२९ कात्तिक, काठमाडौं । प्रधानमन्त्रीका रुपमा आइतबार देशवासीलाई पहिलो सम्बोधन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मनिर्भरका महत्वाकांक्षी योजनाहरु घोषणा गरेका छन् ।
मन्त्रीहरु र सरकारलाई समर्थन गर्ने दलका नेतालाई साथमा राखेर प्रधानमन्त्री ओलीले आइतबार साँझ देशवासीलाई सम्बोधन गरेका थिए । भारतको अघोषित नाकाबन्दीले नेपाल कुनै एक मुलुकप्रति कति परनिर्भर रहेछौं भनेर आँखा खोलेको भन्दै उनले आत्मनिर्भरताका केही योजनाहरु अघि सारे ।
प्रधानमन्त्री ओलीले काठमाडौंमा मेट्रो रेलको तयारी तत्काल अघि बढाउने घोषणा गरेका छन् । उनले सौर्य उर्जामार्फत एक वर्षमा २ सय मेघावाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने, विद्युतीय चुलो उत्पादन र इन्धनको भण्डारण क्षमता बढाउने बताए ।
मिनी बजेटकै झल्को दिने गरी प्रधानमन्त्री ओलीले विकास कार्यक्रमहरु समेत घोषणा गरेका छन् । उनले नेपालका आफ्नै उत्पादन प्रयोगलाई प्रोत्साहन गरिने बताए । सरकारले स्वदेशी वस्तुको प्रयोगमा जोड दिने, चीनसँग जोड्ने बाटाहरुको स्तरोन्नति गर्ने र पूर्व-पश्चिम राजमार्गलाई चार लेनको बनाउने घोषणा गरे ।
ओलीले मधेस आन्दोलन र नाकाबन्दीले भूकम्पले भन्दा ठूलो क्षति गरेको बताए । उनले अब पुनर्निर्माण विधेयक पारित गरेर प्राधिकरण तत्काल गठन गर्ने समते बताए । भूकम्प पीडित जनतालाई आवास दिइने र पीडितलाई दिने भनिएको दुई लाखको पहिलो किस्ता राहत तत्काल उपलब्ध गराउने बताए ।
प्रधानमन्त्री ओलीले जाडो अगाडि नै हिमाली भेगमा टहरा बनाइने समेत घोषणा गरे ।
उनले मधेसमा आन्दोलन गरिरहेका दलहरुलाई तत्काल आन्दोलन फिर्ता लिएर वार्तामा बस्न आग्रह गरे । त्यसैगरी उनले भारतलाई अघोषित नाकाबन्दी तत्काल अन्त्य गर्न आग्रह गरे ।
प्रतिक्रिया 4