अहिलेका मान्छेलाई त पत्यारै लाग्दैन होला कि विष्णुमती किनारमा पिङ हुन्थ्यो भन्दा । हो, हाम्रो पालामा विष्णुमतिको तीरमा प्रसस्त पिङ हुन्थ्यो । लगभग दुइसय मिटरको अन्तरमा पिङ बनाएकै हुन्थ्यो । लिंगे र रोटेपिङ जताततै हुन्थ्यो ।
पिङ बनाउन सुरु भएपछि नै काठमाडौमा दसैंको चहल पहल सुरु भएको छनक मिल्थ्यो । हामी साथी साथी मिलेर खेल्न जान्थ्यौं । त्यो बाहेक अरु खुला फाँटहरुमा पनि हुन्थ्यो । धान चाँडै पाकेको र दसैं ढिला आएको वर्ष खेतमा पनि पिङ हाल्थे । हरेक टोलका मान्छेहरुमा पिङका लागि जुट्नुपर्छ भन्ने भावना थियो ।
टेप्रेलको कुर्ता सुरुवाल
सँधै नयाँ लुगा मिठो खाना । त्यसकारण पनि अहिले दसैंको महत्व घटेको छ । हामी सानो छँदा त्यस्तो थिएन । मिठो खान दसैं नै आउनु पथ्र्यो भने राम्रो लाउन पनि दसैं कुर्नैपर्ने वाध्यता थियो ।
म त मामाघर इन्द्रचोकमा हुर्केको । एउटै उमेरका हामी चारजना थियौं । मामाले टोप्रलको कुर्ता सुरुवाल किनिदिनुहुन्थ्यो, एउटै रङको । दिदीहरु ठुला भएकाले आफैंले छान्न पाउँथे । हामीलाई त्यो अवसर दिनुहुन्नथ्यो ।
थानको कपडा किनेर ल्याएर दर्जीकोमा सिउन दिने चलन थियो । दर्जीले लुगा सिउन थालेपछि हामीलाइ रमाइलो लाग्थ्यो । खुसी हुँदै हामी लुगा नाप्न जान्थ्यौं ।
दक्षिणामा एक सुका
दसैंको टिकाको दिन निकै रमाइलो हुन्थ्यो । २०/२५ जना हुन्थ्यौ हामी । एउटै घरमा त्यतिधेरै मान्छेसँग टिका लगाउँदा निकै रमाइलो हुन्थ्यो ।
टिका लगाएर प्रायले एक सुका, एक मोहोर दक्षिणा दिनुहुन्थ्यो । कोही कोहीले एक रुपैयाँ दियो भने त उत्पात लाग्थ्यो । एक रुपैयाँको डब्बल हामीलाइ निकै धेरै पैसा हो भन्ने थियो ।
टिका लगाएको पैसा आमालाई राख्न दिन्थ्यो । पैसा पाएपछि किनेर खाइहाल्ने चलन थिएन । कारण अहिले जस्तो किनेर खाइहाल्ने चिजै पाइदैन थियो ।
दसैंको रौनक हराउँदैछ
धार्मिक हिसाबले मात्रै हैन, सांस्कृतिक हिसाबले पनि दसैं महत्वपूर्ण चाड हो तर, त्यो महत्व अहिले हराउँदै गएको छ । बजारमा हुने भिड हरेक दिन हुन्छ भने राम्रो लगाउनका लागि दसै कुर्ने चलन हराएको छ ।
जसरी पनि शो गर्नैपर्ने संस्कारले भने कमजोर आम्दानी हुनेहरुलाई समस्यामा पारेको छ । पछिल्लो समय दसैं हुनेखाने वर्गमा मात्रै सिमित हुन पुगेको हो कि जस्तो लागेको छ ।
प्रतिक्रिया 4