Comments Add Comment

पोखराको लेकसाइडमा पाँच सयमै कोठा !

Pokhara Lakesideनविन अर्याल

३० चैत, पोखरा । महंगो शहरका रुपमा परिचित पोखराको लेकसाइडमा पाँच सयमै रुम ! त्यो पनि तारे होटलकै सरह सेवा सुविधासहित !  सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ, तर यथार्थ हो ।

लेकसाइडको भित्री सडकमा पाँच सय रुपैयाँमा रुम पाइन्छन् । जहाँ अट्याच ट्वाइलेट बाथरुम, चिसो तातोपानी, वाइफाइ, टीभी लगायतका सुविधा उपलब्ध हुन्छन् । यस्ता होटलमा पाँचसयदेखि हजार रुपैयाँसम्मका रुमहरु हुने न्यू सिटी अन्नपूर्ण होटलका सञ्चालक शंकर गुरुङले अनलाइनखबरलाई बताए ।

पोखरा भन्नेवित्तिकै धेरै मानिसहरु महंगो शहरका रुपमा बुझ्छन् । त्यसमाथि लेकसाइड भनेपछि धेरैले आफ्नो पहुँच बाहिर सम्झन्छन् । लेकसाइडमा महंगामात्र होटलहरु मात्रै रहेको भ्रममा धेरै नेपाली लेकसाइड बस्ने आफ्नो चाहनाविपरीत पृथ्वीचोक, न्यूरोड, सृजनाचोक, महेन्द्र पुलतिर बसेको भेटिन्छ ।

तर, लेकसाइडमै पाँच सयमा सुविधायुक्त रुमहरु पाइने धेरैलाई थाहा छैन् । जसले गर्दा कम पैसा हुनेहरु पोखरा आउँदा लेकसाइडमा बसेर यहाँको रात्रीलाइफको मज्जा लिन पाइरहेका छैनन् । लेकसाइड नेपालको यस्तो ठाउँ हो, जहाँ पुग्दा पश्चिमी रंगीन दुनियाँको झझल्को मिल्छ ।

‘लेकसाइड बस्ने रहर भएका तर धेरै पैसा खर्च गर्न नसक्ने ग्राहकरुलाई सेवा दिइरहेका छौं’ गुरुङले भने- ‘सस्तो मूल्यमा रुमहरु बिक्री गरे पनि हामीले सेवा सुविधाको गुणस्तरमा कुनै सम्झौता गर्दैनौं ।’ होटलको सफा सुग्घरमा पनि कुनै गडबडी हुन नदिने उनको भनाई छ ।

पोखरा घुम्न आउने स्वदेशी पर्यटक पनि सस्ता रुम खोज्छन् । नेपालीहरु रुममा भन्दा बढी खानपिनमा खर्च गर्न चाहाने गरेको गुरुङले बताए । नयाँ वर्षको पूर्वसन्ध्यामा लेकसाइडका तारे होटलहरु भरिएका छैनन् । तर, सस्ता रुमहरु बिक्री गर्ने होटलहरु भरिभराउ छन् ।

लेकसाइडको मुख्यरोडभित्र खुलेका दर्जनौं होटलले पाँच सयदेखि हजार रुपैयाँसम्म रुमहरु बिक्री गर्छन् । कतिपयले होम स्टे सरहका होटलहरु समेत सञ्चालन गरिरहेका छन् । जसले कम खर्चमै लेकसाइडमा बसेर रमाइलो गर्ने नेपालीको चाहना पूरा गर्दै आएका छन् ।

खासगरी लेकसाइडका भित्री सडकहरु, पामेतिर जाने सडक र हलनचोकबाट जिरो किलोटिरतर्फको मुख्य सडकमा पाँच सयदेखि हजार रुपैयाँसम्ममा सुविधायुक्त रुमहरु पाइन्छन् । सफा र चिटिक्क पारिएका होटलमा पाँच सयमै रुम पाइने भएपछि ग्राहक यस्ता होटलमा आकषिर्त भइरहेका छन् ।

लेकसाइड जस्तो महंगो ठाउँमा कसरी पाँच सयमा रुमहरु पाइन्छन् ? धेरैलाई कौतुहल  हुन सक्छ । यस्ता होटलहरु प्राय आफ्नै घरमा परिवारका सदस्यहरुले सञ्चालन गरेको भेटिन्छ । घरको बाहल तिर्न नपर्ने र परिवारकै सदस्यले काम गर्ने हुँदा सञ्चालन खर्च कम भएपछि सस्तोमा रुम बिक्री सम्भव भएको हो ।

त्यसो त घर भाडामा ल्याएर होटल चलाउनेहरुले पनि पाँच सयमै रुमहरु बिक्री गरेको भेटियो । लेकसाइडमा महंगो भाडा तिरेर पाँच यसमा रुमहरु बिक्री गरी कसरी नाफा कमाइन्छ ? उनीहरुको पनि आफ्नै तर्क छ ।

लेकसाइडको सेन्टर प्वाइन्ट सडकमा घर भाडामा लिएर होटल चलाइरहेका गुरुङले खानाबाट खर्च कभर गर्ने बताउँछन् । ‘नेपालीहरु सस्तो रुममा बसे पनि खानपिनमा भने निकै खर्च गर्छन्, खानाबाट हामीले नाफा कमाउने हो’ उनको भनाई छ ।
यसको मतलव गुरुङले खानको मूल्य चर्को असुल्ने होइन । उनले २ सयमा भेज र ३ सयमा ननभेज खुवाउँछन् । नेपालीहरु रक्सी र स्न्याक्समा धेरै खर्च गर्ने हुँदा खानाबाट आम्दानी बढी हुने उनको तर्क छ ।

सस्ता रुमका ग्राहकहरु अधिकांश नेपाली हुने गर्छन् । त्यसमाथि पनि पोखरा क्षेत्रका ५० प्रतिशत र पोखरा बाहिरका ५० प्रतिशत हुने गरेको गुरुङको अनुभव छ ।

कम मूल्यमा रुम बिक्री गर्ने होटलमा अफसिजनमा समेत ५० प्रतिशत भन्दा बढी रुम भरिन्छन् । त्यसो हुँदा पनि सस्तोमा रुम बिक्री गरेर नाफा कमाउन सम्भव भएको हो ।

तीनतारे स्तरको ल्यान्डमार्क होटलका प्रबन्ध सञ्चालक ओमप्रकाश पाण्डेका अनुसार मुख्य सडकभित्र रहेका अधिकांश घरधनीले सस्तोमा रुमहरु बिक्री गर्ने गरेको बताउँछन् । ‘घर महिनावारी भाडामा लगाएर भन्दा होटल बनाएर प्रतिरुम पाँच यसमा बिक्री गर्दा नाफा हुन्छ’ उनले भने- ‘त्यसो हुँदा परिवारकै सदस्यले घरलाई होटलका रुपमा चलाइरहेका छन् ।’

लेकसाइडका भित्री सडकमा सबै घरहरु होटलमा परिणत भएको पाण्डेले बताए । सस्तो रुम बिक्री गर्ने होटलहरु तारे होटलका लागि चुनौती समेत बन्दै गइरहेका छन् । तर, धेरै पैसामा लेकसाइडमा बस्न चाहाने पर्यटकका लागि भने बरदान बनिरहेका छन् ।

पोखरालाई पर्यटकीय नगरी भने पनि यहाँको पर्यटन लेकसाइडमा मात्र केन्दि्रत भएको देखिन्छ । लेकसाइड बाहिर बसेर पर्यटकले पोखरा भ्रमण गरेको अनुभव प्राप्त गर्न सक्दैनन् । त्यसकारण सकेसम्म लेकसाइडमा बसेर रमाइलो गर्न चाहाने बढी हुने गरेको पर्यटन व्यावसायी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment