Comments Add Comment

स्थानीयको बलमा वीरगञ्ज नाकाको अवरोध हट्यो, ठूला गाडी आउन थाले

Birgung-Naka

२२ माघ, काठमाडौं । स्थानीयबासी र व्यापारीले झण्डै पाँच महिनादेखि अवरुद्ध रहेको रक्सौल-वीरगञ्ज नाका खुलाएका छन् । यससँगै मालबाहक कन्टेनर र ट्यांकरहरु नेपाल आउन थालेका छन् ।

वीरगञ्जका स्थानीयबासी र भारत रक्सौलका ब्यापारीहरुले मितेरी पुलमा मधेसी मोर्चाका धर्नाहरुले टाँगेको टेन्ट लगाएका छन् । साथै त्यहाँ राखिएको बाँसको ढाट पनि हटाए ।

लगतै मालबाहक कन्टेनरहरु निर्वाधरुपमा नेपाल भित्रिएका छन् । मधेसी मोर्चाका नेता र कार्यकर्ता नाकामै छन् । तमलोपाका महामन्त्री जितेन्द्र सोनल समेत धर्ना स्थलमा पुगेका छन् ।

तर, स्थानीय तथा व्यापारीहरु लाठी लिएर बसेका कारण बन्दकर्ताहरुले नाका बन्द गराउन सकेका छैनन् । अन्यत्र कतै नाकाबन्दी नभएपनि वीरगञ्जमा लगातार बन्द भइरहेको भन्दै स्थानीयबासीले केही दिनदेखि विरोध गर्दै आएका थिए । उनीहरुले नाका खोल्न दबाव दिए ।

तर, आन्दोलनकारी मधेसी मोर्चाले सुनुवाइ नगरेपछि शुक्रबार स्थानीयबासी र व्यापारीले रक्सौल-वीरगञ्जको मितेरी पुलमा धर्नाकारीले टाँगेको टेन्ट हटाए र नाका खुला गरेका छन् ।

भारतीय ब्यापारीहरु नै नाकामै बसेर भारतमा रोकिएका गाडीहरुलाई नेपाल भित्राइरहेका छन् । ‘उनीहरुले ट्राफिक प्रहरीले जस्तै गरी गाडीहरु पास गराइरहेका छन् । भारतीय गाडीहरुलाई स्वागत गरिरहेका छन् ।

भारतीय व्यापारी र मधेसी मोर्चाका कार्यकर्ताहरुबीच सम्भावित झडपको आशंकामा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरीको संख्या उल्लेख्य छ ।

नेपाली भन्सार अधिकारीहरुका अनुसार शुक्रबार ३५ भन्दा बढी गाडी भन्सार पास भएर आएका छन् । ‘मधेसी मोर्चाले नाका खुल्यो भनेको छैन । उनीहरुले जतिबेला पनि अवरोध गर्न सक्छन्’ एक अधिकारीले भने-‘अहिले कुनै अवरोध छैन । भारतीय भन्सारले जााचपास गरे गाडी आउँछ ।’

उनका अनुसार अहिले नै भारतीय नाकाबन्दी औपचारिक रुपमा खुलेको निष्कर्षमा पुग्न हतारो हुनसक्छ ।

अवरोध हट्नुमा हाम्रो कमजोरीः सोनल

मधेसी मोर्चाको एक घटक तराई मधेस लोकतान्त्रिक पार्टीका सहमहामन्त्री जितेन्द्र सोनलले आफूहरुको कमजोरीका कारण नाकाको अवरोध हटेको प्रतिक्रिया सञ्चारकर्मीलाई दिए । नाका क्षेत्रमै रहेका उनले वीरगञ्ज नाकामा अवरोध गर्ने आफूहरुको आन्दोलन जारी रहेको बताए ।

काठमाडौंको ‘लाइफ लाइन’ मानिएको वीरगञ्ज नाकाको अवरोधलाई मधेसी मोर्चाले आफ्नो प्रतिष्ठाको रुपमा लिने गरेको छ । विराटनगरको रानी, रुपन्देहीको भैरहवा, बाँकेको रुपैडिहा र कैलालीको गौरीफन्टा नाकाहरु खुलिसके पनि वीरगञ्ज नाकामात्रै अबरोध थियो ।

नेपालको प्रमुख भन्सार नाका वीरगञ्जबाट आवत-जावत बन्द हुँदा नेपाललाई करोडौं राजश्व घाटा लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment