Comments Add Comment

‘स्थानीय निकाय कब्जा हुन्छन्, सरकारी कर्मचारी लखेटिन्छन्’

थारुवान थरुहट आन्दोलनका एक डिजाइनर राजकुमार लेखी आक्रामक अभिव्यक्ति दिँदै पूर्वी तराईका जिल्ला पुगेर काठमाडौं फर्किएका छन् । सरकारले वार्ता आहृवान गरेका बेला लेखीसहित थारु आन्दोलनका अगुवाहरु भने तराईका जिल्लामा स्थानीय निकाय कब्जा गर्ने योजना बनाउँदैछन् ।

यसै सातादेखि तराईबाट सरकारी कार्यालय कब्जा गर्दै कर्मचारी खेदाउने र स्थानीय निकाय कब्जा गर्ने आन्दोलन शुरु हुने लेखी बताउँछन् । उनका अनुसार वार्ता भए पनि अब काठमाडौंमा होइन, तराईमै हुनेछ । प्रस्तुत छ, आदिवासी जनजाति महासंघका निवर्तमान अध्यक्ष समेत रहेका लेखीसँग अनलाइनखबरका लागि मात्रिका पौडेलले गरेको कुराकानीका सम्पादित अंशः

Raj-kumar-Lekhiसरकारले वार्तामा बोलाएको छ, तपाई भने पूर्वतिर गएर उत्तेजक अभिव्यक्ति दिइरहनु भएको छ, वार्ता बहिस्कार गरेको हो ?

– वार्ता गर्दैनौं भनेको छैन । तर, वार्ताको लागि सरकारले वातावरण बनाउन सकेको छैन । झारा टार्ने हिसाबले वार्ताको आऋवान गरेर चीया गफमात्र गर्न खोजेको देखियो ।

अनि के गर्दा वार्ताको वातावरण बन्छ त ?

– हामीले ७ बुँदे धारणा सरकारलाई दिँदैछौं । सबैभन्दा पहिले सेनालाई ब्यारेक फिर्ता गर्नुपर्छ, कफ्र्यु हटाउनुपर्छ, घाइते आन्दोलनकारीको उपचार र खर्चबर्च दिनुपर्छ । दमन गर्ने प्रहरीलाई कारवाही हुनुपर्छ अनिमात्र वार्तामा बस्न सकिन्छ । तर, वार्तामा बसे पनि हाम्रो आन्दोलन भने निरन्तर रहन्छ । अब हामी थप सशक्त आन्दोलन थाल्छौं ।

वार्ता तपाईहरुसँग गर्ने कि मधेसी मोर्चाका नेतासँग गर्ने हो ?

हाम्रो आन्दोलनमा उनीहरुले नैतिक समर्थन गरेका हुन् । तर, वार्ता हामीसँग हुनुपर्छ । अबको वार्ता सिंहदरबारमा प्रधानमन्त्रीसँग चिया खाएर होइन । तराईका जनतासँग हजारौं जनतालाई बीचमा राखेर गर्नुपर्छ । अब वार्ता काठमाडौंमा होइन तराईमा हुन्छ । हामी थरुहट भूमि बाहेक अन्त वार्ता गर्दैनौं ।

यत्रो हत्याकाण्ड भइसक्यो,तराई जलेकै छ, यो भन्दा पनि सशक्त आन्दोलन के गर्नु हुन्छ ?

– अब हामी स्थानीय निकाय कब्जा गछौं । अब थारु जनताले थरुहटका जिल्लाहरुका सरकारी कार्यालय, गाविस, नगरपालिका कार्यालय कब्जा गर्नेछन् । अबको आन्दोलन प्रतिरोधात्मक आन्दोलन हुनेछ ।

यसको मतलब अब प्रहरी सुरक्षाकर्मी र सरकारी कर्मचारीहरुलाई पनि लखेट्ने ?

– जनताले अब स्थानीय निकायहरु कब्जा गरेर थरुहट राज्य आफैं चलाउँछन् । त्यस क्रममा जो-जो अबरोध बन्छन्, तिनीहरु जनताको कारवाहीमा पर्छन्, लखेटिन्छन् । भदौ १६ गतेसम्मको हड्तालको कार्यक्रम यथावत हुन्छ, यसबीचमा अब सशक्त विद्रोह शुरु हुन्छ ।

सशक्त विद्रोह कि सशस्त्र विद्रोह हो ?

– हामी सशस्त्र विद्रोह गर्दैनौं, जनताले सशक्त विद्रोह गर्नेछन् । अब कब्जाको आन्दोलन शुरु हुन्छ । स्थानीय निकायमा जनताले प्रतिरोध कारवाही गर्छन् ।

सशस्त्र विद्रोह गर्दैनौं भने पनि तपाइर्ँहरुको आन्दोलनमा हतियार त चल्यो, टीकापुर हत्याकाण्डले देखाएन र ?

– कैलाली हत्याकाण्ड हामीले गराएको होइन । केही पाँच सात जना नेताले गराएका हुन् । सिंहदरबारमा बसेर प्रदेशको सीमांकन गर्ने नेताहरुका कारण भएको हो । थारुलाई रौं पनि दिन्न भन्ने शेरवहादुर देउवा र अखण्ड सुदूरपश्चिम भन्ने भीम रावल, लेखराज भट्टहरुले गराएका हुन् । त्यसको जिम्मेवारी उनीहरुले लिनुपर्छ ।

ए, भनेपछि आन्दोलन तपाईहरुले गर्ने, मान्छेलाई भाला हतियार तपाईहरुले बोकाएर लैजाने,२ वर्षको बालक र निहत्था पुलिसलाई आन्देालनकारीले मार्ने, अनि जिम्मेवारी चाहिँ लिनु नपर्ने ?

– हामीले जिम्मेवारी लिन्नौं भनेका छैनौं । हामीलाई त्यो बर्बर हत्याकाण्डप्रति दुःख छ । हुनै नहुने घटना भयो । तर, त्यसमा मैले माथि भनेका नेताहरुले घुसपैठ गराएका हुन् । अखण्ड भन्ने केही हुल्याहा र सादा पोशाकका प्रहरी लगाएर थारुको जुलुसमाथि ढुंगा हान्ने काम जसले गरे, यो हत्याका जिम्मेवार तीनै हुन् ।

यस्तो विभत्स हत्या भएको छ, अलिकति मानवीय संवेदना पनि हुँदो रहनेछ हगि, आन्दोलनमा लागेपछि ?

– होइन, त्यो अत्यन्तै दर्दनाक घटना भयो,यसप्रति हामीले दुःख व्यक्त गरिसकेका छौं । तर, त्यो के कारणले भयो भन्ने बुझ्नुपर्‍यो । त्यो हत्या यीनै केही शीर्ष नेताले गराएका हुन् ।

त्यहि भएर इटहरी पुगेर पाँच सात जना नेता र मानव अधिकारवादीलाई ठोक्ने भन्नु भएको हो ?

– यी भ्रष्ट नेताहरु सुशील कोइराला, केपी ओली, पुष्पकमल दाहाल, बाबुराम भट्टराई, शेरवहादुर देउवा लगायत पाँच सात जना जो छन्, उनीहरुले गर्दा देश बर्बाद भएको हो । यीनलाई अब थरुहटका जनताले कारवाही गर्नेछन् । त्यस्तै मानवअधिकारवादी पनि हरियो डलर जहाँ आउछ, त्यहाँमात्र जाने भए । उनीहरुको अब थरुहटमा कुनै काम छैन । थरुहट क्षेत्रमा अब मानवअधिकारवादीलाई प्रवेश निषेध छ, उनीहरु आए पनि जनताले लखेट्नेछन् ।

मानव अधिकार आयोगलाई पनि हो ?

– मानव अधिकार आयोगले पनि सोच्नुपर्‍यो । नत्र जनताले छाड्दैनन् ।

अनि पत्रकारलाई चाहिँ पनि लखेट्ने हो कि ?

– हामी स्वतन्त्र प्रेसको पक्षमा छौं । हामी प्रेस स्वतन्त्रतामा विश्वास गर्छौं । पत्रकारलाई हाम्रोमा कुनै रोकतोक हुँदैन । अझ तपाईहरु जस्ता निष्पक्ष पत्रकारलाई सधैं स्वागत छ, आउनुस थरुहटको आन्दोलन हेर्नुस् । तर, पत्रकार मित्रहरुले पनि निष्पक्ष हुनुपर्‍यो, सबैलाई आग्रह छ ।

झन् अप्ठेरो कुरा गर्नुभयो, समाधान को कुरा पनि गर्नुस् न ?

-समाधान त नेताहरुले सिंहदरवार मोडलमा गरेको ७ प्रदेशको सीमांकन हेरफेर हुनुर्‍यो । उनीहरुले विगतमा आफ्नो घोषणापत्रमा जे उल्लेख गरेका थिए, त्यसलाई सम्झिने हो भने कुरा मिल्छ ।

तपाईहरुको माग नै प्रष्ट छैन भन्ने कुरा पनि आयो नि ? जस्तो कि तराईमा कति प्रदेश बनाउने भन्ने प्रष्ट छैन रे नि ?

हामीले यति उति भनेका छैनौं, पहाड र तराईमा बराबरी प्रदेश बनाउनुपर्छ । पहाडमा जम्मा ८ प्रदेश हुन्छ भने तराईमा चार, पहाडमा चार हुनुपर्छ । ६ प्रदेश हो भने तीन तीन प्रदेश हुनुपर्छ । चुरे पहाडसहित मिसाएर प्रदेश बन्नुपर्छ । जस्तो सुर्खेत उपत्यका, दाङ, सिन्धुली, उदयपूर, मकवानपूर मिसिएको थरुहट प्रदेश हुनुपर्छ ।

दाङदेखि कञ्चनपूरसम्मको तराईको भूभागलाई मिलाएर एउटै प्रदशेमा राख्यो भने मध्यमार्गी समाधान आउछ भन्ने कुरा थारु नेताल ेनै भन्न थाले नि ?

– त्यो हामीले भनेको होइन ,तीन दलका नेताको प्राइभेट लिमिटेडका चाटुकारहरुले भनेका हुन् । उनीहरु आफ्ना नेताको दलाली गरेर मन्त्री पद सुरक्षित गर्न यसो भनिरहेका छन् ।

उनीहरु त, तपाईहरुको आन्दोलनमा सिके राउतदेखि बैद्य विप्लवसम्म मिसियो भन्छन् नि ?

– यो दलाली गर्न र शासकलाई खुसी पार्न उनीहरुले भनेको कुरा हो । हाम्रो आन्दोलन आतंकवादी र विखण्डनवादीसँग सम्बन्धित छैन । एमालेका केही थारु नेताहरु अब एमालेको सरकार बन्न लागेको र केपी ओली प्रधानमन्त्री हुन लागेको चर्चासँगै मन्त्री पद खानका लागि यस्तो दलाली र आरोपमा उत्रिएका हुन् । वैद्य विप्लब कोहीसँग पनि हाम्रो कार्यगत एकता छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment