Comments Add Comment

काठमाडौंलाई छोएन विप्लवको नेपाल बन्दले

banda-at-Kathmandu-2

१३ मंसिर, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आयोजना गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा देखिएको छैन । आइतबार बिहान केही-केही पातलो चलेका सवारी साधनहरु १० बजेपछि अरु दिनमा जस्तै सामान्य अवस्थामा चलेका छन् ।

काठमाडौं उपत्यका बाहिर भने केही ठाउँमा नेपाल बन्दको प्रभाव सामान्य देखिएको छ । भारतीय नाकाबन्दी राष्ट्रियतामाथिको हस्तक्षेप भएको र आमनागरिकको चुल्हो बल्न छाडेको विरोधमा बन्द गरिएको माओवादीले जनाएको छ ।

गाडीमा आगजनी र तोडफोड

कन्चनपुरको महेन्द्रनगरमा एचआर २६ जेड ०२२७ नम्बरको भारतीय नम्बर प्लेटको गाडीमा विप्लव माओवादीका कार्यकर्ताहरुले तोडफोड गरेका छन् । प्रहरीले तोडफोडमा संलग्न विप्लव माओवादीका जिल्ला कार्यालय सचिव राजेन्द्र विष्ट र अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य विरेन्द्र लुहारलाई पक्राउ गरेको छ । यसैगरी यातायातका साधन सञ्चालनमा अवरोध गरेको भन्दै सेती-महाकाली इञ्चार्ज डीडी पाण्डेसहित दिलबहादुर विक, निराजन बोहोरा र विष्णु उपाध्यायलाई पनि प्रहरीले पक्रेको छ ।

बर्दियामा बन्दको प्रभाव परेको छैन । सदरमुकाम गुलरियाका पसल खुल्ला छन् । सदरमुकामबाहेकका क्षेत्रमा बजार खुल्ला रहेको प्रहरीले जनाएको छ । सार्वजनिक यातायातका साधन पनि सञ्चालनमा रहेका छन् ।

बाँकेको नेपालगन्जमा बजार खुल्ला छ । तर, कोहलपुर-नेपालगन्ज सडकको पिप्रहवा भन्ने स्थानमा दुईवटा गाडीमा बन्दकर्ताले ढुंगा प्रहार गरेका छन् । विहान केहिबेर गाडीहरु चले पनि अहिले लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् । स्थानीय रुटमा चल्ने विद्युतीय रिक्सा र मोटरसाइकलहरु भने चलिरहेको अनलाइनखबरकर्मी आरपी सुवेदीले जानकारी दिए ।

Gulmi-Banda

  • सुनसान गुल्मी सदरमुकाम तम्घासको बजार । तस्वीर : अनिल खत्री

गुल्मीको जवजीवन बन्दका कारण बिहानैदेखि प्रभावित भएको छ । बन्द अवज्ञा गरेको भन्दै विप्लव माओवादीका कार्यकर्ताहरुले गौंडाकोटमा लु १ ख ७८८१ नम्बरको ट्रकमा तोडफोड गरेका छन् । कुखुराको दाना बोकेर गौंडाकोटबाट सदरमुकाम तम्घासका लागि छुटेको ट्रकमा माओवादी कार्यकर्ताले टोडफोड गरेका हुन् । उनीहरुले अरु दुईवटा ट्रकलाई नियन्त्रणमा समेत लिएको बताइएको छ ।

बन्दको कारण गुल्मीमा बजार, कलकारखाना, शैक्षिक संस्था बन्द भएका छन् । लामो तथा छोटो दूरी गाडी पनि चलेका छैनन् ।

चितवनमा आंशिक प्रभाव

चितवनमा बन्दको आंशिक मात्र प्रभाव परेको छ । इन्धन अभावका कारण कममात्रै सवारी साधन गुडेका कारण पनि बन्दको असर परेको जस्तो देखिएको छ । बन्दका कारण कलेजहरुमा विहानी सत्रको पढाइ हुन सकेन ।

धादिङको नलाङ-६ कालीदहमा बन्दकर्ताले इट्टा बोकेको एउटा ट्रकमा आगजनी गरेका छन् । विप्लव माओवादीका कार्यकर्ताहरुले ना ४ ख ७१३० नम्बरको ट्रकमा आगजनी गरेका हुन् । बन्दकर्ताले चालकलाई ट्रकबाट ओरालेर आगजनी गरेका थिए । आगजनीका कारण ट्रक पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

Truck-aagjani-at-Rautahat

  • बन्दकर्ताले रौतहटमा आगजनी गरेको ट्रक । तस्वीर : दिपेश पौडेल

रौतहटको चन्द्रनिगाहपुर गौरही जंगल क्षेत्रमा मालबाहक ट्रकमा आगजनी भएको छ । सुनसरीबाट बाँस लिएर काठमाडौंका लागि छुटेको ना २ ख ९७६४ नम्बरको ट्रक गौरहीको जंगल क्षेत्रमा अज्ञात समूहले आगजनी गरेको हो । आगजनी कसले र किन गर्‍यो भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

सप्तरीको पोर्ताहा गाविसमा पर्ने महौली पुलमा सिलिण्डर बम फेला परेका छन् । बम निष्कृय पार्न सेनाको टोली खटिएको छ । बम कसले राखेको भन्ने खुलेको छैन ।

मोरङको विराटनगरमा भारतीय गाडीमा आगजनी भएको छ । विराटनगर ११ स्थित दूतावासको सम्पर्क कार्यालय अगाडि पार्किङ गरेर राखिएको डब्लुबी २५ बी ९६०२ नम्बरको गाडीमा आगजनी भएको हो । कर्मचारीहरुका अनुसार बिगि्रएर थन्किएको गाडीमा आगजनी भएको हो । विराटनगरमा बन्दको प्रभाव खासै परेको छैन । सार्बजनिक र निजी गाडीहरु चलिरहेका छन् । मोटरसाइकलहरु पनि निर्वाध सञ्चालनमा छन् । इटहरी चोकदेखि विराटनगरको शनि मन्दिर क्षेत्रसम्म छोटो दुरीका सिटी सफारी पनि चलिरहेको विराटनगरबाट अनलाइनखबरकर्मी ध्रुव भट्टराईले जानकारी दिए ।

Dharan-Banda

  • भानुचोकमा अलपत्र परेका गाडीहरू । तस्वीर : गोपाल दाहाल

सुनसरीको धरानमा बन्दकर्ता देखिएका छैनन् तर मुख्य सडकका पसलहरु सबै बन्द छन् । आज विहानै पहाडतर्फ हिँडेका तीन मालबाहक ट्रक र दूध बोक्ने गाडीको केही व्यक्ति आएर बन्दकर्ता हौं भन्दै चाबी खोसेपछि गाडीहरु भानुचोकमा अलपत्र परेका छन् । भानुचोकमा बन्दकर्ताले राखेको एउटा झण्डामात्र देखिन्छ । वरिपरि कुनै बन्दकर्ता नभएपनि सडकमा मोटरसाइकल मात्र चलिरहेका अनलाइनखबरकर्मी गोपाल दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment