+
+
Shares

मधेसको आन्दोलनमा एमाओवादी मोर्चाको ऐक्यवद्धता

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ८ गते १६:११

Ram-chandra,-ram-kumar-and-Ram-rijhan

८ असोज, जनकपुर । एमाओवादी समर्थित मधेसी राष्ट्रिय मुक्ति मोर्चा क्रान्तिकारीले मधेस आन्दोलनमा ऐक्यवद्धता जनाउने औपचारिक निर्णय गरेको छ । मोर्चाले झापादेखि बाँकेसम्म संघर्षका कार्यक्रमसमेत घोषणा गरेको छ ।

जनकपुरमा एमाओवादीका केन्द्रीय नेताहरुको उपस्थितिमा शुक्रबार सम्पन्न बैठकले मधेस आन्दोलनमा ऐक्यवद्धता जनाउने औपचारिक निर्णय गरेको हो । मोर्चाले मधेसमा रहेका सम्पूर्ण माओवादी नेता कार्यकर्तालाई आन्दोलनमा सहभागी हुन आग्रहसमेत गरेको छ ।

बैठकपछि जारी मोर्चाको विज्ञप्तिमा भनिएको छ- ‘आन्दोलनको घोषित कार्यक्रममा ऐक्यवद्धता जनाउँदै सक्रियतापूर्वक सहभागी हुन पार्टी पङ्तीलाई आग्रह गर्दछौं ।’

केन्द्रीय समिति बैठक बहिस्कार गर्ने

मोर्चामा रहेका एमाओवादी केन्द्रीय समितिका नेताहरुले आइतबार काठमाडौंमा बस्ने पार्टीको केन्द्रीय समिति बैठक बहिस्कार गर्ने निर्णयसमेत गरेको छ । १० गते बोलाइएको बैठकलाई ‘विश्वासघाती प्रचण्डको चालबाजी’ को संज्ञा दिँदै बैठकमा सहभागी नहुन मधेसका पोलिटब्यूरो सदस्य एवं केन्द्रीय सदस्यहरुलाई मोर्चाले आग्रहसमेत गरेको छ ।’

एमाओवादीका मधेसी नेताहरु यसअघि पनि मधेस आन्दोलनमा सहभागी हुँदै आएका थिए । पार्टीले आन्दोलनमा जान छुट दिएको मधेसी नेताहरुले बताउँदै आए पनि औपचारिक निर्णय भएको थिएन ।

शुक्रबारको बैठकले असोज १२ गते जनकपुरका मिथिला-मधेसको भेला आयोजना गर्ने निर्णय गरेको छ । त्यस्तै १३ गते वीरगञ्ज, १४ गते भैरहवा, १५ गते नेपालगञ्ज र १७ गते बिराटनगरमा भेलाको आयोजना गर्ने मधेसी मोर्चाले निर्णय गरेको छ ।

एमाओवादीको केन्द्रीय समिति बैठक बहिस्कार गर्ने र मधेस आन्दोलनमा ऐक्यवद्धता जनाउने मोर्चाको बैठकमा एमाओवादी पार्टीका केन्द्रीय नेता रामचन्द्र झा, गंगा श्रेष्ठ, रामरिझन यादव, रामकुमार शर्मा, महेन्द्र पासवान लगायतको उपस्थिति थियो ।

बैठकमा रामकुमार शर्मा लगायतका केही नेताले केन्द्रीय समितिको बैठकमा सहभागी बन्न नहुने प्रस्ताव गरेका थिए । भने अन्य नेताले बैठकमा सहभागी भएर एकपटक आफ्ना कुराहरु नेतृत्वसमक्ष राख्नुपर्ने प्रस्ताव गरेका थिए ।

रामकुमार शर्माले यसअघि नै लाजिम्पाटस्थित प्रचण्ड निवासमा राजीनामा बुझाइसकेका छन् ।

त्यस्तै रामरिझन यादवले पनि पार्टी छाडेको जानकारी लाजिम्पाटलाई गराइसकेका छन् ।

तर, रामचन्द्र झा, महेन्द्र पासवान लगायतका नेताहरु पार्टी नेतृत्वसँग असन्तुष्ट भए पनि अहिलेसम्म पार्टी छाडेको घोषणा गरेका छैनन् । शुक्रबारको बैठकमा उनीहरुले केन्द्रीय समिति बैठक बहिस्कार गर्न नहुने अडान राखेका थिए । त्यस्तै केन्द्रीय सदस्य गंगा श्रेष्ठले पनि पार्टीको केन्द्रीय समिति बैठकमा भाग लिनुपर्ने मत जाहेर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?