Comments Add Comment

‘राप्रपासँग बाबुराम र उपेन्द्रको एकता सम्भव छ’

prakash chandra lohani_650

– डा. प्रकाशचन्द्र लोहनी (राप्रपा नेता)  

नेपालमा वैकल्पिक राजनीतिक शक्ति अब चाहिसकेको छ । किनभने नेपाली कांग्रेस र एमालेको क्रियाकलाप नेपाली जनताले देखेका छन् र एक किसिमले वाक्क भइसकेका छन् । माओवादीको अवस्था अझ खराब छ ।

कांग्रेस एमालेः ढुंगा मिसिएको चामल बेच्ने पसल

आज यो स्थिति भएको छ कि एउटा चोकमा दुईवटा मात्रै पसल छन्, तपाईलाई थाहा छ, यी दुईवटै पसलले चामलमा ढुंगा मिसाएर ठगी गरिरहेका छन् । तर, अर्को पसल छैन भने तपाई के गर्नुहुन्छ ? अहिले हेर्नुहोस् न काठमाडौंमा यिनीहरुले ब्ल्याक मार्केटमा तेल बेचिरहेका छन् । तर, तपाई अरु विकल्प छैन भने के गर्नुहुन्छ ? बाध्य भएर तपाईले त्यसैमा जानु परेन ?

त्यसैले अहिलेका यी ठूला भन्ने राजनीतिक दलहरुले वास्तवमा राजनीतिक प्रतिस्पर्धाको अरु विकल्पहरु नभएका हुनाले एकाधिकार जमाएका हुन् । ऐतिहासिक वा विभिन्न कारणले यिनीहरुलाई जुन एकाधिकार स्थापित भएको थियो, त्यो एकाधिकार तोड्ने शक्ति चाँहि चाहिन्छ अब नेपालमा ।

deuba oli nepal poudel

चामलमा ढुंगा बेच्ने पसले तपाईंलाई थाहा छ, तर धेरै वर्षदेखि बेचिरहेको छ, किनकि अर्को पसल छैन, नेपाली कांग्रेसको पोजिसन त्यही हो । एमालेको पनि उस्तै अवस्था हो । अब, नेपालको राष्ट्रवादको पुनव्र्याख्या हुनुपर्छ । राष्ट्रवादको परिभाषा जहिले पनि सत्तामा बस्नेले गर्छ ।

माओवादी ढुंगा र भुस मिसाउने पसले

माओवादीको अझ खराब अवस्था छ । अरुले चामलमा ढुंगामात्रै राख्थे, माओवादीले त भुस पनि मिसायो । यसरी राजनीतिक मैदान खाली हुँदैछ । माओवादीसँग पनि जनता वाक्क भइसकेका छन् ।

माओवादीप्रति एकपटक जनताको ठूलो विश्वास, आशा र आकांक्षा थियो । तर, अब उहाँहरुको अहिलेसम्मको त्रियाकलापले जनताभन्दा सत्ता केन्दि्रत भएर जाने जुन शैली देखियो, त्यसले गर्दाखेरि यिनीहरु पनि उही ड्याङको मुला रहेछन्, अझ केही फरक रहेनछन् भन्ने इमेज गइसक्यो ।

यसमा पनि बाबुरामजीहरुसँगको अहिलेको परिवेशमा खुलेआम भ्रष्टाचार गरेका आरोपहरु आइरहेका छन्, यो परिवेशमा उहाँहरुप्रतिको आकर्षण धरासायी भएर जाने देखेका छौं हामीले ।

त्यसैले नेपालमा राष्ट्रियतालाई केन्द्रविन्दु बनाएर, प्रजातान्त्रिक मूल्य र मान्यतामा अडेको राष्ट्रियताका आधारमा वैकल्पिक शक्ति चाहिन्छ ।

prachanda

प्रचण्डजीले जसरी १० वर्ष नेतृत्व गर्नुभयो, म त त्यसको प्रशंसा गर्छु, यद्यपि उहाँका राजनीतिक विचारमा असहमत हुँदाहुँदै पनि ।

तर, एक समयको व्यक्तिको क्षमता परिस्थति बदलिएपछि कमजोर हुँदै जाँदोरहेछ । इन्डोनेसियामा हेर्नुभयो भने सुकार्नो त क्रान्तिकारी नै थिए, सत्तामा आएपछि बदलिए । घानामा हेर्नुस्, नुरूमाह धेरै ठूला नेता थिए । तर, सत्तामा आइसकेपछि असफल भए ।

वास्तवमा माओवादी पनि आफ्नो संघर्षको चरणमा सफल भएकै हो । तर, सत्तामा आइसकेपछि नेताहरु असफल भए । सत्तामा आइसकेपछि परिस्थितिअनुसार जनताको भावनाअनुसार चल्न सकेनन् ।

माओवादी नेताहरु संघर्षका बेला जनतासँग जति जोडिनुभएको थियो, सत्तामा आएपछि सक्नुभएन । जनतासँग जोडिन सकियो भने मात्रै पार्टी माथि उठ्न सक्छ ।

पाँच वर्षपछि प्रत्यक्ष राष्ट्रपतीय प्रणालीमा नगई सुखै छैन  

अहिलेको संविधान लागू भए पनि नेपालमा स्थिर सरकार आउने मैले देखेको छैन । ठूला देश भारत र चीनको बीचमा रहेको देशमा स्थिर सरकार हुन संवैधानिक व्यवस्थाले नदिएको अवस्थामा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा विदेशीको हस्तक्षेप नरहला भन्न सकिँदैन ।

नेपाली जनताले यो अनुभव गर्न बाँकी नै छ । झ्यालखाना गएको मान्छेलाई मात्रै त्यसको अनुभव हुन्छ, नगएको मान्छेलाई जति व्याख्या गरे पनि हुँदैन । मलाई लाग्छ, नेपालमा अागामी चार-पाँच वर्षको बीचमा प्रधानमन्त्री वा राष्ट्रपति प्रत्यक्ष चुनिने व्यवस्था लागू नगरी सुख छैन ।

मलाई पहिले प्रत्यक्ष प्रधानमन्त्री वा राष्ट्रपतिको चुनावमा जाने प्रणाली ठीक होइन भन्ने लाग्थ्यो, तर अहिले यो  आवश्यक ठानेको छु

मलाई पनि पहिले प्रत्यक्ष प्रधानमन्त्री वा राष्ट्रपतिको चुनावमा जाने प्रणाली ठीक होइन भन्ने नै लाग्थ्यो, तर अहिले स्थिर र शक्तिशाली सरकारका लागि यो  आवश्यक ठानेको छु ।

तर, यो प्रणालीमा जाने कि नजाने भन्नका लागि पनि नेपाली जनताले अझ चार-पाँच वर्ष अनुभव गर्नुपर्छ । योबीचमा स्थिर सरकार नै आउन थाले भने, प्रत्यक्ष प्रधानमन्त्री वा राष्ट्रपतीय प्रणाली आवश्यक छैन । तर, यही संवैधानिक व्यवस्थामा स्थिर सरकार हुन्छ भन्ने मलाई लाग्दैन ।

देशमा बहुदलीय प्रजातन्त्र त नभई हुँदैन, तर नेपालको परिवेशमा विश्वका कतिपय मुलुकको जस्तो दुईवटा पार्टीमा मात्रै शक्ति केन्दि्रत हुन्छ कि हुँदैन भन्नेकुरामा मैले अहिले तुरुन्तै त्यो सम्भावना देखिराखेको छैन ।

नेपालको निर्वाचनसम्बन्धी पद्दति नै यस्तो छ, जसले गर्दा कसैको पनि बहुमत आउने सम्भावना छैन । यसले द्वीदलीय सिस्टमलाई पनि निरुत्साहित गर्छ र स्थिर सरकारलाई पनि निरुत्साहित गर्छ ।

किनभने प्रत्यक्ष निर्वाचित सिस्टममात्रै भएको चुनावमा त बलियो सरकार आउन गाह्रो पर्छ भने यहाँ त ४० प्रतिशत समानुपातिक आउने भइसकेपछि जो सरकारमा आउँछ, त्यसले अरुको सहारामा बाँच्नुपर्छ । जो सबैभन्दा कमजोर छ, त्यो सबैभन्दा बलियो हुन्छ एक किसिमले । जस्तो, अहिले एक सीट भएकाहरुको पनि शक्ति छ । ठूलो पार्टी बलियो हुने होइन कि सानो पार्टी बलियो हुन्छ । १० सिट  हुने पार्टी बलियो बन्छ ।

बाबुरामको नयाँशक्तिबारे

बाबुरामजीले पनि देशमा विद्यमान राजनीतिक वितृष्णाको बीचमा एउटा स्पेस खोज्दै हुनुहुन्छ । एउटा राजनीतिक मैदान खाली छ, जनतासँग जोडिन सक्यौँ भने अगाडि आउन सकिन्छ भनेर उहाँले आँट गर्नुभएको छ । म त्यो आँटलाई तारिफ गर्छु ।

baburam ko naya shakti (5)

तर, मलाई के लागेको छ भने, बाबुरामजी एउटा राजनीतिक संस्कारबाट आउनुभयो, तर त्यो संस्कार अब मलाई काम लाग्दैन भनेर छोड्नुभएको छ । मोटर चढेेर नदी किनारासम्म आएँ अब डुंगा चाहियो भनेर लाग्नुभएको छ । तर, डुंगाको आकार के हो भन्ने त्यो पनि प्रस्ट छैन, पौडी खेलेर आफैँ जाने हो कि ? कस्तोखालको डुंगा बनाउने हो ? उहाँमा अल्यौल छ ।

मोटर चढेर आउँदा त्यो मोटर यसरी, यतिसम्म गुड्न सक्छ भन्ने त थियो, तर मोटरलाई नै त्यागेर नयाँ डुंगा बनाउँछु भन्दा नयाँ डुंगाको रुप कस्तो हुने, त्यसको वैचारिक आधार के ?

विकास मात्रै गर्छु भनेर हुँदैन, त्यसको आधार पनि चाहिन्छ । राजा महेन्द्रले पनि आफ्नो तत्कालीन समयमा विकास गर्छु भनेका थिए, कोशिश पनि गरेका थिए, पूर्व-पश्चिम राजमार्ग, भूमिसुधारको मुद्दा, योभन्दा बढी अहिले कसले के गरेको छ र ? बाबुरामजीले पनि विकास गर्छु त भन्नुभएको छ, तर त्यसको कुनै आधार छैन । वामपन्थी भन्न पनि उहाँलाई लाज भइसकेको अवस्थ्ाा छ, वाम भन्न छाडिसक्नुभएको छ । बरु वामको एउटा त्यान्द्रो भए पनि समातेर त वैद्य बस्नुभएको छ, प्रचण्ड पनि बस्नुभएको छ । यो अवस्थामा बाबुरामजी अघि बढ्नेमा शंका छ ।

तर, व्यक्तिगत करिश्माको कुरा पनि हुन्छ, राजनीतिमा । विचार एकातिर भए पनि व्यक्तिको करिश्माका कारण राजनीतिक सफलता मिल्न सक्छ । भारतीय आमआदमी पार्टीमा केजरीवालले पनि चमत्कार गरेका थिए ।

तर, व्यक्तिगत करिश्मामा पनि व्यक्तिले जुन मूल्य-मान्यता व्यक्त गर्छ, त्यसको प्रतिविम्ब हुनुपर्‍यो, मूर्तरुप हुनुपर्‍यो । कि त भ्रष्टाचारको सशक्त विरोध गर्ने आइकन नै बन्न सक्नुपर्‍यो । बाबुरामजी प्रधानमन्त्री नभएको भए त्यो आइकनको रुपमा आउन सक्नुहुन्थ्यो पनि होला । तर, प्रधानमन्त्री हुँदा उहाँले धेरै बोझहरु बोक्नुभयो, के-के बोझ भन्ने सबैलाई थाहा छ । ती बोझका कारण उहाँ आइकनका रुपमा उदाउने सम्भावना मैले देखिरहेको छैन ।

नाम नभनौँ, एकजनाले मलाई भन्नुभयो, ‘बाबुरामजीले घरमै आएर बारम्बार भन्नुभयो, कति टार्नु, त्यसैले नयाँशक्तिमा लागेको हुँ ।’ यसले के देखाउँछ भने, उहाँमा आइकनिक पर्सनालिटी पनि भएन, आइडियोलोजी पनि भएन ।

यो अवस्थामा पूर्वप्रधानमन्त्रीको नाताले मात्रै कति अगाडि बढ्नुहोला र ? तैपनि कोसिस गर्नुभाछ, मेरो शुभकामना छ । हेरौँ, केही नयाँ कुरा दिन सक्नु भए राम्रै भयो ।

संघीय समाजवादीः अर्को सम्भावना

मैले त उपेन्द्र यादवजीको संघीय समाजवादी पार्टीमा सम्भावना देखेेको छु । यसलाई सकारात्मक रुपमा पनि लिएको छु । किनभने, उपेन्द्रजीले मधेस मात्रै नभनेर पहाड, हिमाललाई समेटेर राष्ट्रिय स्तरको पार्टी बनाउन खोज्नुभएको छ । यद्यपि, मधेस आन्दोलनमा भएका कतिपय क्रियाकलापले यो धारणालाई समर्थन गर्दैन । फेरि पनि जसरी राष्ट्रियस्तरबाट त्यो पार्टीले सोचेको छ, यो आफैँमा सकारात्मक छ ।

Ashok-Rai,-Upendra-Yadav-an

अहिलेसम्म ठूला पार्टी कांग्रेस, एमालेमा मूल नेतृत्व पहाडीको तर, मधेसको पनि समर्थन रहेको अवस्था थियो । अब एउटा आधारभूत नेतृत्व मधेसको, तर पहाडको समर्थन भएको पार्टी अगाडि आउँछ भने त्यो देशका लागि हितकर नै हुन्छ ।

तर, संघीय समाजवादीले सुरुवात राम्रै गरे पनि त्यो लक्ष्यमा गइरहेको मैले पाएको छैन । फेरि पनि सम्भावना चाहिँ यो पार्टीले पनि बोकेको छ ।

पूर्वपञ्चहरुले नयाँ विकल्प दिन सक्लान् ?

हामी ०४६ पछि पनि ३ सीटबाट २० सीटमा पुग्यौँ । १८ प्रतिशत भोट ल्यायौँ । जनताको आकांक्षाअनुसार जोडिन सक्यो भने कुनै पनि पार्टी अगाडि आउन सक्छ ।

त्योबेला हामीले दुईवटा मुद्दा उठाएका थियौँ । एउटा थियो -भ्रष्टाचार ।  संसदमा ३ सिट भए पनि हामीले भ्रष्टाचारको अन्त्यका लागि आवाज उठाएका थियौँ । अर्को, राष्ट्रियताको मुद्दालाई उठाएका थियौँ । जस्तो-टनकपुरको मुद्दा सबैभन्दा बढी उठायौँ । संसदमा प्रतिवेदन नै पेस गर्‍यौँ । भ्रष्टाचारको मुद्दामा हामीले त्योबेलाका प्रधानमन्त्रीसम्मलाई बोलाएर बयान लियौँ । तर, जुन दिन संसदमा हाम्रो प्रतिवेदन पेस हुँदै थियो, त्यही दिन संसद विघटन भयो ।

Rpp chanda groupजनताले महसुस गरेको कुनै पनि मुद्दा उठाउन सक्ने क्षमता भयो र नेताहरुमा एकता भयो भने अहिले पनि हामी धेरै माथि जान सक्ने सम्भावना छ ।

हामीले अघिल्लो अनुभवबाट सिक्नुपर्छ । राप्रपाका नेताहरुमा व्यक्तिगत रुपमा काम गर्ने क्षमता र अनुभव पनि होला, तर मिलेर काम गर्ने क्षमता अलग कुरा हो । जस्तो, माओवादीले जनयुद्धमा साँच्चिकै क्षमता देखाएका थिए ।

व्यक्तिगत रुपमा हामीले राप्रपाका नेताहरुले आफूलाई ठीकै देखौँला । तर, सबै मिलेर एउटा लक्ष्यलाई केन्द्रमा राखेर जान सक्नु भनेको ठूलो चुनौती हो, यो चुनौतीलाई पार गर्न सक्यौँ भने हामी धेरै माथि जान सक्छौँ । नेपाली कांग्रेस र एमालेलाई चुनौती दिन नसकिने होइन । तर, गरेर देखाउनु ठूलो कुरा हो ।

हाम्रो पार्टी राप्रपाभित्र पनि अलिअलि अन्तरविरोध थियो । त्यो केही हदसम्म समाधान भएको छ । त्यसलाई अझै राम्रोसित समाधान गर्ने पक्षमा छौं हामी । र, लागिरहेका पनि छौं ।

राप्रपाले अरुसित एकता गर्ने भन्ने जुन कुरा छ, महाधिवेशनको निर्णयको परिधिभित्र रहेर अरु पार्टीहरुसित सहकार्य गर्ने, अथवा विभिन्न रुपहरुमा हामी खुल्ला छौं । यही क्रममा राप्रपा नेपाल र राप्रपाको समानान्तर कमिटीसँग हामीले कुराकानी गरिराखेका छौं ।

राप्रपा नेपाल करेक्सन भएको हो कि होइन भन्नेबारे त्यो त्यति याद गरेको छैन, वार्ताको क्रममा नै यसबारे छलफल हुन्छ र वीचको बाटो निस्कन पनि सक्छ ।

बाबुराम, उपेन्द्र र राप्रपावीच एकता सम्भव छ ?

बाबुरामजीको नयाँ शक्ति, राप्रपा र उपेन्द्र यादवजीको संघीय समाजवादीजस्ता पार्टी एकता हुने सम्भावना पनि छ । आखिर उपेन्द्र यादवले भनेको राष्ट्रवाद, बाबुरामजीले भनेको वाम प्रजातन्त्र र राष्ट्रियता अनि हामीले भनेको राष्ट्रियताबीचको मूल बिन्दु समावेशिता नै हो, प्रजातन्त्र हो ।

समावेशी र प्रजातान्त्रिक दर्शनमा अडेको नेपालको राज्य संरचना नै नेपालको राष्ट्रवादको मूल आधार हो । यसमा त हाम्रो सहमति हुन सक्छ ।

जहाँसम्म आर्थिक नीतिको कुरा छ, उहाँहरुलाई उदारवाद भन्न अप्ठेरो लाग्छ । उदारवाद भन्ने दर्शन त वामपन्थीभन्दा अगाडि नै आएको हो । तर, त्यसका विकृति मार्क्सवादी विश्लेषणले उदांगो पारिसकेको छ र त्यो उदारवाद पनि त्यही सुधारिएर गएको छ ।

अहिले हामी उदारवादलाई ‘प्रगतिशील उदारवाद’ पनि भन्न सक्छौँ । त्यो उदारवादले व्यक्तिलाई मौका दिन्छ भने, राज्यलाई अगाडि धकेल्न व्यक्तिले मद्दत गर्छ । यो राज्य र व्यक्तिबीचको सामञ्जस्यको सम्बन्धको जुन कल्पना छ, यो नै हामी सबै एकीकृत हुने आधार हो ।

बाबुरामजी र मेरो अहिले पनि कुरा हुन्छ । उहाँ मेरो पुरानो मित्र हो । उहाँले पीएचडीको थेसिस लेख्दै गर्दा मसँग पनि सल्लाह गर्नुभएको थियो

यद्यपि उदारवाद भन्दा कतिलाई लाज लाग्न सक्छ, तर अब यो आवश्यक छैन । किनभने, अहिले माओत्सेतुङकै देश चीनमा पनि मार्केट इकोनोमीको कुरा आइसकेको छ । पश्चिमाहरु बरु यसलाई मान्न गाह्रो मानिरहेका छन् ।

तर, आज चाइनिज अर्थतन्त्र आज संसारभर फैलँदै छ । कारण, उसले प्रतिस्पर्धालाई मानेको छ, जुन कुरा चीनको इतिहासमा खुला कहिल्यै पनि थिएन, यसमा त्यो समाज बन्द थियो । आज उसले संसारका देशसँग अन्तर्क्रिया  गरेर लिने र दिने नीतिमा लागेको छ, उदारवादी दर्शनको एउटा मूल आधार यो पनि हो । यसलाई हामीले प्रगतिशील उदारवाद भन्न सक्छौँ, जुन उदारवादको नैतिक आधार भनेको सबैभन्दा तल्लो तहको मान्छेलाई उठाउने हुन्छ भने यसबाट हामी एकीकृत हुने सम्भावना पनि हुन्छ ।

दुई डाक्टरको सम्बन्ध

बाबुरामजी र मेरो अहिले पनि कुरा हुन्छ । उहाँ मेरो पुरानो मित्र हो । उहाँले पीएचडीको थेसिस लेख्दै गर्दा मसँग पनि सल्लाह गर्नुभएको थियो । तर, उहाँ त्यतिबेलै वामपन्थी हुनुहुँदो रहेछ, मलाई ख्याल भएको थिएन । त्यसपछि हाम्रो खासै सम्पर्क भएन ।

माओवादीको युद्धपछि मात्रै हाम्रो भेटघाट भयो । उहाँ बुद्धिजीवी हुुनुहुन्छ । उहाँले देशलाई केही गर्नुपर्छ भावना लिनुहुन्छ भने हामीले त्यसलाई समर्थन गर्नुपर्छ ।

केही समयअगाडि उहाँसँग मेरो एक-डेढ घण्टा कुरा पनि भएको थियो । मैले उहाँलाई ‘हामी सँगै जानका लागि हाम्रो राजनीतिक संस्कार मिल्दैन, यसले गर्दा व्यवधान आउँछ’ भनेको थिएँ ।

मैले उहाँलाई एउटा उदाहरण पनि दिएँ, ‘मैले ०२६ सालतिर पञ्चायतको यो  काम ठीक र यो बेठीक भनेर लेख लेख्थेँ । एक दिन मलाई राज्यले पक्रने सूचना पाएँ । त्यसपछि म भूमिगत हुनुपर्‍यो भनेर लुक्न गएँ । कलंकीका एकजना चिनजानका मान्छेको घरमा तीन दिन बसेँ ।

तर, तीन दिन बस्न मलाई निकै गाह्रो भयो । तीन दिन मलाई तीन वर्षजस्तो भयो । बरु झ्यालखाना जान्छु, यसरी भूमिगत बस्दिँन भनेर आएँ । म यस्तो संस्कारबाट आएको हुँ, बाबुरामजीहरुसँग दशौँ वर्ष भूमिगत बसेको संस्कार छ । त्यसकारण हाम्रो सांस्कृतिक धरातल मिल्दैन ।

आइडियोलजिकल कुरामा पनि बाबुरामजी प्रधानमन्त्री हुँदा थुप्रै नेगेटिभ ब्यागेज बोकेर आउनुभयो, त्यसलाई कसरी पखाल्नुहुन्छ ? यो सबै परिवेशमा अहिले हामी आ-आफ्नो बाटो जाउँ, तर पछि गएर नेपालको हितमा सबै मिल्नुपर्ने बिन्दु पनि आउला, अनि सोचौँला । मैले बाबुरामजीलाई यही भनेको छु ।

राप्रपाले सोचेको ‘वैकल्पिक शक्ति’को ‘आइडियोलोजी’ के हो ?

मेचीदेखि महाकाली, हिमालदेखि तराई सबैठाउँका जातजातिलाई राज्य व्यवस्थामा नागरिक अधिकार, राजनीतिक अधिकार र सामाजिक अधिकार तीनै कुरामा समानताको अनुभूति दिन सक्ने एउटा संरचनाले नै राष्ट्रियता बलियो पार्छ । यसलाई हामीले समावेशी राष्ट्रियता भनेका छौं । त्यसैले समावेशी प्रजातान्त्रिक राष्ट्रियतामा अडेको समावेशी प्रजातान्त्रिक राष्ट्रियता चाहिन्छ  ।

राष्ट्रियता भनेको जनतासँग सम्बिन्धत कुरा हो । यो परिवेशमा जनताको जीवनस्तर उठाउने र देशमा सम्वृद्धि कायम गर्दै अगाडि जाने क्षमता हुनुपर्‍यो ।

विश्वमा प्रयोग भएको समाजवाद नारामा मात्रै सीमित भयो, त्यसले समानता पनि दिन सकेन । त्यो दिने हाम्रो दृष्टिकोणमा उदारवादले नै हो । र, उदारवादमा पनि प्रगतिशील उदारवाद हो

सम्वृद्धि भनेको थोरैको सम्वृद्धि होइन, धेरैको सम्वृद्धि । किनभने विकासको नैतिक आधार भनेको कुनै आर्थिक विकासको जीडीबीमात्रै बढेर जाने त्यसको नैतिक आधार अहुन सक्दैन । त्यसको नैतिक आधार भनेको त्यसले तल्लो भन्दा तल्लो वर्गलाई आफ्नो क्षमता अनुसार समाजमा अगाडि बढ्ने मौका दिन्छ र समाजमा आत्मसम्मानका साथ बाँच्ने संरचना राज्यले बनाउँछ । सही मानेको विकास त्यहीबेला सुरु हुन्छ ।

त्यसैले यो संसारमा अहिले विकासमात्रै होइन, गुणस्तरीय विकास भन्ने अवधारणा आएको छ । त्यो विकासले आर्थिक वृद्धि पनि हुनुपर्‍यो, त्यसले रोजगारी पनि दिनुपर्‍यो र त्यो रोजगारीका साथै त्यो विकासको प्रक्रियामा सबै जाति र वर्गले सहभागी हुने समावेशी एवं ‘सब्स्टेन्सी स्टाबिलिटी’ हुनुपर्‍यो । यो पनि हामीले दिन सक्नुपर्छ ।

यही कुरालाई लिएर हामीले के भनेका छौं भने विश्वमा प्रयोग भएको समाजवाद नारामा मात्रै सीमित भयो, त्यसले समानता पनि दिन सकेन । त्यो दिने हाम्रो दृष्टिकोणमा उदारवादले नै हो । र, उदारवादमा पनि प्रगतिशील उदारवाद हो, जहाँ राज्य र जनताको सम्बन्धमा राज्यले जनतालाई तल्लो वर्गको जनतालाई उन्नति गर्ने मौकाको संस्थागत संरचना सहभागिताको संरचना सिर्जना गर्नुपर्छ ।

यो लाइनलाई हामीले प्रगतिशील उदारवादका रुपमा व्याख्या गरेका छौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको दृष्टिकोण पनि यही हो । र, यो दृष्टिकोण एवं आर्दश बोकेको वैकल्पिक शक्तिको देशमा आज आवश्यकता छ ।

समावेशी राष्ट्रियतामा विश्वास गर्ने, प्रगतिशील उदारवादलाई खुलेआम एउटा दर्शनका रुपमा लिएर जान सक्ने शक्ति नेपालमा चाहिएको छ ।

किनभने उदारवाद भन्न यिनी (बाबुराम र उपेन्द्र) हरु लाज मान्छन् । चाइनामै भन्नुहोस् त, चाइनामा के छ ? चाइनामा राजनीतिमा एकाधिकारवाद, अर्थतन्त्रमा उदारवाद छ । राज्य निर्देशित उदारवाद न छ अहिले चाइनामा ।

हामी के चाहन्छौं भने राज्य त बलियो हुनैपर्छ, तर संरचनामा विविधतालाई सम्बोधन गर्नका लागि यसलाई आत्मसाथ गर्नुपर्छ ।

(अनलाइनखबरसँग कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment