Comments Add Comment

सरकारले वार्ता भाँड्न खोज्यो, हामी दिल्ली जाँदैछौं: मधेसी मोर्चा

फाइल तस्वीर
फाइल तस्वीर

१९ मंसिर, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकार आफैंले वार्ता भाँड्न खोजेको आरोप लगाएको छ । मुलुकको समसामयिक राजनीतिक घटनाक्रम र परिस्थितिबारे भारतका नेताहरुसँग छलफल गर्न मोर्चाका चार शीर्ष नेता भारत जान लागेको मोर्चाले जनाएको छ ।

मोर्चाका शीर्ष नेताहरुले शनिबार विज्ञप्ति जारी गर्दै जनतामा भ्रम छर्न मात्रै सरकारले वार्ताको नाटक गरेको आरोप लगाएका छन् । वार्ता प्रक्रिया चलिरहेका बेला सर्लाहीको नवलपुरमा मंसिर १७ गते प्रहरीले दमन गरेको र घटनामा एकजनाको मृत्यु हुनुका साथै २७ जना घाइते भएको मोर्चाले जनाएको छ ।

मधेसी मोर्चाका शीर्ष नेताहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ-‘जनतामा भ्रम छर्न सरकारले वार्ताको नाटक गरे पनि शान्तिपूर्ण आन्दोलनमा दमन गरी सरकारले नै वार्ता भाँड्न खोजिरहेको हाम्रो ठहर छ ।’

नवलपुरमा आयोजित विरोध सभामा राष्ट्रिय मानवअधिकार आयोगको गाडीमा भएको तोडफोड तथा आगजनीको घटनाप्रति पनि मधेसी मोर्चाले आफ्नो ध्यानाकर्षण भएको बताएको छ ।

घटनाप्रति दुःख व्यक्त गर्दै मोर्चाले मानवअधिकारको रक्षा र सम्मानप्रति पूर्णरुपमा प्रतिबद्ध रहेको बताएको छ । विज्ञप्तिमा भनिएको छ-‘एम्बुलेन्स सेवा, रेडक्रस, विदेशी कूटनीतिज्ञ, प्रेस, दमकल, शव बाहन, औषधि र मानवअधिकार लगायतका सवारी साधनहरु निर्वाध रुपमा चल्न दिई र आवश्यक परेको खण्डमा सहयोग समेत गरिदिनुहुन मोर्चा आहृवान गर्दछ ।’

मधेसी मोर्चाले भारतका विभिन्न राजनीतिक दलका नेताहरुसँग मुलुकको समसामयिक राजनीतिक घटनाक्रम र परिस्थितिबारे विचार आदान-प्रदान गर्न चार नेता आइतबार भारतको नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको प्रेस विज्ञप्तिमार्फत औपचारिक रुपमा जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment