Comments Add Comment

कांग्रेस सांसदले भने-जसले जे भने पनि भारतले नाकाबन्दी गरेकै हो

Samsad-Sankalpa 650

२२ असोज,काठमाडौं । नेपाली कांग्रेसले भारतले नाकाबन्दी लगाएको भन्न नसकिरहेका बेला त्यस पार्टीका सांसदले भने भारतले नेपाली जनतालाई दुःख दिने नियतले नाकाबन्दीनै लगाएको हो भनेका छन् ।

व्यवस्थापिका संसदको बैठकको शुरुमै सभामुखसँग समय लिएर बोल्दै कांग्रेस सभासद भरतकुमार साहले भने-जसले जे भने पनि भारतले हामीमाथि नाकाबन्दी लगाएकै हो । यो पहिलो पटक होइन तेस्रो पटकको नाकाबन्दी हो ।

रुपन्देहीबाट निर्वाचित सभासद साहले आफ्नो जिल्लाको सिमानाका सुनौलिमा भारतीय सिमापारि बसेर केही व्यक्तिले नेपाली जनता र सुरक्षाकर्मीमाथि आक्रमण गरेको बताए ।

उनले भने-भारतसँग कुटनीतिक पहल गरिनुपर्छ । भारतले २०२७ सालमा उत्तरी नाकाबाट सेना हटाउनुपर्दा, २०४५ मा नेपालले चीनबाट हतियार किन्दा नाकाबन्दी गरेको थियो । अहिले हामीले संविधान जारी गरे बापत नाकाबन्दी भएको छ ।

उनले यो विदेशी हस्तक्षेप विरुद्ध सिमा नाकामा सबै दलले आफ्ना कार्यकर्ता परिचालन गर्नुपर्ने र सबै दलहरु मिल्नुपर्ने बताए ।

संसद बैठकमै बोल्दै एमाले सांसद भीम रावलले भारतले अन्तर्राष्ट्रिय अभिसन्धी र संयुक्त राष्ट्रसंघको बडापत्र बिपरित नेपाललाई अघोषित नाकाबन्दीमा पारेको बताए । उनले भने-यो नाकाबन्दी विरुद्ध नेपालले अन्तर्राष्ट्रिय समुदायलाई गुहार्नैपर्छ ।

रावलले नेपालका कतिपय मधेशी दलले बिगतका सम्झौता पालना गर भनिरहेको सन्दर्भमा भारतले सम्झौता कार्यन्वयन गरोस भनेर किन बोल्न सक्दैनन् ? भन्ने प्रश्न समेत गरे ।

रावलले भने-आफ्नो घर ठिक पार भनेर हामीलाई अर्ति दिएको पनि सुनियो । तर आफनो घर ठिक पार भन्दै पधेरामा पानी भर्न दिन्न भन्न मिल्छ ?

बैठकमा एमाओवादी सांसद अग्नि सापकोटाले नाकाबन्दीको अन्तर्राष्ट्रियकरण गर्न सरकार असफल भएको बताए । उनले भारतको नाकाबन्दी अपराधिक खालको भएको टिप्पणी गरे ।

हालै नेपाल चीन सिमा क्षेत्र लिपिङसम्म पुगेर फर्किएका सापकोटाले तातोपानी नाका खुलाउन सरकारले पहलनै नगरेको आरोप लगाए । ‘मैले सबै पक्षसँग कुरा गरेँ सरकारले पहलनै गरेको छैन,केही मन्त्री भारतलाईनै खुसी पारेर समस्या समाधान गरौं भन्नेमा छन्’ सापकोटाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment