३ वैशाख, काठमाडौं । अमेरिकी सरकारले गैह्र-सरकारी संस्थाहरुसँग १२ करोड १० लाख डलर अर्थात १२ अर्ब ७० करोड रुपैयाँ बराबरको नयाँ परियोजनाहरुका लागि सम्झौता गरेको छ ।
यसैसाता अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसआईडी)ले पाँच नयाँ विकास कार्यक्रम प्रदान गर्ने सहमतिमा हस्ताक्षर गरेको छ ।
पोषण सुधारलाई साढे ६ अर्ब
यूएसआईडी सु-आहारा-२ हेलेन केलर इन्टरनेशनललाई ६ करोड ३० लाख डलर अर्थात ६ अर्ब ६१ करोड रूपैयाँको कार्यक्रम दिएको छ ।
सुआहरा परियोजनाले मातृशिशु पोषण सुधार कार्यक्रमलाई लाई पञ्चवर्षीय रुपमा ४० जिल्लामा सञ्चालन गर्नेछ । ति जिल्लामा शिक्षा, पानी, सरसफाइ सुधार, स्वास्थ्य सेवामा पहुँच तथा करेसाबारी, कुखुरापालन र तरकारी खेतीका लागि कार्यक्रम चलाइनेछ ।
बीउ र पानी व्यवस्थापन कार्यक्रम
यस्तै फिड द फ्युकचर एण्ड फर्टिलाइजर प्रोजेक्ट अन्तरगत अन्तर्राष्ट्रिय मकै तथा गहुँ अनुसन्धान केन्द्रलाई १ करोड ५० लाख डलर प्रदान गरिएको छ ।
पाँचवर्षे यो परियोजनाले सरकार तथा निजी कम्पनीहरूसँग साझेदारी गर्दै २५ जिल्लामा काम गर्नेछ । कृषकहरूलाई बीउ तथा मल दिएर उच्च गुणस्तरका बाली उत्पादन सहयोग गर्ने कार्यक्रमको उद्देश्य छ।
पश्चिम नेपालमा दिगो, न्यायिक तथा उत्पादनशील जलस्रोत विकास परियोजनालाई पानी व्यवस्थापन गर्न २५ लाख डलर दिइएको छ ।
त्रिवर्षीय यो परियोजनाले कर्णाली तथा महाकाली नदी क्षेत्रमा बसोबास गर्ने समुदायलाई दिगो तरिकाले नदी तथा तलाउको व्यवस्थापन गर्न सहयोग गर्नेछ ।
नागरिक सबलीकरणमा डेढ अर्ब
सिभिल सोसाइटी अन्तरगतको आपसी जवाफदेहिता परियोजनाका लागि एफएचआई-३६० लाई १ करोड ५० लाख डलरको कार्यक्रम दिइएको छ । पञ्चवर्षीय परियोजनाले सरकारको प्रभावकारिता तथा जवाफदेहिताका लागि पैरवी गर्ने नागरिक समाज संस्थालाई सबलीकरण गर्नेछ ।
जलीय प्राकृतिक स्रोत सुधारसम्बन्धी कार्यक्रमका लागि डीएआई ग्लोबल नेपाल सरकारको नेतृत्व रहनेगरी २ करोड ५० लाख डलर दिइएको छ । पाँचवर्षको यो परियोजनाले समुदायलाई नदी तथा तलाउबाट आर्थिक लाभ ग्रहण गर्न र स्थानीय माछा तथा अन्य वन्यजन्तुको संरक्षण गर्न सहयोग गर्नेछ ।
‘यी नयाँ परियोजनाहरूले भूकम्पपछि जारी रहेका नेपाली जनताका आवश्यकतालाई सम्बोधन गर्नुका साथै नेपालका दीर्घकालीन विकास लक्ष्यहरूलाई सहयोग गर्ने दिगा समुदायहरू निर्माण गर्नेछन्,’ अमेरिकी राजदूत अलाइना बी. टेपलेट्जले भनिन् ।
यूएसआईडी नेपालमा अर्थ मन्त्रालयसँगको ४४ करोड ७० लाख डलरको पञ्चय वर्षीय २०१४-२०१९) सहायता सहमतिमार्फत सञ्चालित छ । नयाँ परियोजनाहरु त्यसै लागतका हिस्सा भएको यूएसआईडीले जनााएको छ ।
प्रतिक्रिया 4