Comments Add Comment

सीमांकनबारे तीन दलको पाँचबुँदे प्रस्ताव, मधेसी मोर्चाको चित्त बुझेन

Barta

२ माघ, काठमाडौं । प्रमुख तीन दलले मधेसी मोर्चासामू सीमांकनबारे पाँचबुँदे प्रस्ताव अगाडि सारेका छन् । प्रस्तावप्रति मधेसी मोर्चा सकारात्मक भएपनि सहमति जनाएको छैन ।

सिंहदरवारमा बसेको मधेसी मोर्चासँगको वार्तामा तीन दलले बालुवाटारमा तयार पारिएको प्रस्ताव राखेका थिए । तीन दलको प्रस्तावमा सीमांकनबारे निर्णय गर्न बनाइने राजनीतिक संयन्त्रलाई संसदबाट अनुमोदन गर्ने उल्लेख छ । साथै त्यस्तो संयन्त्रको टीओआर समेत प्रस्ताव गरिएको छ ।

मधेसी मोर्चाले भने तीन दलको प्रस्ताव पर्याप्त नभएको बताएको छ । उसले त्यसमा आफ्नो धारणा राखेको छ । ‘उहाँहरुले -तीन दलका नेताहरु)ले चारपाँच वटा टीओआर प्रस्ताव गर्नुु भएको छ’ मोर्चाका एक नेताले भने-‘तर, हामीले त्यसमा चित्त बुझएका छैनौं ।’

उनका अनुसार मधेसी मोर्चाले मधेस आन्दोलनको भावना अनुसार सिमांकन हुन्छ भन्ने सन्देश दिनु पर्ने बताएको छ । त्यसका लागि संयन्त्रको टीओआरमा प्रष्ट उल्लेख हुनु पर्ने मोर्चाको माग छ ।

के छ तीन दलको प्रस्ताव ?

कार्यदलको बैठक अघि शनिबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा तीन दलका शीर्ष नेताको बैठक बसेको थियो । बैठकले राजनीतिक संयन्त्र र टीओआर दुबैलाई संसदबाट अनुमोदन गर्ने प्रस्ताव गरेको छ ।

एक नेताका अनुसार तीन दलले तयार पारेको पाँचबुँदे प्रस्तावमा सीमांकनबारे निर्णय गर्न राजनीतिक संयन्त्र बनाउने पहिलो बुँदा छ । दोस्रो बुँदामा त्यस्तो संयन्त्रले तीन महिना भित्र निर्णय गर्ने उल्लेख छ । साथै आन्दोलनले उठाएको विषय र प्रदेशको समिांकनको सन्दर्भमा अहिलेसम्म भएका अध्ययन प्रतिवेदनलाई सन्दर्भ सामाग्रीका रुपमा लिने उल्लेख छ ।

चौथो बुँदामा राजनीतिक संयन्त्र र त्यसको टीओआरलाई संसदबाट अनुमोदन गर्ने तीन दलको प्रस्तावमा उल्लेख छ । पाँचौंबुँदामा सम्झौतामा हस्ताक्षरकर्ता दलहरु मिलेर संविधान संशोधन गर्ने उल्लेख रहेको बैठकमा सहभागी एक सदस्यले अनलाइनखबरलाई बताए ।

वार्तापछि कांग्रेस नेता महेश आचार्यले भने-सीमांकनसँग सम्वन्धित विषयमा टीओआर बनाउने कुरामा कखगघ गरेर कुराहरु राखेका छौं । र, त्यसमा यहाँहरुको टिप्पणी आएको छ ।’

एमाओवादी महासचिव कृष्णबहादुर महराले वार्ता सकारात्मक रहेको र भोलि वा पर्सीसम्ममा निष्कर्षमा पुग्ने बताए ।

सदभावना वार्तामा फर्कियो

पछिल्लो समय सरकार र तीन दलसँगको वार्ता बहिस्कार गरेको सदभावना पार्टीमा वार्तामा फर्किएको छ । शनिबारको कार्यदलको वार्तामा सदभावनाका संसदीय दलका नेता लक्ष्मणलाल कर्ण सहभागी भए ।

यसअघि विराटनगरको रानी भन्सारमा भएको झडपमा अध्यक्ष राजेन्द्र महतो घाइते भएपछि सदभावनाले सरकारले माफी नमागेसम्म वार्तामा नबस्ने बताएको थियो ।

वार्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कर्णले भने-वार्ता सकारात्मक हो । निर्णय सकारात्मक भइरहेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment