+
+
Shares

चिनियाँ रेलः केरुङ हुँदै काठमाडौं कहिले आइपुग्ला ?

२ चैत, काठमाडौं । तिब्बतमा आइपुगेको चिनियाँ रेललाई नेपालसम्म जोड्ने बहस सुरु भएको धेरै भइसक्यो । तर, अहिलेसम्म चिनियाँ रेल भित्र्याउने कुरा चियागफमा मात्र सीमित भइरहेको छ । अब भने नेपाल र चीनलाई रेलमार्गबाट जोड्न सरकार आफैं तात्ने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत २ गते १३:०८

kyirong tibet to nepal train

नविन अर्याल

२ चैत, काठमाडौं । तिब्बतमा आइपुगेको चिनियाँ रेललाई नेपालसम्म जोड्ने बहस सुरु भएको धेरै भइसक्यो । तर, अहिलेसम्म चिनियाँ रेल भित्र्याउने कुरा चियागफमा मात्र सीमित भइरहेको छ । अब भने नेपाल र चीनलाई रेलमार्गबाट जोड्न सरकार आफैं तात्ने भएको छ ।

नेपालले रेलमार्गको विस्तृत सम्भाव्यता प्रतिवेदन (डीपीआर) का लागि चीनसँग आग्रह गर्ने भएको छ । प्रधानमन्त्री केपी ओलीको भ्रमणमा चीनसँग रेलमार्गको सम्भाव्यता अध्ययनका लागि पहल गरिदिन आग्रह गर्ने गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले परराष्ट्रलाई सिफारिस गरेको छ ।

परराष्ट्र मन्त्रालयले यो विषयलाई चीन भ्रमणको एजेन्डामा पार्ने संकेत देखाएको छ । भौतिक पूर्वाधार मन्त्रालयका अनुसार अहिले एउटा चिनियाँ कम्पनीले रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन गरिरहेको छ । विजयकुमार गच्छदार मन्त्री भएपछि अध्ययन थालेको सो कम्पनीबाट प्रतिवेदन भने आउन बाँकी छ । रेलमार्गको ‘प्रि-फिजिविलिटी’ अध्ययन भइरहे पनि विस्तृत अध्ययन सकेर काम अगाडि बढाउन मन्त्रालय तातेको हो ।

कहाँबाट आउँछ रेल ?

नेपालले चिनियाँ रेल तिब्बतको केरुङबाट काठमाडौं, पोखरा र लुम्बिनीसम्म पुर्‍याउने प्रस्ताव बनाएको छ । तिब्बतको सिगात्से हुँदै चीनले  नेपालको सीमावर्ती शहर केरुङसम्म रेल पुर्‍याउने घोषणा गरिसकेको छ ।

तिब्बतको राजधानी ल्हासाबाट सिगात्सेसम्मको दुरी २ सय ५३ किलोमिटर पर्छ । चीनले १३ औं पञ्चवर्षीय योजना (२०१६-२०२०) भित्र सिगात्सेबाट दुईवटा रेल लिक विस्तार गर्दैछ । एउटा लिक नेपालको सीमाक्षेत्र केरुङ र अर्को लिक भारत एवं भुटानको सीमाक्षेत्र यादुङसम्म पुर्‍याउने चीनको योजना छ । नेपालको रसुवागढीबाट केरुङ करिव २६ किलोमिटर दूरीमा छ ।

चिनियाँ रेल नेपाल ल्याउन सकेमा ठूलो उपलब्धि हासिल हुने विज्ञहरु बताउँछन् । तिब्बत घुम्न आएका चिनियाँ पर्यटक नेपाल भित्राउन र चीनसँग हुने व्यापार बढाउन रेलमार्ग कोशेढुंगा सावित हुनेछ ।

नेपालमा चिनियाँ रेल भित्राउन सकेमा ठूलो आर्थिक उपलब्धि हासिल हुने विज्ञहरु बताउँछन् । विश्व पर्यटन संगठनका अनुसार चीनबाट तिब्बतमा झण्डै डेढ करोड पर्यटक भ्रमणमा आउने गर्छन् । जसमध्ये करिव ९० प्रतिशत पर्यटक रेल र बसबाट तिब्बत आउँछन् ।

तिब्बतको रेल नेपालसम्म ल्याउन सकेमा चिनियाँ पर्यटक आगमन बढाउन सकिन्छ । तिब्बत भ्रमणमा आएका चिनियाँ पर्यटकमध्ये सानो हिस्सामात्र नेपाल भित्राउन सकेमा फालाफाल हुन्छ । अहिले तिब्बतसँग नेपाल सडक र हवाइ मार्गबाट जोडिएको छ । सडकमार्ग राम्रो नभएका कारण अपेक्षित पर्यटक भित्राउन सकिएको छैन ।

यसको अलवा चीनसँगको व्यापार बढाउनका लागि पनि रेलमार्ग उपयोगी हुने देखिन्छ । भारतले पटक-पटक नाकाबन्दी गरेर दुःख दिइरहेका बेलामा चीन र नेपाललाई रेलमार्गले जोड्न सकेमा भारतले नाकाबन्दी गर्दा पनि धेरै राहत हुने थियो ।

चीन सकारात्मक

नेपालमा रेलमार्ग विस्तारका लागि चीन सकारात्मक देखिएको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।करिव डेढ वर्षअघि नेपाल भ्रमणमा आउँदा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालको सीमानासम्म आइपुग्ने रेल काठमाडौंसम्म विस्तार गर्न चाहेमा सम्भाव्यता अध्ययन गर्न सुझाव दिएका थिए ।

विदेशमन्त्री वाङले तत्कालीन परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग रेलमार्गको सम्भाव्यता अध्ययनका लागि सहयोग चाहिएमा सहयोगका लागि आफुहरु तयार रहेको बताएका थिए । वाङका अनुसार चीन, भारत र दक्षिण एशियासँग जोड्ने महत्वपूर्ण सेतुका रुपमा नेपाल स्थापित हुनसक्छ ।

चीनले पटक-पटक नेपालमा रेलमार्ग विस्तारका लागि आग्रह गरे पनि नेपाली पक्षबाट आवश्यक कदम नचालेको बताइन्छ । तत्कालिन मन्त्री पाण्डेले वाङको प्रस्तावमा थप छलफल गर्ने बताएका थिए । तर, अहिलेसम्म चिनियाँ रेल काठमाडौं जोड्ने सम्भाव्यता अध्ययनको काम अगाडि बढेको देखिँदैन ।

प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणका बेला रेलमार्गको कुरा अगाडि बढ्ने अपेक्षा गरिएको छ । चीनले पहिलो चरणमा रेलमार्गको सम्भाव्यता अध्ययन गरिदिने र त्यसपछि पूर्वाधार विकासमा सहयोग गरिदिने नेपालको अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?