+

गर्भावस्थामा किन बढ्छ अमिलोको तिर्सना ?

२०८२ वैशाख  २९ गते २०:४२ २०८२ वैशाख २९ गते २०:४२
Shares
गर्भावस्थामा किन बढ्छ अमिलोको तिर्सना ?

आलुमा तीलको छोप राखेर कागतीको रस हालेको अमिलो अचार । दही र रायो हालेर साँधेको भोगटे । यस्तो परिकार देखेपछि मात्र होइन, कल्पना गर्दा पनि मुखमा पानी आउँछ ।

मुखै रसाउने अमिलो परिकार कुन बेला अत्याधिक खान मनलाग्छ ? पक्कै पनि गर्भवस्थामा यस्ता खानेकुराको चाहना तीव्र हुन्छ।

कसै-कसैलाई त यति तिर्सना बढ्छ कि भनेको बेला तुरुन्तै खान पाएनन् भने बेचैनी र मुड नै स्विङ नै पनि हुनसक्छ ।

के तपाईले सोच्नुभएको छ, यो मात्रै गर्भावस्थाको मनको इच्छा हो वा यसको पछाडि वैज्ञानिक कारण पनि छन् ?

गर्भावस्थामा अमिलो खानेकुराप्रति आकर्षण हुनु मनको इच्छा मात्र नभएर केही  वैज्ञानिक कारणहरू छन्, जसले यो प्रक्रियालाई प्रभावित गर्छन् । यही कारणले गर्दा नै मनले पनि इच्छा गर्ने हो ।

पहिले त गर्भावस्था यस्तो अवस्था हो, जहाँ शरीरमा शारीरिक, हर्मोनल र मनोवैज्ञानिक परिवर्तनहरू तीव्र गतिमा हुन्छन् । यी परिवर्तनहरूले खानपानको स्वाद, गन्ध र प्राथमिकतामा ठूलो प्रभाव पार्छ ।

विशेषगरी, अमिलो खानेकुराको तीव्र इच्छा पहिलो त्रैमासिक (पहिलो तीन महिना) मा बढी हुन्छ, यद्यपि यो गर्भावस्थाको कुनै पनि समयमा हुन सक्छ ।

अमिलो मात्र नभई गुलियो वा मसालेदार खानेकुराप्रति विशेष आकर्षण देखिनु सामान्य हो ।

हर्मोनल परिवर्तन

गर्भावस्थामा इस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोनको स्तरमा हुने असन्तुलनले स्वाद र गन्धको संवेदनशीलतालाई प्रभावित गर्छन् ।

अमिलो खानेकुराको तीखो र ताजा स्वादको कल्पनाले मात्र नै स्वाद ग्रन्थीहरूलाई उत्तेजित गर्छ, जसले गर्भवती महिलालाई यस्ता खानेकुरा खान मन लाग्छ ।

अमिलो मात्र होइन, हर्मोन असन्तुलनका कारण कोहीलाई गुलियो र पिरोको पनि तिर्सना बढ्न सक्छ । र, एकपटक खाँदा धित नमर्ने र खाइरहुँ जस्तो बनाउन सक्छ ।

मस्तिष्कको रसायनिक प्रतिक्रिया

अमिलो स्वादले मस्तिष्कमा सेरोटोनिन र डोपामिन जस्ता रसायनहरूको उत्पादनलाई उत्तेजित गर्छ । गर्भावस्थामा हर्मोनल उतारचढावले यस्ता रसायनहरूको संवेदनशीलता बढाउँछ ।

फलस्वरूप, अमिलो खानेकुराप्रति चाहना गराउँछ । यो बेला भनेको समयमा अमिलो खानेकुरा खान मात्र पाए भने पनि गर्भवती महिलाहरूलाई तत्कालै खुसी र स्फूर्तिको अनुभव हुन्छ । किनकी, यी हर्मोनले सन्तुष्टि र आनन्दको अनुभव गराउँछ ।

पाचन प्रणालीमा परिवर्तन

विशेषगरी पहिलो त्रैमासिकमा प्रोजेस्टेरोन हर्मोनले पाचन प्रक्रियालाई सुस्त बनाउँछ ।

यसले अपच, ग्यास, अम्लपित्त र वाकवाकी जस्ता समस्याहरू निम्त्याउँछ, अमिलो खानेकुराले लार उत्पादनलाई उत्तेजित गर्छ, जसले पाचन प्रक्रियालाई सहज बनाउँछ ।

साथै, अमिलो स्वादले मुखको स्वाद परिवर्तन गर्छ । वाकवाकीको अनुभवलाई पनि कम गर्छ । उदाहरणका लागि, कागतीको रस वा इमलीको स्वादले गर्भवती महिलालाई ताजा र हल्का महसुस गराउँछ ।

पोषक तत्वको आवश्यकता र शरीरको संकेत

गर्भावस्थामा शरीरलाई भिटामिन सी, फोलिक एसिड र अन्य सूक्ष्म पोषक तत्वहरूको आवश्यकता बढ्छ  । अमिलो खानेकुरा जस्तै कागती, सुन्तला, अमला, भिटामिन सीको प्राकृतिक स्रोत हुन् ।

भिटामिन सीले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाएर आइरनको अवशोषणमा सहयोग गर्छ, जुन गर्भावस्थामा रक्तअल्पताबाट बच्न महत्त्वपूर्ण हुन्छ ।

यद्यपि, अमिलोको तीव्र इच्छा सधैँ पोषण कमीको प्रत्यक्ष परिणाम नहुन सक्छ ।  यो शरीरको एक प्राकृतिक संकेत हुन सक्छ, जसले गर्भवती महिलालाई विविध खानपानतर्फ आकर्षित गर्छ ।

मनोवैज्ञानिक प्रभाव

गर्भावस्थामा अमिलो खानेकुराप्रति तीव्र इच्छा मनोवैज्ञानिक कारकहरूसँग पनि जोडिन्छ ।

नेपालमा गर्भवती महिलालाई अचार, कागती वा इमली खान प्रोत्साहित गरिन्छ, किनकी यस्ता खानेकुरालाई स्वस्थवर्द्धक मानिन्छ । यस्तो सांस्कृतिक विश्वासले गर्भवती महिलाको खानपान छनोटलाई प्रभावित गर्छ ।

साथै, गर्भावस्थामा तनाव, चिन्ता वा भावनात्मक परिवर्तनले पनि अमिलो खानेकुराप्रति आकर्षण बढाउन सक्छ । अमिलो स्वादले तत्काल सन्तुष्टि दिन्छ, जसले मनलाई शान्त पार्छ।

अमिलोको तीव्र इच्छा कुन बेला बढ्छ ?

अमिलो खानेकुराप्रति तीव्र इच्छा गर्भावस्थाको विभिन्न समयमा फरक–फरक रूपमा देखिन्छ।

तनाव वा भावनात्मक परिवर्तनको समयमा

गर्भावस्थामा तनाव, चिन्ता वा मुड स्विङका कारण अमिलो खानेकुराको इच्छा बढ्न सक्छ । यदि इच्छा छैन तर, मुड स्विङ भएको छ भने पनि अमिलो खानेकुरा खानु फाइदाजनक हुन्छ ।

अमिलो स्वादले मस्तिष्कमा सकारात्मक रसायनहरूको उत्पादन गर्छ, जसले मनलाई शान्त र सन्तुष्ट बनाउँछ ।

खानपानमा एकाग्रताको समयमा

यदि गर्भवती महिलाले एकै प्रकारको खाना बारम्बार खाइरहेकी छिन् भने, उनको स्वाद ग्रन्थीहरूले नयाँ स्वादको खोजी गर्छ । अमिलो खानेकुराको तीख्खर स्वादले यस्तो एकाग्रतालाई तोड्छ ।

अमिलो खाने स्वस्थ विकल्पहरू

– ताजा फलफूल, जस्तै कागती, सुन्तला, अमला वा आँप ।

– दहीमा कागतीको रस मिसाएर खानु पौष्टिक र स्वादिष्ट हुन्छ ।

– घरमा बनाइएको कम मसला र नुन भएको अचार ।

– भिटामिन सीयुक्त तरकारीहरू ।

धेरै खानुहुँदैन

अमिलो खानेकुरा खानु सामान्यतया सुरक्षित छ । तर अत्याधिक सेवनले स्वास्थ्यमा असर पार्न सक्छ ,

जस्तो कि,

– अत्यfधिक अमिलो खानेकुराले दाँतको इनामेललाई क्षति पुर्‍याउन सक्छ । त्यसैले, अत्याधिक मात्रामा खानु भने हुँदैन । यस्ता खानेकुरा खाएपछि पानीले मुख कुल्ला गर्नुपर्छ।

– बजारमा पाइने प्याकेटयुक्त अमिलो खानेकुरा, जस्तै क्यान्डी वा चटपटेमा कृत्रिम रसायन र उच्च चिनी हुन सक्छ । यस्ता खानेकुराले स्वास्थ्यमा हानि पुर्‍याउन सक्छ ।

– अमिलो खानेकुरासँगै अत्याधिक नुनिलो वा मसालेदार खाना खाँदा रक्तचाप बढ्न सक्छ, जुन गर्भावस्थामा जोखिमपूर्ण हुन्छ ।

– यदि अमिलो खानेकुराप्रति असामान्य रूपमा तीव्र इच्छा छ वा अन्य खानाप्रति पूर्णअरुचि छ भने चिकित्सकसँग परामर्श लिनु उपयुक्त हुन्छ ।

गर्भावस्थामा स्वादलाई लिएर भ्रम 

स्वाद अनुसार शिशुको लिङ्ग पहिचान हुनसक्ने एउटा भ्रम समाजमा व्याप्त छ । जस्तो कि, कतिपयले सुन्नुभएको होला, ‘गर्भ बसेको बेला पिरो वा अमिलो खानेकुरा खान मन लाग्यो भने छोरी वा गुलियो खान मन लाग्यो भने छोरा हुन्छ ।’

खानाको तीव्र इच्छाले शिशुको लिङ्ग अनुमान गर्न सकिन्छ भन्ने कुरालाई कुनै वैज्ञानिक आधार छैन । यो केवल पुस्तौँदेखि चलिआएको भ्रामक कथन मात्र हो ।

शिशुको लिङ्ग गर्भाधानको समयमा डिम्ब र शुक्रकीटको क्रोमोजोमले निर्धारण गर्छ । विशेषत: यसमा पुरुष क्राेमाेजाेमकाे भूमिका हुन्छ ।

अमिलो गर्भवती प्रसूति
डा. कीर्तिपाल सुवेदी
लेखक
डा. कीर्तिपाल सुवेदी
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : ७८२२ एमबीबीएस, एमडी, स्त्रीरोग ओन्कोलोजीमा फेलोसिप ल्याप्रोस्कोपिक सर्जन, हाल भेरी अस्पताल नेपालगञ्जमा प्रसूति तथा  स्त्रीरोग वरिष्ठ  कन्सल्टेन्टको रुपम कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय