Comments Add Comment

गाविस सचिवले सरकारी मोटरसाइकल चढ्न पाउने, तेलको व्यवस्था भएन

 

१६ चैत, काठमाडौं । सरकारले मोटरबाटो पुगेका देशभरिका सबै गाविस कार्यालयलाई मोटरसाइकल किन्न अनुमति दिएको छ । यातायातका लागि सडक सञ्जाल जोडिएका २ हजार ७ सय ६६ गाविस कार्यालयले मोटरसाइकल किन्ने अनुमति पाएका छन् ।

bykeriderहाल देशभरि ३१५७ वटा गाविस छन् । यीमध्ये ४१८ वटा गाविसमा अझै मोटरबाटो पुगेको छैन । बाटो नपुगेका गाविसमा काम गर्ने ४१८ जना सचिवहरुले भने मोटरसाइकल किन्न पाउँदैनन् ।

गाविस सचिवले गर्नुपर्ने कामको चापलाई मध्यनजर गर्दै स्थानीय विकास मन्त्रालयले गाविस कार्यालयलाई मोटरसाइकल किन्न सक्ने अख्तियारी दिएको हो ।

एउटा गाविसले आफ्नै स्रोतबाट २ लाख ५० हजार रुपैयाँसम्मका मोटरसाइकल किन्न सक्नेछन् । यसअघि सरकारले नै गाविस सचिवलाई मोटरसाइकल किनिदिने प्रस्ताव गरिए पनि अर्थले स्वीकृति दिएको थिएन ।

तर, स्थानीय विकास मन्त्रालयले गाविले आफ्नो बजेटबाटै सवारी किन्न सक्ने व्यवस्था प्रस्ताव गरेपछि अर्थ मन्त्रालय गाविस सचिवलाई सवारी सुविधा दिन राजी भएको हो ।

धेरै काम गर्नुपर्ने अवस्थामा गाविस सचिवहरुलाई पनि सरकारी यातायात सुविधा दिन यस्तो निर्णय गरिएको मन्त्रालयका सहसचिव धनबहादुर श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।

सबै नगरपालिकालाई गाडी किन्ने सुविधा दिएजस्तै गाविसलाई पनि मोटरसाइकलको सुविधा दिइएको उनको भनाइ छ । श्रेष्ठका अनुसार स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधि नभएको अवस्थामा गाविस सचिवलाई विभिन्न किसिमका काममा आफैंले खट्नुपर्ने बाध्यता छ ।

पहिल्यै मोटरसाइकल भएका गाविसले भने अर्को किन्न पाउने छैनन् । यो वर्ष बजेट खर्च गरिसकेका गाविसले अर्को वर्षको बजेट मोटरसाकइल किन्न प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ ।

गाविस सचिवले प्रयोग गरेको मोटरसाइकलको सदुपयोग भए नभएको अनुगमन जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालयले गर्ने स्थानीइ विकास मन्त्रालयले जनाएको छ । सचिवहरु चढ्ने मोटरसाइकलको तेलको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा भने मन्त्रालयले अहिलेसम्म कुनै व्यवस्था गरेको छैन ।

सचिवलाई होइन, गाविसलाई सुविधाः श्रेष्ठ

गाविसले सरकारबाटै पाएको अनुदान रकमबाट मोटरसाइकल किन्न सक्नेछन् । सरकारले यो वर्ष सबै गाविसहरुलाई ५-५ लाख रुपैयाँ अनुदान रकम बढाएर दिएको थियो ।

‘यो गाविस सचिवलाई भन्दा पनि गाविस कार्यालयलाई दिइएको सुविधा हो’ सहसचिव श्रेष्ठले भने- ‘गाविस कार्यालयले आफ्नो प्रयोजनका लागि मोटरसाइकल किन्नेछ ।’ ‘गाविस सचिवलाई सहज यातायात सुविधा नहुँदा सामान्य कामका लागि सदरमुकाम आएपछि गाविस फर्केनिसमस्या छ’ सहसचिव श्रेष्ठले भने-‘मोटरसाइकल भएपछि उनीहरुको कार्यसम्पादन राम्रो हुनेछ भने जनगुनासो कम हुने अपेक्षा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment