दसैं पर्व आफैमा विशेष छ । यो पर्वले टाढा टाढा रहेका आफन्तलाई पनि नजिक गराउने काम गर्छ । यसैले पनि होला, यसको महत्व सधै नै उस्तै रहेको । निर्देशक तथा कलाकार रमेश वुढाथोकीका लागि पनि यो पर्व आफन्तसँग भेट गराउने भएकाले विशेष लाग्छ । उनको ६९ वषिर्य आमासँग दसैंले भेट गराउने गरेको छ ।
विराटनगरको कञ्चनवारीमा जन्मेका बुढाथोकीलाई काठमाडौको दसैं बिरसिलो लाग्छ । उनको भनाइ अनुसार जे छ बिराटनगरमै छ । बृद्ध आमा, पुराना साथी र आफु जन्मेको घर, सबैभन्दा महत्वपूर्ण कुरा यीनै हुन् भन्ने धारणा उनको छ ।
‘जती नै सम्पन्न भएपनि आफु जन्मेको ठाउँको मोह कहिल्यै घट्दैन ।’ अनलाइनखबरसँग कुरा गर्दै उनले भने । राज आनन्द कार्की, दिवाकर भट्टराई, माधव थापा लगायतलाई उनी कहिल्यै बिर्सदैनन् । बिराटनगर पुगेकै दिन साथीभाइ भेट्ने बुढाथोकीलाई साँझपख घुम्न निस्कदा निकै रमाइलो लाग्दो रहेछ । ‘यो मौसम पनि घमाइलो छ । साँझपख घुम्न निस्कदा असाध्यै रमाइलो लाग्छ । हरेक दिन जसो बेलुकीपख हामी घुम्न निस्कन्छौं ।’ उनले भने ।
पाँच हजार दक्षिणा
दक्षिणा पाइन्छ भनेर भएभरका नातेदारकोमा टिका लगाउन गएको बिर्सेका छैनन् उनले । आफु सानो छँदाकै कुरा सम्झदै उनले केटाकेेटीलाई टिका लगाउँछन् र नयाँ नोट दक्षिणा दिन्छन् । भाइका छोराछोरी र भान्जा भान्जीलाई गरेर ५ हजार जती दक्षिणामा खर्च हुने उनले सुनाए । यसपाली पनि दक्षिणा दिनकै लागि नयाँ नोट साटिसकेका छन् उनले ।
पीङ खेल्न मामाघर
बिराटनगरवासी अहिले मात्रै हैन, पहिला पनि पिङ हाल्न अल्छी गर्थे । उनको पिङ खेल्ने गन्तब्य जहिल्यै मामाघर गौरादह हुन्थ्यो । रोटे पिङमा घुम्दा र लिंगे पिङमा मच्चिदा रमाइलो लागेको अनुभुती मात्रै बाँकी छ । अहिले त पिङमा रमाउँदैनन् उनी । ‘अहिले त म पिङ देखेर आकषिर्त हुन्न । उमेर पनि पुगेर होला अरुले खेलेको हेर्छु मात्रै ।’ उनले भने ।
पक्कुका पारखी
खसीको मासुवाट बनाएको पक्कु उनलाइ खुब मिठो लाग्छ । अहिले त्यस्तो पक्कु खान स्वास्थ्यले दिदैन । तैपनि केही टुक्रा खाएर भएपनि मनको चाहना पुरा गर्ने गर्छन् उनी । आफुले खान नभएपनि अरुलाई बनाएर खुवाउन रमाइलो लाग्छ उनलाई । आफै बनाएर खुवाउने गरेको रमेशको भनाई छ । ‘काठमाडौमा त म एक्लै बस्छु खाना वनाउनु वाध्यता हो तर, बिराटनगरमा स-परिवारको विचमा खाना बनाएर खुवाउन पाउँदा रमाइलो लाग्छ’-उनले भने । तर, काटकुट पार्न भने उनलाई कती पनि आउँदैन ।
फल्लास खेलेर रमाइलो
साँझ बिहान चिसो चिसो भएपनि दिउँसो अझै गर्मी छ बिराटनगरमा । बिहानको खाना खाइसकेपछि साथीभाइको सम्बन्ध तासले जोड्ने गर्छ । ‘दिउँसो खास काम हुँदैन हामी फल्लास खेलेर बिताउछौं’ उनले भने । तासमा परिवारका सदस्य र साथीभाइले साथ दिने गरेका छन् उनलाई ।
रंगमञ्चका गफ
केही समय भने रंगमञ्च र चलचित्रका विषयमा पनि कुरा हुन्छ । राजाराम कार्की उनका साथी मात्रै नभएर उनलाई यस क्षेत्रमा स्थापित गराउने ब्यक्ति पनि हुन् ।
कार्की अझै मोफससलको थिएटरमा सक्रिय छन् । ‘हामी दुइजना भेटभएपछि भने रंगमञ्चकै विषयमा कुरा गर्छौ ।’ उनले भने । चलचित्रका विषयमा भने खासै गफ नहुने रमेशको भनाई छ ।
प्रतिक्रिया 4