Comments Add Comment

चैतमा भरिएका १९ लाख ३० हजार सिलिन्डर कता हराए ?

siddhartha-gas-cylynder-fin

४ वैशाख, काठमाडौं । तपाईले ग्यास पाउनुभयो ? अधिकांश उपभोक्ताको उत्तर हुन्छः कहाँ गएर पाउनु ?  तर, भारतबाटै भनेजति आयात नभएर ग्यास नपाएको हो कि भन्ने भ्रममा हुनुहुन्छ भने त्यसलाई त्यागिदिनुस् ।

किनभने बितेको चैत महिनामा मात्रै झण्डै १९ लाख ३० हजार सिलिन्डर खाना पकाउने ग्यास भित्रिएको छ र उद्योगहरुले ती सबै ग्यास उपभोक्ताका लागि बजार पठाइएको बताएका छन् । आयात बढे पनि बजारमा खाना पकाउने एलपीजी ग्यासको अभाव भने कायमै छ । सरकारी अधिकारीहरु ग्यासको कालोबजारी भएको थाहा पाएर पनि हात बाँधेर बसेका छन् ।

चैतमा भारतबाट १५ सय १९ बुलेट ग्यास नेपाल आएको छ । फागुनभन्दा चैतमा झण्डै ६ हजार मेटि्रक टन बढी ग्यास नेपाल भित्रिएको आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले अनलाइनखबरलाई जानकारी दिए ।

बितेको महिनामा भारतबाट २७ हजार ३ सय ४८ मेटि्रक टन ग्यास नेपाल आएको छ । यसबाट झण्डै १९ लाख २९ हजार भन्दा बढी सिलिन्डर ग्यास भरिएका छन् । यसअघि फागुनमा भारतबाट २१ हजार ६ सय ८५ मेटि्रक टन मात्रै ग्यास भित्रिएको थियो ।

ग्यास पर्याप्त भित्रिएको रेकर्ड सरकारी अधिकारीहरुसँग पनि छ । तर, उद्योगी र बिक्रेताले कालोबजारीमा बेचेर उपभोक्तालाई सास्ती दिइरहँदा आपूर्ति र गृह मन्त्रालयले कुनै प्रभावकारी कदम चाल्न सकेको छैन ।

पेट्रोल र डिजेल पनि बढ्दै

भारतीय आयल कर्पोरेशन (आइओसी)ले चैत महिनामा पेट्रोल मात्रै २८ हजार ४ सय १८ किलोलिटर लोड दिएको छ । फागुन महिनामा पेट्रोल २७ हजार ७ सय ९५ किलोलिटर भित्रिएको थियो । चैतमा भित्रिएकोमध्ये २८ हजार ५३ किलोलिटर पेट्रोल त्यसै महिनामा बिक्री भएको प्रवक्ता घिमिरेले बताए ।

यस्तै डिजेलको आयात पनि उच्च दरमा बढेको छ । आइओसीले फागुनभन्दा चैतमा डिजेल २२ हजार किलोलिटर बढी लोड दिएको छ । चैतमा भारतबाट डिजेल मात्रै १ लाख ११ हजार ७ सय ५१ किलोलिटर आएको छ ।

फागुनमा परिमाण ८९ हजार ६ सय ६० किलोलिटर थियो । आयल निगमले बितेको महिनामा १ लाख १० हजार ३ सय ३० कलिोलिटर डिजेल बेचेको छ ।

माग उच्च भएका दुई हप्ता अघिसम्म डिजेलको अभाव थियो । आइओसीले चैतमा मागे जति डिजेल दिएपछि अभाव सामान्य उन्मुख भएको निगम प्रवक्ता घिमिरेले दाबी गरे । ठूला आयोजनाहरुमा काम तीव्र भएसँगै बजारमा डिजेलको माग बढेको थियो ।

आयल निगमले बितेको महिनामा १८ सय ४७  किलोलिटर मट्टीतेल भित्र्याएकोमा २ हजार १९ किलोलिटर बिक्री गरेको छ । यस्तै ११ हजार ५ सय ४८ किलोटिर हवाइ इन्धन आयात भएकोमा १० हजार २ सय ८८ किलोलिटर बिक्री भएको प्रवक्ता घिमिरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment