+
+

ग्यास बुलेट तातोपानी नाका हुँदै पाँचखाल ल्याउन चीनको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २९ गते १४:५८

२९ कात्तिक, काठमाडौं । चीनले काभ्रेको पाँचखालमा संयुक्त भन्सार स्थापना गरेर ग्यासका बुलेट सिधै पाँचखालसम्म ल्याउन प्रस्ताव राखेको छ । उपराष्ट्रपति नन्दबहादुर पुनसँग आइतबार भएको भेटमा चीनका लागि नेपाली राजदूत डा. महेश मास्केले यसबारे जानकारी गराएका हुन् ।

फाइल तस्वीर
फाइल तस्वीर

नेपालका लागि चिनियाँ राजदुत वु चुन्ताईसँग आइतबार विहान छलफल भएको र चिनियाँ राजदुतले काभ्रेको पाँचखालमा संयुक्त भन्सार स्थापना गरेर ग्यासको बुलेट सिधै पाँचखालसम्म ल्याउन चीन तयार रहेको मास्केले जानकारी गराए ।

‘चीनको प्राथमिकता केरुङ छ, तर नेपालतिरको बाटो साँघुरो भएकाले केरुङबाट ग्यासको बुलेट ल्याउन सम्भव देखिएन, हामीले पेट्रोल, डिजेल र अन्य सामाग्री केरुङबाटै ल्याऔंला, ग्यासका बुलेट तातोपानीबाटै ल्याउनुपर्ने प्रस्ताव गरेका छौं,’ राजदूतलाई उद्धृत गर्दै उपराष्ट्रपति पुनका स्वकीय सचिव सुकबहादुर रोकाले भने ।

सोमबार चीन फर्कनु अघि उपराष्ट्रपति कार्यालय बहादुर भवनमा भएको भेटमा डा. मास्केले चीनबाट इन्धन ल्याउन दुई देशबीच सैद्धान्तिक सम्झौता भइसकेकाले व्यापारिक सम्झौताको अन्तिम तयारी भइरहेको जानकारी गराएका थिए । उनले चीनले अहिलेसम्म इन्धन निर्यात नगरेकाले निर्यातसम्बन्धी नियम बनाउन लागिरहेकाले व्यापारिक संझौता हुन केही ढिला भइरहेको जानकारी पनि गराएका थिए ।

‘तिहारलगतै इन्धन खरिदका लागि व्यापारिक संझौता गर्ने कुरा थियो, चीनले अहिलेसम्म इन्धन किनेको छ, बेचेको छैन । बेच्नका लागि केही नियम बनाउनुपर्ने भएकाले केही ढिला भइरहेको छ,’ राजदुत मास्केले भेटमा भने, ‘नेपालले इन्धन खरिद गर्दा नेपाल चीनबाट इन्धन खरिद गर्ने पहिलो मुलुक हुनेछ । केही दिनमै व्यापारिक संझौता हुन्छ ।’

राजदुत मास्केले पेट्रोल र डिजेल केरुङ नाका हुँदै ल्याउन सकिने भए पनि ग्यासका बुलेटहरु केरुङबाट ल्याउन अप्ठ्यारो भइरहेकोले तातोपानी नाकाबाट ल्याउने कोशिस भइरहेको पनि जानकारी गराएको उपराष्ट्रपति कार्यालयको सचिवालयले जनाएको छ ।

राजदुत मास्केले काभ्रेको पाँचखाललाई विशेष आर्थिक क्षेत्र बनाउने सरकारले घोषणा गरिसकेको अवस्थामा सो ठाउँलाई चाँडो विशेष आर्थिक क्षेत्रमा विकास गरेर चीनले धेरै सहयोग गर्न सक्ने अवस्था रहेको जानकारी गराउँदै पहल गरिदिनुहुन उपराष्ट्रपतिलाई आग्रह गरेका थिए ।

भेटमा उपराष्ट्रपति पुनले पाँचखालमा संयुक्त भन्सार स्थापना गरेर ग्यास उपलब्ध गराउने प्रस्ताव सकारात्मक भएको बताउँदै आफूले सक्दो पहल गर्ने बताएका थिए । उनले पाँचखाललाई विशेष आर्थिक क्षेत्रको रुपमा विकास गर्न सरकारलाई घचघच्याउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?