+
+

दुईवटा घर छन् ? प्रचण्ड भन्छन्- तपाईं राष्ट्रिय पूँजिपति !

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १७ गते १७:५५

Prachanda

१७ मंसिर, काठमाडौं । के तपाईंका दुईवटा घर छन् ? बहालमा पनि दिनुभएको छ कि ? यदि छ भने एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नजरमा तपाईं ‘राष्ट्रिय पूँजीपति’ को कोटीमा पर्नु भो !

प्रचण्डले पार्टी बैठकका लागि बनाएको दस्तावेजमा रमाइलो वर्ग विश्लेषण गरेका छन् । नेपाली समाजलाई पाँच वर्गमा विभक्त गर्दै उनले भनेका छन्, ‘कृषि पेशाको साटो वैदेशिक रोजगार, औद्योगीकरण, होटल, पर्यटन, बन्द व्यपार बैंकिङ रियल स्टेट र दलाली कार्यहरुको विकास भइरहेको छ र त्यहीअनुसार वर्गहरुको स्थितिमा हेरिफेर भइरहेको छ ।’

कोको हुन् दलाल र नोकरशाही ?

प्रचण्डको वर्ग विश्लेषणमा दलाल, नोकरशाही र पूँजीपति वर्गमा वैदेशिक पूँजीको लगानीमा ठूल्ठूला उद्योग सञ्चालन गर्नेहरुदेखि लिएर ठूला बैंकिङ कारोबारका सञ्चालकहरुसम्म पर्छन् ।

त्यसैगरी विदेशी बैंक र अन्य वैदेशिक कारोबारमा लगानी गर्नेहरु, बहुराष्ट्रिय कम्पनीका एजेण्टहरु, उच्च पदस्थ नोकरशाहहरु, कमिसनखोरीमा लागेका दलाल तथा ठूला आइएनजीओ सञ्चालकहरु पनि यसै वर्गमा आउँछन् ।

यति मात्र होइन, १० विघाभन्दा बढी जमीनका मालिकहरु, जो आफैं काम नगरी मजदूर लगाउने गर्छन् र घरजग्गाका ठूला कारोवारीहरुलाई पनि प्रचण्डले यही कोटीमा राखेका छन् । आजको नेपाली राजनीतिक नियम, कानून र कर्मचारीतन्त्रमा यही वर्गको हालिमुहाली रहेको उनको ठहर छ ।

राष्ट्रिय पूँजिपति र धनी किसान

अब दोस्रो वर्गमा जाउँ, जसलाई प्रचण्डले नामाकरण गरेका छन्, राष्ट्रिय पूँजिपति र धनी किसान वर्ग । कोको पर्छन् त यसमा ?

प्रचण्डका अनुसार ‘देशभित्रकै पुँजी कच्चा पदार्थ र श्रमशक्तिको प्रयोग गरी उद्योगधन्दा र व्यवसाय सञ्चालन गर्नेहरु, होटल तथा पर्यटन व्यवसायीहरु, ठूला कलेज र विद्यालय सञ्चालकहरु, यातायात व्यवसायीहरु, बैंकिङ र सहकारीका कारोवारीहरु, सहरमा घरघडेरीको व्यवसाय गर्ने तथा दुई वा सोभन्दा बढी घर बनाई बहालमा दिनेहरु यस वर्गमा पर्छन् ।

त्यस्तै पाँच विघासम्म जमीन भएका, मुख्यतः कामदार लगाएर पनि आफूसमेत काम गर्ने किसानहरुलाई नेपालको सन्दर्भमा सन्दर्भमा धनी किसान मान्नुपर्ने प्रचण्डको तर्क छ ।

‘गैर आवासीय नेपालीमध्ये अत्यन्त राम्रो कमाइ गरी नेपालमा विभिन्न क्षेत्रमा लगानी गरी सुविधा सम्पन्न जीवनयापन गर्ने वर्गलाई पनि राष्ट्रिय पूँजिपतिमा गणना गर्नुपर्छ,’ उनले दस्तावेजमा लेखेका छन् ।

निम्न पुँजिपति

तेस्रो वर्गमा आउँछन् निम्न पुँजिपति तथा मध्यम किसान । यसमा मध्यमखालका किसान र व्यपारीहरु, मध्यम खालकै वैदेशिक रोजगारवाला, प्राध्यापक, शिक्षक, कर्मचारी, साना उद्योगी, सामान्य होटल तथा पर्यटन व्यवसायी पर्छन् ।

नेपालमा यो वर्गको संख्या सबैभन्दा ठूलो रहेको भन्दै प्रचण्डले लेखेका छन्, ‘क्रान्ति र परिवर्तनको आन्दोलनमा केहि ढूलमूल र सुधारवादी रुझान राखे पनि यो वर्ग महत्वपूर्ण मित्र शक्ति हो ।’

चौथो वर्ग

प्रचण्डको वर्गीकरणमा गरिब किसान तथा सहरीया निम्न वर्ग चौंथो नम्बरमा आउँछन् । जमिनको कमाईबाट वर्षभरि खान नपुग्ने, उच्च शिक्षा, राम्रो स्वास्थ्योपचार र राम्रो रोजगारीबाट वञ्चित किसानहरु र सहरमा फुटपाथमा साना पसल गर्ने, साना कुटीर उद्योग चलाउने, न्यून वैतनिक कर्मचारी तथा वर्षेनी ऋणको भार थपिँदै जाने वर्ग यस श्रेेणीमा आउँछन् ।

क्रान्ति र परिवर्तनका निम्ति यो भरपर्दो शक्तिभित्र पर्ने प्रचण्डको ठम्याइ छ ।

क्रान्तिकारी अर्थात् गरीबहरु

अन्तिममा आउँछन् औद्योगिक मजदूर तथा भूमिहीन किसान एवम् कृषि मजदुर । प्रचण्डले यो वर्गको लामै व्याख्या गरेका छन् । यस वर्गमा तराई तथा पहाडी गाउँका कृषि मजदुर, आफ्नो स्वामित्वमा जमिन नभएका अरुको जमिन अँधिया ठेक्का कमाउनेहरु, घरेलु कामदार, शहरमा भारी बोक्ने गिट्टी कुट्ने सफाइ गर्ने यातायात उद्योग, होटल पर्यटन आदिमा काम गर्ने मजदुर पर्छन् ।

‘मजदूरमा पनि संगठित क्षेत्र र असंगठित, दक्ष र अर्द्धदक्षअनुसार सुविधान पनि फरक-फरक रहेको पाइन्छ । नेपालमा संगठित क्षेत्रमा काम गर्ने मजदूरहरु स्थाई हुने संचयकोष, बालबालिकाको पढाई आदि सुविधाहरु पाएको देखिन्छ ।

उनीहरुको जीवनस्तर निम्न पूँजिपतिको जस्तो छ । तर असंगठितहरुको स्थिति दयनीय छ’ प्रचण्ड भन्छन् ।

यस वर्गका बारेमा प्रचण्डको निस्कर्ष छ, ‘यो वर्ग क्रान्तिकारी वर्ग हो, तर आर्थिक कठिनाईको कारण विभिन्न प्रलोभनमा फसेर क्रान्तिमा एकजुट हुने र टिक्ने गरेको पाइँदैन ।’

वर्ग विश्लेषणमा प्रचण्डले राजनीतिमा लागेका र त्यहीँबाट कमाइ खाने नेता तथा कार्यकर्ताहरु कुन वर्गमा पर्छन् भन्ने चाहिँ उल्लेख गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?