+
+

दृष्टिविहीन गायक मधुबाबु भन्छन्- किन हेर्नु यो पापी संसार !

विनोद घिमिरे विनोद घिमिरे
२०७२ कात्तिक ६ गते १४:१३

‘मोहनी लगायौ कि जन्तर गरेर,
कपाल कोरेर, अन्त माया नलाउ साली मलाई छोडेर’

थारु मेलोडीको यो गीत कुनै जमानामा निकै चर्चित बन्यो । यो गीतसँगै चर्चामा आए मधुबाबु थापा । निकै बजार पिटेको यो गीतमा स्वर, शब्द, लय, संगीत मधुबाबुको हो ।

‘यो गीत नेपाली फिलिममा पनि प्रयोग भयो । मेला, महोत्सव जताततै मानिसहरु यही गीत बजाएर नाचे, रमाइलो गरे । तर, आफूले देख्न पाइएन,’ मधुबाबुले भने ।

आफ्नो जीवनलाई संगीतमै समर्पित गराएका दाङको सौडियार गाविस ५ राजपुरका मधुबाबु थापा दुई बर्षको उमेरदेखि दृष्टिविहीन छन् । कतै हिँडडुल गर्दा सेतो छडी लिएर छामछाम छुमछुम गर्दै हिँड्नुपर्छ । या अरू कसैको सहारा लिनुपर्ने बाध्यता छ ।

‘आँखाको उपचार गराउन ६-७ मुरी धान दिएर विशेषज्ञ भनेर बोलाइएकी एक महिलाले आँखामा जमेको रगत कुकुर झिँगाको नंग्राले कोतरेर फाल्नुपर्छ भनिन् । आँखामा जमेको रगत कोतरेर फाल्दा एउटा आँखा फुट्यो, अर्को फुलो पर्‍यो । त्यसपछि संसार अन्धकार भयो,’ उनले दुःखित मुद्रामा दृष्टि गुम्नुको कारण सुनाए, ‘अहिले भएको भए २०-२५ रुपैयाँमा ठीक हुन्थ्यो, त्यतिबेला दाङमा अस्पताल थिएन । समयमै उपचार पाइएन ।’

मध्यम वर्गीय परिवारमा २०१० सालमा जन्मिएका हुन् मधुबाबु । सानैदेखि गाउन बजाउन सिपालु उनी घरपरिवार र छरछिमेकको लाडप्यारमा हुर्किए । ‘सप्पैले काखामा बसालेर ल एउटा गीत सुना भन्थे । माया गर्थे,’ विगत सम्झिन्छन् मधुबाबु ।

आँखाले देख्न नसके पनि उनी संगीतका शिल्पी हुन् । झण्डै पाँचसय गीतमा स्वर र संगीत दिएका छन् । लोक, आधुनिक, भजन, शास्त्रीय संगीत सबै क्षेत्रमा उनले हात हालेका छन् ।

रेडियो नेपालमा रेकर्ड भएको उनको पहिलो गीत भने ‘भैगो हजुर माया जाल नबुन…’ हो ।

‘अलिकति सुनाउँछु है’ भन्दै उनले हारमोनियम समाए ।

‘स्याउली सोत्तर बगाइल्यायो दाङखोली बबईले
बिरहमा गाको गीत सुनीदेउ सबैले
भैगो हजुर मायाजाल नबुन
गैगो हजुर माया लाउने दिन…’

रेडियो नेपालमा रेकर्ड हुनुभन्दा अघि यही गीत उनले ०३९ सालमा बिराटनगरमा आयोजित वृहत लोकगीत सम्मेलनमा गाए र पुरस्कृत भए । ‘मेरो गीत सुनेर पाण्डव सुनुवार दाइले पत्र लेखिदिएर रेडियो नेपालमा जाउ भन्नुभयो । अनि काठमाडौं आएर रेकर्ड गरें । मलाई स्वर परीक्षा पनि पास गर्नु परेन,’ विगत सम्झिए मधुबाबुले ।

आफूले गाएको यही गीत सुनेर पाण्डव सुनुवारले पत्र लेखेर रेडियो नेपालमा पठाइदिए रत्न रेकर्डिङले आयोजना गरेको लोकगीत प्रतियोगितामा पुरस्कृत भएपछि उनले यही गीतलाई रेडियो नेपालमा रेकर्ड गराएका थिए । यसमा शब्द, सगीत मधुबाबुकै थियो ।

त्यसपछि चौतारी दोहोरी, काठमाडौं दोहोरी, रामरौस, जोवन कोपिलो, सोल्टिनीको रातो पछ्यौरी, मायालु, पिरती, झुम्के बुलाकी, कृष्ण लीला, कर्णालीको कहर, जीवन ज्योतिलगायतका झण्डै तीन दर्जन एल्बम बजारमा ल्याए । मधुबाबु र चन्द्रकलाले गाएका ‘मोहनी लगायौ कि’, ‘अलि यता सरन बेली’, ‘सुनको पीरती’ लगायतका त्यतिबेलाका गीतलाई समेटेर म्युजिक नेपालले ०४२ सालमा ‘चौतारी’ एल्बम निकालिदियो । त्यो समयमा निकै हिट भएको चौतारीले उनलाई नाम, दाम सबै दिलायो ।

‘त्यतिबेला रोयल्टी ३ मोहर आउँथ्यो, एउटै क्यासेटबाट दुई लाख रुपैयाँ कमाइ भयो,’ मधुबाबुले भने ।

गोपाल योञ्जनसँगको भेट

मधुबाबुका गीतहरु एकाएक हिट भए । आफू पनि चर्चाको शिखरमा पुगे । तर, उनमा अहम् र महत्वाकांक्षा कहिल्यै पलाएन । तिम्रा लागि के गर्नुपर्छ गर्दिन्छु भन्ने तत्कालीन दरबार निकटका व्यक्तिहरुले भन्दा पनि उनले धनसम्पत्ति, जागिर केही मागेनन् । बरु गोपाल योञ्जनलाई भेट गराइदिनू भने । गोपाल योञ्जनसँगको भेट नै जीबनको सबैभन्दा खुसीको क्षण भएको उनी बताउँछन् ।

‘मैले मेरो व्यक्तिगत फाइदाका लागि कसैसँग केही मागिनँ । यतिसम्म कि तत्कालीन राजदरबारसँग सीधा सम्पर्क भएका खेलकुद क्षेत्रका शरदचन्द्र शाहले तिम्रा लागि के गर्नुपर्‍यो, म गर्न तयार छु भन्दा पनि मैले केही मागिँन,’ मधुबाबु भन्छन्, ‘बरु गोपाल योञ्जनलाई भेट्ने इच्छा छ भनेपछि तुरुन्तै भेट गराइदिनुभयो ।

गोपाल योञ्जनलाई भेटेपछि म यति धेरै खुसी भएँ कि सीमा नै छैन । त्यति धेरै खुसी अझैसम्म हुन सकेको छैन ।’

मध्यपश्चिमाञ्चलका लोक लयलाई टपक्क टिपेका गीतहरु लोकप्रिय बनेपछि हौसिएका मधुबाबुले संगीत साधनमा लागेर अझै राम्रो गर्ने अठोट लिए । संगीत प्रवीण नरराज ढकालसँग संगीत सिक्न थाले । ढकालबाट शिक्षा लिएर संगीतमा स्नातक सरहको कोर्स बिम्यूज पूरा गरे उनले । बिम्युज गरेपछि गायन/संगीत सिर्जना अनि संगीत संयोजनको काम गर्दै आएका छन् उनले ।

उनी डेरामा बिहान-साँझ संगीत सिकाउँछन् । हार्मोनियम, तानपुरा, तबला, मादल बजाउन पोख्त उनी रेडियो नेपालमा दुई दशकभन्दा बढी समयदेखि करारको जागिर खाइरहेका छन् ।

जागिरमा घटुवा

उनको जीवनमा खुसीका भन्दा दुःखका क्षण धेरै आए । त्यहीमध्ये एक हो, रेडियो नेपालमा खाइरहेको जागिरमा भएको घटुवा । ०३९ सालदेखि रेडियो नेपालमा गीत एरेन्ज गर्ने, बाद्यबाधन बजाएर सहयोग गरे पनि ०५० सालदेखि मात्रै मासिक पारिश्रमिक पाउन थाले मधुबाबुले । ०५७ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारको निर्णयअनुसार उनले पाँचौं तहको स्थायी दरबन्दीको जागीर पाए ।

तर, त्यसको सात वर्षपछि मधुबाबुलाई करारमा घटुवा गरियो । २०३९ सालमा रेडियो नेपालमा प्रवेश गरेका मधुबाबु स्थायी हुनु त कता हो कता अझैसम्म पनि करार सेवामा कार्यरत छन् ।

गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा मन्त्रिपरिषदले अपांग कर्मचारीको खाई पाई आएको तलब घटाउन नपाइने निर्णय गरे पनि आफ्ना मान्छे नहुँदा पछि परेको उनको अनुभव छ ।

‘सचिव शान्तराज शर्मालाई पनि भेटेर आफ्नो समस्या राखें । तर, सुनुवाइ भएन,’ उनले भने, ‘रेडियो नेपालमा ०५५ सालमा बढुवा भएर ०५८ सालमा रिटायर्ड भएका छन् । तर, मनखाने मान्छे भएन ।’

दृष्टिविहीन गायक र संगीतकार मधुबाबुले सिंगो जीबन नेपाली गीत संगीतको उत्थानमा लगाए पनि सरकारले अपांग कलाकारप्रति बेवास्ता गरेकोमा उनको चित्त दुखाइ छ । ‘०५७ सालमा त रेडियो नेपालको जागिरबाट हटाइदिएका थिए तर अपाङ्ग कल्याण संघका साथीहरुले गिरिजालाई भेटेर भनेपछि जागिर त जोगियो तर सरकार फेरिएपछि अस्थायी दरबन्दीबाट करारमा घटुवा गराइदिए,’ उनले गुनासो पोखे, ‘जहाँ पनि आफ्नो मान्छे हुनुपर्दो रहेछ ।’

जीवनमा कहिल्यै महत्वाकांक्षा नराख्ने मधुबाबु थापालाई फेरि अर्को बज्रपात आइलाग्यो । बाहिरी संसार हेर्ने दृष्टि नभए पनि जीवन जिउने साथ थियो श्रीमतीको । तर, तिनै श्रीमतीलाई पनि रक्त क्यान्सर रोगले खोस्यो । थापा भन्छन्, ‘उनी भगवानको प्यारी भइन्, छोरीको विहे भैसक्यो । छोराहरुसँग बसिरहेको छु ।’

छोराहरुले मोटर ग्यारेजमा काम गर्छन् । कहिले अनामनगरस्थित छोराको डेराबाट त कहिले आफूलाई संगीत क्षेत्रमा लाग्न प्रेरणा दिने दाङकै चन्द्रकला शाहाको सानेपास्थित घरबाट सेतो छडीको सहारामा रेडियो नेपाल आउने-जाने गर्दछन् उनी ।

कयौं गीत संगीत सिर्जना गर्ने क्षमता अझै छ तर, बढ्दो महंगीले पैसा खर्च गरेर रेकर्ड गर्ने क्षमता छैन । प्रतिभा भए पनि आर्थिक अभावमा खुम्चिनुपर्ने बिडम्बना छ । सरकारले केही सहयोग गरिदिए हुन्थ्यो भन्ने अपेक्षा पनि छैन उनलाई । बरु अब विद्यालय शिक्षाको पाठ्यक्रममा नै संगीत विषयलाई समेटे हुन्थ्यो भन्ने चाहाना छ ।

‘मलाई केही पनि चाहिएको छैन । कसैले उपचार गरेपछि आँखा देख्न सकिन्छ, उपचार गर्दिन्छु पनि भन्छन् । मलाई त्यो पनि चाहिएको छैन । किन हेर्नु पर्‍या छ र यो पापी संसार,’ मधुबाबु भन्छन्, ‘बरु विद्यालय तहमा पनि संगीत विषय पढाइ हुने व्यवस्था सरकारले गरिदिए हुन्थ्यो ।’

कुराकानीको अन्तिममा फेरि मधुबाबुले गीत सुनाएर तपाईंलाई विदा गर्छु भन्दै हारमोनियममा औंला चलाउन थाले –

‘तले घरलाई टीनको छानो, भुइँघरलाई खर
हिँड्नेछु बैरागी बनी, सम्झिनी को छर
मेरो हजुर, सम्झिनी को छर
भैगो हजुर मायाजाल नबुन
गैगो हजुर माया लाउने दिन…।’

लेखकको बारेमा
विनोद घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?