+

गर्भावस्थामा किन गरिन्छ ‘फेटल अल्ट्रासाउन्ड’ ?

२०८१ माघ  १ गते १४:१६ २०८१ माघ १ गते १४:१६
गर्भावस्थामा किन गरिन्छ ‘फेटल अल्ट्रासाउन्ड’ ?

गर्भवती भए पछि महिलाको स्वास्थ्य अवस्थाबारे थाहा पाउन विभिन्न जाँच गरिन्छ । सो परीक्षणले गर्भमा रहेको शिशुको स्वास्थ्य र विकासको बारेमा जानकारी दिनुको साथै यसबाट आमा र बच्चाको स्वास्थ्य अवस्था र सम्भावित जोखिमबारे आङ्कलन गर्न सकिन्छ ।

ती परीक्षण मध्ये  एक परीक्षण हो, ‘फेटल भ्रूण’ अल्ट्रासाउन्ड । यो परीक्षण विधिलाई ‘सोनोग्राम’ पनि भनिन्छ ।

भ्रूण अल्ट्रासाउन्ड किन गरिन्छ ?

अल्ट्रासाउन्ड एउटा इमेजिङ विधि हो जसले गर्भमा रहेको बच्चाको छवि बनाउन ध्वनि तरङ्गहरू प्रयोग गर्छ । यो परीक्षणले बच्चालाई कुनै समस्या भएमा पत्ता लाग्छ ।

सो अल्ट्रासाउन्डले गर्भमा हुर्किरहेको बच्चाको अवस्थाबारे तस्बिरको माध्यमबाट दिन्छ । यो अल्ट्रासाउन्ड सामान्यतया गर्भावस्थाको पहिलो त्रैमासिकमा गर्भावस्था पुष्टि गर्न र कति समय देखि गर्भवती भएको थाहा पाउनको लागि गरिन्छ ।

अल्ट्रासाउन्डले बच्चाको मुटु, टाउको, मेरुदण्ड र शरीरका अन्य भागहरू पनि जाँच गरिन्छ ।

पाठेघरमा बच्चाको लागि आवश्यक ‘एम्नियोटिक तरलता’को मात्रा मापन गरिन्छ। यो तरल पदार्थ कम भएमा बच्चालाई पाठेघरमा खेल्न गाह्रो हुन्छ। जसले बच्चाको घाँटी, आन्द्रा वा मिर्गौलामा असर गर्छ ।

कहिलेकाहीँ प्रसवको तयारी नपुग्दै सो साल फुट्न सक्छ । यस्तोमा बच्चाको अवस्था हेर्न अल्ट्रासाउन्ड गरी पाठेघरमा साल टासिएँको छ की भनेर हेरिन्छ । पाठेघरको मुख वा मुख वरपर टासिँएको खण्डमा रगत बग्ने खतरा हुन्छ।

सो पहिचानको लागि पनि अल्ट्रासाउन्ड अति महत्वपुर्ण जाँच विधि हो। पानीको मात्रा २६ सेमीभन्दा बढी भएमा आमालाइ मधुमेह हुन सक्ने अनुमान गरिन्छ।

अल्ट्रासाउन्डबाट मुटुको धड्कन, बच्चाको उल्टो, तेस्रो वा सुल्टो स्थिति थाहा पाउन सकिन्छ। उल्टो वा तेस्रो भएमा शल्यक्रिया गरी सुरक्षित तबरले जन्माउन सल्लाह दिइन्छ ।

यदि गर्भावस्थामा कुनै समस्या छैन भने अर्को अल्ट्रासाउन्ड दोस्रो त्रैमासिकमा गरिन्छ । पहिलो परीक्षण मै समस्या देखिए डाक्टरले अल्ट्रासाउन्ड पछि अन्य परीक्षणका लागि सिफारिस गर्न सक्छन् ।

ट्रान्सभ्याजिनल अल्ट्रासाउन्ड

यस प्रकारको अल्ट्रासाउन्डमा लठ्ठी जस्तो वस्तु प्रयोग हुन्छ । जसलाई ट्रान्सड्यूसर भनिन्छ । ध्वनि तरङ्गहरू भ्रूणमा पठाउन र सही तस्बिरहरू प्राप्त गर्न सकोस् भनेर यो यन्त्रलाई योनीमा राखिन्छ। ट्रान्सभ्याजिनल अल्ट्रासाउन्ड गर्भावस्थाको प्रारम्भिक चरणमा गरिन्छ ।

मानक अल्ट्रासाउन्डः यसमा, ध्वनि तरङ्गहरू कम्प्युटर स्क्रिनमा दुई–आयामी चित्र बनाउन प्रयोग गरिन्छ ।

डपलर अल्ट्रासाउन्डः यो अल्ट्रासाउन्डले बच्चाको शरीरमा रगत प्रवाहको बारेमा पनि जानकारी दिन्छ ।

३–डी अल्ट्रासाउन्डः यो अल्ट्रासाउन्डले बच्चामा अनुहारको समस्या वा न्यूरल ट्युब दोषहरू पत्ता लगाउन मद्दत गर्छ ।

अल्ट्रासाउन्डबाट के पत्ता लगाउन सकिन्छ ?

यो अल्ट्रासाउन्ड मार्फत भ्रूणको विकास र अवस्थाबारे पत्ता लगाउन सकिन्छ । पेट, हात, खुट्टा, घाँटीको पछाडिको भाग, टाउको, मस्तिष्क, मुटु र त्यमा रहेको भल्भ, मिर्गौला, नाइटोको अवस्था, मेरुदण्डको कर्ड र पिसाब थैलीको अवस्था अल्ट्रासाउन्डबाट हेर्न सकिन्छ ।

अल्ट्रासाउन्डले महिलाको कोखमा एक भन्दा बढी बच्चा भएमा पनि पत्ता लगाउँछ । यही परीक्षणमार्फत गर्भमा बच्चाको वृद्धि दर पत्ता लाग्ने गर्छ ।

कतिको जोखिम परीक्षण ?

भ्रूण अल्ट्रासाउन्ड गर्भावस्थाको समयमा नियमित जाँचको एक भाग हो । यो अल्ट्रासाउन्ड सही तरिकाले गरिएको छ भने पूर्ण रूपमा सुरक्षित मान्न सकिन्छ ।

अल्ट्रासाउन्डको एउटा कमजोरी भनेको यसले बच्चाको जन्म सम्बन्धी समस्या पत्ता लगाउन सक्दैँन । राम्रो अस्पताल, अनुभवी चिकित्सक वा प्रशिक्षित प्राविधिकबाट मात्र परीक्षण गराउनु पर्छ ।

अल्ट्रासाउन्डको लागि तयारी

भ्रूणको अल्ट्रासाउन्ड गर्नु अघि आमालाई पिसाब नगर्न सल्लाह दिइन्छ । यद्यपि, यो कुनै  अल्ट्रासाउन्डमा पनि निर्भर हुन्छ । अल्ट्रासाउन्ड पेट वा योनी मार्फत गरिने भएकोले खुकुलो लुगा लगाउनुपर्छ ।

यदि कुनै औषधिको एलर्जी भएमा, कुनै औषधि, भिटामिन वा अन्य चीज खाँदै हुनुहुन्छ भने यी अवस्थाहरूको बारेमा आफ्नो चिकित्सकलाई पहिले नै भन्नुपर्छ । यसअघि पर्याप्त पानी पिउनुपर्छ ताकि तस्बिर राम्रोसँग निस्कियोस् !

भ्रूण अल्ट्रासाउन्ड कसरी गरिन्छ ?

अल्ट्रासाउन्डको क्रममा महिलालाई बेडमा सुताइ पेटबाट कपडा हटाइन्छ । त्यसपछि पेटमा जेल लगाइन्छ। अब चिकित्सक  वा प्राविधिकले पेटमा ट्रान्सड्यूसर राखेर ध्वनि तरङ्गहरूले मोनिटरमा फोटो लिन्छन् । स्क्रिनमा बच्चाको शरीरको अवस्था तस्बिरमार्फत हेरिन्छ ।

बच्चाको अवस्था र विकास अनुसार उसको अनुहार, हात, औँला, खुट्टा लगायत अंग पनि देख्न सकिन्छ । यसको तस्बिर र अन्य जानकारी प्रिन्ट गरी दिइनेछ।

भ्रूण अल्ट्रासाउन्डको अन्य प्रकारको प्रक्रिया पनि समान हुन्छ । अल्ट्रासाउन्डमा योनीमा ट्रान्सड्यूसर पसाएर तस्बिर लिइन्छ ।

परीक्षण पछि

परीक्षण पछि पेटमा लगाइएको जेल सफा गरिन्छ । यदि मूत्राशय भरिएको छ भने परीक्षण पछि पिसाब गर्न पनि सकिन्छ। स्क्रिनमा देखिए अनुसारको बच्चाको अवस्थाबारे चिकित्सकले विभिन्न पक्ष हेरेर अल्ट्रासाउन्डको नतिजा व्याख्या गर्छन्। समस्या देखिए अन्य परीक्षण सिफारिस गर्न सक्छन् ।

अल्ट्रासाउन्ड गर्भावस्था
डा. मीना प्रधान
लेखक
डा. मीना प्रधान
स्त्री तथा प्रसूतिरोग विशेषज्ञ

डा. प्रधान प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् । उनी काठमाडौंको  बसुन्धारास्थित कान्तिपुर डेन्टल अस्पतालमा कार्यरत छिन् । उनले प्रसूति तथा स्त्रीरोगमा एमडी गरेकी छन् । प्रधानको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ६९५६ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय