+
+
Shares

नेपाल चीन सम्बन्ध : हिमालय वारपारको ‘ह्याण्डसेक’

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर ७ गते ३:३०

शुधा रामचन्द्रन

नेपालमा गहिरिँदै गरेको इन्धन सङ्कटका माझ गत महिना आपत्कालीन सहयोगका रुपमा चीनले एउट ऐतिहासिक सम्झौता गर्दै नेपलाई इन्धन दियो । यस सम्झौताले नेपाल र चीनबीच बृहत्तर साझेदारीलाई मार्ग प्रसस्त गर्ने अपेक्षा गरिएको छ ।

india-s-spectacular-policy-failure-in-nepal-802-x-460यो सम्झौता कुन बखतमा भइरहेको छ भने नेपाल र भारत बिचको सम्बन्ध नेपालले जारी गरेको संविधानलाई लिएर द्रुत रुपले खस्किँदै गइरहेको थियो । यसैबीचनेपालको तराईका जनताले संविधानको विरोधलाई  तीव्र बनाउँदै लगे । भारतको ‘अघोषित नाकाबन्दी’का कारण अत्यावश्यक सामाग्री र इन्धन नेपाल आउन सकेन ।

सङ्कट गहिरिँदैँ जाँदा नेपाल सरकारले चीनसँग सहयोग माग्यो र बेइजिङले नेपाललाई १३ लाख लिटर इन्धन दिने निर्णय गर्यो । दुई देसका बीच दीर्घकालीन इन्धन सम्झौता हुन सक्ने देखिएको छ ।

चीनको नेपाललाई इन्धन दिने  निर्णयले नेपालमा भारतको इन्धन विक्रीमा भएको दसकौँ पुरानो एकाधिकार तोडिएको छ । यो नयाँ प्रबन्धले भारतको नेपालको वैदेशिक व्यापारमाथि रहेको पकड खोकुलो बनाउला वा नेपालको भौगोलिक स्थितिले भारतलाई साथ देला ?

नेपालको भौगोलिक अवस्था र उसको चीन र भारतसँगको ऐतिहाँसिक सम्बन्धलाई केलाएर उसको दुई ठूला छिमेकी देशसँगको सम्बन्ध कतातिर जाँदैछ भनेर बुझ्न सकिन्छ ।

नेपालको भौगोलिक अवस्था

भारत र चीनको बीचमा थिच्चिएको नेपाल भूपरिवेष्ठित राष्ट्र हो त्यसैले नेपाल वैदेशिक व्यापार र समुद्र सम्मको पहुँचकालागि आफ्नो छिमेकीहरुमा नर्भर छ । तर, भौगोलिक अवस्थाका कारण नेपालको भारत र चीनसँगका सिमानाको अवस्था निकै फरक छ ।

नेपालको भारतमाथिको निर्भरता र भारतको आफ्नो सानो छिमेकी प्रतिको अशंवेदनशीलताका कारण नेपालमा भारतविरोधी भावना उत्पन्न हुने गरेको छ

भूगोलका कारण चीनसँगको तुलनामा भारतको सिमाना नेपाललाई व्यापार गर्न ज्यादै पायक पर्दछ । नेपाल र चीनवीचका नाकाहरु धेरै समय त हिउँले नै ढाकिएका हुन्छन् । नेपालबाट भारतीय औद्दोगिक सहर र बन्दरगाहहरु नै नजिक पर्छन् चीनको तुलनामा । त्यसमाथि नेपाल र भारतबीच लामो समयदेखि खुलासीमाना रहिआएको छ ।

नेपाल भारत र चीनजस्ता ठूला देशका वीचमा हुनु र यी ठूला देशहरुबीच झगडाको इतिहास हुनुले नेपालको सामरिक महत्व बढाएको छ । त्यसैले भारत र चीन नेपालमा प्रभाव बढाउने होडमा छन् र यो क्रम विगत केही वर्षमा बढ्दो अवस्थामा छ ।

भारतीय प्रभाव

भारतका लागि नेपालको सामरिक महत्व त्यतिबेला बढ्यो, जब चीनले तिब्बत आफूमा गाभ्यो । तिब्बतको’बफर’ गएपछि नेपाल भारतको चीनसितको ढाल बन्यो । यसै पृष्ठभूमिमा नेपाल र भारतले शान्ति तथा  मैत्री सम्झौता गरे, १९५० मा । यस सन्धिले नेपालको शुरक्षा भारतको शुरक्षासँग गाँसिदियो ।

सन्धिमा नेपालमा बाहिरी हमला भए भारतमा हमला भएको बुझिने र भारतले त्यसको प्रतिवाद गर्ने व्यवस्था छ । सन्धिले नेपालले गर्ने सैनिक सामाग्रीको निर्यातमा भारको सहमति चाहिने व्यवस्था पनि गरेको छ । यसै गरी सन्धिका आर्थिक आयामहरु पनि छन् । नेपाल र भारतका नागरिकहरु एक अर्काको देशमा बस्न,  काम गर्न  र सम्पतिको स्वामित्व लिन स्वत्नत्र छन् ।

१९५० को सन्धि पश्चात् नेपाल र भारतबीचको आर्थिक साझेदारी अझ घनिभूत हुँदै गयो र भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार बन्यो । हालैसम्म वैदेशिक लगानी आउने देशहरुमा भारत नै प्रथम स्थानमा थियो । नेपाल र भारतबीचको सैनिक समझदारी पनि बलियो रहिआएको छ । नेपाली सेनाका धेरैजसो हतियार भारतबाट नै आउँछन् र दुईदेशका सेनाका बीच बेलाबेलामा संयुक्त अभ्यासहरु पनि हुने गरेका छन् ।

नेपालका लागि ‘चाइना कार्ड’ खेल्नु अहिलेका लागि त्यत्ति व्यवहारिक नहोला, तर चीन र नेपालबीच व्यापारका नयाँ अवसरहरु खुल्दै गएका छन् र दीर्घकालमा यसले भारतलाई सन्चो हुने छैन

नेपाल र भारतबीच सामाजिक, आर्थिक र धार्मिक सम्बन्धहरुका कारण निकै नजिकिएका छन् । तर,नेपालको भारतमाथिको निर्भरता र भारतको आफ्नो सानो छिमेकी प्रतिको अशंवेदनशीलताका कारण नेपालमा भारतविरोधी भावना उत्पन्न हुने गरेको छ ।

‘निहित स्वार्थ’ बाट सन्चालित समूहहरुका कारण पनि यो हुन गएको हो । नेपालका राजाहरुले भारतले प्रजातान्त्रिक शक्तिहरुलार्इ गरेको सहयोग पटक्कै मनपराउँदैनथिए र उनीहरु चीनको सहयोगमा भारतको प्रभाव कम गर्न चाहन्थे । राजनीतिक दलहरुले पनि मलजल गरेर भारतविरोधी भावनालाई सत्तापक्षकोविरुद्धमा प्रयोग गर्दै आएका छन् । ‘चाइना कार्ड’ खेलेर काठमाण्डौले आफूलाई अशुरक्षित ठान्ने भारतथि केही हदसम्म ‘लिभरेज’ लिएको छ ।

उदाउँदो चीन

चीनको दृष्टिकोणमा नेपालको महत्व तिब्बतसँग जोडिइको छ । त्यसैले अपेक्षितरुपमा चीनको नेपालसँगको सम्बन्ध नेपालमा हुने तिब्बती गतिविधिमाथि नियन्त्रण गर्नेमा केन्द्रित छ । चीन र भारतबीचको खस्कँदो सम्बन्धका कारण पनि चीनका लागि नेपाल महत्वपूर्ण हुन गयो ।

दलाई लामा र ठूलो तिब्बती समुदायलाई भारतले शरण दिनु र तिब्बतसँग धेरै नजिक रहेको नेपालमा भारत हावी हुनेले चीनमा भारतले परै क्षेत्रमा नै अस्थिरता ल्याउन सक्ने डर विकसित भयो । र यो नै चीनले भारतको नेपालमा प्रभाव घटाउन चाहनुको मख्य कारण बन्न पुग्यो । भविष्यमा भारतसँग यद्ध भइपरी आएमा नेपालको प्रयोग गर्न पनि चीन चाहन्छ । अन्तिममा चीन नेपाललाई दक्षिण एसियाको ठूलो बजारको ढोकाको रूपमा हेर्दछ ।

चीनले नेपालमा आफ्नो उपस्थिति विस्तारै बढाउँदै लगेको छ । कठिन भौगोलिक अव्स्थाका बावजुत चीनले बनाएका सामरिक महत्वका सडकहरुले नेपालसँगको व्यापार बढाउन मद्दत गरेको छ ।

सबैभन्दा महत्वपूर्ण कुरा: नेपाल, भारत र चीनसबैलाई फाइदा तब मात्र हुनेछ जब भारत र चीनले नेपाललाई दुई देश बीचको सेतुका रुपमा हेर्नेछन्, न कि एक अर्काको प्रभावका लागि लड्नुपर्ने रणभूमिका रुपमा

नेपालबाट सामान आयात गर्ने देशहरुमा चीन तेश्रोभइसकेको छ र १९६० पछि कोदारी राजमार्गलगायतका ठूला आयोजनमा पनि चीन संलग्न भएको छ । चीन नेपालमा वैदेशिक लगानी भित्र्याउनेमा पहिलो मुलुक भइसकेको छ ।  चीन र नेपालबीच सैनिक सम्बन्ध पनि बलियो हुँदै आएको छ ।

चीन-नेपाल सम्बन्ध भारत-नेपाल सम्बनधभन्दा धेरै फरक छ । चीन-नेपाल सम्बन्ध स्थिर छ किनभने चीनले नेपालमा जसले शासन गरे पनि राम्रो सम्बन्ध कायम राखिरहन्छ चाहे ती प्रजातान्त्रिक हुन् या नहुन् । भारतले भने नेपालमा राजतन्त्रवारिधिहरुलाई सहयोग गर्यो । यसैगरी नेपालमा ‘चीन विरोधी’ भावना निकै कम छ किनभने नेपाल र चीनका जनताबीच भारत र नेपालको तुलनामा खासै सम्पर्क हुँदैन ।

“नेपालीहरू चीन नेपालको आन्तरिक मामिलाबाट टाढै रहने” गरेका कारण उसलाई सम्मान गर्छन् । हाल आएर चीनले नेपालभर भाषा सिकाउने केन्द्रहरु खोल्दैछ, चीनको भाषा र संस्कृति प्रवर्धन गर्न ।

भारत फाइदामा ?

चीनले विस्तारै भारतको नेपालमा रहेको वर्चस्व घटाउँदैछ चाहे त्यो व्यापारमा होस् वा लगानीमा वा सेनामा । तर, चीनलाई सबैभन्दा फाइदा नेपालसँगको इन्धन सम्झौताले हुनेछ । भारतले गरेको ‘अघोषित नाकाबन्दी’ ले तराई बाहेक क्षेत्रमा भारतमाथिको निर्भरता कम गर्न आवाजहरु उठिरहेका छन् ।

नेपालले यस्तो सास्ती भोगेको यो पहिलोपल्ट भने होइन । सन् १९८८-८९ मा भारतको नाकाबन्दीका कारक बनेको थियो चीनसँग हतियार खरिद गर्ने गोप्य सम्झौता ।त्यसबखत चीनले भौगोलिक कठिनाइ र आर्थिक असामर्थ्यताका कारण नेपाललाई खासै सहयोग गरेको थिएन । तर, उसले नेपाललाई राजनीतिक समर्थन पनि खासै गरेन । उसले भारतको आलोचना त गर्यो तर निकै नबुझिने भाषामा । उसले नेपाललाई आफूबाट धेरै आश नगर्न र भारतसँग सम्ब्ध सुधार्न भनेको थियो ।

भारतले बुझ्नुपर्छ कि बलपूर्वक गरिने कूटनीति, चाहे त्यो घोषित होस् या अघोषित, यसको सीमा हुन्छ

सन् १९८९ र अहिलेमा चीन निकै शक्तिशाली भइसकेको छ र उसको नेपालसँगका सडकहरु पनि विकसित भइसकेका छन् । तर, कठिनाइ अझै पनि छन् । नेपाल-चीन व्यापार नेपाल-भारत व्यापारका तुलनामा निकै खर्चिलो छ । चीनले नेपालको दीर्घकालीन इन्धन माग पूरा गर्न सक्छ भन्नु अतिशयुक्ति मात्र हो । चीन अझै पनि भारतले भन्दा धेरै तेल नेपाललाई बेच्न सक्ने अवस्थामा छैन ।

नेपालले भारतबाट १.३७ अर्ब लिटर तेल किन्छ । चीन हालै दिएको तेल त मात्र १३ लाख लिटर हो । त्यति गर्नलाई पनि चीनलाई निकै कठिनाइ भोग्नुपरेको थियो ।

नेपालका एक विश्लेषक भन्छन्, ‘अरु कुनै देशले नेपालमा भारतको स्थान लिन सक्दैन । भारतको नेपालसँगको सामाजिक र ऐतिहासिक सम्बन्ध र दुई-तिहाइ व्यापार,यी एकै रातमा विस्थापन गर्न सकिन्न ।’

तर, त्योभन्दा महत्वपूर्ण कुरो हो: के चीनले नेपाललाई लिएर भारतलाई चिढ्याउला ? नेपालसँगको व्यापारमा हुने फाइदा चीनले भारतलाई चिढ्याउँदा हुने घाटा भन्दा निकै कम छ । भारतले नेपाललाई आफ्नो शुरक्षा क्षेत्र भित्र रहेको ठान्दछ र चीनको बढ्दो प्रभावलाई एक किसिमको घेराबन्दी ।

बेइजिङले सोचेर मात्र पाइला चाल्नुपर्ने छ, उसको गलत कदमले उसका विरूद्ध गठबन्धन तयार नहोला भन्न सकिन्न । र, यसले नयाँ दिल्लीलाई ‘लिभरेज’ प्रदान गर्दछ ।

अन्त्यमा

भारत नेपालमा फाइदाको स्थितिमा छ: भौगोलिक स्थितिको सन्दर्भमा । तर, ऊ चुप लागेर बस्ने अवस्था छैन । नेपालका लागि ‘चाइना कार्ड’ खेल्नु अहिलेका लागि त्यत्ति व्यवहारिक नहोला, तर चीन र नेपालबीच व्यापारका नयाँ अवसरहरु खुल्दै गएका छन् र दीर्घकालमा यसले भारतलाई सन्चो हुने छैन ।

चीन रेलमार्गलाई काठमाण्डौसम्म पुर्याउन चाहन्छ र नेपालले हुन्न भनेको छैन । त्यसले भारतको नेपालको विदेशिक व्यापारमा रहेको पकडलाई धेरै असर गर्नेछ

चीनले हिमालाय पारि द्रुत गतिमा पूर्वाधार विकास गरिरहेको छ । चाँडै नै बेइजिङले ट्रेनमा नेपाललाई इन्धन पठाउन सक्नेछ । चीन रेलमार्गलाई काठमाण्डौसम्म पुर्याउन चाहन्छ र नेपालले हुन्न भनेको छैन । त्यसले भारतको नेपालको विदेशिक व्यापारमा रहेको पकडलाई धेरै असर गर्नेछ ।

चीनलाई ‘काउन्टर’ गर्न भारतले आफ्नो पुर्वाधार सुधार गर्नु पर्नेछ ; भारत धेरै पछाडि छ यस मामलामा । तर, त्योभन्दा पनि महत्वपूर्ण छ दिल्लीले नेपालसँगकोसम्बन्ध सुधार्न ।

भारतको आफ्नो साना छिमेकीहरु माथिको ‘ठूल्दाइ’ रवैयाभारतलाई नै प्रत्युत्पादक भएको छ । भारतले बुझ्नुपर्छ कि बलपूर्वक गरिने कूटनीति, चाहे त्यो घोषित होस् या अघोषित, यसको सीमा हुन्छ । अन्त्यमा सबैभन्दा महत्वपूर्ण कुरा: नेपाल, भारत र चीनसबैलाई फाइदा तब मात्र हुनेछ जब भारत र चीनले नेपाललाई दुई देश बीचको सेतुका रुपमा हेर्नेछन्, न कि एक अर्काको प्रभावका लागि लड्नुपर्ने रणभूमिका रुपमा ।

(भारतीय पत्रकार शुधा रामचन्द्रनले चाइना ब्रिफमा लेखेको आलेखबाट साभार गरिएको)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?