Comments Add Comment

शान्तालाई अब कसैले औँठाछाप भनोस् त

santha chauwary (6)‘शिक्षा भनेको मान्छेको सबैभन्दा ठूलो सम्पत्ति हो’- पूर्व सभासद शान्ता चौधरी यहि निस्कर्षका साथ एक वर्षदेखि झोला बोकेर स्कुल जान थालेकी छिन् । लाज र धकका सबै वन्धनहरु तोडेर उनी आफ्ना छोराछोरीभन्दा साना बालबालिकासित एउटै वेञ्चमा बसेर पढ्छिन् ।

यो उमेरमा किन पढ्नलाई मरिहत्ते गरेको ? भनेर सोधियो भने जवाफ दिन्छिन्, ‘शिक्षा भनेको मान्छेको सबैभन्दा ठूलो सम्पत्ति हो । खास सुकुम्वासी त त्यो हो जोसित शिक्षा छैन ।’ जीवनको लामो कालखण्ड बँधुवा मजदुरका रुपमा बिताएकी शान्ताले बाल्यकालमा स्कुलमा मुख देख्न पाइनन् ।

त्यसको क्षतिपूर्ति गर्ने प्रयासमा छिन् अहिले । अनलाइनखबरसित अशिक्षित हुँदाका दुख र शिक्षा हासिल गर्न गरेका संघर्षहरु उनले यसरी सुनाइन् :

औठाछापको दाग

म बोल्नमा त पहिल्यैदेखि खप्पिस थिएँ, तर बोलेर मात्रै सबैथोक हुँदो रहेनछ । लेखापढी गर्न नसेकेपछि धेरै ठाउँमा पछि परिँदो रहेछ ।

पहिलो संविधानसभामा समानुपातिक सभासद भएदेखि मलाई पढाईको अभाव साह्रै खट्किन थाल्यो । औंठा छापे सभासद भनेर जनमानसमा अपहेलित हुनुपर्दाको पिडा मेरोलागि असैह्य बन्यो । संविधानसभा भित्रै धेरै ठाउँमा चुकेको र झुकेको महसुस गरेँ । संविधान लेख्न आएको मान्छे, पढ्न समेत नजान्दा आफैंलाई धिक्कार्न पुगेँ ।

जनतामा नपढेको नेतालाई हेर्ने दृष्टिकोण नै फरक हुँदो रहेछ । पढेर थुप्रै प्रमाणपत्र बटुल्नेहरुले पनि गरेका त केहि हुँदैनन् । तर उनीहरुलाई सितिमित कसैले हेप्न सक्दो रहेनछ ।

सभासद भएर संविधानसभामा प्रवेश गर्दाखेरी म मुस्किलले हस्ताक्षर गर्न जान्दथेँ । भूमि आन्दोलनमा लागेकाले बेलावखत विज्ञप्तिमा सहि गर्नुपर्ने हुन्थ्यो । त्यसैले मरीतरी सिकेकी थिएँ । त्यो बाहेक मलाई साँवा अक्षर फुटाउन पनि आउँदैनथ्यो । अनि के नहेपुन् सबैले ?

सभासद भएपछिको एउटा घटना कहिल्यै विर्सन्न । म एक दिन बसमा चढेर दाङ जाँदै थिए । केहि यात्रुहरु राजनीतिक कुरा गरिरहनु भएको थियो । नेताहरुलाई गाली गरिरहनु भएको थियो । उहाँहरुको मुखबाट बारम्बार ‘६०१ चोर’ भन्ने शब्द सुन्दा म मुख छोपेर बसिरहेँ ।

त्यसपछि एकजनाले भन्नुभो, ‘सावा अक्षर नचिन्ने औठाछापेहरु सभासद भएका छन् । यस्ताले केको संविधान बनाउथे ? भत्ता खान्छन् बस्छन् ।’

यो भनाईले मलाई काँडाले घोचे झैं घोच्यो । मलाई नै ईंगित गरेर भनेका हुन् जस्तो भान पर्‍यो । आफूलाई रोक्नै सकिनँ । मैले सोधेँ, ‘तपाईंहरुले औंठाछापे भनेर कसलाई भन्न खोज्नुभएको हो ?’ उनीहरु सबै अचम्भित भएर मलाई हेर्न थाले । मैले फेरि भनेँ, ‘तपाईंहरुले शान्ता चौधरीलाई चिन्नु भएको छ ?’

‘चिनेको छु,’ एकजनाले भन्नुभयो, ‘त्यो कम्लहरीबाट सभासद भएकी आइमाई ।’

‘मै हुँ शान्ता चौधरी,’ मैले भने, ‘हो मैले पढेकी छैन । तर मैले पढ्न पाइनँ त यसमा मेरो के दोष ?’ उहाँहरु सबैजना अवाक् हुनुभयो । एक जनाले ‘सरी दिदी, तपाईंलाई भनेका होइनौं’ भनेर माफीसमेत माग्नुभयो । तर म आफैं भने हिनतावोधले भित्रभित्रै ग्रसित भइरहेकी थिएँ । जहाँ पनि औंठा छापको कुरा आउँथ्यो, आफैंलाई भनिरहेका छन् झैं लाग्थ्यो ।

संविधानसभाभित्र समितिको सभापति भएपछि त मलाई पाइला-पाइलामा चूनौतिहरु आए । ५८ जना सभासद रहेको समितिमा गगन थापा, आरजू देउवादेखि मेरो पार्टीका अध्यक्ष झलनाथ खनालसम्म सदस्य हुनुहुन्थ्यो । यस्ता दिग्गज नेताहरुलाई नेतृत्व दिने जिम्मेवारी मेरो लागि सगरमाथा चढ्नुभन्दा कम थिएन ।

आफैंले गरेको निर्णय आफैंले पढेर सुनाउन सक्दिनथेँ म । लक्ष्मण दाई (लक्ष्मण घिमिरे) ले पढिदिनुहुन्थ्यो । समितिको सभापति शान्ता चौधरी हो कि लक्ष्मण घिमिरे हो भनेर घोचपेच गर्थे सभासदहरुले । पत्रकार भाईहरुले निर्णय पढेर सुनाइदिनुस न भन्दा मलाई मरेतुल्य हुन्थ्यो । आफ्नै बारेमा पत्रिकामा आएका समाचारहरु म पढ्न सक्दिनथेँ ।

साह्रै भएपछि मैले आफ्नै छोराछोरीसित अक्षर सिक्न थालेँ । करिब तीन महिना मिहिनेत गरेर नेपाली अक्षर चिन्ने भएँ ।

कम्प्युटर चलाउन अंग्रेजी सिकेँ

संविधासभाभित्र सभासदहरुका लागि कम्प्युटर राखिएको थियो । अरु सभासदले कम्प्युटर चलाएको देख्दा मेरो मनमा हलचल पैदा हुन्थ्यो । मैले पनि चलाउन पाए कस्तो हुँदो हो भन्ने लाग्थ्यो । तर यो मेरो बसभन्दा टाढाको कुरा थियो । सभासदहरुलाई एउटा संस्थाले कम्प्युटर तालिम पनि दिएको थियो । एक दिन म पनि सिक्न गएँ । तर केहि पनि कुरो बुझिनँ ।

एक दिन मेरो समितिको जीवन भन्ने कम्प्युटर अपरेटर भाईसित याचना गरेँ, ‘भाई मलाई पनि कम्प्युटर सिकाइदेउन ।’ उनले कम्प्युटर चलाउन अंग्रेजी जान्नुपर्छ भन्दै मलाई एबिसिडी सिकेर आउन सल्लाह दिए । घर आएर मैले छोराछोरीसित भने, ‘मलाई कम्प्युटर सिक्नुपरो । एबिसिडी सिकाइदेओ ।’ उनीहरुले ‘एबिसिडी जानेर कम्प्युटर चलाउन जानिन्छ त ?’ भन्दै हाँसो गरे । मैले गाली गर्दै ‘जे भए पनि सिकाइदेओ न’ भनेपछि बल्ल सिकाउन तयार भए ।

मैले एक दिनमै ठूलो एबिसिडी सिकेँ । भोलीपल्ट गएर जीवनलाई भने, ‘मलाई एबिसिडी आयो, ल कम्प्युटर सिकाउदेउ ।’ उनले अब सानो एबिसिडी सिकेर आउन भने । त्यसपछि म सानो एबिसिडी सिक्न थालेँ छोराछोरीसित । उनीहरुलाई फकाउन कहिले चाउचाउ, कहिले चकलेट बोकेर जान्थे । त्यो दिएपछि खुशी भएर पढाइदिन्थे । सानो एबिसिडी पनि सिकेपछि मलाई जीवनले भने, ‘तपाइर्ंलाई म नेपालीमा टाइप गर्न सिकाइदिन्छु ।’

कम्प्युटरमा पिरती भन्ने हुँदो रहेछ । त्यसमा नेपाली अक्षरमा लेख्न मिल्दो रहेछ । किबोर्डमा अंग्रजी थिच्दा कम्प्युटरमा नेपाली आउँदो छ । जस्तै एस थिच्दा क आउँछ, आर थिच्दा च आउँछ । यो सबै मलाई जीवनले सिकाइदिएर भने, ‘यो कहिले पनि नबिर्सिनु ।’ त्यसपछि म आफैं कम्प्युटरमा बसेर प्राक्टिस गर्न थालेँ ।

त्यसपछि जीवनले मेरो इमेल र फेसबुक खोलिदिएर चलाउन पनि सिकाए । केहि दिनको मिहिनेतमा म इमेल हेर्ने र पठाउन सक्नेँ भएँ । पछि घरमा वर्णमाला ल्याएर पब क पजब घोक्न थालेँ । त्यो घोकिसकेपछि म नेपाली भाषामा तर अंग्रेजी अक्षरमा टाइप गर्न सिपालु भएँ ।
मैले कम्प्युटर चलाउन नजाँदा नै डब्लुडब्लुएफका व्यक्तिसत एउटा ल्यापटप दिनुपर्‍यो भनेर प्रस्ताव गरेको थिएँ । ती व्यक्तिले जवाफ दिएका थिए, ‘पहिले कम्प्युटर चलाउन सिक्नुस । त्यसपछि ल्यापटप तपाईंको टेबलमै आउनेछ ।’

मैले कम्प्युटरमा इमेल पठाउन सिक्ने वित्तिकै पहिलो मेल उनैलाई गरेँ । मैले लेखेँ, ‘मलाई कम्प्युटर चलाउन आयो । ल्यापटप चाहियो ।’ उनले पत्याएनन् । अरु कसैले लेखिदिएको होला भन्ने आशयको जवाफ पठाए । फेरि मैले लेखे, ‘ठीक छ आफैं आएर हेर्नुस । तपाईंकै अगाडी चलाएर देखाउँछु ।’

त्यसपछि दोस्रो इमेल मैले लक्ष्मण घिमिरे दाईलाई पठाएँ । उहाँलाई मैले यत्ति लेखेकी थिएँ, ‘दाई मैले कम्प्युटर चलाउन सिकेँ नी ।’ त्यति पढ्दा उहाँको आँखामा आँशु आएछ । पछि मलाई सुनाउनुभयो ।

विद्यालय भर्ना हुँदा

सभासदको जिम्मेवारीबाट मुक्त भएपछि विद्यालय भर्ना नै भएर औपचारिक शिक्षा लिने रहर जाग्यो । सुरुमा मैले आफ्ना छोराछोरी र श्रीमानसित इच्छा व्यक्त गरेँ । बच्चाहरु हाँसे । श्रीमान पनि हाँस्नुभो । तर, म गम्भीर थिएँ । छोराछोरीले सोधे, ‘स्कुल जान भ्याउनुहुन्छ त मम्मी ?’ मैले भने, ‘जति दिन भ्याउँछु त्यति दिन जान्छु । तर जसरी भए पढ्छु ।’

त्यसपछि मैले स्थानीय श्री उच्च मावि डाँडागाउँका हेडसरलाई फोन गरेँ । ‘मलाई आठ कक्षामा भर्ना लिनुपर्‍यो सर,’ मैले भनेँ ।
उहाँ अचम्भित भएर सोध्नुभयो, ‘तपाईंले साँच्चै भनेको हो त ?’

‘म तपाईंसित जिस्किन्छु त ?’

‘ठीक छ म्याडम । यो त हाम्रो लागि गर्वको कुरा हो । तर नियमले एकैचोटी आठ कक्षामा भर्ना लिन मिल्दैन । तर म मिलाउँछु । तपाईंले एउटा परिक्षा दिनुहोला ।’

‘भइहाल्छ नी ।’

मेरो प्रवेश परिक्षा लिइयो । त्यसपछि आठ कक्षामै भर्ना भएँ ।

विद्यालयमा पहिलो दिन

पहिलो दिन विद्यालय जाँदा झोला बोकेकी थिइनँ । भर्ना भएपछि हेडसरले कक्षामा लैजानुभो । म भित्र पस्नासाथै केटाकेटीहरु नयाँ म्याडम नयाँ म्याडम भन्दै हल्लाखल्ला गर्न थाले । म लाजले भुतुक्क भएँ ।

हेडसरले उनीहरुलाई भन्नुभो, ‘उहाँ म्याडम होइन तिमीहरुकै नयाँ साथि हो । भुतपूर्व सभासद भएर पनि तिमीहरुसँगै बसेर पढ्न आउनुभएको छ । देख्यौ शिक्षा भनेको कस्तो चिज हो ?’ उनीहरुले के-कति बुझे कुन्नी हल्ला अलि कम भयो । बरु कानेखुशी गर्न थाले ।

त्यो दिन म कक्षामा बसिनँ । भोलीपल्ट भारी झोला बोकेर निर्धारित समयमा स्कुल हिडेँ । झोलाभन्दा मन झनै भारी भइरहेको थियो । वरीपरी हेर्दा पनि नहेरी सरासर स्कुल पुगेँ । भित्र गएर खाली बेन्चमा बसेँ । म कक्षाभित्र छिरेको देखेपछि अरु कक्षाका विद्यार्थीहरु झुत्ति खेल्दै झ्यालमा थुप्रिए । चिडियाखानामा जनावरलाई हेरेर मलाई हेर्दै जिस्क्याउदै गर्न थाले । म पनि उनीहरुलाई हेरेर हाँसिदिएँ ।

शिक्षक कक्षामा आउनुभयो । उहाँको हाउभाउ हेर्दा एकदम नर्भस देखिनुहुन्थ्यो । हाजिर बोलाउनुभो । मेरो रोल नम्बर ५८ थियो । सबैले एस सर ! एस सर ! भनिरहेका थिए । मलाई अभ्यास थिएन । सरले रोल नम्बर ५८ शान्ता चौधरी भनेर बोलाउनुभयो । मैले हड्बडाएर हजुर भन्न पुगेँ । सर मसुमुसु हाँस्नुभो ।

अरु केटाकेटीहरु सर भएको बेला कक्षाभित्र पस्दा अंग्रेजीमा मे आइ कम इन सर भन्थे । मलाई भन्न आउदैनथ्यो । ‘सर म आउँ ?’ भन्थेँ । केटाकेटीहरु गलल हाँस्थे ।

केटाकेटीसँगै सिक्छु

म बिस्तारै बानी पर्दै गएँ । बच्चाहरुसित घुलमिल हुन थाले । उनीहरु मेरा साथि जस्ता भए । यद्यपि सबैले मलाई अन्टी वा दिदी भनेर बोलाउछन् । म उनीहरुलाई बाबु नानी भन्छु । सरहरुले मलाई म्याडम भन्नुहुन्छ । सरहरुले पढाएको म राम्रोसित बुझ्दीन । धेरै सोधिरहन पनि लाज लाग्छ । सर पढाएर गइसकेपछि केटाकेटीहरुलाई सिकाइदेओ भन्छु । उनीहरुले सिकाएको म मज्जाले बुझ्छु ।

मिडियाका साथीहरु पनि स्कुलमा बेलाबखत आउनुहुन्छ । मेरो फोटो खिच्ने र अन्तरर्वार्ता लिने गर्नुहुन्छ । मलाई टिभीमा देखे भने केटाकेटीले भोलीपल्ट रमाउदै सुनाउछन् । म कक्षामा सँधै एकैजनासित बस्दिन । कहिले कोसित कहिले कोसित पालैपालो बस्छु । टिफिन टाइममा आफूले ल्याएको खाजा मलाई खुवाउन उनीहरु हानाथाप गर्छन् । म कहिलेकाहीँ मात्र टिफीन लैजान्छु । लैजादा सबैलाई अलिअलि दिन पुग्ने गरी टन्नै लैजान्छु ।

म नियमित रुपमा स्कुल जान भ्याउदिन । सामाजिक काममा हिडिरहनु पर्छ । बोलाएको ठाउँमा म जसरी पनि पुग्छु । काठमाडौंमा छोराछोरी भएकाले रेखदेख गर्न आइरहनुपर्छ । पार्टी काममा पनि हिँड्नै पर्‍यो ।

म स्कुल नजाँदा केटाकेटीहरु निराश हुन्छन् । ‘तपाई आउँदा सरले हामीलाई कहिले पनि पिट्नुहुन्न, सधैं आउनुन’ भन्छन् । म शिक्षकहरुलाई सँधै भन्छु, ‘मलाई पनि अरु भाई बहिनीहरुलाई जस्तै व्यवहार गर्नुस । मलाई पूर्वसभासद भनेर सम्मान गर्नु पर्दैन । गृहकार्य नगर्दा सजाय पनि दिनुस ।’ तर मलाई अहिलेसम्म सजाय दिनुभएको छैन । एक दुईचोटी बेन्चमा उभ्याउनुभएको छ ।

प्रमाणपत्र लिन पढेकी होइन

म हिसाबमा कमजोर छु । अंग्रेजी र विज्ञानमा पनि कमजोर छु । सामाजिक शिक्षा मलाई सबैभन्दा सजिलो लाग्छ । घरमा बिहान र बेलुकी समय निकालेर पढ्छु । बिहान पाँच बजे उठ्छु । घर सरसफाईको काम सकेर केहिबेर पढ्छु । त्यसपछि भ्याएँ भने खाना पकाउँछु नत्र नखाइकन झोला बोकेर हिँड्छु । बेलुकी खाना खाएर ११-१२ बजेसम्म पढ्छु ।

म विद्यालयमा भर्ना भएपछि नानाथरी टिप्पणीहरु सुनेकी छु । कसैले भन्छन्, शान्ता नाटक गर्न खप्पिस छे । कसैले भन्छन्, मर्ने बेलामा हरियो काँक्रो । कसैले राम्रै पनि मानेका छन् । जसले जे भने पनि मलाई फरक पर्दैन । मैले आफ्नो लागि पढेकी हुँ । ज्ञानका लागि पढेकी हुँ । पास हुनलाई वा सर्टिफिकेट लिनलाई मात्रै पढेकी होइन । अब मलाई कसैले औंठाछाप नभनुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment