Comments Add Comment

४६ प्रतिशतसम्म बढ्यो महंगी

NRB-Photo

९ फागुन, काठमाडौं । बजारमा महंगी अचाक्ली बढेको छ । नाकाबन्दी र अत्याबश्यक वस्तुको कृतिम अभावले गर्दा स्वभाविकभन्दा धेरै गुणाले भाउ बढेको छ ।

राष्ट्रबैंकका अनुसार गत पुस महिनामा समग्र बजारभाउ १२.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको पुस महिनामा महंगी ६.८ प्रतिशत मात्रै थियो । खाद्य तथा पेय पदार्थ समूहको मूल्य सूचकाङ्क १५.२ प्रतिशतले बढेको कारण मूल्यवृद्धि दोहोरो अंकमा पुगेको राष्ट्र बैंकले आइतबार सार्वजानिक गरेको देशको वर्तमान आर्थिक स्थिति नामक प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार गैर-खाद्य तथा सेवा समूहको मूल्य वृद्धिदर २०७२ पुसमा ९.७ प्रतिशत रहेको छ । दलहन तथा गेडागुडी, घ्यू तथा तेल, मसला, मासु तथा माछा, लत्ता कपडा तथा जुत्ता लगायतको मूल्यमा भएको उच्च वृद्धिले मुल्यवृद्धिमा चाप देखिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिवेदनअनुसार दलहन तथा गेडागुडीको मूल्य ४६.९ प्रतिशत र घ्यू तथा तेलको मूल्य ३१.३ प्रतिशतले बढेको छ । त्यसैगरी, मसला, मासु तथा माछा, लत्ता कपडा तथा जुत्ताको मूल्यमा १७.६ प्रतिशत, १६.८ प्रतिशत र १३.७ प्रतिशतले वृद्धि भएको छ ।

‘तराईमा जारी लामो बन्द हड्ताल तथा आपूर्ति व्यवस्थामा आएको व्यवधान जस्ता अन्तर्निहित कारणहरुले मुल्य बढ्दै गएको हो,’ राष्ट्र बैंकले प्रतिवेदनमा भनेको छ- ‘तराई क्षेत्रका नाकाहरुमा आवागमन सहज हुँदै गएबाट गत भाद्र महिनादेखि सुरु भएको मूल्य वृद्धिको दवाव कम हुँदै जाने अपेक्षा गरिएको छ ।’

क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा काठमाडौं उपत्यकामा सबैभन्दा बढी अर्थात् १३.८ प्रतिशत, पहाडमा १२.१ प्रतिशत, तराईमा १०.७ प्रतिशत र हिमालमा १० प्रतिशतले मूल्य बढेको राष्ट्र बैंकले जनाएको छ । गत वर्षको यसै अवधिमा मूल्य वृद्धिदर काठमाडौं उपत्यकामा ६.९ प्रतिशत, पहाडमा ७.१ प्रतिशत र तराईमा ६.६ प्रतिशत रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment