Comments Add Comment

लालबन्दीबाट मैले देखेको मधेस

– बाबुराम भट्टराई, लालबन्दी, सर्लाही

एकजना मधेसी साथीले मलाई गम्भीर मुद्रामा सोध्नुभयो, ‘तिमीहरु (पहाडिया समाज) ले हामीलाई किन नेपाली ठान्दैनौ ? हाम्रो राष्ट्रियतामाथि किन सधै शंका गर्छौ र हामीलाई भारतिय आप्रवासी सम्झन्छौ ? तिमीहरु जन्मदै यतिसम्म मधेस विरोधी भएर जन्मन्छौ कि हामीलाई अपमान गर्न धोती, भैया, देशी शब्दहरु बच्चैबाट सिकेका हुन्छौ ।’

Baburam-Bhattaraiम एकछिन अलमल्लिएँ अनि मनमनै सोच्न लागेँ कि साथी तिमी सही छौ । किनभने मैले बच्चैबाट के कुरा सुनेको थिएँ भने ‘जिउँदो पहाडेलाई मरेको मधेसीले समेत ठग्छ, त्यसैले मधेसीमाथि सधैं डर मान्नु, शंका गरिरहनु अनि झट्ट विश्वास नगर्नु ।’

यो मनोविज्ञान बाल्यकालदेखि मसँंग जीवितै छ । यो वीचमा मैले मधेसमै बसेर गा.वि.स. सचिवदेखि जिल्ला निर्वाचन अधिकारीको समेत भूमिका निभाउँदै गर्दा धेरै मधेसी साथीहरुसँंग संगत गरेँ । मैले आजसम्म कुनै मधेसी साथीबाट धोका पाएको छैन । अनि अपमानित पनि हुनुपरेको छैन ।

म बेलाबेलामा मधेसी विरुद्ध आवाज उठ्दा सबै मधेसी गलत छैनन्, त्यसैले कसैलाई परीक्षण नगरी सबैलाई एउटै डालोमा हालेर गलत सावित गर्नु हुन्न भनेर वकालत गर्छु । तर, मेरो वकालतको खिलापमा चेतावनी के आउँछ भने जब आफै फेला पर्छस्, अनि थाहा पाउँछस् ।

माथि मैले उल्लेख गरेको “जिउँदो पहाडेलाई मरेको मधेसीले समेत ठग्छ” भन्ने भनाई साम्प्रदायिक बुझिए पनि त्यत्तिकै भनिएको हैन रहेछ, त्यसमा केही सत्यता अवश्य रहेछ । सीमावर्ति भारतीय गाउँहरुबाट व्यापारिक भेषमा नेपाल छिरेकाहरुले यहाँका रैथानेहरुलाई विभिन्न जालझेल गरी जमीन हडपेका र पछि यहीँको नागरिकता लिएर जमीन्दार बन्दै पञ्चायती व्यवस्था देखि आजसम्म विभिन्न लाभका पदहरुमा रही तराई मधेसका रैथानेहरुमाथि शासन गरिरहेको सत्य रहेछ ।

तर, तराईका उत्तरी क्षेत्र (जहाँ पहाडिया समुदायको बढी बसोबास छ) भन्दा दक्षिणी क्षेत्रको मधेसी समुदाय नै यस प्रवृत्तिबाट बढी पीडित रहेको कटु यथार्थ हुँदाहुँदै पनि सम्पूर्ण मधेसी समुदायप्रति नै शंकाको त्रुटिपूर्ण मनोविज्ञान नेपाली समाजमा व्याप्त छ । यही शंकापूर्ण व्यवहारले आक्रान्त मधेसी जनताले नेपाली राष्ट्रिय झण्डालाई मनैबाट फहराउन संकोच मानिरहेका छन् ।

मधेसका सामन्तहरुले यही त्रुटिपूर्ण पहाडिया मनोविज्ञानलाई भँजाएर काठमाण्डौँ र तराई मधेसवीचको दुरी बढाउँदै त्यसलाई आफ्नो राजनीतिक स्वार्थ पूर्ति गर्ने अर्जुन वाण बनाइरहेका छन् ।

काठमाण्डौँले राजेन्द्र महतो लाई मन्त्री दिँदा उनका गाउँबासीलाई सडक दिन सकेन । चित्रलेखा यादवलाई शिक्षामन्त्री बनाउँदा सिराहाका डोम/पासवानहरुलाई शिक्षित बनाउन सकेन

आज देशमा देखा परेको राजनीतिक गतिरोध काठमाण्डौँको मधेसीलाई हेर्ने त्रुटिपूर्ण मनोविज्ञान र त्यसलाई भजाउँदै मधेसमा अस्थिरता निम्ताएर आफ्नो दुनो सोज्याउन पल्केका केही मधेसी नेता भनाउँदाहरुको गैह्रराजनीतिक चरित्र दुबै दोषी छन् । काठमाण्डौँले आजसम्म कहिले पनि मधेसी जनतासँग सम्वाद नै गरेन, उसले कहिल्यै पनि मधेसीहरुलाई राष्ट्रवादी हुन सक्ने अनुमानसम्म गर्न भ्याएन किनकि उसले त सधैं मधेसीको नाममा अवसरवादीहरुसँग सम्वाद गर्‍यो, उठबस गर्‍यो र लाभका पदहरुमा भागवण्डा लगायो । अनि मधेसलाई यो दिएँ, त्यो दिएँ भनेर ढोल पिट्न व्यस्त भयो । उसले सरकार गठनदेखि सवैंधानिक नियुक्तिसम्म धेरै पदहरु मधेसीलाई भाग लगायो ।

काठमाण्डौँले राजेन्द्र महतो लाई मन्त्री दिँदा उनका गाउँबासीलाई सडक दिन सकेन । चित्रलेखा यादवलाई शिक्षामन्त्री बनाउँदा सिराहाका डोम/पासवानहरुलाई शिक्षित बनाउन सकेन । रामप्रसाद साहलाई प्रधानन्यायाधीस बनाइसकेको काठमाण्डौँले तराई मधेसका जनता किन अझै अन्यायमा परिरहेका छन्, बुझाउनै सकेन ।

हो काठमाण्डाैंको यही त्रुटीपूर्ण व्यवहारलाई भँजाएर आज केही मधेसका मसिहा भनाउँदाहरु तराई मधेसलाई जलाउन सफल भैरहेका छन् । लामो बन्द र अघोषित नाकाबन्दीले कोही सबैभन्दा पीडित छ भने ती तराई मधेसबासी नै हुन् । तर, पनि मुठ्ठीभरका नेताको सीमित स्वार्थका निम्ति धर्तिपुत्र मधेसी जनताहरु ‘अधिकारका निम्ति अन्तिम लडाइँ’ काठमाण्डौँसँग भिड्न विवश छन् ।

त्यसैले आज मुलुक नयाँ संविधानको युगमा प्रवेश गर्दा तराई मधेसमा देखिएको असन्तोष र राजनीतिक गतिरोधको अल्पकालीन समाधानतर्फ जानु फेरि पनि त्रुटिपुर्ण हुनेछ । मधेसी नेताहरुसँग पद र राज्यको सौदाबाजी गरेर आन्दोलन टुंगााउनेतर्फ काठमाण्डौँले सोच्नुहुँदैन । अबको संवाद मुठ्ठीभरका मधेसी नेतालाई जिताउन नभई आम तराई-मधेसवासीको पहिचान र स्वाभिमानलाई सबल बनाउँदै उनीहरुको राष्ट्रियतामाथि काठमाण्डौँले गर्ने शंका हटाउन केन्द्रित हुनुपर्छ ।

काठमाण्डौँले भूमिपुत्र मधेसी नेपालीहरुलाई निसन्देह आफ्नो ठान्न सक्नुपर्छ भने तराई मधेसले काठमाण्डौँविरुद्ध अफवाह फैलाएर एक अर्कालाई भिडाउँदै आफ्नो दुनो सोझ्याउन पल्केकाहरुलाई मधेसी जनताले पहिचान गरी तह लगाउन सक्नुपर्छ ।

यसो हुन सकेमात्र नेपाली राष्ट्रियता बलियो हुन सक्छ । जबसम्म हिमाल, पहाड र तराई वीचको शंका आमसी आत्मीयता र विश्वासमा परिणत हुन सक्दैन, तबसम्म आˆनो स्वार्थको निम्ति हामीलाई अरुले भिडाइरहन्छ । त्यसैले यो कालो युगको अन्त्य गरी सबल र समृद्ध नेपालको विकास गर्नका निम्ति आन्दोलनरत मधेसी जनताहरुको जायज माग सम्बोधन गर्दै सबै नेपालीवीचको एकता र राष्ट्रियतालाई मजबुत बनाउनु यस संकटको दीर्घकालीन समाधान हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment