+
+
Shares

बिरामी कुरुवाले जे देखें, त्यही लेखें

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत १६ गते १४:०९

अर्जुन अधिकारी

लामो समय भयो वीर अस्पतालमा बिरामी कुरुवाको रुपमा बसेको । वीर अस्पतालको फिमेल सर्जिकल वार्डको बेड नम्बर २६० मा पित्त थैलीको अप्रेशन गरेकी मेरी आमालाई स्लाइन दिएर राखिएको छ ।

टेलिभिजनको कामले ०७२ सालको बडादशैंमा घर जान नपाई दिपावलीमा मात्रै भोजपुरको दिङलामा परिवारसँग खुसी साट्न गएको थिएँ । र्फकने बेलामा मधेसकेन्द्रीत दलको आन्दोलनका कारण कठिन यात्राका साथ कलंकी आइपुगें । तर, कलंकीमै हुँदा घरबाट एक्कासी फोन आयो । आमाको स्वास्थ्यमा गम्भीर समस्या आएछ ।

अर्जुन अधिकारी
अर्जुन अधिकारी

आमालाई तत्काल विराटनगर ल्याउन सल्लाह दिएर म पनि कलंकीबाट सिधै बिराटनगर फर्किएँ । बिराटनगरस्थित नोबेल अस्पतालमा आमाको चेकजाँच गरियो । डाक्टरले पित्त थैलीमा स्टोन रहेको भन्दै अप्रेशन गर्नुपर्ने सल्लाह दिए । पित्त थैली सुनिएकाले तत्काल अप्रेशन गर्न असम्भव देखियो ।

डाक्टरले ६ हप्ताका लागि औषधि दिएर त्यसपछि अप्रेशन गर्ने समय दिए । आमाको अप्रेशन पनि काठमाडौंमा नै ल्याएर गर्ने निर्णय गरियो । त्यसैबमोजिम वीर अस्पतालमा आमालाई दुई हप्ता अगाडि भर्ना गरियो ।

वीर अस्पतालका बरिष्ठ चिकित्सक इन्द्र झा नेतृत्वको टोलीले गरेको आमाको अप्रेशन सफल भयो । अप्रेशन गरेको दुई दिनमा नै डाक्टरले डिस्चार्ज गरिदिए ।

तर, आमालाई फेरि गाह्रो भयो । म अफिसबाट बेलुका र्फकंदा आमा असिन-पसिन हुँदै हामीलाई पुकार्दै बस्नुभएको रहेछ । आमाको त्यो हालत देखेपछि तत्काल ट्याक्सी खोजेर पुनः अस्पतालको इमर्जेन्सीमा भर्ना गरियो ।

अप्रेशन गर्दा केही समस्या भएको र अन्य रोगका कारणले उहाँको स्वास्थ्यमा गडबडी भएको रहेछ । इमर्जेन्सीमा बिभिन्न औषधि प्रयोग गर्दा पनि ठीक भएन । अहिले पनि आमालाई अस्पतालमा नै राखेर उपचार गराइरहेको छु । र म कुरुवाका रुपमा अस्पतालमा बसेको छु ।आमाको उपचारको सिलसिलामा लामो समय अस्पताल बस्दा केही कुराको अनुभव गर्ने मौका पाएँ । अस्पतालमा इन्टर्न नर्सहरुले गरेको सेवाले मलाई निकै प्रभावित पारेको छ ।

अस्पतालमा कार्यरत पुराना नर्सहरुको व्यवहारले भने मलाई आजित तुल्याएको छ । उनीहरुले गर्ने व्यहार निकै अमर्यादित देखिन्छ । बिरामी कुरुवाहरु भन्छन्- सरकारी जागिर खाएकाले शान देखाएका होलान् ।

इन्टर्न नर्सहरुलाई पनि अस्पतालका जागिरे नर्सहरुले ठाडै हप्काउँछन् । उनीहरुलाई अझ स्वरमा गाली गर्ने गरेको देखियो । सानो स्वरले भन्दा पनि हुने कुरालाई ठूलो आवाजमा भन्दा असुहाउँदो देखिँदो रहेछ ।

डाक्टरहरु राउण्डमा आएका बेला भिजिटरहरुलाई बाहिर निकाल्दा भने नरमाइलो लाग्छ । कुरुवालाई साथमै राखेर डाक्टरले बिरामीको चेकजाँच गर्दा धेरै कुरा थाहा हुन्थ्यो । कतिपय बिरामीले आफ्नो समस्या डाक्टरहरुलाई भन्न सक्दैनन् । बोल्न अप्ठ्यारो मान्छन् । र, कुरुवाले पनि बाहिर निकालिएपछि बिरामीको स्थिति के रहेछ भनेर थाहा पाउन सक्दैन । यस विषयमा अस्पतालले समीक्षा गर्नुपर्ने देखियो ।

सरकारी अस्पताल, त्यो पनि मुलुकको जेठो र पुरानो अस्पतालमा बिरामीको चाप निकै उच्च छ । कतिपय बिरामीका आफन्तले डाक्टरले आफ्नो बिरामीलाई वास्ता नगरेको गुनासो सुनियो ।

अस्पतालको धेरै कुरा सुधार गर्नु पर्ने देखियो । वीर अस्पताल भनेको न्यून आयस्तर भएका गरिव जनताको पहुँचमा रहेको अस्पताल हो । यसमा कार्यरत कर्मचारीहरुले सेवा भावले काम गर्नुपर्ने हुन्छ । आफूलाई हाकिम ठान्ने होइन ।

अस्पतालका निर्देशक प्रकाश पण्डितले अस्पताल सुधारका लागि निकै ठूलो काम गरेको देखियो । उहाँ आफै अस्पतालमा बिरामीको अवस्था कस्तो छ र कर्मचारीहरुले कस्तो सेवा गर्दैछन् भन्ने बेला बेलामा छड्के गर्नुहुँदोरहेछ । यसले कामचोरहरुलाई काम ठग्ने मौका दिँदैन ।

निर्देशक पण्डित अस्पतालको भौतिक पूर्वाधार निर्माणमा पनि ठूलो मेहनत गरेको देखियो । जापानी अन्तराष्ट्रिय विकास सम्बन्धी संस्था जाइकासँग भूकम्पका कारण क्षति पुगेका भौतिक संरचनाहरुको पुनर्निर्माण गर्नका लागि सम्झौता भैसकेको रहेछ । छिटै नै वीरको स्वरूप फेर्ने पक्षमा उनी उभिएका रहेछन् । उनको यो सकारात्मक कदमले वीरको स्वरूप परिवर्तन र सुधार हुने आशा गर्न सकिन्छ ।

सान, श्रद्धा र सुष्मा कोइराला नर्सिङ कलेजका इन्टर्न नर्सहरुले बिरामीलाई गरेको सेवा भने निकै मन छुने छ । इन्टर्न नर्सहरुले बिरामीलाई गरेको व्यवहार फ्लोरेन्सको याद दिलाउने खालको छ ।

सान नर्सिङ कलेजमा बीएस्सी नर्सिङ गर्दै गरेकी प्रकृति सुवेदीको व्यवहार फ्लोरेन्स नाइन्टेङगलले विरामीलाई गरेको व्यवहार भन्दा कम छैन । शालीन र अझ स्वभावकी सुवेदीको व्यवहारले साच्चिँकै मेरो मात्रै हैन, कयौं बिरामी र उनका कुरुवाको मन छोएको छ । उनी अत्यन्तै मिजासिली, फरवार्ड र व्यवहारिक रहिछन् । नर्स भनेको यस्तै हुनुपर्छ ।

सानको जस्तै सुष्मा र श्रद्धाबाट आएका इन्टर्न नर्सहरु पनि कम छैनन् । मोनिका देवकोटा, बसुकुमारी बानियाँ, विनु ढकाल, समीक्षा खनाललगायतका नर्सिङ पढदै गरेका विद्यार्थीहरुले बिरामीलाई गरेको व्यबहार पनि उतिकै मन छुनेखालको छ ।

तर, उनीहरु नेपालमा नर्सको पेशा सम्मानजनक हुन् नसकेको गुनासो गर्छन् । नर्सलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्ने उनीहरुको समान धारणा छ ।

इन्टर्न नर्सहरुलाई उनीहरुका टिचरले गरेको व्यबहार भने अझ किसिमको लाग्यो । मेहनतका साथ काममा डटेर लागिपरेका इन्टर्न नर्सहरु गाली गरेको देख्दा लाग्छ, उनीहरुलाई नम्र हुनुपर्छ र सेवाको भाव राख्नुपर्छ भनेर कसैले सिकाएन कि ?

सानो सानो कुरामा पनि अनावश्यक गाली गर्ने र अनावश्यक कुरा सोधेर दुख दिने काम गरेको देखिन्छ । शिष्टता देखाउन सक्ने स्वभाव यिनीहरुमा छैन जस्तो देखिन्छ । यसमा सुधार गर्नुपर्छ । किनकि नर्सिङ पेसा भनेको सेवा हो । सेवा नै धर्म हो भन्ने नर्सहरुको मुख्य उदेश्य हो । सेवा भावमा नर्सहरु रमाएका हुन्छन् । छुद्र व्यवहार गर्ने नर्सिङ टिचरहरुको स्वभाव परिवर्तन हुनैपर्छ ।

अस्पतालमा बस्दा मान्छे चिन्ने मौका पाइयो

अस्पतालको बसाइमा मैले धेरै कुराको अनुभव गर्ने मौका पाएँ । हामीलाई मर्दा र पर्दा मान्छे चाहिन्छ । यस्तो अवस्थामा उपस्थिति हुनुपर्छ भन्ने हाम्रो सामाजिक मान्यता रहेको छ । यसलाई मैले पनि हाम्रो संस्कार, संस्कृति र सभ्यता हो भनेर आत्मसात गर्ने गरेको छु । तर, यस समयमा मलाई पर्दा मान्छे चिन्ने मौका प्राप्त भएको छ ।

मैले निस्वार्थ सेवा गरेका मान्छेहरुले मलाई कस्तो रुपले लिएका रहेछन । मेरो परिवारलाई परेको समस्यामा सहानुभूति समेत तिनीहरुले प्रकट गरेनन् । यसको राम्रैसँग मूल्यांकन गर्ने मौका पाएको छु । मलाई लाग्यो, संसार साच्चिकै स्वार्थी रहेछ । मानिसहरुले आफ्नो स्वार्थ पूरा गर्नका लागि ‘युज एन्ड थ्रो’ गर्दा रहेछन् । आगामी दिनमा यसको समीक्षा जरुर गर्नेछु । मैले मानिसहरुको मानसिकता र व्यवहारबाट सिकेको ठूलो पाठ हो यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?