Comments Add Comment

नेपाल र चीनबीच ८ बुँदे सहमतिः पेट्रोल र ग्यासको दीर्घकालीन व्यापार गर्ने

Nepal-and-China

१० पुस, काठमाडौं । नेपाल र चीनबीच पेट्रोल र ग्यासको दीर्घकालीन व्यापार गर्नेसहितका ८ बुँदे सहमति भएको छ ।

उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा र नेपाल र चीनका विदेशमन्त्री वाङ यीबीच बेइजिङमा शुक्रबार वार्ता भएको छ ।
भेटमा आठबुँदे सहमति भएको छ ।

सहमतिको चौथो बुँदामा भनिएको छ-दुई देशका व्यवसायीबीच पेट्रोल र ग्यासको दीर्घकालीन व्यापार प्रोत्साहन गरिनेछ । दीर्घकालीन दृष्टिकोणबाट हेरेर नेपालमा उर्जा अभाव समस्याको समाधान गर्ने उपायबारे नेपालसँग छलफल गर्ने इच्छा चीनले राखेको छ ।’

व्यापार तथा पारवहनका लागि नेपालले राखेको प्रस्तावलाई चीनले सकारात्मक रुपमा लिएको छ । सम्झौतामा छैटौं बुँदामा व्यापारिक प्रयोगका लागि सीमा पार ढुवानी सन्धीमा हस्ताक्षर गर्न दुबै पक्षले सक्रियताका साथ अनुसन्धान गर्ने उल्लेख छ ।

सातौं बुँदामा स्वतन्त्र व्यापार क्षेत्र स्थापना गर्ने सम्भावनालाई अध्ययनलाई चाडैं सुरु गर्ने उल्लेख रहेको चिनियाँ रेडियो सीआरआईले जनाएको छ ।

प्रधानमन्त्रीलाई चीन भ्रमणको निम्तो

चीनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको निम्तो दिएको छ । आगमी वर्ष अनुकूल समयमा चीन भ्रमण गर्न स्वागत गरेको र चिनियाँ नेताले नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गरेको सम्झौतामा उल्लेख छ ।

नेपाल र चीनबीच भएको ८ बुँदे सम्झौता

१. आपसी उच्चस्तरिय आदानप्रदानलाई निरन्तरता दिँदै जाने सहमति दुवै पक्षबीच भएको छ । चीनले नेपालका प्रधानमन्त्री के.पी.ओलीलाई आगामी वर्ष अनुकूल समयमा चीनको भ्रमण गर्न स्वागत गरेको छ र चिनियाँ नेताले नेपालको भ्रमण गर्ने इच्छा पनि व्यक्त गरेका छन् ।

Nepal-and-China-1

२. नेपालमा प्रकोपपछिको पुनर्निर्माणलाई तीव्र पार्न दुवै पक्षले मतैक्यता हासिल गरेका छन् । अरनिको राजमार्गको मर्मत-सम्भार तथा पुनः संचालनमा ल्याउन प्राथमिकता दिइनेछ ।

३. आपसी व्यापार तथा लगानी सहयोगको प्रबर्द्धन गरिने छ । चीनले आवश्यक शर्त सिर्जना गरेर नेपाली उत्पादित वस्तुलाई सकेसम्म भित्र्याउने छ। साथै नेपालको आफ्नो विकास रणनीति वमोजिम, नेपालको अवस्था अनुकूल औद्योगिक प्रणालीको स्थापना गर्न चीनले सहयोग गर्ने छ ।

४. दुई देशका व्यवसायीहरु बीच पेट्रोल तथा ग्याँसको दीर्घकालीन व्यापार गर्न प्रोत्साहन गरिने छ । दीर्घकालीन दृष्टिकोणबाट हेरेर नेपालमा ऊर्जा अभाव समस्याको समाधान गर्ने उपायबारे नेपालसँग छलफल गर्ने इच्छा चीनले राखेको छ ।

५. अन्तर्देशीय व्यापारको लागि अझ धेरै सुविधा प्रदान गर्ने सहमति जनाइएको छ । वर्तमान नाकालाई पुनः प्रयोगमा ल्याउने आधारमा निश्चित भैसकेका अन्य नाका छिटो खुलाइनेछ । साथै अन्तर्देशीय व्यापार तथा सहयोग गर्ने सम्भावनाको पनि विश्लेषण गरिने छ ।

६. व्यापारिक प्रयोगको लागि सीमा पार ढुवानी सन्धिमा हस्ताक्षर गर्न दुवै पक्षले सक्रियताका साथ अनुसन्धान गर्ने छन् ।

७. स्वतन्त्र व्यापार क्षेत्र स्थापना गर्ने सम्भावनाको अध्ययनलाई चाँडै नै शुरु गरिने छ ।

८. मानवीय आदानप्रदानलाई वृद्धि गरिने छ। भूकम्पका कारण चिनियाँ नागरिकलाई नेपाल भ्रमणमा जारी गरिएको सतर्कता हटाइएको छ । हालसम्म सो अवस्थामा सुधार भैसकेको छ र चिनियाँ पर्यटकहरुलाई स्वागत गर्न नेपाल तत्पर भैसकेको छ । आजैदेखि चीनको कन्सुलर सेवा वेभसाइटमा भूकम्पको कारण चिनियाँ नागरिक नेपालको भ्रमण गर्ने सुरक्षा सुझावलाई खुकुलो पारिएको छ । यो नै चिनियाँ नागरिकले गर्ने नेपाल भ्रमण सामान्यीकरण भएको प्रतीक पनि मानिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment