+
+
Shares

रामेछापको शैलुङमा किविको व्यवसायीक उत्पादन सुरु

२५ कात्तिक, मन्थली । रामेछापको डडुवा गाविसमा किविको व्यवसायिक उत्पादन सुरु भएको छ । डडुवाको साथै दोरम्बाको ढोइगाउँमा पनि किविको व्यवसायीक उत्पादन गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २५ गते १५:४१

Kiwi,-Final

नवराज पथिक
२५ कात्तिक, मन्थली । रामेछापको डडुवा गाविसमा किविको व्यवसायीक उत्पादन सुरु भएको छ । डडुवाको साथै दोरम्बाको ढोइगाउँमा पनि किविको व्यवसायीक उत्पादन गरिएको छ ।

डडुवामा शैलुङ एग्रिकल्चर प्रोडक्सन प्रालिले किवि फलको व्यवसायीक उत्पादन गर्दै आएको छ । उत्पादित फल कात्तिकको दोस्रो हप्ताबाट पाक्न थालेको प्रालिका सञ्चालक राङदान तामाङले बताए । सो फारममा विभिन्न ४ जातका किविको फल उत्पादन भएको छ । अहिले र्फममा ३ सय ५० भन्दा बढी विरुवाले उत्पादन दिन लागेको तामाङले बताए ।

अघिल्लो वर्ष नमूनाको रुपमा मन्थली बजारमा फल चखाउन ल्याएको सो कम्पनिले यस वर्षबाट व्यवसायीक रुपमा नै बिक्रीको लागि किवि बजारमा ल्याएको छ । कम्पनीका निर्देशक तामाङले मन्थलीका विभिन्न फलफूल पसल तथा काठमाडौंका फलफूल बजारमा समेत उपभोक्ताले किवि किन्न पाउने बताए ।

विभिन्न १२ प्रकारका फलको स्वाद एकै फलमा पाइने किविको विरुवा पुस महिनामा रोपिन्छ । यसको फल कात्तिकदेखि मंसिर महिनासम्म पाक्छ । रोपेको ३ वर्षबाट उत्पादन दिन सुरु गर्ने सो बिरुवाले लगातार ५० वर्षसम्म राम्रो उत्पादन दिने किसानहरु बताउँछन् ।

चीनबाट पहिलो उत्पादन सुरु भएको किविको अहिले विश्वका विभिन्न देशमा व्यवसायीक रुपमा खेति गर्न लागिएको छ । विभिन्न खालका भिटामीन पाइने किवि फलमा सुन्तलामा भन्दा बढी भिटामीन ‘सी’ र केरामा भन्दा पनि बढी भिटामीन ‘ई’ पाइन्छ ।

शैलुङ एगि्रकल्चर प्रोडक्सन प्रालिले किविको फल मात्र हैन विरुवा समेत उत्पादन गरेको छ । र्फमले यस वर्ष किविका ५० हजार विरुवा उत्पादन गरेको छ । उत्पादित विरुवाबाट र्फममा किवि खेति विस्तार गर्नुका साथै अन्य किसानलाई समेत विरुवा बिक्री गर्ने योजना रहेको सञ्चालक तामाङ बताउँछन् ।

‘विरुवाको माग अधिक रहेकोले विरुवा उत्पादन सुरु गरेको हुँ,’ उनले भने, ‘किविको विरुवा प्रतिगोटा ३ सयदेखि ३५० रुपैयाँमा बिक्री हुन्छ ।’

किविलाई बहुउपयोगि फल मानिन्छ । किविका विभिन्न ७६ प्रजाति छन् । एक हजार २ सयदेखि माथिको उचाइमा यसको राम्रो खेति हुने गर्दछ । यसको फलको बजार मूल्य प्रतिकिलो ४ सयदेखि ८ सय रुपैयाँसम्म पर्छ ।

२०६८ सालमा शैलुङ एग्रिकल्चर प्रोडक्सन प्रालि दर्ता गरेर राङदानले व्यवसायीक रुपमा किवि खेतीका साथै विभिन्न नगदेबाली र जडिबुटीको खेती सुरु गरेका छन् । उनको बगैचामा करिव २ हजार बोट किवि छन् । किवि खेतिको अध्ययनको लागि दोलखाको बोचमा सरकारले अध्ययन केन्द्र नै स्थापना भएको छ ।

‘धेरै मूल्यको आश गर्नु हुँदैन । आफ्नै बगैचाबाट २ सय ५० रुपैयाँ किलोको दरले किवि बिक्री भयो भने पनि पर्याप्त नाफा बस्छ । २ सय ५० रुपैयाँ किलो दिन्छु भन्यो भने व्यवसायीहरु बगैचामा नै खोज्दै आउँछन्,’ बिक्रीको योजना सुनाउँदै राङदानले भने ।

किवि बाहेक लोडसल्ला, चिया, ग्राउन एपल, रोजमेरी, पाउलोनियम, जटामसी, ठूलो ओखतो, बोझो, पाखनवेद, चिराइँतो, पदमचाल, पाँचऔले लगायतका जडिबुटी र नगदेवाली राङदानको र्फममा छन् । सो र्फममा अहिले १० जनाले दैनिक रोजगारी पाइरहेका छन् । यस बाहेक कामको सिजनमा थप कामदारहरुलाई दैनिक ज्यालादारीमा काम लगाउने गरेको उनले बताए ।

सो र्फममा अहिलेसम्म आफ्नो करिव एक करोड रुपैयाँ लगानि भएको राङदान बताउँछन् । अब उत्पादन सुरु भएकोले केही वर्षमा नै लगानी उठ्नेमा उनी ढुक्क छन् ।

गरिव परिवारमा जन्मिएका राङदानले बाल्यकालमा काठमाडौंको मनोहरा खोलामा बालुवा पनि उठाए । त्यसपछि खलासीका काम गर्दा ड्राइभिङ सिके । उनले हिमाल पावर लिमिटेडमा ड्राइभिङको काम गरे । लामो समयमा सो कम्पनिमा काम गरेका उनले यस वर्षदेखि पुरै समय बगैचालाई दिएका छन् । उनको यो संघर्ष र सफलता सबैको लागि नमूना बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?