+
+

इटहरीमा बन्दको अवज्ञा, सुरक्षा माग्दै व्यवसायीको जुलुस

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १ गते १२:३६

Itahari-Bajar-Khulyo

१ भदौ, इटहरी । निरन्तरको बन्दले आजित भएका इटहरीका व्यापारीहरुले मंगलबार बजार खोलेका छन् । उद्योग वाणिज्य संघ इटहरीको नेतृत्वमा व्यापारीहरु आफै सडकमा आएर सबैलाई बजार खोल्न आग्रह गरेका थिए ।

उनीहरुले बन्दको बिरोधमा इटहरीको मुख्य चोकदेखि पकलीसम्म मोटरसाईकल र्‍याली निकालेका थिए । र्‍यालीलाई इलाका प्रहरी कार्यालय इटहरीले सुरक्षा प्रदान गरेको थियो ।

संघीय समाजवादी फोरम नेपाल पार्टीको बन्दका कारण विहान भने इटहरी बजार बन्द थियो । व्यापारीहरु बन्द खुलाउनु पर्ने भन्दै सडकमा उत्रिएपछि बजारहरु एकाएक खुलेका थिए ।

बजार खुलेसंगै धरानबाट पूर्वतर्फ जाने सवारीका साधनहरु पनि चलिरहेका छन् । सोमबारसम्म बन्द रहेका इटहरीका शिक्षण संस्थाहरु पनि मंगलबारबाट खुलेका छन् ।

सुरक्षा माग

Itahari-Banda-khulyo
उद्योग वाणिज्य संघको नेतृत्वमा बजार खुलाइएपछि व्यापारीहरुको एक समूहले इलाका प्रहरी कार्यालय इटहरीमा आएर प्रहरी नायव उपरिक्षक ओमप्रसाद अधिकारीलाई भेटेर सुरक्षा दिन माग गरेका थिए । अधिकारीले ढुक्क भएर आफ्नो पसल र व्यवसाय संचालन गर्न व्यापारीहरुलाई आग्रह गरेका थिए । उनले इटहरीका उद्योगी र व्यापारीहरुको पूर्ण सुरक्षा दिन आफू तयार रहेको बताएका थिए ।

उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष रोहित प्रसाईले निरन्तरको बन्दले व्यापारी र उद्योगीले दैनिक करोडौं रुपैययाँ घाटा बेहोर्नु परिरहेकाले बाध्य भएर बन्द विरुद्ध सडकमा उत्रनु परेको बताए । उनले अबका दिनका जस्तोसुकै परिस्थितिमा पनि इटहरी बजार बन्द नगर्ने बताए ।

‘यसअघिका बन्दमा प्रायः खुल्ने इटहरी केही सातायता बिभिन्न नाममा दिनहुँ बन्द भएको थियो,’ उनले भने, ‘यो या त्यो बहानामा बन्द गराइ इटहरीलाई अशान्त बनाउने काम अब कसैले गर्न हुँदैन र गर्न पनि दिँदैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?