+
+
Shares

सिमेन्टको अधिकतम खुद्रा मूल्य तोक्ने कोसिस गरिरहेका छौं

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष २४ गते १२:००

Sagar Devkota

मुलुकका ठूला सिमेन्ट उद्योगमध्येमा पर्छ शिवम सिमेन्ट । ओपीसी श्रेणीको सिमेन्ट उत्पादनमा त शिवम नम्बर एक स्थानमा छ । भूकम्प र नाकाबन्दीका कारण करिव सात महिनायता शिथिल रहेको बजारमा हालै शिवम्ले ‘५० कै दाममा ५५ केजी सिमेन्ट’ दिने योजना ल्याएपछि तरङ्ग आएको छ ।

स्थापित र ठूलो क्षमताको सिमेन्टले दैनिक उपभोग्य वस्तुमा जस्तै आक्रामक योजना किन ल्याउनु परेको हो ? के यसले सुस्ताएको बजारलाई गति दिन मद्दत गर्ला ? शिवम् सिमेन्टका बजार ब्यबस्थापन मामिला हेर्ने उपाध्यक्ष साजन देवकोटासँग अनलाइनखबरका लागि नविन अर्यालले गरेको कुराकानी-

नाकाबन्दीका कारण सिथिल भइरहेको बजारमा तपाइहरु आक्रामक प्रोमोसनमा आउनुभयो । सुस्त बजारलाई जगाउने कोसिस हो कि, बजार तातिसकेको हो ?

एउटा रफ्तारमा निर्माण क्षेत्र अगाडि बढिरहेको थियो । त्यही बेलामा भूकम्प आयो । भूकम्पले धनजनको क्षतिमात्र भएन, मनस्थितीमा समेत ह्रास आयो । मानिसलाई लागेको थियो, भूकम्पपछि निर्माण जगतमा क्रान्ती नै आउने छ ।

तर, त्यस्तै हुँदैन । हाम्रो जस्तो गरिव मुलुकमा दुई/चार जना धनी भएर देश धनी त हुँदैन । हामी त गरिव नै छौं । नेपालमा उखानै बनेको छ, जिन्दगीमा एउटा घर बनाउनुपर्छ । एउटा घर बनाउनु नै हामी नेपालीको सपना हो । बल्लतल्ल बनाएको घर भत्किएपछि तुरुन्तै अर्को नयाँ घर बनाउन गाह्रो हुन्छ ।

एकपटक ठूलो भूकम्प आएपछि अर्कोपटक पनि आउँछ रे भनेपछि कोही पनि घर बनाउनतर्फ लागेनन् । भूकम्पले ठूलो क्षति भएपछि सरकारले तत्कालै घरको नक्सा पास रोकेर घर बनाउन नयाँ मापदण्ड बनायो, जुन आवश्यक थियो । नक्सा पास नै बन्द भएपछि केही समय घर बन्ने कुरै भएन । यही कारण निर्माण जगत संकुचित भएर बस्यो ।

त्यहिबेलामा अर्को विपत्ती आइलाग्यो, नाकाबन्दी । यो विपत्ती आइलागेपछि सम्पूर्ण क्षेत्रमा आर्थिक प्रभाव पर्‍यो । भूकम्पले काम रोकिँदा निर्माण व्यवसायीको पनि आर्थिक अवस्थामा समस्या आइसकेको थियो, महंगीले गर्दा सर्वसाधारण मानिसको आर्थिक अवस्था पनि खस्किन थाल्यो । चाहे ठूलो प्रोजेक्ट होस, चाहे सानो, कोही पनि निर्माण क्षेत्रमा सक्रिय हुन सकेनन् ।

हामीले मार्केट वाच गर्दा के पायौं भने घर बनाउँदा सिमेन्टको भाउ के छ ? रडको भाउ के छ ? भनेर हेर्दा रहेछन् । निर्माण जगतमा सिथिलता आउनुको एउटा कारणमा सिमेन्टको भाउ पनि रहेछ । भाउ त बढ्नु नै थियो, किनभने उद्योगको खर्च बढिसकेको थियो । तर, रडको भाउ बढेको थिएन, त्यो स्टक गर्न सकिन्थ्यो, सिमेन्ट स्टक गर्न मिल्दैन ।

हामीले सिमेन्टमा केही सहुलियत दिने हो भने निर्माण जगत फेरी चलमलाउँछ कि भन्ने लाग्यो । हामीले आक्रमक क्याम्पेन भन्दा पनि ग्राहकलाई राहत दिनका लागि यस्तो स्किम ल्याएका हौं । यसलाई व्यवसायीक सामाजिक उत्तरदायित्व सँगसँगै क्याम्पियनका रुपमा अगाडि बढाएका हौं ।

मूल्य बढ्नुमा कालोबजारी नै हो भन्न मिल्दैन । चिया पसलदेेखि पत्रिका पसलसम्मले सिमेन्टको व्यापार गरे । त्यसले गर्दा पनि मूल्य बढेको हो ।

तपाइँहरुले ५० केजीकै दाममा ५५ केजी सिमेन्ट दिने स्किम ल्याउनुभएको छ । सिमेन्ट उद्योगमा सम्भवतः यो संसारमै नौलो कोसिस होला । यस्तो योजना ल्याउने सोंच कसरी बनाउनुभयो ?

हामीले पढेको पनि हो, भोगेको पनि । बिजनेशमा क्याल्कुलेटेड लष्ट त हुन्छ नै । तर, जहाँ रिस्क हुन्छ, त्यहाँ धेरै फाइदा पनि हुन्छ । तत्काललाई रिष्क लिएपछि त्यसको दीर्घकालिन फाइदा हुन्छ । आजको दिनमा सिवम् सिमेन्टले अलिकति पृथक भएर हिँड्नुपर्छ । अरुले गरेको भन्दा अर्कै ढंगले अगाडि बढ्नुपर्छ भनेर काम गर्‍यो । अहिलेसम्म  सिमेन्ट जगतमा कसैले पनि ग्राहकलाई सहुलियत दिन सकेका थिएनन् । कसैले सोँचेको पनि थिएन ।

यो क्याम्पियन चलाउने वित्तिकै नाफा खोज्ने होइन । बिजनेश आजलाई मात्र गर्ने त होइन, भोलीका दिनमा त पक्कै राम्रो हुन्छ । पाँच वर्षपछि पनि शिवम्ले यस्तो पनि गरेको थियो है भनेर सम्झने ठाउँ रहन्छ । ब्रान्ड भ्यालु त पक्कै पनि बढाउँछ । भोल्यूम ओरेन्टेडमात्र नभएर ब्रान्ड ओरेन्टेड, सिएसआर ओरेन्ट भएर यो क्याम्पियन चलाएका हौं ।

अहिले बजारमा सिमेन्टको भाउ बढेको छ । तपाईले ५० केजीको मूल्यमा ५५ केजी सिमेन्ट दिने नाकाबन्दी अघिको भाउमा हो कि अहिलेको भाउमा हो ?

हामीले ग्राहकलाई अहिलेको भाउमा ५ केजी सिमेन्ट बढी दिएका हौं । सिमेन्टको युनिभर्सल मूल्य हुँदैन । फरक ठाउँमा सिमेन्टको मूल्य फरक हुन्छ । सिमेन्टमा ढवानी भाडा जोडेपछि मात्र उपभोक्ता मूल्य तोकिने हो । बढी भाडा लाग्ने ठाउँमा बढी मूल्य पर्छ, कम भाडा लाग्ने ठाउँमा कम मूल्य पर्छ । हामीले धेरै भाडा लाग्ने ठाउँमा केही सहुलियत त दिएका हुन्छौं । तर, त्यो प्रयाप्त हुँदैन ।

अरु बस्तुको जस्तै सिमेन्टमा ठ्याक्कै एमआरपी हुँदैन । हामीले अधिकतम खुद्रा मूल्य -एमआरपी) तोक्नका लागि गृहकार्य गरिरहेका छौं । हुन सक्छ भोलि सिमेन्टको पनि एमआरपी तोकिन सक्छ । हामी एउटै मूल्य तोक्नका लागि कोसिस गरिरहेका छौं ।
नाकाबन्दी यता सिमेन्टका भाउ किन यति धेरै बढेको हो ? ६ सय रुपैयाँ बोरा पर्ने सिमेन्ट ८ सय/९ सय रुपैयाँसम्म बेचेको पाइयो । तपाईहरुले नै मूल्य बढाएको हो कि बिचौलियाले ?

मूल्य बढ्नुमा कालोबजारी नै हो भन्न मिल्दैन । नाकाबन्दीपछि दशैंअघिदेखि अहिलेसम्म सिमेन्टको माग र आपूर्तिमा धेरै अन्तर हुन पुग्यो । नेपालीको इच्छा हुन्छ दशैंमा जसरी पनि नयाँ घरमा सरौं । सिमेन्टको माग १० गाडीको छ, हामीसँग ४ गाडीमात्र छ । त्यहाँ ग्याप भयो । फेरी डिजेलको यस्तो अभाव छ, हामीसँग ४ गाडी सिमेन्ट छ, ढुवानी गर्न २ वटामात्र गाडी छन् ।

त्यो गाडीको भाडा यसरी बढ्यो । १० गाडीको माग छ, ४ गाडी सिमेन्ट छ, ढुवानी गर्न दुईवटा गाडी छन् । ग्राहकले भने मलाई सिमेन्ट चाहिन्छ, म जति रकम पनि तिर्न तयार छु । एउटा भाउ बढ्नुको कारण पनि यो हो । कम्पनीले त लागत अनुसारको भाउ बढाएको हो ।

अर्को कुरा हाम्रा डिलरहरुले पनि खासै बढाएर बेचेका छैनन् । यो संकटमा बजारमा चिया पसलदेेखि पत्रिका पसलसम्मले सिमेन्टको व्यापार गरे । सिमेन्टको बोरो ग्राहकको हातसम्म पुग्न धेरै लामो च्यानल पार गर्नुपर्दा पनि भाउ स्वतः बढ्न पुगेको हो । त्यहि भएर हामी उद्यमी एमआरपीको धारणामा जान खोजेको हो ।

सहुलियत दिएर निर्माणमा अग्रसर बनाउन हामीले यस्तो स्किम अगाडि सारेका हौं । सम्पूर्ण अवस्था सहज भएपछि सधै यस्तो स्किम दिइरहन सकिदैन होला ।

तपाइँहरु कहिलेसम्म यसरी पाँच केजी बढि सिमेन्ट दिनुहुन्छ ? यो एकाध महिनाका लागि हो कि, लामै समय ग्राहकलाई पि्रभिलेज दिने योजनामा हुनुहुन्छ ?

जसरी उद्योगको ब्रेक इभेन हुन्छ, त्यसैगरी स्किमको पनि ब्रेक इभन हुन्छ । हामीले ठूलो स्किम ग्राहकलाई दिने कोशिस गरेका छौं । सबैभन्दा पहिला ग्राहकहरु यो स्किमबाट कति लाभान्वित हुन्छन्, कति सन्तुष्टि पाउँछन् । त्यो हेर्छौं । अर्को कुरा हामीले यति परिमाणसम्म स्किम लागू गर्ने भनेका हुन्छौं । त्यो परिमाण सकिएपछि ग्राहकबाट कस्तो आवाज आउँछ, त्यसअनुसार परिमाण बढ्न पनि सक्छ या रोकिन सक्छ ।

यदि स्किम रोकियो भने भोलीका दिनमा यस्तै ग्राहक योजना ल्याउँछौं । ग्राहकले प्रत्यक्ष लाभ लिने स्किममा हामी जोड दिन्छौं ।

भोली नाकाबन्दी खुलेर सहज हुन थाल्यो भने त पूर्ण प्रतिस्पर्धात्मक बजारमा सिमेन्टको भाउ घटिहाल्ला । अहिले पनि ग्राहकलाई सहुलियत दिएर निर्माणमा अग्रसर बनाउन हामीले यस्तो स्किम अगाडि सारेका हौं । सम्पूर्ण अवस्था सहज भएपछि लगातार यस्तो स्किम दिन त नसकौंला ।

तपाई स्किम ल्याएको पनि १५ दिन नाघिसकेको छ । ग्राहकबाट कस्तो फिडब्याक आइरहेको छ ?

यो स्किमबाट हामीले राम्रो फिडब्याक पाइरहेका छौं । कसैले पनि घर बनाउँदा जिन्दगीभरीको कमाई लगानी गरेको हुन्छ । ग्राहकसँग घर बनाउँदा जहिले पनि रकमकै अभाव हुन्छ । कतिपयले त आफु टाट पल्टिएर भएपनि घरमा लगानी गर्छन् । यस्ता ग्राहकका लागि ५/१० रुपैयाँ पनि ठूलो हुन्छ । हामीले त कम्तिमा एउटा बोरामा १० प्रतिशत अर्थात करिव सय रुपैयाँजति छुट दिएका छौं । हामीले ग्राहकलाई सहुलियत दिन खोजेका हौं । ग्राहकले सकरात्मक लिए भने हामी स्किम तन्काउन प्रयत्न गर्छौं ।

शिवम् सिमेन्टले उपभोक्ताको ध्यान राम्रै खिचिरहेको थियो । तर, यो आक्रामक योजनाले तपाईहरु मागको प्राकृतिक बृद्धिभन्दा पनि अलिक छलाङ मार्न खोजेको देखिन्छ । माग बढ्दा धान्न सक्नुहुन्छ ?

हामीले कतिसम्म आपूर्ति गर्न सकिन्छ, गृहकार्य गरेर यो स्किम ल्याएका हौं । हामीलाई थाहा छ, यो स्किमले हामीलाई उत्पादन बढाउन दबाव पक्कै दिन्छ । भोल्यूम राइज त गर्छ नै ।

तपाईले भन्नुभयो, ब्रान्डमाथिको विश्वास । म भन्छु, ब्रान्ड भनेकै विश्वास हो । कुनै पनि बस्तु तब ब्रान्ड बन्छ, जब त्यसमाथि विश्वास हुन्छ । जीवनमा एकपटक प्रयोग गर्ने वस्तुमा विश्वास नै ९० प्रतिशत हाबी हुन्छ । बिश्वासले नै ब्रान्ड बनाउँछ ।

अहिले नाकाबन्दीका कारण शिवमको प्लान्ट संचालनमा कति वाधा परिरहेको छ ?

नाकबन्दी र तराई आन्दोलनले सम्पूर्ण सिमेन्ट उद्योगहरु प्रभावित भएका छन् । हामी पनि अछुतो रहन सकेनौं । केही चिजमा हामीलाई लोकेसनले साथ दियो होला, केही चिजमा हामीले म्यानेज गर्न सक्यौं होला । यति गर्दा गर्दै पनि हामीलाई उद्योग चलाउन गाह्रो भइरहेको छ । धेरै मेहनत गर्दा पनि हामीलाई उद्योग चलाउन समस्या पर्‍यो ।

हामीलाई आरएम, पीएम र सिमेन्टको जोहो गर्नुपर्‍यो । डिजेल नहुँदा हामीलाई धेरै समस्या भएको छ । पहाड फोर्नदेखि लिएर १४०० डिग्रीमा क्लिङ्कर तताउन विजुली चाहिन्छ । केही हदसम्म म्यानेज गर्‍यौं । तर, पूर्ण क्षमतामा उद्योग चलाउन सकिएन ।
 
पुनर्निर्माण प्राधिकरणले प्रमुख कार्यकारी पाएको छ, यदि पुनःनिर्माण अभियानले गति लियो भने नेपालको सिमेन्ट उद्योगको माग बढ्ने देख्नुहुन्छ ? यसले तपाईहरुलाई कत्तिको उत्साहित गरिरहेको छ ?

जबसम्म नाकाबन्दी रहिरहन्छ, तबसम्म कुनै पनि आर्थिक क्षेत्र चलायमान हुने संकेत देखिदैन । पुनर्निर्माण प्राधिकरणमा प्रमुख कार्यकारी आएपछि हामीलाई केही आशा जागेको छ । अव विकास निर्माणका कामले प्राथमिकता पाउँछन् कि भन्ने लागिरहेको छ । अहिले त सम्पूर्ण उद्योग धरासायी नै छन भन्दा हुन्छ । टाढा बलेको बत्तीले केही तातो आउँछ कि भनेर जेनतेन चलाइरहेका छौं ।

भूकम्पले १४ जिल्लामा ८ लाख घर भत्किएको सरकारी तथ्यांक छ । ती सबै घर त बन्नुपर्‍यो । सामान्य अनुमान के छ भने सरकारले दिएको दुई लाख रुपैयाँ लगेर सबैजना सिमेन्टको पिलर र बिम हालेर घर बनाउन उद्दत हुन्छन् । यसले सिमेन्ट बजारमा माग बढाउने देख्नुहुन्छ ?

यो एकदमै ‘हाइपोथेटिकल’ कुरा भयो । मान्छे माटोको घरमा किन बसेको थियो भन्दा उसले सिमेन्टको घर बनाउन नसक्ने अवस्थामा थियो । त्यो घर पनि भत्किएपछि उहाँहरु सबैले सिमेन्टको घर बनाउन सक्नुहुन्छ भन्ने मलाई लाग्दैन । रियालिटी झन छाप्रोमा झर्ने पो हो की ? हामीले यो कोणबाट कहिल्लै पनि सोँचेनौं । हरेक नेपालीमा जिन्दगीमा एउटा घर बनाउनुपर्छ भन्ने सोँच हुन्छ । शहरमा आलिशान बंगला बनाउनेले जति दुःख गरेको छ, त्यति नै गाउँमा माटोको घर बनाउनेले पनि दुःख गरेको छ ।

हामीले हाइपोथेटिकल भन्नुपर्दा जति भत्किएका छन्, त्यति सबै घर बन्नुपर्छ भन्छौं । तर, त्यो काम त्यति सजिलो छैन । नेपालीका लागि घर बनाउनु निकै महंगो हुन्छ । भूकम्पबाट प्रभावित नेपालीको लिभिङ स्टान्डर्ड घटेको छ । सरकारले दुई लाख रुपैयाँ दियो भने पनि पक्की घर बनाउन सक्दैनन् ।

भूकम्पबाट प्रभावित नेपालीको लिभिङ स्टाण्डर्ड घटेको छ । सरकारले दुई लाख रुपैयाँ दियो भने पनि पक्की घर बनाउन सक्दैनन् ।

शिवमका आगामी विस्तार योजनाहरु केके छन् ? यहाँहरुले नै चिनियाँ संयुक्त लगानीमा अर्को उद्योग खोल्ने कुरा भइरहेकेा थियो, त्यो कहाँ पुग्यो ?

हामीले आफ्नो क्षमता विस्तार गरिरहेका छौं । ग्रान्डिङ पनि बढाइसकेका छौं । अझ बढाउने योजनामा छौं । चिनियाँ कम्पनी होङ्सीसँग ज्वाइन्ट भेइञ्चरमा सञ्चालन गर्ने सिमेन्ट उद्योगको काम पनि अगाडि बढाउँदै छौं । यसले उत्पादन बढाउँछ । आज हामी ४० हजार बोरा बनाइरहेका छौं भने होङ्सीसँग सहकार्य गरेपछि न्यूनतम पनि १ लाख २० बोरा उत्पादन हुन्छ ।

उत्पादन बढाउने भएपछि बजार खोज्नैपर्ने हुन्छ । जब नम्बर बढ्छ, प्रतिबोरा मूल्य पक्कै घट्ने छ । त्यतिबेला मूल्य घट्छ, जतिबेला ठूलो परिमाणमा सिमेन्ट उत्पादन हुन्छ । त्यतिबेला सिमेन्ट उत्पादन हुन्छ, जतिबेला बजार बढ्छ । त्यो भएर हामीले बजार पनि खोज्न पर्ने अवस्था छ ।

हाम्रो ठूलो प्लान्ट सञ्चालनमा आयो भने सिमेन्टको मूल्य घट्नेछ । तर, त्यो अवस्थासम्म पुर्‍याउन बजार विस्तार हुनुपर्छ । हामी अहिले बजार खोजिरहेका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?