Comments Add Comment

बेवारिसे नबनाउ राष्ट्रवादी जनमत

chiranjivi-poudelचिरञ्जीवी पौडेल/टिप्पणी

केहि दिनयता अफिस टाइममा काठमाडौंका चोक-चोकमा गाडीको प्रतिक्षा गर्दै थुपि्रएका मानिसहरुको बेहाल देख्दा आँखा  रसाउँछ । यो भिडभित्रका अनुहार फरक-फरक भए पनि मनोदशा समान छन् । कुनै पनि क्षण विष्फोट हुन सक्ने आक्रोशको ज्वालामुखी उनीहरुको अनुहारमै पढ्न सकिन्छ ।

संधै सरकार र नेताहरुको आलोचना गर्न अभ्यस्त देशवासी आज यति कष्ट व्यहोर्दा पनि संयमित छन् । नेताहरुलाई गाली गरेको कमै सुन्छि । काखमा सानो नानी च्यापेर माइक्रोबसको ढोकामा झुण्डिन घन्टौंदेखि प्रतिक्षरत आमा सरकारलाई गाली गर्दिनन् । ठूल्ठूला ब्याग भिरेर विद्यालय जान लामो बाटो पैदल हिँडिरहेका विद्यार्थिलाई पनि नेतासित गूनासो छैन । सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा मनको भँडास पोखिरहेका सारा नेपाली एक स्वरमा सरकारलाई खुट्टा नकमाउन चेतावनी दिइरहेका छन् । उनीहरुको साझा भनाई छ, ‘हामी दुख भोग्न तयार छौं, सरकार खुट्टा नकमाऊ ।’

जस्तै, हेटौंडाकी गृहणी ललिता पौडेल लेख्छिन्-‘हामी देखाइदिन्छौं, तिमीहरुको नाका ठूलो कि हाम्रो शिर । एक छाक खाइन्छ तर कसैको सामु झुकिन्न । सरकार पछि नहट । गो अफ इन्डिया ।’

तर, सरकार जनताले आशा गरेजस्तो बलियोे छैन । उसका गोडाहरु कामिरहेका छन् । सामाजिक सञ्जाल र मिडियाको चौतर्फी दवावले मात्रै उसलाई जेनतेन अड्याइरहेको हो । राजनीतिक दलका नेताहरु पनि भाषणबाजीमै सिमित छन् । भारतीय ज्यादतिलाई कसरी मुकाबिला गर्ने भन्ने सोच उनीहरुसित पनि छैन । उनीहरु ‘ढिलो चाँडो भारतले नाकाबन्दी हटाउँछ’ भन्ने आशामै प्रतिक्षारत देखिन्छन् । बलियो राजनीतिक नेतृत्वको अभावमा देशको राष्ट्रवादी जनमत बेवारिसे बनिरहेको छ । अन्तराष्ट्रिय विधिविधान कुच्चिदै नेपालविरुद्ध मानवताविरोधी अपराध गर्ने नरेन्द्र मोदीलाई पाठ सिकाउनैपर्छ भन्ने जनआकांक्षा संकटमा पर्दै गएको छ ।nepali-student

यतिबेला सरकारमा बलियो नेतृत्व नहुनुको मूल्य देशले चुकाउनु परिरहेको छ । नरेन्द्र मोदी जस्ता कुटिल राजनीतिज्ञलाई झेल्न हामीसित छन्, सुशील कोइराला जोसित कुनै भिजन नै छैन । जोगीको जस्तो सोच र जुम्राको जस्तो गति भएका उनीबाट कति आशा राख्ने ? अन्य राष्ट्रवादी कहलाएका नेताहरु पनि फगत भाषणमै सिमित छन् । भारतले तेल नदिए साइकल चढ्छौं भन्ने नेताहरु त दुलोभित्र पसिसके ।

राष्ट्रवादका पक्षमा निणर्ायक अग्रसरता लिन सक्ने शक्ति खोई त ? भारतीय दूतावासमा धर्ना दिने विद्यार्थीहरुको समुहसित त्यो शक्ति छैन । गाडीको प्रतिक्षामा नानी च्यापेर बसेकी आमाले के गर्न सक्छिन् ? तीन लिटर पेट्रोलका लागि २४ घन्टादेखि लाइन बसिरहेको युवाले के गर्न सक्छन् ? आम जनताको आक्रोश केवल ताप्केको बिँड तातेजस्तो मात्र भएको छ । दलहरु भने उल्टो चिसिदै गएका छन् । भारतको सातबुँदे मागको फोटोकपी बोकेर मधेसवादी दलको घर-घर चहार्दै हिडेका छन् तीन दलका नेता । सात बुँदेका सातै बुँदा राष्ट्रघाती छन् भन्ने जान्दाजान्दै केमा लागि छलफल गर्ने र केमा सम्झौता गर्ने भन्ने प्रश्नको उत्तर कसले दिन्छ ?

अघोषित नाकाबन्दीको एक हप्ता पुग्दा पनि नेपालले यो विषय अन्तर्राष्ट्रियकरण गर्न हिच्किचाइरहेको छ । फलस्वरुप अन्तर्राष्ट्रिय मिडियामा नेपालको कुनै चर्चा छैन । नेपालका झिना मसिना विषयहरुमा विज्ञप्ति निकाल्ने यूएन र अन्य कुटनीतिक नियोगहरु पूर्णतया मौन छन् । प्रधानमन्त्रीले उनीहरुलाई राखेर बि्रफिङसम्म गर्न सकेका छैनन् । आन्तरिक मामलाहरुमा कुटनीतिज्ञहरु भेला गराएर छलफल गर्ने प्रधानमन्त्री दुई देशबीचको मामला भने विदेशीहरुलाई सुनाउने हिम्मत राख्दैनन् । भारतमा जेजति दवाव परिरहेको छ, त्यो जनस्तरबाट मात्रै परिरहेको छ । सामाजिक सञ्जालमा आएको भारतविरोधी टिप्पणीको बाढील पक्कै पनि उसलाई अलिकति चस्का दिएको हुनुपर्छ । यद्यपि, उसले केहि थाहा नपाएको अभिनय गरिरहेको छ ।

अर्को राम्रो काम भएको छ भारतीय टिभी च्यानल र फिल्महरु बन्द गरेर । यसले पनि पक्कै भारतलाई एक झट्का दिने छ । यद्यपि उसले केहि थाहा नपाएको अभिनय त गर्ने नै छ । कसैले दबाव दिएर होइन, केवुल अपरेटरहरु आफैंले भारतीय च्यानलहरु बन्द गरिदिएका हुन् । हलहरु आफैंले हिन्दी फिल्म लगाउने छोडेका छन् । भारतीय टिभीमा सिरियल हेर्न नपाएको भनेर गृहणीहरुले दुःख मानेका छैनन् । हिन्दी फिल्महरु रोकिएर दर्शकहरु छट्पटिएका छैनन् । मिडियामा भारतीय कलाकारका समाचारहरु घटेर पाठक घटेका छैनन् । जनताले सबैभन्दा ठूलो कुरा राष्ट्रियता हो भन्ने बुझेका छन् ।

यो नेपालका लागि लगभग आर वा पारको लडाईं हो । यतिबेला भारतसित झुक्यौं भने भविष्यमा कहिल्यै पनि उसित शिर ठाडो पारेर उभिन सक्ने छैनौं । यतिबेला भारतलाई झुकायौं भने भविष्यमा कहिले पनि उसित शिर झुकाएर उभिनुपर्ने छैन ।

अब सरकार र दलहरुको मात्रै भर नपरौं । आजको डिजिटल यूगमा प्रत्येक व्यक्ति एउटा स्वतन्त्र मिडिया हुन् । जनताले नै अब भारतलाई अन्तर्राष्ट्रिय जगतमा नंग्याउनुपर्छ । सामाजिक सञ्जालमार्फत राष्ट्रसंघलाई गुहारौं । सार्कलाई गुहारौं । विश्वका शक्तिशाली नेताहरुलाई गुहारौं । रोएर नबसौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment