Comments Add Comment

सुरुङमार्गका नाममा १० देशबाट ३ करोड ६८ लाख संकलन

kathmandu-hetauda tunnel

पुष्प दुलाल

१ पुस, काठमाडौं । सन् २०१६ अर्थात् ०७३ सम्म काठमाडौं-कुलेखानी-हेटौंडा सुरुङमार्ग निर्माण गरिसक्ने भन्दै नेपाल पूर्वाधार विकास कम्पनी (एनपीबीसीएल)ले विदेशमा रहेका नेपालीहरुसँग करोडौं रकम उठायो । तर, अहिलेसम्म आयोजना निर्माणको सुरसार नै गर्न सकेको छैन ।

कम्पनीले १० वटा देशमा रहेका १ सय ८३ जना नेपालीहरुबाट ३ करोड ६८ लाख रुपैयाँ प्रवर्द्धक सेयर उठाएको छ । बेल्जियम, जर्मनी, अमेरिका, दक्षिण अफ्रिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, रुस, दक्षिण कोरिया, अफगानस्थान र जापानमा रहेका नेपालीहरुबाट कम्पनीले संस्थापक सेयर उठाएको हो ।

संस्थापक सेयरका लागि कम्पनीले हालसम्म ३२ करोड रुपैयाँ उठाएको एनपीबीसीएलका प्रमुख कार्यकारी अधिकृत डा. सुवर्ण बज्राचार्यले अनलाइनखबरलाई बताए । ३२ करोडमध्ये २८ करोड ३२ लाख रुपैयाँ देशमै रहेका र ३ करोड ६८ लाख रुपैयाँ विदेशमा रहेका नेपालीहरुबाट प्रवर्द्धक सेयर उठाइएको उनले जानकारी दिए ।

कम्पनीले अभियान नै सञ्चालन सर्वसाधारण जनतासँग प्रवर्द्धक सेयर उठायो । अधिकांश देशमा कम्पनीका अध्यक्ष कुशकुमार जोशी नै पुगेर पैसा उठाए ।

आफ्नो देशको विकास हुने र राम्रो प्रतिफल आउने भनेपछि विदेशी भूमिमा पसिना बगाएर कमाएको रकम कम्पनीमा लगानी त गरे । तर, कम्पनीले आयोजना निर्माण गर्न आवश्यक पुँजी जुटाउन सकेन ।

यतिखेर कम्पनीमा देश र विदेशबाट दैनिकजसो आफ्नो लगानी फिर्ता माग्दै फोन आउँछ । कम्पनीका कर्मचारीहरुले केही महिना धैर्य गर्नुहोस्, खुसीको कुरा सुन्न पाउनु हुने छ, तपाईको पैसा डुब्दैन भन्ने उत्तर दिने गरेका छन्

सरकारले ०७० जेठमा कम्पनीलाई एक वर्षभित्र आयोजनाको वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) गर्न भनेको थियो । तर, कम्पनीले हालसम्म पनि फाइनान्सियल क्लोजर गर्न नसक्दा आयोजनाको इजाजत नै धरापमा परेको छ ।

क्यानेडियन कम्पनी एक्सपी सर्भिससँग ०७१ भदौमा २८ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता गरियो । तर, क्यानेडियन कम्पनीले हात झिक्यो । यतिखेर कम्पनी अन्य देशका लगानीकर्ता खोज्दै भौंतारिइरहेको छ । केही चाइनिज कम्पनीसँग लगानीका लागि कुरा भइरहेको कम्पनीका सीइओ बज्राचार्य बताउँछन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका ‘हाइ पब्लिक फिगर’ जोशीको विश्वास गरेर लगानी गर्ने लगानीकर्ताहरु यतिबेला पैसा डुब्यो भन्दै चिन्तित भएका छन् ।

यतिखेर कम्पनीमा देश र विदेशबाट दैनिकजसो आफ्नो लगानी फिर्ता माग्दै फोन आउँछ । कम्पनीका कर्मचारीहरुले केही महिना धैर्य गर्नुहोस्, खुसीको कुरा सुन्न पाउनु हुने छ, तपाईको पैसा डुब्दैन भन्ने उत्तर दिने गरेका छन् ।

तर, कम्पनीको उच्च व्यवस्थापनबाट सर्वसाधारणको चिन्ता सम्बोधन गर्नेगरी सार्वजनिक अभिव्यक्ति नआउँदा आफूहरु थप चिन्तित भएको कोरियामा रहेका नेपाली लक्ष्मण गिरीले गुनासो पोखे ।

कुल ५८ किलोमिटर लामो यो सुरुङ मार्ग बनाउन ३५ अर्ब रुपैयाँ लागत लाग्ने कम्पनीको अनुमान छ । आयोजना सम्पन्न भएपछि काठमाडौंबाट एक घण्टामै हेटौंडासम्मको यात्रा गर्न सकिने भन्दै ०६९ मा आयोजनाको शिल्यानास समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment