार ९ सय १८ संख्यामा छन् । रसुवामा सार्कीको संख्या मात्र ४ छ ।

तेेली
मधेसी अन्य जातअन्तर्गत सुचीकृत तेली १.४० प्रतिशत अर्थात ३ लाख ६९ हजार ६ सय ८८ संख्यामा छन् । तेली ०६८ मा ०.०६ प्रतिशत बृद्धि भएको छ । तेली सप्तरी, सर्लाही र धनुषामा सबैभन्दा बढी क्रमशः ४६ हजार ७ सय १३, ४१ हजार ३ सय २३ र ३९ हजार २ सय ११ संख्यामा छन् ।

चमार
चमारलाई हरिजन र राम भनेर पनि चिनिन्छ । चमार १.२७ प्रतिशत छन् । ०६८ मा चमार ०.०८ प्रतिशत बृद्धि भएको छ । सप्तरीदेखि पर्सा र नवलपरासीदेखि कपिलवस्तुसम्मका ११ जिल्लामा चमारको संख्या २१ हजार देखि ३६ हजारसम्म छ ।

ती ११ जिल्लामा देशभरका चमारमध्ये ८३.५५ प्रतिशत छन् । चमारको बसोबास भारतीय सीमाक्षेत्रमा बढी छ ।

कोइरी

कोइरी मधेसी जात हो, जसलाई कुशवाहा पनि भनिन्छ । कोइरी जात १.१६ प्रतिशत छन् । कोइरीकोे संख्या ०५८ मा ०.०५ प्रतिशत बढेको छ । ती  सर्लाही, सिराहा, धनुषा, महोत्तरी, सुनसरी जिल्लामा बढी छन् । कोइरी ५ जिल्लामा कोइरी क्रमशः ६१ हजार १९, ३८ हजार ३ सय २५, ३८ हार १ सय ७६, ३६ हजार १ सय ७१ र ३० हजार ५ सय ३७ संख्यामा छन । कोइरी अर्घाखाँची, डडेलधुरा, दार्चुला र डोल्पा जिल्लामा छैनन् । कोइरीजस्ता शब्दावली भएको तराईमा मधेसीको अर्को जात कोरी पनि छ, जुन पश्चिम तराईमा बसोबास गर्छन् ।

अझै थपिँदैछन् जातजाति

नेपालमा अझै जाति तथा समुदाय पहिचान/सुचीकृत हुने क्रममा छन् । जनजातिको सुचिमा पहिचान अझै भै नसकेको जनजाती अन्य भनेर १ हजार २ सय २८ संख्या मुक्तसिंह तामाङ र ओम गुरुङ सम्पादित पुस्तक ‘सोसियल इन्क्लुजन एटलस् अफ नेपाल : इथ्निक एण्ड कास्ट ग्रुप्स’ (पृष्ठ ७ र ९) मा उल्लेख गरिएको छ ।

अन्य दलित भनेर जनगणना १ लाख ५५ हजार ३ सय ५४ को पहिचान हुन बाँकी देखाइएको छ । त्यसैगरी तराई अन्य, बिदेशी र पहिचान नभएका अन्य भनेर जम्मा १ लाख २५ हजार ७ सय ३९ जना जनाइएको छ । त्यो कुल जनसंख्याको १.०४ प्रतिशत हुन आउँछ । आगामी जनगणना २०७८ मा फेरि जात तथा समुदाय निश्चय नै थपिने छन् ।

तालिकाः १ प्रतिशत भन्दा बढी संख्या भएका जातिहरु

क्र.स समुदाय संख्या प्रतिशत संख्या बढी भएका जिल्ला
क्षेत्री ४३,९८,०५३ १६.६ काठमाडौ, दार्चुला, बाजुरा, अछाम, बझाङ, दैलेख, डोटी, झापा, कैलाली कन्चनपुर, मोरङ, रुकुम, सल्यान, सुर्खेत
पहाडे ब्राह्मण ३२,२६,९०३ १२.१८ काठमाडौ, झापा, चितवन, कास्की, मोरङ, रुपन्देही
मगर १८,८७,७३३ ७.१२ पाल्पा, स्याङजा, रोल्पा, रुपन्देही, तनह
थारु १७,३७,४७० ६.५६ बर्दिया, दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुरमा
तामाङ १५,३९,८३० ५.८१ रसुवा,मकवानपुर, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, धाधिङ
नेवार १३,२१,९३३ ४.९९ भक्तपुर, ललितपुर, काठमाडौ
कामी १२,५८,५५४ ४.७५ कैलाली, सुर्खेत
मुसलमान ११,६४,२५५ ४.३९ बाँके, रौतहट, कपिलवस्तु
यादव १०,५४,४५८ ३.९८ सप्तरी, धनुसा, सर्लाही र सिराहा
१० राई ६,२०,००४ २.३४ खोटाङ्ग, भोजपुर, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर,
११ गुरुङ ५,२२,६४१ १.९७ मनाङ, कास्की, लम्जुङ, गोर्खा, चितवन
१२ दमाई/धोली ४,७२,८६२ १.७८ कैलाली, सुर्खेत, झापा
१३ ठकुरी ४,२५,६२३ १.६१ ठकुरी दैलेख, कालीकोट
१४ लिम्बू ३,८७,३०० १.४६ ताप्लेजङ, पाँचथर, तेह्रथुममा
१५ सार्की ३,७४,८१६ १.४१ गोर्खा, धादिङ, बाग्लुङ
१६ तेली ३,६९,६८८ १.४० सप्तरी, सर्लाही, धनुषा
१७ चमार/हरिजन/राम ३,३५,८९३ १.२७ सप्तरी देखि पर्सा र नवलपरासी देखि कपिलवस्तुसम्म
१८ कोइरी/कुसवाह ३,०६,३९३ १.१६ सर्लाही, सिराहा, धनुषा, महोत्तरी, सुनसरी

श्रोतः ‘सोसियल इन्क्लुजन एटलस् अफ नेपाल : इथ्निक एण्ड कास्ट ग्रुप्स’ (२०१४)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment