+
+

मधेसी मोर्चाको आक्रोसः सरकार र विपक्षीको झगडामा हाम्रो एजेण्डा हरायो

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २७ गते १७:०४

laxmanlal karna

२७ मंसिर, काठमाडौं । तराई मधेसमा आन्दोलन गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकार र प्रमुख विपक्षीको झगडामा आफ्नो एजेण्डा छायाँ परेको भन्दै आक्रोस पोखेको छ ।

सरकार, कांग्रेस र मधेसी मोर्चाका पछिल्ला वार्ताहरुमा व्यवस्थापिका संसदको अवरोध हटाउने विषयले बढी प्राथमिकता पाएको छ । मधेसी मोर्चाले अघि सारेको ११ बुँदे मागबारे भने छलफल नै हुन छोडेको छ ।

आइतबार सिंहरदरवारमा भएको त्रिपक्षीय वार्तामा पनि आफ्नो एजेण्डामा छलफल नभएपछि मोर्चाका नेताहरु आक्रोस पोखेका छन् । तीन वटा वार्तामा छलफल गरेको भए सहमति भइसक्थ्यो भन्दै मोर्चाका नेताहरुले सरकारले नै नाकाको अवरोध जारी राखेको आरोप लगाएका छन् ।

मधेसी मोर्चाका वार्ता टोली सदस्य लक्ष्मणलाल कर्णले भने-‘छिट्टै वार्ताबाट समाधान गर्ने भनेर हामी दौडिएर आउँछौं । तर, कांग्रेस र सरकारको झगडामा हाम्रो एजेण्डा हराएको छ ।’

उनका अनुसार पछिल्लो तीन वटा वार्तामा मोर्चाको मागभन्दा सदनको अवरोध हटाउनेबारे छलफलले प्राथमिकता पाएको छ । ‘सरकार र विपक्षीको झगडामा यसको (११ बुँदेमागको) चर्चा नै भएन’ मोर्चाका नेता कर्णले भने-‘चर्चा के भने भने संसद खोल्ने कसरी ?’

भिडियो

लगातार संसद अवरुद्ध पार्दै आएको मधेसी मोर्चाले बिहीबार नै भूकम्प पीडितहरुसँग प्रत्यक्ष सरोकार राख्ने प्राधिकरण विधेयक पास गर्न दिने बताएको थियो । र, उ पूर्व सहमतिमा कायमै छ । कर्णले भने-संसद अवरुद्ध छ, हामी गर्छौं । तर, एउटा विषयका लागि हामी खोल्छौं ।’

संविधान संशोधन विधेयक मान्दैनौं

तर, कांग्रेसले पुनर्निर्माणसँगै संविधान संशोधन विधेयक एकसाथ ल्याउनु पर्ने अडान राखेको छ । बिहीबार संसद नै अवरुद्ध पारेको कांग्रेस आफ्नो अडानमा कायमै रहेपछि आइतबार पनि सहमति जुटेन ।

मधेसी मोर्चाले भने कांग्रेस नेतृत्वको अघिल्लो सरकारले ल्याएको विधेयक मान्य नभएको बताएको छ । किन त भन्ने प्रश्नमा कर्णले भने-‘त्यसले मधेस, जनजाति, मुस्लिमको समस्या समाधान गर्दैन । जसले समस्या समाधान हुँदैन, त्यसलाई टेबल गर्ने ? हामी मान्दैनौं ।’

मधेसी मोर्चाले संशोधन प्रस्ताव परिर्माजन गर्नु पर्ने र अन्य मागमा प्याकेजमा गर्नु पर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?