+
+
Shares

‘आफ्नै सरकार छ, सडकमा गएर नारा लगाउन मिलेन’

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १ गते ३:४०

नेकपा एमालेमा देखिएको आन्तरिक विवादबारे जिज्ञासा राख्दा स्थायी कमिटीका सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अनलाइनखखबरसँग भने-‘देवराज कमरेडले भन्नुभाे, पार्टीमा पैसा कमाउने र पदका लागि चाकरी गर्ने बढे । ‘ 

देवराज घिमिरे पार्टी अध्यक्ष निकट हुन् । तर, पार्टीमा सबैमा नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि देखिएको उनले बताए । उनले भने-‘हामी यो संस्थापन र अर्को प्रतिपक्ष भनेर भर्चुअल्ली विभाजित छैनौं ।’

माधव नेपाल पक्षका नेताका रुपमा परिचित पाण्डेसँग अनलाइनखबरले एमालेको अन्तरसंघर्षमा केन्द्रित रहेर गरेको कुराकानीः

 

Surendra Pandey (1)

नेकपा एमालेको बैठकमा पार्टी अध्यक्षमाथि गुटबन्दी गरेको आरोप लागेछ । गुटबन्दी त एमालेमा पहिलादेखि नै थियो होइन र ? कि नयाँ भएर विरोध गरेको ?

हा हा हा … तपाईले ठिकै भन्नु भो । गुटवन्दीको समस्या नयाँ चाहिँ होइन, पुरानै हो । त्यसको स्वरुप विभिन्न समयमा परिर्वतन हुँदै आएका छन् । पात्र र प्रवृत्तिहरु पनि समय अनुसार केही भिन्नता छ ।

उसोभए अहिले केपी शर्मा ओलीको किन विरोध गरेको त ?

हामी दुईवटा कुरामा छलफल गरिरहेका छौं । एउटा, पार्टीमा बहुमत प्राप्त गर्ने पक्ष जहिलेसुकै जवाफदेही हुन्छ । र, उसको उद्देश्य पार्टीको सबै पक्षलाई मिलाएर लैजाने हुनुपर्छ । यसको लाभ र श्रेय नेतृत्वले नै प्राप्त गर्छ ।

देवराज कमरेडले भन्नुभाे, दुई कारणले पार्टीको कार्यशैली बिग्रियो । एउटा, पैसा कमाउने र पैसा भएकाहरु पार्टीभित्र हावी हुन थाले । दोस्रो, पद चाकरी गर्नेले पाउन थाले ।

घटनाक्रमको श्रृखला हेर्नुहुन्छ भने महाधिवेशनपछि जतिखेर पोलिटब्यूरो र स्थायी समिति बनायौं, त्यो बेलासम्मको एप्रोच ठिकै जस्तो लाग्छ । मिलाएर जाउँ भन्ने थियो । यद्यपि त्यसमा मान्छेहरुले के पनि भन्छन् भने वामदेवहरु बीचमा बसिरहनुभएको थियो र भोटिङमा जाने पक्षमा हुनुहुन्नथ्यो । त्यसैले उहाँहरुले अर्कोतिर लाग्दा सिंगै स्थायी समिति अर्कोतिर लाग्थ्यो भन्ने थियो । तर, जे जे कारणले भए पनि समझदारीबाट टुंगियो र त्यो राम्रो सन्देश पनि थियो ।

त्यसपछि जुन ढंगले सरकार बनाउनेदेखि राजनीतिक नियुक्तिहरु भए, जसबारे अहिले केन्द्रीय कमिटीमा प्रश्न उठेको छ, त्यो अलि एकांगी देखियो । र, समग्र पार्टीलाई परिचालन गर्ने मान्यताबाट भएन भन्ने गुनासो छ । मैले मेरो निजी कुरा गरिरहेको छैन, १० वटा समूह मध्ये ८ वटा समूहले प्रस्तुती गर्दा अधिकांशको त्यस्तो भावना व्यक्त भएको छ ।

दोस्रो, पार्टी र निर्णय गर्ने प्रक्रियामा कहीँ भेट भएको छैन । सरकारमा बसेर के-के नियुक्ति हुन्छ, त्यसबारे पार्टीको कुन न कुनै निकायबाट हुन्थ्यो । व्यक्ति वा सीमित मान्छेको होइन । एमाले संठगित र योजनावद्ध रुपमा सञ्चालित हुने पार्टी हो र, लोकतान्त्रिक र संस्थागत रुपमा चल्ने पार्टी पनि हो । संस्थागत रुपमा चल्नु नै यसको मुख्य आधार हो । तर, यो क्रमशः भत्किन लाग्यो भनेर साथीहरुले चिन्ता गर्नुभएको छ ।

पार्टीको चुनावमा एउटाले जित्नु र अर्को समूह हार्नु स्वाभाविक हो । तर, हार्ने पक्षले यस्तै हुनुपर्छ भनेर भाग खोज्ने प्रवृत्ति दलहरुमा देखियो । त्यो चाहे कांग्रेसमा होस् वा माओवादीमा होस् वा एमालेमा होस्…

संस्थापन र अर्को समूह भन्ने मान्यतामा म छैन । केन्द्रीय कमिटीमा हामी अल्पमतमा छौं । तर, त्यसपछि करिव २० वटा अधिवेशन भएकामा हामी १६ वटामा हिजो हामीसँग निकट भनेकाहरुले चुनाव जितेका छन् । त्यसोभए को संस्थापन ? त्यसैले यहाँ हामी यो संस्थापन र अर्को प्रतिपक्ष भनेर भर्चुअल्ली विभाजित छैनौं ।

जहाँसम्म हार्नेले यो आरोप लगाउँछ भन्ने छ, होला कहिले काँही हार्नेमा त्यो प्रवृत्ति बढी हुन्छ । कुण्ठा पनि हुन्छ, आक्रोश पनि होला । आफ्नो कुरा सुनिदेओस् भन्ने चाहाना पनि होला । तर, हामी यो कुराबाट भनिरहेका छैंनौं । मन्त्री/राज्यमन्त्री बनाउँदा, योजना आयोगका सदस्य तथा राजनीतिक नियुक्ति गर्दा कुनै न कुनै ठाउँबाट त निर्णय हुनु पर्‍यो नि ? पहिला राज्य व्यवस्था भन्थ्यौं, अहिले राजकीय मामिला भनिएको छ, त्यसलाई पनि थाहा छैन । अनेक ठाउँमा नियुक्त भएको छ, तर, थाहा छैन ।

साथीहरुले के पनि भनिरहेका छन् भने कुनै क्षेत्रको नियुक्ति हुन्छ तर, त्यही क्षेत्रमा मान्छेहरुले चिनेका छैनन् । पार्टीले चिनेको हुँदैन । कुन ठाउँबाट सिफारिस भएर नियुक्ति दिएको हो ? यो प्रश्न उठेको छ ।

योचाहिँ माधव नेपाल समूहलाई मात्र थाहा रहेछ ? अर्को समूहले देखेन ? 

यो प्रश्न माधव नेपाल पक्षले उठायो, अर्कोले होइन भन्ने छैन । दुबै पक्षको साझा प्रश्न हो । र, हाम्रो चिन्ता यो विधि विग्रन थाल्यो भन्ने छ ।

म तपाईँलाई नोट गरेरै भन्छु, म आठ नम्बर समूहमा थिएँ । त्यहाँ केन्द्रीय सदस्य देवराज घिमिरे, जो केपी कामरेडसँग निकट मानिनुहुन्छ, उहाँले के भन्नु भो भने दुई कारणले पार्टीको कार्यशैली बिग्रियो । एउटा, पैसा कमाउने र पैसा भएकाहरु पार्टीभित्र हावी हुन थाले । दोस्रो, पद चाकरी गर्नेले पाउन थाले ।

रिपोर्ट लेख्ने क्रममा उहाँ र टोली नेताको ठाकठुक नै परेछ । कतिसम्म आक्रोश छ, यसले देखाउँछ र यसलाई एउटा गुटको नभनिदिनुस् । हामी जतातिर बाँडिए पनि भोटिङ हुँदा त अस्थायी क्रियाकलाप हो ।

तर, पार्टीको चुनाव लड्दा जुन प्यानल थियो, अहिले पनि त्यही गुट छ । माधव नेपाल प्यानलबाट लड्नेहरु त्यही गुटमै छन्….

त्यस्तो धेरै पनि छैन । यो हाम्रो दुईवटा अभ्यास हो । र, हाम्रो केन्द्रीय कमिटीका सदस्यहरुले दुईवटा आधारबारे छलफल गरिरहेका छन् । एउटा, पहिलादेखि पनि थियो । दोस्रो, निर्वाचनमा प्यानल प्रणाली पनि ल्यायो । त्यसैले प्यानलबाट चुनाव लड्ने पद्दतिलाई क्रमशः घटाउँदै जाऊँ । यसले गुटवन्दीका नयाँ-नयाँ आधारहरु सिर्जना गर्‍यो, त्यसैले अब हटाउन सकिँदैन भने पनि साँघुर्‍याउँदै जाउँ भन्नेमा करिब-करिब सहमति छ ।

अर्को कुरा हाम्रोमा त्यतिधेरै स्थायी धेरै छैन । आठौंमा माधव नेपाल एक ठाउँ हुनुहुन्थ्यो । झलनाथ, वामदेव र हामी अर्कातिर थियौं । नवौंमा पुग्दा वामदेव र केपी ओली एक ठाउँमा हुनुभो । रेखा तानेको जस्तो अवस्था छैन । यसमा नयाँ उचाइबाट जाउँ भनेर छलफल भएको छ ।

तपाईहरुको अहिलेको विवाद भनेको नियुक्ति आदि इत्यादिमै हो । अध्यक्षको राजनीतिक प्रतिवेदनमा उठाइएका राजनीतिक विषयमा त खासै विवाद भएको सार्वजनिक भएको छैन, किन ?

केही कुरा पोलिटब्यूरोमा भएको छलफलले ‘करेक्सन’ पनि भएको छ । सुरुमा प्रस्तुत भएको अध्यक्षको राजनीतिक प्रतिवेदनमा केही त्रुटी थियो । केन्द्रीय कमिटीमा आउँदा सच्चिएको छ ।

के-के करेक्सन भएको छ त ?

Surendra Pandey (1)हाम्रो पार्टीमा निक्कै बहस भएको एजेण्डा के थियो भने ०६२/६३ को राजनीतिक घटना के हो ? क्रान्ति हो कि आन्दोलन मात्र ? युगान्तकारी घटना भन्ने तर, युग अन्त्य भनेको क्रान्ति हो कि होइन ? एउटा युगको अन्त्य भएर अर्को युगको थालनी भनेपछि त क्रान्ति हो । सुरुमा उहाँले दुबै गोलमाल गरेर ऐतिहासिक जनआन्दोलन र क्रान्ति भनेर ल्याउनुभएछ । एकथरी उहाँहरु ऐतिहासिक जनआन्दोलन मात्र भन्नुहुन्थ्यो । तर, अहिले शान्तिपूर्ण हो र जनक्रान्ति हो भन्ने निष्कर्षमा पुगेका छौं । यो खुसीको कुरा हो ।

अर्को, पुँजीवाद आइसक्यो । पुँजीवाद आउँदा सामान्तवादका अवशेष हुन्छ तर, अवशेष त अवशेष हो, मूल प्रतिद्वन्द्विता हुँदैन । अग्रगामी कार्यक्रम अघि सारेपछि पुराना कुराहरु आफैं अन्त्य भएर जान्छ । यो कुरामा पनि सामान्त अवशेष नै प्रधान हो कि भन्ने थियो । त्यो पनि करेक्सन भयो । विचारमा उहाँहरुले गरेपछि विमति गर्नुपर्ने कुरा भएन ।

नयाँ संविधान बनाउने कुरामा त हाम्रो एकमत नै थियो । जसरी पनि संविधान बनाउनुपर्छ । हाम्रो राष्ट्रिय हित सुरक्षित हुनुपर्छ भन्नेमा हाम्रो पार्टीमा कहाँ विमति थियो र ? एउटा व्यक्ति वा समूहको मात्र होइन, समग्र पार्टीको लक्ष्य हो । यही अभूतपूर्व पार्टी एकता भएकै कारण हामीले यो साइजमा चुनाव पनि जित्यौं र संविधान पनि बनायौं । कुनै एउटा व्यक्ति कारण हुन सक्दैन । व्यक्तिगत गुनगान गाउने नहोस् भनेपछि करेक्सन भएर आएको छ । तथापि कांग्रेसकै पनि ठूलो शक्ति संविधान बनाउन तयार भयो नि । केही अपवाद थियो होला । गर्नैपर्छ भनेर घँच्याड्ने कुरामा हामी रहृयौं होला । तर, गर्दै गर्दैनौं भन्ने भएको भए त संविधान बन्दैनथ्यो । यो कुराको पनि क्रेडिट दिनुपर्छ । यो कुरा हामीले राख्यौं र प्रतिवेदनमा करेक्सन भएर आएको छ ।

उसो भए अब बाँकी विवाद भनेको संविधान अनुसार पार्टीको प्रदेश कमिटी बनाउनेमा मात्रै हो ?

हामीले भनेका छौं कि पुनर्निर्माण र नव निर्माणको काम खत्तम भो । केही पनि गर्न सकेन

हाम्रो एजेण्डा एउटा विभागहरु बनाउने छ । अर्को तपाईँले भन्नु जस्तै प्रदेश कमिटीहरु बनाउने । संविधानमा अञ्चल नभएकाले अब प्रदेश कमिटीहरु चाहियो, जुन हाम्रो विधानमा छैन । अब बहस विधानमा प्रदेश कसरी हाल्ने भन्ने हो ।

अध्यक्षले विधानमा बाधा अड्काउ फुकाउको प्रस्ताव गर्नुभएको छ । यसमा पनि तपाईँहरुको विमति हो ?

यसमा हामी बहस गरिरहेका छौं । केन्द्रीय कमिटीले बाधा अड्काउ फुकाउ गर्ने कि १५ दिनको मिति राखेर राष्ट्रिय परिषदबाट गर्ने भन्ने विकल्प छ । राम्रो चाँहि राष्ट्रिय परिषदबाटै गर्नु हुन्छ । विधानमा पनि त्यही छ ।

केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि नाकाबन्दी भयो । अहिले भारतसँगको असमझदारी अन्त्य भयो भनिएको छ । तर, कालोबजारी रोकिएको छैन । यसबारे तपाईँहरुले केही गर्नुभएन । खाली कहाँ कसलाई नियुक्ति दिइयो/दिइएन मात्र हेर्नुभो भन्ने आरोप छ नि ?

हामीले यो नियन्त्रण गर भनेर सरकारलाई नै भन्ने हो । नभए सडकमा नारा जुलुस गरेर हिँड्ने त ? आफ्नै सरकार छ, आफैं नारा लगाउन त मिलेन । पार्टीभित्र त हामीले बारम्बर भन्दै आएका छौं । र, सबैले के भनिरहेका छन् भने सरकारले कालोबजारी, महंगी र अभाव नियन्त्रण गर्न सकेन ।

भूकम्पपछिको पुननिर्माण पनि त भएन खै ?

हो, हामीले भनेका छौं कि पुनर्निर्माण र नव निर्माणको काम खत्तम भो । केही पनि गर्न सकेन । यो सबैको साझा आलोचना छ । र, सरकारलाई अविलम्ब गर भनेको छ । कतिसम्म पनि भनेको छ भने आवश्यक पर्छ भने सरकार पुनर्गठन गर, मान्छेहरु हेरफेर गर र समक्ष मान्छेहरुलाई लिएर यो काम छिटो गर भनेर सुझाव आएको ।

हामी यसमा चिन्तत नै छौं । कुनै झण्डा राख्न र फोटो झुण्ड्याउन पार्टी सरकारमा जान भएन । सबै नेता कार्यकर्ता चिन्तत छन् र अर्को टिम भन्नेको पनि कुनै विमति छैन ।

तपाईहरु नै भन्दै हुनुहुन्छ कि मन्त्रीदेखि राजनीतिक नियुक्ति पनि राम्रो भएन । पुनर्निर्माण पनि भएन, कालोबजारी पनि रोक्न सकेन । यो सरकारको ६ महिनाको उपलब्धि के त ?

मधेसीहरुलाई हेपिन्छ भन्ने स्कुलिङ छ । यसमा केही सच्चाइ पनि छ । तर, अहिले त्यसको समाधान के हो भन्दा सीमाना हो भन्ने भनिएको छ ।

यसलाई मूल विषय नबनाउनुस् । हामीले के भल्नुहुँदैन भने सरकार बन्नुपूर्व नै नाकाबन्दी थियो । र, यो एमाले आएर भएको होइन र यो सरकारले ल्याएको पनि होइन ।

यो सरकार आएपछि कतिपय के भ्रम थियो भने मान्छेलाई खुट्टा लरबराउँछ कि, राष्ट्रियता हितलाई तिलान्जली दिन्छ कि भन्ने थियो । तर, सरकारले सबैभन्दा बढी अडान त्यसमा लियो । यो सकारात्मक काम भएको छ ।

दोस्रो, मधेसका दलहरुले आन्दोलन सान्दोलन भनेर गरे । तर, अन्तिम आन्दोलन त डिफ्युज भयो । सरकारको प्रयासबाटै आन्दोलन डिफ्युज भएको हो । अरु सरकार भएको भए घुँडा टेक्थ्यो कि ? तर, अहिले सरकारले होइन, आन्दोलनरत पक्ष नै आन्दोलन छोड्न बाध्य भए । यद्यपि फेरि आन्दोलनको कुरा हुुँदैछ । तर, जेसुकै भए पनि यो कुराले फेरि नेपाल भारत सम्वन्धलाई नयाँ उचाइमा पुर्‍याउन र आपूर्ति व्यवस्थालाई सहज बनाउन मदत गर्‍यो । यसमा सरकारले खेलेको भूमिका ठीक छ ।

त्यतातिर धेरै ध्यान केन्दि्रत गरेर घरेलु समस्यामा ध्यान केन्दि्रत गर्न नसकेको हो वा के हो । अरु काम सकेन र त्यो कमजोरी रहृयो ।

उसोभए सरकार अब पुनिर्माणमा जुट्छ ?

अबको प्राथमिकता यही हुनुपर्छ । पुननिर्माणमा जोड दिनुपर्छ । भन्छन् नि युद्धस्तरमा हुनुपर्छ । दोस्रो विगत ५/६ महिनामा आपूर्ति व्यवस्थामा भएको समस्यामा पारेको प्रभाव न्यून गर्ने र ओभर कम गरेर हिजोको क्षतिलाई पूर्ति गर्दै नाफा गर्ने नीति बोकेर जानुपर्छ । त्यसका लागि अब आउने बजेट र नीति कार्यक्रमले सम्बोधन गर्नुपर्छ ।

अनि मधेस आन्दोलन नि ? कि मधेसमा समस्या छ भनेर मान्नुहुन्न ?

असन्तुष्टि छ । तर, समस्या एकतिर छ, समाधान अर्कोतिर खोजिएको देख्छु म ।

भन्नाले ?

मधेसीहरुलाई हेपिन्छ भन्ने स्कुलिङ छ । यसमा केही सच्चाइ पनि छ । बोली व्यवहार र बडी ल्यावेजका कारण मधेसमा बस्ने मानिसहरुलाई हामीलाई हेप्छ भन्ने परेको छ । तर, अहिले त्यसको समाधान के हो भन्दा सीमाना हो भन्ने भनिएको छ ।

मलाई लाग्दैन कि समाधान सीमाना हो ।

तर, अध्यक्षको प्रतिवेदनमा संविधानले सबै दिएको छ, केहीले भ्रम छरेर कथित आन्दोलन गरेको छ भनिएको छ, समस्याको समाधान के हो त ?

त्यस्तो भाषा छैन, करेक्सन भइसक्यो । अर्को सत्य के हो भने संविधान आफैंले अधिकार तलमाथि गरेको छैन । मधेसीलाई कम, पहाडेलाई बढी भन्ने छैन । बरु कतिपयलाई प्रगतिशील ढंगले आरक्षणको व्यवस्था गरेको छ । र, यो सकारात्मक पनि हो ।

पछाडि पारिएको समूह भनेर मधेसी, आदिवासी जनजाति, दलित, महिलालाई आरक्षण राखिएको छ । उसोभए यो संविधान कसको निम्ति बढी लेखिएको छ ? बाहुन क्षेत्री भन्दा अरुलाई संरक्षण गरिएको छ र यो राम्रो पनि हो हो ।

यस मानेमा मधेसीहरुलाई संविधानले हेपेको छ भन्ने त मिल्दैन । यो त एउटा समस्याको अर्को समाधान खोज्ने काम मात्र हो । उहाँहरुको मनमा भएको अनुभूतिलाई अन्त कतै व्यक्त गरिरहनु भएको छ । एकछिनलाई मान्नुस् न, कुनै एउटा प्रदेशमा दुईवटा जिल्ला थप्दैमा त्यो फिलिङ हट्छ त ? हट्दैन । अर्कै ट्रिटमेन्ट खोज्नुपर्छ ।

हो, यही उपचार खोज्ने सवालमा पनि तपाईहरुको समूह र पार्टी नेतृत्वको बुझाइ एउटै हो कि फरक छ ?

ट्रिटमेन्ट के हो भने व्यवहार हो । मन्त्री, राजनीतिक नियुक्तिहरुमा मधेसलाई प्राथमिता दिऊँ । बजेट लैजाँदा मधेसका केही समस्याहरुलाई सम्बोधन गर्ने गरौं भन्ने सुझावहरु आइरहेको छ । जुन समस्या छ, त्यो समाधान भयो र राज्यले वराबरी व्यवहार गरेको छ भन्ने भएपछि हामीलाई हेप्छ भन्ने भावना आफैं हटेर जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?