नयाँ दिल्ली । गाँस, बास र कपासको खोजीमा परदेशमा रहेका युवाहरुले अत्यावश्यक खर्च समेत कटौती गरेर अनलाइन मार्फत संस्था गठन गरी गुल्मी जिल्लाको पिपलधारा गाविसलाई एम्बुलेन्स सहयोग गरेका छन् ।
सदमुकाम तम्घासदेखि झण्डै २२ किलोमिटर पश्चिम रहेको पिपलधारा गाविसका युवाहरुको सक्रियतामा गाउँले एम्बुलेन्स पाएको छ ।
पिपलधारा चौतारी सम्पर्क समिति विश्व संजाल गुल्मी नामक संस्था मार्फत उनीहरुले विभिन्न देशबाट रकम जम्मा गरि गत बर्षको दशैंमा गाउँमा एम्बुलेन्स प्रदान गर्ने घोषणा गरेका थिए ।
त्यतिबेलै आइसक्नुपर्ने यस एम्बुलेन्स भारतले लगाएको नाकाबन्दीका कारण बीरगञ्ज नाकामै रोकिएको थियो ।
झण्डै ११ लाखको लागतमा गाउमा एम्बुलेन्स भित्रिएको बताउँदै संस्थाका अध्यक्ष कमल जिसीले आफूहरु परदेशमा रहेपनि गाउँमा स्वास्थ्य सेवा चुस्त बनाउन एम्बुलेन्स सहयोग गरिएको जानकारी दिए ।
लामो समयको प्रतीक्षापछि एम्बुलेन्स अहिले गाउँ पुगेको छ । बुटवलमै पुजाआजा गरी एम्बुलेन्सलाई गाउँ लगिएको छ ।
पिपलधाराका युवाहरुले सामाजिक सञ्जाल हृवाट्स एप मार्फत संगठित बनेर गाउँका लागि उदाहरणीय काम गरेका छन् । सांकेतिक रुपमा गत दशैंमै हस्तान्तरण गरिएपनि एम्बुलेन्स आगामी चैत २७ गते सामान्य कार्यक्रम गरेर पिपलधारा स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिने पिपलधारा चौतारी सम्पर्क समिति विश्व संजाल गुल्मी, भारत उप समितिका सह-सचीव मेहर सिंह बस्नेतले जानकारी दिए ।
प्रतिक्रिया 4