+
+

तिब्बतबाट १ प्रतिशत पर्यटक ल्याए पनि नेपाललाई मनग्गे

२७ फागुन, काठमाडौं । अत्यधिक विदेश घुम्ने सौखिन र खर्चालु पर्यटकका रुपमा संसारभर परिचित हुँदैछन् चिनीया नागरिकहरु । तर, प्राकृतिक सौन्दर्यले भरिपूर्ण छिमेकी मुलुक भएर पनि नेपालले त्यसको लाभ लिन सकेको छैन । सन् २०१५ को पूर्वार्द्धमा मात्रै ६ करोड १९ लाख चिनीयाले विदेश भ्रमण गरे । यो संख्या २०१४ को सोही अवधिको तुलनामा १२.१ प्रतिशतले बढी हो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन २७ गते १५:४९

Chinese Tourist In Nepal

नविन अर्याल

२७ फागुन, काठमाडौं । अत्यधिक विदेश घुम्ने सौखिन र खर्चालु पर्यटकका रुपमा संसारभर परिचित हुँदैछन् चिनीया नागरिकहरु । तर, प्राकृतिक सौन्दर्यले भरिपूर्ण छिमेकी मुलुक भएर पनि नेपालले त्यसको लाभ लिन सकेको छैन ।

सन् २०१५ को पूर्वार्द्धमा मात्रै ६ करोड १९ लाख चिनियाँले विदेश भ्रमण गरे । यो संख्या २०१४ को सोही अवधिको तुलनामा १२.१ प्रतिशतले बढी हो । २०१४ को पुरा अवधिमा ११ करोड ७० लाख चिनियाँले विदेश भ्रमण गरेका थिए । तर, त्यही अवधिमा नेपालमा जम्मा एक लाख २४ हजार मात्र चिनीया पर्यटक आए् । यो संख्या कुल चिनियाँ पर्यटकको ०.१० प्रतिशत मात्र हो । सन् २०१५ मा त झन् भूकम्प, तराई आन्दोलन र भारतीय नाकाबन्दीले चिनियाँ पर्यटकको संख्या आधा घटेको छ ।

chinise-tourist

विश्वमा चिनियाँ पर्यटकको संख्या दिनानुदिन बढिरहँदा नेपालले लाभ लिन सकेको छैन । जबकि चिनियाँ पर्यटकका लागि नेपाल सबैभन्दा सुलभ गन्तव्यमा पर्छ । सरकारले पर्यटनलाई अर्थतन्त्रको मेरुदण्डका रुपमा लिएको भए पनि प्रवर्द्धनमा ध्यान नदिँदा अपेक्षित चिनियाँ पर्यटक भित्र्याउन नसकेको हो ।

चिनियाँ नागरिक रमाउने गन्तव्य र गतिविधिहरु नेपालमा धेरै रहेको व्यवसायीहरु बताउँछन् । नेपाल आउने चिनीया पर्यटक पोखराको साइट सिन, प्याराग्लाइडिङ, अल्ट्रालाइट, र्‍याफि्टङ, हल्का पदयात्रामा रमाउने गरेका छन् । यसका साथै फिल्म, रियालिटी सो, सर्ट मुभीलगायत सुटिङका लागि पनि केही चिनियाँहरू आउने गर्छन् ।

विमानस्थलका लागि ऋण सम्झौताको तयारी

चिनीया पर्यटक बढीभन्दा बढी भित्र्याउनका लागि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निकै महत्वपूर्ण छ । यो विमानस्थल बनाउने जिम्मा चिनियाँ कम्पनीले नै पाएको छ । चीनको सहुलियतपूर्ण ऋणमा बन्न लागेको विमानस्थलको काम भने एक्सपोर्ट इम्पोर्ट बैंकसँग ऋण सम्झौता नहुँदा रोकिएको छ ।

तिब्बत आएका चिनियाँमध्ये एक प्रतिशत मात्र भित्र्याउन सके पनि करिब डेढ लाख पर्यटक नेपालमा थपिनेछन्

नेपालको तर्फबाट पुरै काम सम्पन्न गरे पनि चिनियाँ पक्षका कारण ऋण सम्झौता हुन नसकेको सरकारी अधिकारीहरुको दावी छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा ऋण सम्झौता गर्ने तयारी भइरहेको पर्यटन सचिव प्रेम राईले बताए । सो विमानस्थल निर्माण भएपछि चीनको नजिकैको सहरबाट पोखरा आई घुमेर सोझै आफ्नो घर र्फकन चाहने पर्यटक लाभान्वित हुनेछन् ।

पहिलो समस्या भिसा

नेपालभन्दा ६५ गुणा ठूलो मुलुक चीनबाट नेपाल भ्रमणमा आउन पहिलो समस्या भनेकै भिसा हो । अहिले चीनको बेइजिङ, सांघाई, हङकङ र ल्हासाबाट मात्र नेपालको भिसा लिन सकिन्छ । एउटा कुनाको मान्छे अर्को कुनामा पुगेर भिसा लगाई नेपाल आउन महँगो पर्नजान्छ ।

नेपालले चिनियाँ पर्यटकको आगमन बढाउने उद्देश्यले निःशुल्क अनअराइभल भिसा दिन सुरु गरेको छ । तर, यसबाट चिनियाँ पर्यटक बढ्ने होइनन् किनकी चीनले पासपोर्टमा छाप नहानी आˆनो नागरिकलाई विदेश जान दिँदैन ।

चिनियाँ पर्यटक नेपाल भित्र्याउनका लागि सबैभन्दा पहिला चीनका मुख्य शहरहरुमा कार्यालय स्थापना गरेर भिसा दिने व्यवस्था गर्नुपर्ने व्यवसायी बताउछन् । चीनको छेङ्दु, गोन्झाओ, कुम्निङ लगायतका शहरमा कार्यालय खोल्न नेपालले पहल पनि गरिरहेको छ । यसलाई टुंगोमा पुर्‍याउन प्रधानमन्त्री ओलीले उच्चस्तरमै छलफल गर्नुपर्ने व्यवसायिको सुझाव छ ।

हवाई सम्वन्ध मजबुत

पछिल्लो समय चीनका विभिन्न शहरमा नेपालको सिधा हवाई सम्पर्क बढ्दै गइरहेको छ । चीनका पाँचवटा एयरलाइन्सले अहिले नेपाल उडान भरिहेका छन् । नेपाल एयरलाइन्सले पनि हङकङ तथा चीनका विभिन्न शहरमा उडान भर्दैछ । निजी क्षेत्रको हिमालय एयरलाइन्सले पनि चीनका विभिन्न शहरमा उडान भर्ने तयारी गरेको छ ।

Air destination to china from nepal (1)

अहिले चीनबाट चाइना साउदर्न, एयर चाइना, चाइना इस्ट्रन, ड्रागन एयर (हङकङ) र सिचुवान एयरलाइन्सले नेपालमा उडान भर्दै आइरहेका छन् । चाइना एयरले हप्तामा तीनवटा काठमाडौं छेङ्दु र दुईवटा काठमाडौं-ल्हासा उडान भरिरहेको छ ।

यसैगरी चाइना साउदर्नले ग्वान्झाओ-काठमाडौं उडान गर्छ । नाकाबन्दीपछि रोकिएको उडान वैशाखबाट सुरु गरी निकट भविष्यमा हप्तामा १४ उडान गर्ने कम्पनीले बताएको छ । चाइना इस्टर्नले कुम्निङ-काठमाडौं हप्तामा १४ उडान गर्छ भने सिचुवान एयरलाइन्सले हप्तामा सातवटा छेङ्दु काठमाडौं उडान गर्छ ।

तिब्बतबाट ल्याउन सजिलो

नेपालले तिब्बत भ्रमणमा आएका चिनियाँ पर्यटकलाई आकर्षित गर्न सके पनि ठूलो उपलब्धि हुने देखिन्छ । नेपाल र ल्हासाबीच सीधा हवाइ सम्पर्क र सडक सम्पर्क रहेको हुँदा उनीहरुलाई ल्याउन कठिन छैन ।

विश्व पर्यटन संगठनका अनुसार सन् २०१४ मा डेढ करोड पर्यटक तिब्बत भ्रमणमा आएका थिए । जसमध्ये ९५ प्रतिशतभन्दा बढी चिनियाँ छन् । तिब्बत आएका चिनियाँमध्ये एक प्रतिशत मात्र भित्र्याउन सके पनि करिब डेढ लाख पर्यटक नेपालमा थपिनेछन् ।  ल्हासामा महावाणिज्य दूत रहेको हुँदा उनीहरुलाई नेपालको भिसा लगाउन पनि सजिलो छ ।

Tibet To Nepal Road

तिब्बतको सिगात्सेसम्म आइपुगेको रेल सेवालाई नेपालसँग जोड्न सकेमा धेरै चिनियाँ भित्राउन सकिन्छ । तिब्बत भ्रमणमा अधिकांश चिनियाँ पर्यटक रेलमार्गबाट आउने गर्छन् । सिगात्सेसम्म आएको रेललाई नेपालसम्म पुर्‍याउन प्रधानमन्त्री ओलीले चीन भ्रमणको बेलामा उच्चस्तरमै विशेष पहल गर्नुपर्ने छ ।

तर, भ्रमणको एजेन्डा नबन्ने

प्रधानमन्त्री ओलीको चीन भ्रमणमा पर्यटनको एजेन्डाले प्रवेश नपाउने भएको छ । चिनियाँ पर्यटक भित्र्याउने विषयलाई उच्चस्तरीय वैठकमा उठाउने नेपालको तयारी छैन ।

प्रधानमन्त्री ओली चैत ७ गते चीन भ्रमणमा जाँदैछन् । नेपालले चिनियाँ पर्यटकलाई प्राथमिकतामा राखेपछि प्रधानमन्त्रीको भ्रमणमा पर्यटन मुख्य एजेन्डा बनाउनुपर्ने व्यवसायीको सुझाव छ । चिनियाँ पर्यटक भित्राउन उच्चस्तरीय पहल गर्न सकेमा त्यसले सकरात्मक नतिजा दिने व्यवसायीको विश्वास छ ।

तर, प्रधानमन्त्री ओलीले चिनियाँ पर्यटक भित्राउनका लागि एजेन्डा बोकेर नजाने पर्यटन सचिव प्रेम राईले बताए । ‘प्रधानमन्त्री ज्यूको भ्रमणमा पर्यटन एजेन्डा बन्दैन्’ उनले भने- ‘चीनमा पर्यटन प्रवर्द्धन गर्ने काम पर्यटन बोर्डले गर्छ, बोर्डले हालै भारत र चीनमा पर्यटन प्रवर्द्धन गर्नेगरी बजेट सार्वजनिक गरेको छ ।’

पर्यटनलाई अर्थतन्त्रको मेरुदण्डका रुपमा स्वीकार गरेपछि प्रधानमन्त्रीको उच्चस्तरीय भ्रमणकै बेलामा चिनियाँ पर्यटक भित्राउन आवश्यक पहल गर्नुपर्ने विज्ञहरु बताउँछन् । चीनसँग नेपालको भाषिक, सांस्कृतिक सम्बन्ध नभएको हुँदा कुनै व्यक्ति विशेषको पहलमा चिनियाँ नागरिक नेपाल भित्राउन सहज छैन । त्यही भएर पनि सरकारी लेवलबाटै पहल कदमी हुनुपर्ने जरुरी देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?